कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मूल मुद्दा महिलाको

महिलामाथि हुने शोषण अन्त्य गर्न आर्थिक उपार्जनका लागि सीपमूलक तालिम दिने, शिक्षित महिला स्वयम् पनि जागरूक हुने, परम्परागत कृषि प्रणालीमा सुधार ल्याउने जस्ता योजना स्थानीय सरकारले लागू गर्न सके गरिबी कम र महिलामाथि हुने भेदभाव अन्त्य हुने थियो
मञ्जु भट्ट

२० वर्षकी उनी अहिले सात महिनाकी गर्भवती छिन् । उनको गर्भ तीन महिना हुँदा दिनभरि झन्डै बाह्र पटक बान्ता गरी बेहोस हुन् पुगिन् । घरबाट बोकेर गाडीसम्म पुर्‍याउन सक्ने पुरुषहरू घरमा कोही थिएनन् । गाउँलेहरूको मद्दतले बेहोस भएको झन्डै एक घण्टापछि बैतडी जिल्ला अस्पताल पुर्‍याए । उनको घरमा तीन जना मात्रै महिला छन् ।

मूल मुद्दा महिलाको

घरका पुरुषहरू कोही भारततिर त कोही नेपालमै घर बाहिर बसेर परिवार पाल्नकै लागि परिश्रम गरिरहेका छन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा उनलाई पहिलाको जस्तै पो हुने हो कि भन्ने डरले सताइरहन्छ । घरमा एक जना मात्र पुरुष भएको खण्डमा रात आधा रातमा जतिखेर पनि सजिलै निस्कन सकिन्थ्यो । उनका श्रीमान् वैदेशिक रोजगारीमा जानका लागि भाषा सिक्न सहर पसेका छन् । गर्भवती श्रीमती घरमा छाडेर विदेश हानिन उनलाई पनि कहाँ मन छ र ? गाउँमा जंगली जनावरको आतंक तथा जलवायु परिवर्तनको असरले खेतीपाती, फलफूल फल्न छाडेपछि बाध्य भएर श्रीमतीलाई एक्लै छाडी विदेश जाने मनस्थितिमा पुगेका हुन् ।

यही मंसिर १० गते बैतडी, पुर्चौडी–६ की ३२ वर्षीया लीला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भयो । श्रीमान् रोजगारीकै लागि भारत पसेका उनका दुई छोरी र एक छोरा छन् । मंसिर २६ गते बझाङमा दाउरा काटेर फर्किने क्रममा भीरबाट लडेपछि १५० मिटर तल खसेर चुंगल न.पा.–६ की २६ वर्षीया दुर्गादेवी धामीले ज्यान गुमाइन् । बैतडीकी २० वर्षीया बिन्दु धामीको लामो समय व्यथा लागेपछि गर्भमै शिशुको मृत्यु हुँदा बैतडीबाट सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याएर शल्यक्रियामार्फत मृत बच्चा निकालेपछि ज्यान जोगियो । दुर्गम गाउँहरूमा यस्ता कैयौं घटनाहरू छन्, जहाँ एक्काइसौं शताब्दीमा पनि सुत्केरीले उपचारको अभावमा ज्यान गुमाइरहेका छन् । गोठमा, गुफामा सुत्केरी हुँदा संक्रमणको जोखिम बढेर आमा तथा बच्चाको ज्यान धरापमा पर्ने गरेको छ । यी केही प्रतिनिधि घटना मात्रै हुन् । वर्षौंदेखि सुदूरपश्चिमका महिलाहरूले विभिन्न कारणले अकालमै ज्यान गुमाउँदै आएका अनेकौं घटनाहरू छन् ।

वर्षौंदेखि सुदूरपश्चिम सिंहदरबारबाट टाढा रह्यो जसका कारण न त सुदूरपश्चिमको विकास हुन सक्यो न महिलाहरू आर्थिक, सामाजिक तथा राजनीतिकस्तरमा अगाडि आउन सके । कैयौं पटक सुदूरपश्चिमबाट मन्त्रीदेखि प्रधानमन्त्रीसमेत भइसकेका छन् । तर अहिलेसम्म पनि महिलाका पीडा कम हुन सकेका छैनन् । दसवर्षे द्वन्द्वले पनि महिलाहरूलाई धेरै चोट पुर्‍यायो । पछिल्ला केही वर्षहरूमा थोरै भए पनि त्यहाँका महिलाहरू कलाकारिता, प्रशासनिक, राजनीतिक जस्ता क्षेत्रमा प्रवेश गरिरहेका भने छन् ।

तर पनि सुदूरपश्चिमका धेरैजसो ग्रामीण भेगका महिलाहरूको दैनिकी अहिले पनि चुलोचौको, घरखेत, बालबच्चा स्याहार्दै बितिरहेको छ । बिहान सबेरै उठेर भान्सा, घरका सबै कोठाहरू लिपपोत गर्ने, गाईबस्तुको गोबर सोहर्ने, घाँसपात हाल्ने, दूध दुहुने, कुवा, धाराबाट पानी भरेर ल्याउने, साना बालबालिका भए उनीहरूलाई दूध चुसाउने, उनीहरूका थाङ्ना धुने, ओखलमा धान कुट्ने, जाँतोमा मकै, गहुँ पिस्ने, चिया, खाना पकाउनेजस्ता धेरैजसो कामहरू महिलाहरूले घरका पुरुषहरू उठ्नुभन्दा पहिले नै चुपचाप गरिसकेका हुन्छन् । यति धेरै काम गर्दासम्म उनीहरू भोकले आहत भइसकेका हुन्छन् । अझै पनि कतिपय ठाउँमा त श्रीमान्ले उठेर खाना नखाएसम्म श्रीमतीले खान पाउँदैनन् । बिहानै यति धेरै कामहरू भ्याइसकेपछि मौसमअनुसार बालीनाली छर्ने, तिनलाई गोडमेल गर्ने, पाकेपछि काट्ने, पिठ्यँॅमा सकिनसकी घरसम्म बोकेर ल्याउने, सुकाउने, चुट्नेजस्ता सम्पूर्ण कामहरूको जिम्मा महिलाहरूमाथि नै हुन्छ । पुरुषहरूले खेत जोत्ने काम मात्रै गर्छन् ।

यदाकदा कुनै पुरुषले डल्ला फुटाउने काम गरे पनि बढीजसो घरखेतको काम महिलाहरूले मात्रै गर्नुपरेको हुन्छ । गाईबस्तुको गोबर डोकोमा बोकेर खेतसम्म पुर्‍याउने र फर्किंदा स्याउला काटेर ल्याउने काम सिर्फ महिलाको मात्रै हुन्छ । जंगलमा काटेको खर, दाउराहरू बोकेर ल्याउने काम पनि सिर्फ महिलाहरूकै हुन्छ । पुरुषहरूले दाउरा चिर्न मद्दत गरे पनि महिलाजस्तो पिठ्युँमा बोकेर ल्याउँदैनन् । हुन त घरका धेरैजसो पुरुषहरू कामको सिलसिलामा घरबाहिरै हुन्छन् । घरमा भएका पुरुषहरूलाई समेत महिलालाई घरखेतका काममा मद्दत गर्नुपर्छ, दुवैले मिलेर काम गर्दा घरका महिलालाई सजिलो हुन्छ भन्ने चेतना आउन सकेको छैन ।

घरका महिलाले बिहान सबेरैदेखि राति अबेरसम्म काम गरिरहँदा पनि पुरुषहरूले त्यो कामको जिम्मा आफ्नो होइन जस्तै ठान्छन् । बरु दिनभरि मोबाइल चलाउँदै, गफ गर्दै हल्लिँदै पसल चाहर्दै हिँड्ने युवाहरू घरको काममा महिलालाई मद्दत गर्न पटक्कै अघि सर्दैनन् । घरजग्गा किनबेच, पैसाको लेनदेनजस्ता आर्थिक कारोबारका कामहरूमा पुरुष अगाडि सरे पनि अन्य कामहरू गर्ने बेला भने ‘लेडिज फस्ट’ भनेझैं महिलालाई नै अगाडि सारेका हुन्छन् । बिहानदेखि बेलुकीसम्म गोरुझैं एकोहोरो काममा जोतिइरहने महिलाहरूलाई आठ घण्टा काम, आठ घण्टा आराम तथा आठ घण्टा मनोरञ्जन भन्ने थाहा छैन ।

दिनभरि काम त रातभरि बारीकै चिन्ताले राम्रोसँग सुत्न पाउँदैनन् । समस्याका चाङहरू अनगिन्ती भए पनि स्थानीय सरकारले महिलाका पीडा कम गर्न अहिलेसम्म उचित योजनाहरू अघि सारेको देखिँदैन । सुदूरपश्चिमका खासगरी ग्रामीण भेगका प्रत्येकजसो घरहरूमा रक्सीको गहिरो लत लागेका पुरुषहरूसमेत भेटिन्छन् । घरमा भएका धेरैजसो पुरुषहरू दसैं, तिहार, मेलापर्व जतिखेर पनि रक्सी खाएर मात्तिँदा घरका महिला, बालबच्चाहरू डरले घर छोडी छिमेकी घरमा वा खेतमा समेत लुकेर बस्नुपरेका घटनाहरू कति छन् कति । घरका पुरुषले रक्सी खाँदा यसले आर्थिक क्षति त हुन्छ नै घरको सुखशान्तिसमेत भंग गरेका ज्वलन्त उदाहरणहरू ग्रामीण भेगका घरघरमा भेटिन्छन् । घरमा चरम गरिबी तथा अशान्ति थपिँदा त्यहाँका कैयौं महिलाहरूले आत्महत्या गरेका घटनाहरू पनि छन् । ०७७ फागुनमा दैलेख राकमकी सुकी बडुवालले

आफ्ना चार जना छोराछारीसहित कर्णालीमा हाम फालिन् । उनले हामफाल्नुको कारण उनका बेरोजगार श्रीमान्ले सधैं रक्सी पिउने, जसका कारण हातमुख जोड्न पनि नसकिने गरी उत्पन्न भएको गरिबी र उनले खेप्नुपरेको घरेलु हिंसा नै भएको पाइएको थियो । कर्णालीमा मात्रै दुई वर्ष अगाडिको एउटा तथ्यांकले पाँच वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीसम्म पुगेका थिए । चार वर्षको अवधिमा ३७९ महिलाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । यस्तो दुःखलाग्दो घटना बाहिर आए पनि कतैबाट महिलाका पक्षमा सशक्त कदम चालेको देखिँदैन । हातहातमा मोबाइल भएका कारण पहिलेभन्दा अहिलेका युवाहरू रक्सी, चुरोटको लतबाट केही टाढा भए पनि मोबाइलमै व्यस्त हुँदा घरपरिवारलाई बेवास्ता गरेको देखिन्छ ।

अझै पनि देउकी बनेर आजीवन परिवारविहीन भएर बाँच्नुपरेका पीडा ती सुदूरका महिलाबाहेक अरू कसैले अनुभव गर्ने कुरै भएन । देशको कुनै पनि ठाउँमा नभएको तर सुदूरपश्चिममा मात्रै व्याप्त छाउपडीका पीडा महिनावारी भएका कलिला किशोरी, सुत्केरी, बिरामी महिलाबाहेक कसैले बयान गर्न सक्दैनन् । आफूले ठूलै पाप गरेजसरी एकथोपा पानी खानसमेत अरूले उपकार गरी परैबाट खन्याइदिँदाका महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउने खालका क्रियाकलापहरू झनै असह्य छन् । महिनावारी हुँदा प्रयोग भएका रगतले भरिएका टालाहरू गोठका कुनामा लुकाएर एकैचोटि चार दिनको बिहान खोलाको चिसो पानीमा कसैले देख्ने पो हुन् कि भन्ने मनमा डर लुकाई घोटी–घोटी धुनुपरेका पीडा जन्मदिने आमाबुबाले समेत बुझ्न सक्दैनन् ।

दुई पैसा कमाएर तिलहरी बनाइदिन्छु भन्दै परदेश हिँडेका श्रीमान्ले सुटुक्कै एचआईभी एड्स ल्याएर सारिदिँदाका पीडा सुदूरपश्चिमका महिलाले कसलाई बयान गर्ने ? छुवाछूतजन्य भेदभावका कारण दलित महिलाले भोग्नुपरेका पीडा, बिरामी हुँदा अस्पताल नगई धामीझाँक्रीकहाँ जाँदा ज्यान गुमाउने, बालविवाह, भागी विवाह, गर्भवती, सुत्केरीले अस्पताल नपुग्दै ज्यान गुमाउने, घाँस दाउरा काट्न जाँदा भीरबाट लडेर ज्यान गुमाउने, गरिबीका कारणले हुने आत्महत्याजस्ता अप्रिय घटनाहरूबाट टाढा रहन सकेका छैनन् ।

प्रशासनिक, राजनीतिक, प्राज्ञिक क्षेत्रमा कैयौं व्यक्तिहरू सुदूरपश्चिमबाटै देशको केन्द्रसम्म पुगेर नेतृत्व गरिसकेका छन् । देशकै पहिलो महिला मन्त्री सुदूरपश्चिमले पाएको पनि कैयौं दशक बितिसकेका छन् । तर पनि अन्य भेगका महिलाको तुलनामा कम सुधार आएको पाइन्छ । यसो हुनुमा धार्मिक अन्धविश्वास, अशिक्षा र पुरुषप्रधान सोच मुख्य कारण छन् । त्यो क्षेत्रमा हुने सामाजिक विभेद तथा महिलामाथि हुने शोषण अन्त्य गर्न उनीहरूलाई आर्थिक उपार्जनका लागि सीपमूलक तालिम दिने, शिक्षित महिलाहरू स्वयम् पनि जागरुक हुने, परम्परागत कृषि प्रणालीमा सुधार ल्याउने जस्ता योजनाहरू स्थानीय सरकारले लागू गर्न सके गरिबी कम हुँदै जानुका साथै महिलामाथि हुने भेदभाव अन्त्य हुने थियो कि ।

प्रकाशित : माघ ९, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?