३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाल र अमेरिकाको चुनावी दृश्य

हलभित्र न भीडभाड छ न त होहल्ला । कार्ड नै भिडाएँ त्यहाँ । न त तारबार गरेर छेकिएको छ न दलका प्रतिनिधि र पर्यवेक्षकहरू ।
होमप्रसाद लम्साल

अमेरिका — मलाई मतदाता हुनुको उत्साहभन्दा पनि संसारले उत्तम लोकतन्त्रको उदाहरण दिने अमेरिकी चुनावमा प्रत्यक्ष सहभागी भएर मतदान गर्नु थियो । २०२२ नोभेम्बर ८ मा मैल तीनवटा मतदान केन्द्रमा चुनाव हेरेँ। र, आफ्नो मतदान केन्द्रमा गएर मतदान गरेँ । मरो जीवनकालमा भोगेको र अनुमान गरेको भन्दा आकाश–पाताल फरक पाएँ ती मतदान केन्द्रहरूको दृष्य ।

नेपाल र अमेरिकाको चुनावी दृश्य

अनि मलाई लाग्यो लोकतन्त्र भनेको यस्तो पो हुने रहेछ ! मतदान केन्द्रमा न कसैको प्रभाव, न कसैको डर नत केही पाउने आस । आस त केवल यो उमेदवारले हाम्रा लागि काम गर्छ भन्ने मात्र ।

अनि नेपालमा रहँदा बस्दा प्रत्यक्ष संलग्न भएका चुनावका तस्बिर मेरो मानसपटलमा खेल्न थाल्यो । मैले गाविसदेखि, संसद् र पार्टीको आन्तरिक भनौँ वा विभिन्न संघ/संस्थाहरूको चुनावमा साम, दाम, दण्ड सबै प्रयोग भएको आफ्नै आँखाले देखेको छु र कतिपय भोगेको पनि छु ।

यतिबेला अमेरिकामा भर्खरै चुनाव सकिएको छ भने नेपालमा मंसिर ४ गते हुँदैछ । ८ नोभेम्बरको बिहान म ‘मतदानकेन्द्र यता’ भनेको सिग्नल पछ्याउँदै मतदानकेन्द्र पुगेँ । मतदानकेन्द्र नजिक न हुलमुल थियो न सुरक्षाकर्मीहरूको उपस्थिति । केही मानिस ‘मैले भोट गरेँ’ भनेको स्टीकर लगाएर फर्कंदै थिए भने कोही हातमा कागजको चिर्कटो लिएर मतदानस्थलतिर गइरहेका देखिन्थे । म पनि उनीहरूलाई पछ्याउँदै त्यही स्थानमा पुगेँ जहाँ दुई/चारवटा टेबुलमा ६० कटेकाजस्ता देखिनेहरूले ‘तपाइँ मतदान गर्ने हो ?’ भन्दै सोधे, ‘मतदान गर्न आउनुभयो, धन्यवाद’ दिए । तिनीहरू निर्वाचन कार्यालयका कर्मचारी थिए ।

थर सोधेर मतदाता नामावलीमा मेरो नाम खोजेर तपाइँको ठेगाना यही हो भनेर मलाई मतपत्र थमाए । सँगै मलाई मतदान गर्ने प्रक्रिया पनि सिकाए । मतदान केन्द्र होस् वा हलभित्र न हुल छ नत परिचयपत्र कार्ड नै भिडाए, त्यहाँ नत तारबार गरेर छेकिएका छन् न दलका प्रतिनिधि र पर्यवेक्षकहरू । प्लाष्टिक बोर्डमा मतदानस्थल लेखिएका छन् । ‘तपाइँ त्यो बुथमा गएर मतदान गर्नुस् अनि त्यहाँ मतपत्र खसाएर यो बाटो हुँदै बाहिर जान सक्नु हुन्छ’ भनी नरम भाषामा जानकारी दिएको पाएँ ।

मतपत्रमा चिनो लगाएँ, अलि परको बाकसमा हालेँ । ककसलाई मतदान गरे र कसले जितेछन् भन्ने आन्तरिक जानकारीको लागि फोटो पनि खिचेँ । किनकि मैले मतदान गर्दा सिनेटरदेखि न्यायाधीश र विद्यालय व्यवस्थापन समितिसम्मका प्रतिनिधहरूलाई मतदान गर्नु पर्थ्यो । बाकसमा मतपत्र हाल्दाहाल्दै मत गनिँदोरहेछ सायद् मैले हालेको मतपत्र बाकसले स्क्यानिङ गर्दै खसायो । मैले मतदानकेन्द्रबाट भित्र छिरेर मतदान गरेको समय बढीमा तीनदेखि पाँच मिनेटमा सबै सकियो । मलाई नत लाइन बस्नु पर्‍यो न कसैलाई नमस्कार नै । मानिसहरू त्यहाँ आए, मतदान गरे र आफ्नो बाटो लागिरहेका देखिन्थे ।

मलाई त्यतिले नि चित्त नबुझेर नजिकैको अर्को मतदानकेन्द्र पनि पुगेँ जुन अघिल्लोभन्दा अलि सहरी क्षेत्र । सहरी क्षेत्रमा थोरै बढी मानिस देखिए, बाँकी सबै स्थानमा उस्तै पाएँ ।

मतदानको दिनजस्तो पनि लागेन । ‘मैले भोट गरेँ’ भन्ने स्टीकर टाँसेर मेरो पसलमा आएकाहरूलाई सोधेँ । केही भोट नहालेकाहरूलाई पनि सोधेँ । मतदान गर्नेले पनि खासै ‘मत हालेँ’ भन्दा बढी बोलेनन्, नहाल्नेले आफूलाई फुर्सद नभएको, राजनीतिमा चाहना नभएको बताए । केही मानिससँगको कुराकानीबाट के निष्कर्ष निकाल्न सकिन्थ्यो भने जो जितेर जान्छन् उनीहरूले देश र जनताका लागि मात्र काम गर्छन् ।

मतदाता रजिस्टर गरेपछि आफूले मतदान गर्ने व्यक्तिहरूका बारेमा सबै उमेदवारको बायोडाटासहितको फ्लायर मेरो मेल बक्समा आयो । अध्ययन गर्नेहरूका लागि त्यो नै काफी छ । निर्वाचन आयोगको वेवसाइटमा गएर आफ्नो नाम हान्ने बित्तिकै आफूले गर्ने मतदानको लागि नमुना मतपत्र भेटिन्छ । कुन पार्टीमा आवद्ध हुने वा नहुने आफ्नो खुसी तर दलसँग आबद्ध हुनेहरूले पनि व्यक्तिहरू छानेर मतदान गरिहेका हुन्छन् । आफ्नो पार्टीको भन्दैमा सबैले सबैलाई मतदान गर्दा रहेनछन् ।

अन्तरीक्षबाट पनि मतदान

अमेरिकामा मतदान गर्न अनलाइन, घरमा नै मतपत्र मागेर अनि मतदानकेन्द्रमा आफैं गएर मतदान गर्न सकिन्छ । त्यसमा पनि एक हप्ताभन्दा अघिदेखि अग्रिम मतदान शुरु हुन्छ । मतदाता रजिस्टर गरेपछि संसारको जुन कुनामा भए पनि मतदान गर्न पाइन्छ ।

त्यतिमात्रै होइन टेक्सास राज्यमा सन् १९९७ मा पारित टेक्सास कानुनले अन्तरीक्षमा रहेका अमेरिकी अन्तरीक्ष यात्रीहरूलाई संघीय चुनावमा अन्तरीक्षबाटै इलेक्ट्रोनिक माध्यमद्वारा मतदान गर्न अनुमति दिएपछि अन्तरीक्ष मतदान शुरु भएको हो । उनीहरूले विद्युतीयरूपमा खसालेका मतपत्रहरू सुरक्षित इमेलमार्फत् जोन्सन स्पेस फ्लाइट सेन्टरमा पठाइन्छ र त्यसपछि अन्तरीक्ष यात्रीहरूको गृह काउन्टी टेक्सासमा पठाइन्छ ।

आचारसंहिताको कडा कार्यान्वयन

अमेरिकी चुनावमा आचारसंहिता व्यापक र निकै महंगो जरिवानासहित कार्यान्वय हुन्छ । उमेदवारहरूले चन्दा लिँदा होस् या उसले गर्ने खर्च पारदर्शी हुन्छ । उसले बदमासी गरेको पाइएमा उसको राजनीतिक मात्रै होइन सार्वजनिक जीवन पनि सधैँका लागि समाप्त हुन्छ । कामको सिलसिलामा दिनहुँ दुईपटक यात्रा गर्ने एउटा हाइवेमा १५ मिनेटको दूरीमा तीनवटा ठूल्ठूला विद्युतीय होर्डिङ बोर्ड छ । त्यसमा राष्ट्रपतिसम्मलाई गाली गरेका फोटासहित गाली प्रसारित विज्ञापन छ । त्यस्तै प्रकारका गाली गरेको टिसर्ट लगाएर हिँडेकाहरू पनि देखिन्छन् । पछिल्ला दिनहरूमा बढेको महंगीका कारण राष्ट्रपति आलोचित छन् र त्यस्ता होर्डिङ बोर्डहरू सडकमा प्रसस्तै भेटिन्छन् । अनि मैले सम्झेँ मेरो मातृभूमिमा भइरहेको चुनावमा ‘नो नट अगेन’ भन्दा निर्वाचन आयोगले गरेको चाकडीपूर्ण प्रतिवाद र रोकथाम ।

त्यसैले अमेरिकामा व्यक्तिगत स्वतन्त्रताको नमुना नै छ भन्दा फरक पर्दैन । कुनै उमेदवारलाई चन्दा दिँदा पाँचसयभन्दा बढी दिन खोज्दा तपाइँको आम्दानी अनुसार दिनुहोला भनेर उमेदवार आफैंले भन्छन् । कसैले पनि आम्दानीभन्दा बढी चन्दा दियो भने उसको आम्दानी र कर चुक्ताको इतिहास पनि हेर्न सक्छ र आम्दानीभन्दा बढी देखिए कानुनी दायरामा ल्याइन्छ ।

अमेरिकामा राजनीति गर्नेहरू नैतिक रुपमा पनि यतिधेरै जनताप्रति उत्तरदायी हुन्छन् कि राजनीति पूर्णरुपमा समाजसेवा हो भन्ने ठान्छन् । कतिसम्म भने कोही उमेदवार जितेर संसद्मा गएपछि उसले आफ्नो मतदाताबाट आफ्नो कार्यकालभरि २५ डलरभन्दा बढीको उपहार लिन पाइन्न । लिएको पाइए कारबाहीको भागीदार हुनुपर्छ । कारण चुनाव जितेपछि आफ्नालाई मात्रै केही नगरोस् र कसैको प्रलोभनमा नपरोस् भन्नका लागि हो । विश्वलाई लोकतन्त्रको पाठ सिकाउने अमेरिकी निर्वाचन छिठपुटबाहेक अनुसरण गर्न योग्य नै छ ।

यता आएर यस्तो मुलुकमा मतदान गरिरहँदा मैले मेरो मातृभूमिमा रहँदा देखे, भोगेका चुनावी दृश्यहरू सम्झेँ । चुनावको अघिल्लो दिन बोराका बोरा चामल र खसीबोका वा मदिरा वा पैसाको छेलोखेलो बनाइएका थुप्रै बुथका दृश्यहरू सम्झेँ ।

चुनाव किन ?

संसारका जुनसुकै भूभागमा गरिने चुनावको उद्देश्य कानुन बनाउन र देश विकास गर्ने योजना तर्जुमा गर्न नेतृत्व छान्ने हो । इतिहासले देखाउँछ कि मानवजातिले पाँचहजार वर्षदेखि औपचारिक रूपमा कानुन बनाएर लागु गर्दै आएको छ । विभिन्न समाजमा यस्तो कानुन बनाउन फरक उपायहरू अपनाइएका छन् । यसमा भगवान्को अंश मानिने राजाहरूले जारी गर्ने आदेशदेखि गाउँका बासिन्दाहरूले आपसमा छलफल गर्दै बहुमतको आधारमा गरिने निर्णयहरूसम्म पर्छन् ।

अमेरिकामा विभिन्न तहमा कानुन निर्माण गरिन्छ । स्थानीय नगर परिषददेखि राज्य विधायिकासम्म र त्यसपछि अमेरिकी कंग्रेसले कानुन बनाउँछन् । तर, यी सबै तहमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आमनागरिकको ठूलो योगदान रहन्छ । कानुन निर्माण गर्ने निकायहरूले आफ्नो निर्वाचन क्षेत्रका जनताप्रति जवाफदेही रहेको कुरालाई हरदम महसूस गरिरहेका हुन्छन् । यदि उनीहरूले आमजनताको सर्वोत्तम हितलाई दृष्टिगत गरी कानुन बनाएनन् भने त्यसपछि हुने चुनावमा पराजित हुनुपर्छ । त्यसैले नेताहरू अहोरात्र जनहितको लागि काम गर्छन् ।

राजनीतिमा सहभागी हुने अमेरिकीहरू सरकारका सम्पूर्ण स्वरूपहरूमध्ये लोकतन्त्र कठिन, सम्भवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ भन्ने ठान्छन् । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्छ । लोकतन्त्रको परिकल्पना फटाफट, चाहेजस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्नका लागि हो भन्छन् । कुनै पनि लोकतान्त्रिक सरकार तानाशाही सत्ताले जसरी छिटो काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आमजनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्छ भन्ने मान्यता अमेरिकी राजनीतिज्ञहरूसँग छ । त्यसैले यो निरन्तर विकसित भइरहने प्रक्रिया हो ।

देशको शासन प्रणाली जतिसुकै राम्ररी तर्जुमा गरिएको भए पनि यसलाई तबसम्म लोकतान्त्रिक मान्न सकिन्न, जबसम्म सरकारको नेतृत्व गर्नेहरूलाई जनताले स्वतन्त्र रूपमा र सबैले सहभागी भएको अनुभव हुने गरी चुनाव गरेर छानेका हुँदैनन् । चुनावको प्रक्रिया फरक फरक हुन सक्छ, तर सारभूत कुरा सम्पूर्ण लोकतान्त्रिक समाजका लागि उस्तै हुन्छन् । योग्यता पुगेका सम्पूर्ण नागरिकले मतदान गर्न पाउनुपर्छ । मतदान गर्दा प्रत्येक व्यक्तिलाई अनुचित प्रभावबाट सुरक्षित राख्नु पर्छ र खसेका मतहरूको खुला र दुरुस्त गणना गरिनुपर्छ भन्ने अमेरिकी सिद्धान्त वास्तवमै लोकतन्त्रको आत्मा हो ।

(लम्साल अमेरिकावासी गैरआवासीय नेपाली हुन् ।)

प्रकाशित : कार्तिक ३०, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?