कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नागरिक शिक्षाको कसीमा निर्वाचन निष्पक्षता

निर्वाचन शिक्षा जति व्यापक तथा प्रभावकारी बनाउन सकिन्छ उति नै स्वेच्छाको मतदान प्रवृत्ति बढ्ने तथा बहकाउ वा प्रलोभनमा मतदान गर्ने प्रवृत्ति घट्ने छ ।
निशेष ढुंगाना

काठमाडौँ — आवधिक निर्वाचन लोकतन्त्रको आत्मा हो तर निर्वाचन हुनु नै लोकतन्त्रको पर्याप्त परिचयचािंहँ होइन । यसको मतलब हो, निर्वाचन प्रथमतः स्वतन्त्र तथा स्वच्छ हुनु जरुरी हुन्छ ।

नागरिक शिक्षाको कसीमा निर्वाचन निष्पक्षता

स्वतन्त्र निर्वाचनबाट मात्र मतदाता आफ्नो मनले खाएको जनप्रतिनिधि छान्न वा तिनको पक्षमा मतदान गर्न सक्छन् । यसरी हर व्यक्ति आफ्ना प्रतिनिधिमार्फत् अपरोक्षरुपमा राज्यप्रणालीमा सहभागी हुन पाउनु नै लोकतन्त्रको विशिष्टता हो ।

लोकतन्त्रका सैध्दान्तिक कुरा व्यवहारमा कसरी उतार्ने भन्ने चुनौती लोकतन्त्रको विकासमा प्रत्येक देशले प्रारम्भिक चरणमा भोगेको समस्या हो । पश्चिमी लोकतान्त्रिक देशहरुमा निर्वाचनको निष्पक्षताबारे अपवादबाहेक प्रश्न उठ्ने गर्दैन तर गरीबी, निरक्षरता, निर्दोषी मतदाता रहेको हाम्रोजस्तो मुलुकमा निर्वाचनको सर्वथा निष्पक्षताबारे पटकपटक प्रश्न उठ्ने गर्छ । यसको मुख्य कारण मतदानको महत्व पूरापुर नबुझ्ने मतदाता हाम्रो देशमा ठूलो संख्यामा हुनु नै हो । तिनलाई आफ्नो स्वेच्छाले भन्दा अरुको बहकाउमा वा प्रलोभनमा पारी मतदान गराउने प्रपञ्च रच्ने समृहहरु खासगरी निर्वाचनको समयमा अशोभनीयरुपमा सक्रिय हुने गर्छन् ।

कतिपय अवस्थामा ‘भोट बैंक’ भन्देै यिनले हजारौँ मतदाता आफ्नो कब्जामा राख्ने र यसवापत चित्तबुझ्दो मूल्य पाएपछि मत खसाल्न तिनलाई मतदान केन्द्रमा पुर्‍याउने काम पनि गर्छन् । थरीथरीका धाँधली मच्चाउने यस्ता व्यक्ति वा समूहहरुका दूषित उद्देश्य प्रभावहीन बनाउने एउटा सशक्त माध्यम निर्वाचन शिक्षा हो । हाम्रोजस्तो देशमा नागरिक शिक्षा स्वतन्त्र निर्वाचनका अभिभाज्य अंग हुन् र हुनु पनि पर्छ ।

निर्वाचन शिक्षा जति व्यापक तथा प्रभावकारी बनाउन सकिन्छ उति नै स्वेच्छाको मतदान प्रवृत्ति बढ्ने तथा बहकाउ वा प्रलोभनमा मतदान गर्ने प्रवृत्ति घट्ने अवस्था सिर्जना गर्दै जान सकिन्छ जुन स्वच्छ, निर्विवादीय तथा स्तरीय निर्वाचनका पूर्वसर्त हुन् । हाम्रोजस्तो देशमा निर्वाचनमा पैसाको छेलोखेलो तथा अत्यधिक खर्च वा भ्रष्टाचारको बोलवालाको चर्चा जुन हुने गर्छ यिनको खास कारण प्रथमतः हाम्रो समाजमा अझै पनि ठूलो संख्यामा विद्यमान निरक्षरता तथा गरिबी नै हो । यस अवस्थाबाट तत्काल मुक्ति पाउन सकिन्न । यो दीर्घकालीन योजनाभित्र पर्ने काम कर्तव्यका कुरा अवस्य हुन् तापनि निर्वाचनकालमा नै भए पनि प्रभावकारी निर्वाचन शिक्षा अभियान विशेषगरी निर्दोष जनसमुदायमा केन्द्रित भई युद्धस्तरमा तथा राष्ट्रव्यापीरुपमा जति बढी प्रभावकारितासाथ सञ्चालन गर्न सकिन्छ उत्तिकै बहकाउमा तथा प्रलोभनमा परी हुने मतदान पर्याप्त मात्रामा घटाएर स्वेच्छाको मतदान प्रवृत्ति बढाउन सकिन्छ । यो हाम्रो आजको राष्ट्रिय आवश्यकता हो किनभने निष्पक्ष निर्वाचन भनेको सबै मतदाताले स्वेच्छाले मतदान गर्ने अवस्था अथवा त्यसका लगि अत्यावश्यक वातावरण निर्माण गर्ने दायित्व हो जुन केही अंशमा हाम्रो आˆनै सामाजिक तथा आर्थिक पछौटेपनका कारण वर्तमानमा हाम्रो देशमा प्रत्याभूत गर्न सकिएको छैन ।

त्यसो भन्दैमा हाम्रो देशमा लोकतान्त्रिक निर्वाचनलाई बुर्जुवा वा निरर्थक भन्ने अथवा निर्वाचन बहिष्कार गर्ने समूहहरु जुन छन् तिनको लहलहैमा लाग्न सकिन्न किनकि आदर्शमय स्वच्छ निर्वाचन समाज विकासक्रममा क्रमशः प्राप्त हुँदै जाने कुरा हुन् । एकैचोटी न कुनै देशमा हासिल भएको हो न हाम्रो देशमा नै अपेक्षा गर्न सकिने कुरा हो । मूल कुरो आवधिक निर्वाचनको निरन्तरता पालना हुँदै रहनु पर्छ । यो नै सबभन्दा ठूलो कुरा हो । यसैबाट अघिल्लो निर्वाचनभन्दा पछिल्लो निर्वाचन बढी स्वच्छ हुँदै जाने प्रवृत्ति वा संस्कृति विकसित हुँदै जान्छ । यी सबै आमजनताको आर्थिक अवस्थामा सुधारसँगै चेतनाको चरणबद्ध विकासमार्फत् पूर्ति हुँदै जाने कुरा हुन् । निष्पक्ष निर्वाचनप्रति हाम्रो देशका आमजनतामा जुन जागरुकता बढेको छ त्यो नै भविष्यका लागि सबैभन्दा उत्साहजनक पक्ष तथा पूँजी हो ।

जहाँसम्म आज हाम्रो देशले अंगिकार गरेको निर्वाचन पद्धतिको प्रसंग छ त्यसलाई कटु दृष्टिकोणले हेर्ने अथवा बहिष्कार गर्ने मूलधार बाहिरका केही समूह जो छन् तिनको अव्यवहारिक विचार समाजसंगत होइन । तिनले पनि ढिलोचाँडो एक न एकदिन धरातलीय यथार्थमा फर्कनै पर्छ जस्तो ०५२ देखि ०६२ साल अथवा शान्ति सम्झौता सम्पन्न नहुन्जेलसम्म राज्यविरुद्ध सशस्त्र विद्रोह वा युद्धमा संलग्नहरु समयमै बुद्धि पुर्‍याएर शान्तिपूर्ण, संवैधानिक, लोकतान्त्रिक पद्धतिमा फर्कंदै देशको प्रधानमन्त्रीलगायत विभिन्न जनप्रतिनिधि पद सम्हाल्ने स्थितिमा पुगिसकेका छन् । यी सबै सन्दर्भबाट बहिष्कारवादीहरुले पनि समयमै शिक्षा लिनुपर्ने हो । उग्रपन्थ तथा हिंसाबाट यो देशले धेरै दुःख पाइसकेको छ । अब पनि त्यही बाटो चल्न ढिपी गरिरहनेहरु युगअनुकूल सोचविचारका मानिस अथवा सही अर्थमा देशभक्त मानिन सक्दैनन् ।

जहाँसम्म स्वतन्त्र तथा स्वच्छ निर्वाचन र नागरिक शिक्षा बीचको अन्तरसम्बन्ध छ यसलाई हाम्रो निर्वाचन आयोग तथा अन्य निर्वाचनसम्बन्धी गैरसरकारी संस्थाहरुले निर्वाचनभन्दा केही समय अघिसम्ममात्र सघन तरिकाले सञ्चालन गर्ने काम जे गरिरहका छन् एउटा हदसम्म त्यो स्वागतयोग्य भए पनि कदाचित् पर्याप्त तथा सन्तोषजनक भने होइन । यसअर्थमा कि मतदानको खास महत्व नबुझ्ने वा गलत प्रभावमा परी मतदान गर्ने मतदाता ठूलो संख्यामा भएको देशमा नागरिक शिक्षासम्बन्धी कार्यक्रम वर्षैभरि प्रतिबद्धताका साथ सञ्चालन गरिरहनु जरुरी हुन्छ । यस्ता कार्यक्रम आजका अत्याधुनिक प्रविधि प्रयोगमा ल्याई सर्वसाधारण जनताले राम्ररी बुझ्नेगरी सरल भाषामा सञ्चालन तथा सम्प्रेषण गरिनु पर्छ । निर्वाचन आयोग, नेपाल सरकार तथा निर्वाचनसम्बन्धी गैरसरकारी संस्थाहरुले बाह्रै महिना निर्वाचन शिक्षा कार्यक्रमलाई आफ्ना वार्षिक योजनाको प्राथमिक विषय बनाइरहनु पर्छ । अझ नेपाल सरकारअर्न्तगत एउटा छुट्टै मन्त्रालयकै शाखाको रुपमा स्थापना गरी यसको जिम्मा दिई बजेट, विशेषज्ञ तथा आवश्यकताअनुसार कर्मचारी व्यवस्था गरिनु पनि वाञ्छनीय हुन्छ ।

जहाँसम्म मत कसलाई दिने भन्ने प्रश्न छ यसमा धेरै बोल्न, खुल्न मिल्दैन किनभने स्वेच्छाले बाहेक गोप्यताको यो हकको प्रयोग खुलस्त गर्न व्यक्ति वाध्य नहुने अवस्था नै स्वतन्त्र निर्वाचनको प्राण हो । अन्तष्करणको आवाज बमोजिम राजीखुशी निर्वाचनका सबै आयाम बुझेर स्वतन्त्र मतदान गर्ने व्यक्तिको नैसर्गिक हक हो । कुनै मतदाता कुनै दलप्रति प्रतिबद्ध छ भने स्वाभाविक हो कि उसको झुकाव सम्बन्धित दललाई मत दिने हुन्छ । यसमा पनि अवस्था तथा उमेदवार हेरी दलबाहिर आˆनो विवेक प्रयोग गर्नै नसकिने होइन । तर यो सर्वथा सम्बन्धित मतदाताको इच्छाको कुरा हो, आˆनो प्रतिबद्धता कसरी प्रकट गर्ने भन्ने उसको निजी चयनको मामला हो । दलको चिन्हमा मतदान गर्ने, नगर्ने उसकै अठोट छनोटको कुरा हो ।

जहाँसम्म दलसँग आबद्ध नभएका मतदाताहरुको सवाल छ यिनीहरु प्रष्टै बढी नै स्वतन्त्र तथा निर्णायक स्थितिमा हुन्छन् । यसको मतलब दलहरुले उठाएका वा स्वतन्त्र उमेदवार भएमा तिनीहरुमध्ये आफ्नो क्षेत्र वा सिंगो देशका लागि इमानजमान, योग्यता तथा विगत सेवा रेकर्डका आधारमा जसलाई अन्तष्करणले उचित ठहराउँछ उसैलाई मतदान गर्न सर्बथा स्वतन्त्र पात्र मतदाता हुन् । यस सम्बन्धमा हेक्का राख्नुपर्ने विशेष कुरा हो, दलसँग आबद्ध मतदाताभन्दा दलसँग अनाबद्ध मतदाता नै अन्तस्करणको मतदान गर्ने अर्थमा धेरै बढी स्वतन्त्र मतदाता मानिन्छन् । हर निर्वाचनमा यिनको ठूलो महत्व तथा निर्णायकता हुन्छ, अहिलेको प्रदेशसभा, संघीय संसद तथा सरकारहरुका अथवा कुनै पनि निर्वाचनका सम्बन्धमा ।

यतिबेला हाम्रो देशको राजनीति र निर्वाचनमा पनि एक किसिमले दुई दलीय ढाँचामा यस्ता गठबन्धन मैदानमा छन् जसका कारण देशका हर निर्वाचन क्षेत्रमा मतदाताको चाहना तथा प्रतिबद्धताको दलका उमेदवार प्रतिस्पर्धा वा दौडमा छैनन् । यस स्थितिमा हाम्रा प्रत्येक मतदाता विवेक प्रयोग गर्ने कुरामा अझ चनाखो प्रमाणित हुनेछन् भन्ने विश्वास गर्नु स्वाभाविक हुन्छ ।

(लेखक अधिवक्ता तथा निर्वाचनसम्बन्धी सोधकर्ता हृन्)




प्रकाशित : मंसिर १, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?