सत्यमोहनको सम्झना

‘त्यतिबेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे’

जुम्लाको दुर्गमताको कठोरता र सो दुर्गमताले सिर्जना गरेको अन्तर्मुखी प्रवृत्ति हामीलाई सर्वथा नौलो अनुभूति भएको थियो । त्यसले हाम्रो अन्वेषणको परिवेशलाई परिभाषित गरेको थियो ।
सत्यमोहन जोशी

त्यतिबेला जुम्ला सदरमुकाम खलङ्गामा अवस्थित शिलालेखमा कोरिएको जानकारीअनुसार जुम्लादेखि काठमाडौको हनुमानढोका ९६ कोश टाढा थियो । तर सामान्य जनताका निम्ति बाह्य संसारबाट जुम्ला पुग्ने सबैभन्दा छोटो बाटो नेपालगन्जबाट पैदल उकालो लाग्नु थियो ।

‘त्यतिबेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे’

सो बखत जुम्लेलीको मुख्य बजार बाँकेको नेपालगन्ज थियो, जहाँ पुग्न जुम्लादेखि ११ दिन जति पैदल यात्रा गर्नुपर्दथ्यो भने भारीसहित फर्कंदा १४ दिन जति लाग्थ्यो । पाँच सदस्य रहेको हाम्रो कर्णाली अध्ययन टोलीले काठमाडौंबाट जुम्ला सदरमुकाम पुग्न त्यस्तो कठिन यात्रा गर्नुपरेको थिएन । त्यति बेला त्रिभुवन विश्वविद्यालयमा कार्यरत समर इन्स्टिच्युट अफ लिड्गुइस्टिक्स नामक विदेशी संस्थासित रहेको सानो हवाईजहाज भाडामा लिएर हामी काठमाडौंबाट सिधैं जुम्लाको सदरमुकाम खलङ्गा पुगेका थियौं । त्यसपछि त्यहाँको दुर्गमताको कठोरता र सो दुर्गमताले सिर्जना गरेको अन्तर्मुखी प्रवृत्ति हामीलाई सर्वथा नौलो अनुभूति भएको थियो । त्यसले हाम्रो अन्वेषणको परिवेशलाई परिभाषित गरेको थियो ।

जुम्ली समाजसित पहिलो साक्षात्कार : गैरजुम्ली सबै गोर्खाली

त्यतिबेला बाहिरबाट जुम्ला जाने मान्छे सरकारी कर्मचारी हुन्थे । उनीहरूले विगतमा गोर्खाली शासकको प्रतिनिधित्त्व गर्दथे । त्यसैले, लगभग दुई शताब्दी पहिले जुम्ला गोर्खा राज्यमा विलीन हुँदाको अवस्थालाई स्मरण गराउने प्रतीकका रूपमा ती कर्मचारीहरूलाई गोर्खाली भनिन्थ्यो । सबै कर्मचारी गोर्खाली, सबै गोर्खाली कर्मचारी ।

२०१८ सालमा नेपाल ७५ जिल्लामा विभक्त हुनुभन्दा पहिले जुम्ला जिल्ला हालको कर्णाली अञ्चल र धवलागिरि अञ्चलको डोल्पा जिल्लामा फैलिएको थियो । त्यति बेला जुम्लालाई औपचारिक रूपमा नदी उपत्यकाका आधारमा विभाजन गरिएको थियो जसलाई दरा भनिन्छ । जुम्ला जिल्ला त्यति बेला १८ दरामा विभक्त थियो, जस्तै सिन्जादरा, मुगुदरा र कालदरा आदि । ती दरा निवासीलाई ती दराकै नामबाट उल्लेख गरिन्थ्यो, जस्तै सिजाल, मुगाल, रकाल आदि । त्यसैले, त्यति बेला जुम्लाका रैथाने संसारमा मानिस दुई किसिमका मात्र हुन्थे‚ या त विभिन्न दरा निवासी छिमेकी, या त गोर्खाली । त्यति बेला नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका शोधकर्ताको छुट्टै अस्तित्व थिएन । ती पनि गोर्खाली नै भएका थिए ।

– जोशीको 'कर्णाली लोक संस्कृति –१, इतिहास' पुस्तकबाट । यो पुस्तक २०२८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको थियो । २०७८ सालमा सोसल साइन्स बहाका लागि हिमाल किताबले पुन: प्रकाशन गरेको छ । राजकीय प्रज्ञा प्रतिष्ठानले २०२७ सालमा विभिन्न फाँटका विद्वान्‌हरुलाई देशका विभिन्न स्थानमा अनुसन्धानका लागि पठाएको थियो । सोही क्रममा २०२७ सालको जेठ र असार महिनामा जोशीसहितको पाँच सदस्यको टोली(प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह र सत्यमोहन जोशी) ५० दिने अनुसन्धानमा कर्णाली पुगेका थिए । सोही अनुसन्धानपछि जोशीले यो पुस्तक लेखेका थिए । पुस्तकले २०२८ सालमा मदन पुरस्कार पाएको थियो ।

प्रकाशित : आश्विन ३०, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?