१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विस्तार हुँदै आधुनिक दासत्व

आधुनिक दासत्वमा त्यस्ता मानिसहरू पर्छन्, जो श्रम बजारमा सस्ता हुन्छन्, जसका लागि दीर्घकालीन लगानी गर्नुपर्दैन, जसलाई एक पटक उपभोग वा प्रयोग गरिसकेपछि शारीरिक वा मानसिक रूपमा पुनः प्रयोगयोग्य नरहेमा तुरुन्तै पन्छाउन सकिन्छ ।
नीलम शर्मा

वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार, संसारभर ५ करोड मानिसले आधुनिक दासका रूपमा बाँचिरहेका छन्, जुन पाँच वर्षअघिको भन्दा झन्डै १ करोड बढी हो ।

विस्तार हुँदै आधुनिक दासत्व

संसारभर नै भुसको आगोझैं फैलिरहेको आधुनिक दासत्वको अँध्यारो पक्षलाई प्रतिवेदनले तथ्यगत रूपमा उजागर गरेको छ । केही वर्षयता आधुनिक दासत्वलाई मलजल गर्ने केही प्रमुख कारक हुन्— सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन, गरिबी, कोभिड–१९ र योजनाविहीन बसाइँसराइ । यो तथ्यांक बाहिरिएसँगै आधुनिक दासत्वसँग कसरी लड्ने भन्ने गम्भीर र चुनौतीपूर्ण प्रश्न तेर्सिएको छ । नेपाल र तेस्रो विश्वका अन्य मुलुकका लागि त झन् यो कोभिड महामारीभन्दा पनि भयावह रूपमा सामु आएको छ । संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकास लक्ष्यले आधुनिक दासत्वलाई अन्त्य गर्ने त भनेको छ, तर उपर्युक्त तथ्यांकले त्यसमाथि नै प्रश्न खडा गरेको छ । अर्थतन्त्रको मुख्य आधार (२५ प्रतिशत) रेमिट्यान्स रहेको नेपालजस्तो मुलुकले यसरी महामारीजसरी फैलँदै गरेको आधुनिक दासत्वलाई बुझ्न र विश्लेषण गर्न अति आवश्यक छ । आधुनिक दासत्वबाट प्रभावित समुदाय र सिर्जित समस्याहरू कुन हुन् र कस्ता छन्, यससम्बन्धी चुनौतीहरूको सामना कसरी गर्ने भन्नेबारे आजैदेखि खोजी र विश्लेषण नगरे यसले अनपेक्षित परिणाम निम्त्याउने निश्चित छ ।

के हो आधुनिक दासत्व ?

केविन बेल्सको पुस्तक ‘डिस्पोजेबल पिपल’ (सन् २०१२) मा आधुनिक दासत्वलाई परम्परागत दासत्वको परिवर्तित निरन्तरता र प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रसँग जोडिएको समस्याका रूपमा चित्रित गरिएको छ । यसमा त्यस्ता मानिसहरू पर्छन्, जो श्रम बजारमा सस्ता हुन्छन्, जसको विशेष हेरचाह गरिरहनुपर्दैन, जसका लागि निरन्तर र दीर्घकालीन लगानी गर्नुपर्दैन, जसलाई एक पटक उपभोग वा प्रयोग गरिसकेपछि शारीरिक वा मानसिक रूपमा पुनः प्रयोगयोग्य नरहेमा तुरुन्तै पन्छाउन सकिन्छ । आधुनिक युगमा दासत्वपूर्ण जीवन बिताउन विवश मानिसहरू परम्परागत दासत्वमा झैं ठूला फलामे साङ्लाले बाँधिएका वा घरभित्र थुनेर राखिएका त हुँदैनन् तर केही विशेष परिस्थितिबाट उनीहरू फलामको जन्जिरले भन्दा पनि बढी बाँधिएका र दुःखद परिस्थितिमा बाँच्न बाध्य पारिएका हुन्छन् । मुख्यतः त्यस्ता व्यक्तिहरू मालिक (रोजगारदाता) को नियन्त्रणमा रहेर काम गर्छन्, ज्याला पाउँदैनन् वा पाइहाले पनि बजारमा चलेभन्दा निकै कम पाउँछन् । उनीहरू डर, धम्की र जोखिमपूर्ण अवस्थामा कसैको दबाबमा काम गर्न बाध्य हुन्छन्, आफूले चाहेका बेला त्यो काम वा ठाउँ छाडेर बाहिरिन नसक्ने हुन्छन् । यस्तो बाध्यतामा परेका मानिसहरू जहाँतहीँ हुन सक्छन्, जस्तै— बहुराष्ट्रिय कम्पनीहरू, कारखाना, कृषि क्षेत्र, पर्यटन, मनोरञ्जन क्षेत्र, घरपरिवार र राज्यमै । झट्ट हेर्दा यो नदेखिने वा सामान्य लाग्ने र यस्तो अवस्थामा परेको व्यक्तिले तुरुन्तै सहयोग खोज्न नसक्नेसमेत हुन सक्छ । किनभने, आधुनिक दासत्वलाई पहिचान गर्न अनि त्यसका विविध आयाम, त्यसले निम्त्याउने परिणामहरूको गहिराइलाई बुझ्न नसक्दा यसलाई सम्बोधन गर्ने प्रभावकारी संयन्त्र निर्माण हुन सकेको छैन । आधुनिक दासत्वमा पर्न सक्ने जोखिममा महिला, पुरुष, बालबालिका, यौनिक र लैंगिक अल्पसंख्यक वा जोकोही पनि हुन सक्छन् । तर आजसम्मका तथ्यांकहरूले देखाए अनुसार, यसको चपेटामा पर्नेहरूमा संसारभर नै महिला र बालबालिकाको संख्या उच्च छ । हालैको प्रतिवेदनले चाहिँ आधुनिक दासत्वमा परेका मानिसहरूमध्ये अधिकांश बाध्यात्मक वैवाहिक सम्बन्ध र बाध्यात्मक व्यावसायिक यौन शोषणमा रहेको देखाउँछ । विश्व परिदृश्यभन्दा नेपालको अवस्था भिन्न छैन, धेरै देशहरूको भन्दा बढी गम्भीर र विशिष्ट प्रकृतिको छ ।

मानव बेचबिखन र दासत्व

मानवअधिकार आयोगको मानव बेचबिखनविरुद्धको प्रतिवेदन अनुसार, नेपालमा वार्षिक रूपमा ३५ हजार व्यक्ति बेचिने गरेका छन् । बेचबिखनमा पर्नेहरूमा महिला, पुरुष र बालबालिका सबै छन् । स्वदेशमै, भारत, खाडी राष्ट्र र अन्य देशमा यौन व्यवसाय वा बाध्यात्मक घरेलु श्रम, मनोरञ्जन क्षेत्र, झूटो विवाह, निर्माण क्षेत्रका लागि तिनीहरू बेचिने गर्छन् । खाडी राष्ट्रहरूमा प्रायः पुरुषलाई निर्माण क्षेत्रमा र महिलालाई घरेलु श्रमिकका रूपमा दास बनाएर राखिन्छ ।

केही वर्षयता चीन, दक्षिण कोरिया, दक्षिणपूर्वी एसिया र अफ्रिकी देशहरूमा पनि नेपाली महिला र बालबालिकाको बेचबिखन बढ्दो छ । अफ्रिकी र खाडी मुलुकका डान्स बारहरूमा महिलाहरूलाई भिजिट भिसाका माध्यमबाट लैजाने र त्यहाँ पुगेपछि सबै कानुनी कागजात नियन्त्रणमा लिएर बन्धक बनाई श्रम र यौन शोषण गर्ने गरेको पाइएको छ । देशबाहिर मात्र नभई देशभित्रैका मनोरञ्जन व्यवसायमा युवतीहरूलाई बन्धक बनाई शोषण गर्ने गरिएका घटना पनि प्रशस्त छन् । कोभिड–१९ ले निम्त्याएको विपत्सँगै बढ्दो बेरोजगारी, गरिबी र अवसरहरूको अभावले मानव बेचबिखनलाई अझै बढाएको छ । सामाजिक सञ्जालको प्रयोगसँगै यसले नसोचेका जोखिमहरू निम्त्याएको छ र मानव बेचबिखनका तरिकाहरू बदलिएका छन् । यस्ता घटनाहरूबाट प्रभावित हुने र जोखिममा रहनेहरूमा पुरुष–महिला सबै छन् तर मुख्यतया सीमान्तकृत समुदायका युवती, महिला र बालबालिका नै बढी छन् ।

वैदेशिक रोजगारी र दासत्व

नेपालको अर्थतन्त्रको प्रमुख स्रोत वैदेशिक रोजगारी र रेमिट्यान्स रहेको तथ्य जगजाहेर छ । तथ्यांक अनुसार, हरेक दिन करिब १ हजार ७ सय नेपाली रोजगारीका निम्ति विदेशिने गर्छन् । सस्तो र सहज आपूर्ति हुने हुनाले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकको माग निकै पनि छ । तर रोजगारीका निम्ति विदेशिने धेरै युवा दाससरह जीवन बाँच्न बाध्यात्मक अनि अधिक श्रम, कमजोर स्वास्थ्य सेवा, न्यून सुरक्षा लगायतका कारण अप्रत्याशित मृत्यु भोग्न बाध्य छन् । कतारमा आउन लागेको विश्वकप फुटबल तयारीका निम्ति नेपाली श्रमिकहरूले बाध्यात्मक श्रम गर्नुपरेको, महिनौंको तलब नपाएको, पासपोर्ट र अन्य कानुनी कागजात रोजगारदाताको नियन्त्रणमा रहेको एवं कम्पनीहरूले अत्यधिक गर्मी हुने ठाउँमा सफा पिउने पानीसम्म उपलब्ध नगराएको लगायतका तथ्य ‘गार्जियन’ पत्रिकाले प्रकाशित गरेको थियो । ‘गार्जियन’ कै अनुसार, दुई महिनाको अवधिमा ४४ नेपाली कामदारको अस्वाभाविक मृत्यु भयो, जसमा आधाभन्दा बढीको मृत्यु हार्ट फेल र कार्यस्थलमा दुर्घटनाका कारण भएको थियो । खाडी राष्ट्रमा घरेलु कामदारका रूपमा जाने धेरै महिला घरभित्रै बन्धक भई दाससरह बस्न बाध्य हुन्छन् । यस्तो परिस्थितिबाट उम्किन कैयौं महिला घरबाट हाम फालेर भाग्ने गरेका पनि छन् । कैयौं महिला यौन शोषण र बलात्कारबाट गर्भवती भएर, मानसिक रूपमा विक्षिप्त भएर नेपाल फर्काइन्छन् । यसरी फिर्ता आएकाहरूले सामाजिक लाञ्छना, अपहेलना र तिरस्कारका कारण भोग्नुपर्ने पीडा पनि कम्ती कहालीलाग्दो हुन्न ।

कृषिमा बाध्यात्मक श्रम र दासत्व

नेपालमा सन् २००१ मा कमैया श्रम निषेध ऐनमार्फत सबै प्रकारका दास प्रथाको अन्त्य भएको घोषणा भयो । सो ऐन आएयता कमैयाहरूको मुक्ति भए पनि हलिया प्रथा अन्त्य हुन थप ६ वर्ष लाग्यो । त्यही प्रकृतिको हरूवा–चरुवा समुदायको मुक्ति घोषणा हुन भने सन् २०२२ सम्म कुर्नुपर्‍यो । यी सबै प्रथा कृषिमा आधारित बँधुवा श्रमिकका हुन् जसमा कुनै व्यक्तिभन्दा पनि सम्पूर्ण परिवारले नै जमिनदार वा मालिकको अधीनमा रहेर दाससरहको जीवन बिताएका हुन्छन् । कानुनी रूपमा त यो प्रथाको अन्त्य भयो, तर एकीकृत रूपमा भूमि, बास लगायतका न्यूनतम आवश्यकतालाई सम्बोधन नगरिएको हुँदा उनीहरू पुनः दासत्वकै चक्रमा जीवन गुजारिरहेका छन् । दिगो आयआर्जन, सीप विकास, रोजगारी, खेतीयोग्य जमिन जस्ता विषयको सुनिश्चितता नहुँदा यस्ता समुदायका सदस्य या त साहू–महाजनकैमा बँधुवा श्रमिकका रूपमा छन् या भारतमा न्यूनतम ज्यालामा मजदुरी गर्ने गर्छन् । पहाडे दलित, मधेशी दलित र चौधरी समुदायको आधिक्य रहेको कृषि बँधुवा मजदुरभित्र पनि महिला र बालबालिकाको स्थिति झनै दयनीय छ । बालबालिका विद्यालयमा भर्ना भए पनि विरलै कक्षा दससम्म पुग्छन् ।

पहिचान भइसकेका र पहिचान हुन बाँकी अझै धेरै परिवार र समुदायहरू आज पनि आधुनिक दास बनी बाँच्न विवश छन् । एउटा सर्वेक्षण अनुसार, पूर्वी तराईमा हरूवा–चरुवा समुदायका करिब ७० हजार मानिसले पुर्खाले र आफूले लिएको ऋणको कहिल्यै नसकिने साउँ र ब्याजको चक्रभित्र फसेर साहूहरूका घरमा दासत्वको जीवन गुजारिरहेका छन् । केही हप्ताअघि मात्र प्रधानमन्त्रीले हरूवा–चरुवा समुदायको मुक्ति र ऋण मिनाहा भएको घोषणा त गरे तर व्यवहारमा त्यो लागू हुन सकेको छैन । मुक्ति मात्र घोषणा गरेर ती परिवारहरूको जीवनमा परिवर्तन आउनेवाला छैन ।

बालबालिका र दासत्व

नेपाल प्रहरीको तथ्यांक अनुसार, पछिल्लो एक वर्षभित्र झन्डै १४ हजार बालबालिका हराए जसमध्ये ४७ प्रतिशत मात्र भेटिए । भेट्न नसकिएका बालबालिका बेचबिखनमा परेको हुन सक्ने प्रहरीको अनुमान छ । गएको वर्ष मात्रै विभिन्न गैरसरकारी संस्थाले ३७४ बालबालिकाको उद्धार गरेका थिए । नेपालका सहरी क्षेत्रहरूमा मनोरञ्जन र सत्कार क्षेत्रमा काम गर्नेहरूमध्ये २० प्रतिशत बालबालिका भएको एउटा अध्ययनले देखाएको छ । आईएलओको सर्भे अनुसार, नेपालका ५–१७ वर्ष उमेरसमूहका बालबालिकामध्ये १५ प्रतिशत श्रमिक छन् । घरेलु कामदार, यातायात क्षेत्र, जरी र कार्पेट फ्याक्ट्री, इँटाभट्टा, रेस्टुरेन्ट, होटल लगायतमा बालबालिका चरम श्रम शोषण र यौन शोषण भोग्दै दाससरहको जीवन बाँच्न बाध्य छन् । यद्यपि अध्ययनले सबैभन्दा बढी बालश्रम (८७ प्रतिशत) कृषि क्षेत्रमा रहेको र त्यसभित्र पनि बालिकाको संख्या उच्च रहेको देखाउँछ । नेपाल सरकारले सन् २०२२ सम्ममा निकृष्ट बालश्रम र २०२५ सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने राष्ट्रिय गुरुयोजना ल्याए पनि त्यो कसरी सम्भव हुने हो, स्पष्ट आधार छैन ।

कारणहरू के हुन् त ?

आधुनिक दासत्व नेपालको मात्र नभएर संसारकै लागि चिन्ताको विषय हो । विश्वभर भइरहेको असमान जनसंख्या वृद्धि, गरिबी, सामाजिक र लैंगिक असमानता, केही देशले कृषि र अन्य क्षेत्रमा गरेको आधुनिकीकरण र प्रगति, तेस्रो विश्वको गरिबी, भ्रष्टाचार, द्वन्द्वका कारण विस्थापन, हिंसा, लैंगिक हिंसा, विभेद, दण्डहीनता लगायत आधुनिक दासत्वका कारक तत्त्व हुन् भनेका छन् केविन बेल्सले । विश्वव्यापीकरणले ल्याएको परिवर्तनसँगै विकसित राष्ट्रहरूमा रोजगारी, श्रम, शिक्षा आदिका लागि तेस्रो विश्वका मानिसहरूमा अन्धाधुन्ध आकर्षण बढेको छ । स्थानीय श्रम बजारमा रोजगारीको अभाव, युवाहरूलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सक्ने आन्तरिक नीतिहरूको अभाव, अन्तर्राष्ट्रिय श्रम बजारमा आफ्ना नागरिकको आधारभूत अधिकार सुरक्षित गर्न नसक्ने कमजोर र अस्पष्ट वैदेशिक नीति र अडानहरू नेपालका समस्या हुन् । अर्कातिर, अस्थिर र भ्रष्ट राजनीति, सामाजिक बहिष्करण, विभेद, लैंगिक र जातीय भेदभाव, दण्डहीनता जस्ता पक्ष आधुनिक दासत्वका गहिरा कारक हुन् । राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको प्रवृत्तिले नेपाली समाजमा अपराध गर्नेको मनोबल बढ्दै गएको छ । न्याय प्रणाली हुनेखाने र पहुँचवालाहरूको नियन्त्रणमा रहेकाले न्यायमा दासत्वको सिकार भएका व्यक्तिहरूको पहुँच झन्झन् घट्दै गइरहेको छ । सजिलो, भरपर्दो र आत्मसम्मानपूर्ण न्याय नपाएपछि समाजमा सबैभन्दा पीँधमा रहेका व्यक्तिहरूको आत्मबल अझै खस्किँदै जाने र त्यसले उनीहरूलाई झनै जोखिमतिर धकेल्ने निश्चित छ । यसबाट दलित, जनजाति, आदिवासी जस्ता सीमान्तकृत समुदायहरू नै सबैभन्दा प्रभावित हुने हुन् । यस्ता विषयवस्तुप्रति राजनीतिक नेतृत्वको न्यून चासो रहनु र यस्ता मुद्दाहरूलाई राजनीतिक बहसमा ल्याउनुको सट्टा सामाजिक विषयका रूपमा पन्छाउनु अर्को मुख्य समस्या हो ।

के गर्न सकिन्छ ?

आधुनिक दासत्व समाधान नै गर्न नसकिने समस्या चाहिँ होइन । तीनै तहका सरकार, राजनीतिक नेतृत्व, निजी क्षेत्र सबैले यस विषयलाई गम्भीरतापूर्वक लिन ! स्थानीयस्तरदेखि नै प्रभावकारी नीतिहरू तय गर्न एवं परिणाम मात्र नखोजी कारणहरूकै प्रभावकारी निराकरणमा काम गर्न सकेमा आधुनिक दासत्वका जोखिमहरूलाई घटाउन सकिन्छ । आधुनिक दासत्व पर्खिएर हेर्ने हैन कि आजै र अहिले नै सम्बोधन गर्नुपर्ने विषय हो ।

प्रकाशित : आश्विन २४, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?