विछोडको पीडा, नारायणगोपाल र दसैं- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
नारायणगोपाल जन्मस्मृति

विछोडको पीडा, नारायणगोपाल र दसैं

नारायणगोपाल सबथोक थिए, एउटा जीवनमा । तर गीतकार थिएनन्, भएनन् । उनीजस्ता गीतलाई बुझ्नसक्ने शक्ति भएका अर्का गायक वा संगीतकार नेपालमा सायदै छन् ।
भूपेन्द्र खड्का

काठमाडौँ — नारायणगोपाल सन् १९६० तिर त्रिचन्द्र कलेजका स्नातक विध्यार्थी थिए । जब क्लासमा कुनै पिरियड खाली हुन्थ्यो, डेस्कलाई तबलाजस्तै बजाएर उनी गाउन थाल्थे । प्राध्यापक वीसी मल्लको नागरिकशास्त्रको अन्तिम कक्षा भने उनले विभिन्न बहाना बनाएर हाप्थे र उनका नजिकका साथीमध्ये एक रत्नशमशेर थापालाई लिएर आफ्नो घर किलागल पुग्थे ।

कहिले सितार, त कहिले तानपुरामा विभिन्न धुनहरू रचेर नारायणगोपालले रत्नशमशेरलाई सुनाउँथे । नारायणगोपालले रेडियो नेपालको स्वर परीक्षामा पनि पास गरिसकेका थिए, त्यति बेलासम्म । रेडियोमा उनले रत्नशमशेर थापाकै दुइटा लाइभ गाए, 'गाजलु आँखा' र 'मधुमासमा दिलको यो बाग', जुन निकै चर्चित पनि भए ।

त्यसपछि नारायणगोपालले ६ वटा गीत रेकर्ड गर्ने कोटा पाए, त्यो पनि भारतको कोलकातामा । उनका सर्वप्रिय गीतकार रत्नशमशेर थापाकै गीत उनले छाने र धुन भरे । स्वर्गकी रानी, ए कान्छा, कुन्जमा गुन्जियो, आँखाको भाका आँखैले, भो भो नसोध र मधुमासमा दिलको यो बाग ती गीत थिए । नेपालबाट मादल बजाउन इन्द्रलाललाई कोलकातासम्म लगेर उनले ती गीतमा नेपालीपन भरेका थिए । नारायणगोपाल र रत्नशमशेर थापाको अनुमानअनुसार नै स्वर्गकी रानी, ए कान्छा ठट्टैमा र आँखाको भाका निकै लोकप्रिय पनि भए र वर्षौंसम्म रेडियो नेपालको फर्माइसी कार्यक्रममा पनि निरन्तर बजिरहे । तिनै गीतबाट नारायणगोपालको गायिकी र साङ्गीतिक जीवनको सुरुवात पनि भयो ।

कोलकातामा रेकर्ड भएका ६ वटा गीतमधेयको एउटा गीत 'मधुमासमा दिलको बाग'को भने 'स्पुल स्याम्पुल' कोरिएर आयो र त्यसलाई फेरि रेकर्ड गर्नुपर्ने भयो । त्यसको सट्टामा रेकर्ड भएको गीत थियो, 'विछोडको पीडा नसकी खप्न दशैंको बेलामा, तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा !'

१९९७ साल असोज १८ मा काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपाल त्यति बेला २३ वर्षका केटौले उमेरका थिए तर व्यवहार निकै परिपक्व थियो । यो गीत रेकर्ड गर्नेबेला उनी बडौदामा शास्त्रीय संगीत पढ्न गैसकेका थिए । गीत रेकर्ड गर्नेपर्ने भएपछि उनले खरसाङ रेडियोमा गीत गाइरहेकी दिलमाया खातीलाई कोलकाता बोलाए । उनी पनि निकै कलिलो उमेरकी भएकोले नारायणगोपालसँग गीत गाउन निकै दकस मानिरहेकी थिइन् रे तर उनले कोलकाता पुगेर सो गीत गाइन् ।

किलागलको आफ्नो घरमा सितारमा धुन भरेर त्रिचन्द्र कलेजमा डेस्कलाई तबला बजाएर सुनाएको गीत थियो त्यो गीत, जसको लयलाई रत्नशमशेर थापाले एकैपटकमा ओके गरिदिएका थिए । रत्नशमशेर थापा पनि लय र संगीतमा कम थिएनन् । २०१३ सालमा नै एउटा गायन प्रतियोगितामा गीत गाएर प्रथम भएका थिए । तबलावादक त छँदै थिए । एक गायक र गीतकारको 'जगेडा'मा रहेको सो गीत रेकर्ड भएपछि बडौदाबाट छुट्टीमा लिएर आए, नारायणगोपालले । त्यस गीतको अन्तिममा नारायणगोपालले प्रयोग गरेको 'हमिङ'को तार अक्टेभभन्दा माथिको स्वर सुनेपछि उनलाई भने, "नारायण, तिम्रा लागि अब अर्कै हार्मोनियम बनाऊ ।"

यही गीतमा भनेजस्तै 'दुख पनि नासिएला भाग्यमा घाम उदाए' यो गीतले भाग्यमा नै बोकेर लिई आएको रहेछ, जब यो गीत रडियो नेपालबाट बज्न थाल्यो, तब दसैं आएको महसुस हुन थाल्यो । मालश्री धुन बजेपछि शरद् ऋतुको आगमन भएजस्तै यो गीत बजेपछि नेपालीहरूले परदेशिएका आफन्तको बाटो कुर्न र हेर्न थाले | अनि मात्रै दसैंको रौनकताको चर्चा हुन थाल्यो । निरन्तर ६० वर्ष यही गीतले नेपालीहरूको महान् पर्व दसैंको संगीतिक प्रतिनिधित्व गरिरहेछ ।

रेडियो नेपालको स्थापना भएको ७२ वर्ष र निजी एफएमहरूको २५ वर्ष नाघे पनि आजको मितिसम्म पनि यही गीत नबजाई कुनै पनि आरजे, प्रसारक वा उत्पादकको दशैं गीतको श्रीगणेश हुँदै हुँदैन । त्यसपछि पनि दर्जनौं कलकारले दर्जनौं दसैं गीतहरू रेकर्ड गराए तर यो गीतको अस्तित्व अमिट छ, अमर छ ।

जनजीवनको दुखका भाकाहरूलाई भनिएको यो गीतका शब्दले हाम्रो जीवनशैलीलाई मात्रै बुझाएका छैनन्, मोटोको माया र देशभक्तिको मर्मलाई पनि दसैंसँग जोडेर बुझ्न सन्देश दिएका छन् ।

नारायणगोपाल सबथोक थिए, एउटा जीवनमा । तर गीतकार थिएनन्, भएनन् । उनीजस्ता गीतलाई बुझ्नसक्ने शक्ति भएका अर्का गायक वा संगीतकार नेपालमा सायदै छन् ।
त्यसैले यो गीत शब्द, संगीत, संगीत संयोजन र पूर्ण गायिकीले भरिएको गीत भएकैले नै आज पनि हाम्रो जिब्रोमा मात्रै होइन, मनमा शरद्-ध्वनि बनेर गुन्जिरहेको छ ।

(लेखक खड्काको प्रकाशोन्मुख पुस्तक 'स्वरसम्राट्'बाट)

सम्पादकीय नोट : यसअघि प्रकाशित 'स्वरसम्राट्' किताबको अंश प्राविधिककारणवस अन्यथा भएकाले लेखकको अनुरोधमा यो अंश प्रकाशन गरिएको छ ।

प्रकाशित : आश्विन १८, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

गितारका तारमा गुन्जिरहेको एउटा आवाज

अरूण थापा जीवित रहेका भए ७० वर्षका हुन्थे । उनी पनि अरु संगीतकर्मीले जस्तै देशका विभिन्न सांगीतिक कार्यक्रममा पुरस्कार–सम्मान लिँदै–दिँदै हुन्थे सायद । तर, उनी बितेको पनि २४ वर्ष लाग्यो– यही साउन ५ देखि । आज अरूण सबैका मनमा छन् । उनको आवाज संगीतप्रेमीको हृदयमै गढेर बसेको छ । २४ औं स्मृति दिवसमा अरूणको सम्झना :
भूपेन्द्र खड्का

नसा–नशामा अरुणसाहित्यकार सरुभक्तले सिग्रेट पिउँदा (जतिखेर उनी सिग्रेट पिउँथे) सँगै रहेका अरुण थापा सिग्रेटको खिल्लीमा गाँजा भर्थे र पिउँथे । सिग्रेटका सिकारुजस्ता लाग्ने उनी गाँजाको साथमा ठर्रा ‘शट’ हान्थे । अनि उनका नसामा नशाको मात चढ्थ्यो र त्यो मात संगीतमा उत्रन्थ्यो । त्यसपछि गितार फिटेर गाउँथे– किशोरकुमार र नारायणगोपालहरूका गीत !

जीवनका लयहरू समात्दै गर्दा संगीतका लय पक्रेका अरुणको संगीत–यात्राको लय पोखराले हालिदिएको हो र विलयको कारक पनि पोखरा नै हो । पोखराका विनोद गौचन, विक्रम गुरुङ, सरुभक्त, तीर्थ श्रेष्ठ, सरोजगोपालहरूको साहित्यिक र सांगीतिक ग्याङमा गितार फिट्दै चिम्सा आँखामा मुस्कान भर्ने अरुण आफ्नै जीवनका लयहरू खोज्दा प्रेम, विवाह, वियोगको लयमा अल्झिए र तिनै लयहरूमा विलय भए ।

विशेषतः साहित्यकारका संगतमा हुर्किएका अरुणका गीति रोजाइ पनि उच्च विम्बात्मक छन् । आफ्ना सबै गीतमा फरक गीति विम्ब र भावका शब्दलाई संगीतमा ढालेका र अरूको संगीतमा गाएका गीतमा पनि उस्तै शब्द छनोट गरेका अरुण नामजस्तै आदित्य छन्, संगीतका लयहरूमा सूर्य नै बनेर उदाएका छन् ।

कुलतको लतका कारण तीन वर्ष नख्खु जेल र सदरखोरको जीवनबाट उनी रिहा त भए, तर नशाको क्रूर झ्यालखानाबाट कहिल्यै मुक्त हुन सकेनन् । बागबजारको ‘कान्तिपुर गेस्ट हाउस’ मा आफैंले सृजना गरेका धूनहरू (साथीहरूका जिन्स ज्याकेटसमेत) बेचेर ‘नशाको धुन’ खोजेका अरुण जति बदनाम भए पनि खासमा ‘नामी’ गायक हुन् । आजको पुस्ताले संसारका पछिल्ला प्रविधिमा आएका गीतहरू सुन्दै गर्दा पनि अरुणकै गीत पहिलो रोजाइमा हुनुले पनि यसको पुष्टि गर्छ ।

किन गाइन्छन् त अरुणका गीत सजिलै ? यो जिज्ञासा जसको मनमा पनि हुन सक्छ । उत्तर पनि सरल र सहज हुन सक्छ– राम्रो गाएर वा राम्रो भएर । यसको जवाफ यतिले मात्रै पक्कै पुग्दैन । जुन कलाकारको आत्मामा ‘सुर’ हरूको बास हुन्छ, तिनको जीवन बेसुर भए पनि अरूलाई संगीतका सुरहरूमा हिँडाउने क्षमता हुन्छ । उसको आत्माले कहिल्यै ढाँट्दैन– फुत्किएको जीवनको लय फेरि मिलाउन सकिन्छ, तर सुर फुत्किएको संगीतको लय बाहिर आउनासाथ बेसुरा भइजान्छ । अरुण संगीतको सुर सिकाउने ‘सुरिला’ शिल्पी हुन् ।

माइनर कर्ड्समा अरुण

अरुण थापाका मुस्किलले ४ दर्जनजति गीत सुन्न पाइन्छ । तीमध्ये २० वटा गीत त सु–सफल र कालजयी छन् । ती सफल गीत अधिकांश ‘माइनर कर्ड्स’ मा कम्पोज गरिएका छन् । कतिपय गीत ‘मेजर कर्ड्स’ मा भए पनि अन्तराका कतिपय स्थानमा माइनरमै पुगेका छन् । माइनर कर्ड्स ‘मेलोडी’ र ‘हार्मोनिक’ हुन्छन् । हार्मोनिकले ‘टोनिक’ लाई अझै बढी ‘डेकोरेसन’ गर्छ, लयलाई ‘इम्प्रोभाइज’ गर्छ । माइनर कर्ड्समा बनाइएका गीतमा संगीत–संयोजकलाई काम गर्ने धेरै ठाउँ हुन्छ । माइनर कर्ड्समा गीतमा लय भर्दा धेरै ‘अप्सन’ हरूमा खेल्न पाइन्छ । ‘एक्सिडेन्टल नोट’ हरूलाई प्रयोग गर्न सकिन्छ । यस्ता गीत सुन्दा सजिला र सुरम्य लाग्छन्, तर गाउन निकै कठिन हुन्छ ।

‘डी’ माइनरमा बनाइएको गीत हो, ‘म रोए पनि तिमी हाँसिदिनू’ (शब्द–संगीत– भूषण खरेल, अरुण थापा) । करहवा ताल (४/४) मा बनाइएको यो गीत राग भैरवीमा आधारित छ । प्रातःकालमा गाइने यस रागमा प्रायः वियोगात्मक गीत सृजना गर्ने गरिन्छ । शुद्ध रे, ग, ध, नि प्रयोग भए पनि यस रागमा बाह्रै स्वर प्रयोग गर्न सकिन्छ । अरुणको गायिकीको उच्चकला यस गीतमा यसरी नै देखिएको हो ।

त्यस्तै, अरुण थापाको अर्को गीत ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो’ (शब्द–संगीत– भैरवनाथ रिमाल कदम, अरुण थापा) ‘सि’ माइनरमा कम्पोज गरिएको हो । निकै गाह्रो मानिने ताल दीपचन्दी (७/८) मा बनाइएको यो गीत शिवरञ्जनी रागमा आधारित छ । रातमा प्रायः गाइने यो रागमा बिन्दास भएर गाउन सकिन्छ । अरुणको यस गीतको लालित्यपूर्ण गायिकी यसकारण यो गीतमा छ ।

अरुणको अर्को चर्चित गीत हो– ‘साँझको जूनसँगै आउँछौ तिमी भनेर’ (शब्द–संगीत– किशोर गुरुङ, अरुण थापा) । ‘सि’ माइनर, करहवा ताल (४/४) मा बनाइएको यस गीतमा राग काफी र खमाजको मिश्रण छ । राग काफीको आरोह ग, नि कोमल स्वर भए पनि शुद्ध प्रयोग हुँदा गीतको गायिकी राम्रो सुनिन्छ । अरुणको यही विशेषता छ, यस गीतमा ।

अरुण थापाका राष्ट्रिय गीतमा एक मात्रै चर्चित गीत ‘करोडौं मुटुहरूको ढुकढुकी नेपाल’ (शब्द–संगीत– नवराज कार्की, सरोजगोपाल) पनि ‘जि’ माइनरमा बनाइएको गीत हो । गीतको लयमा उनले झुम्मिँदै गाउँदा सुनिने आवाजले जोकोहीलाई लठ्ठ बनाउँछ ।

मेजर कर्ड्समा अरुण

माइनर कर्ड्समा सुरवीर सुनिने अरुणका केही चर्चित गीतहरू मेजर कर्ड्समा छन् । त्यसमध्येको सबैभन्दा चर्चित गीत हो, ‘जति माया लाए पनि, जति कसम खाए पनि’ (शब्द–संगीत– विनोद गौचन, अरुण थापा) ।

संगीतकार राजु सिंहले तयार पारेको ‘जति माया लाए पनि’ को स्वर–लिपी

‘इ’ मेजरमा बनाइएको यो गीत सेलो बिट (२/४, ४/४) मा छ । खमाज रागमा आधारित यस गीतको कम्पोजिसनमा प्रयोग भएको रिपिटेसनका कारण गाउँदा अर्कै प्रकारको आनन्द आउँछ । शृंगार रसले ओतप्रोत हुने खमाज रागलाई ठुमरीको रागिनी पनि भनिन्छ । रातको दोस्रो प्रहरमा गाइने यस रागमा कोमल ‘नि’ स्वरको विशेष प्रयोग हुन्छ । मध्य र तार सप्तकमा गाइने यस रागमा आधारित यो गीतमा अरुणको स्वरको कला चुलिएको छ । त्यसैले पनि अरुण यस गीतको गायिकीमा खास खुलेका छन् ।

त्यस्तै, अरुण थापाको अर्को निकै चर्चित गीत हो, ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ (शब्द–संगीत– राजेन्द्र रिजाल, राम थापा) । बीबीसी नेपाली सेवाको विश्वव्यापी सर्वेक्षणको टप–१० मा सातौँ नम्बरमा सूचीकृत यो गीत ‘इ’ मेजरमा कम्पोज गरिएको छ । करहवा (४/४) तालमा बनाइएको यस गीतलाई पश्चिमा भाषामा कन्ट्री सङ भन्दा पनि फरक पर्दैन । राग वसन्तलाई टच गरेर बनाइएको यो गीत रोमान्टिक छ किनकि वसन्त रागलाई रोमान्टिक राग मानिन्छ । यसमा तीव्र र शुद्ध ‘म’ को प्रयोग गरिन्छ । अरुणको यस गीतमा पनि सोही स्वरको प्रयोग भएको छ ।

अपवाद अरुण

२०५४ सालमा अरुणका पछिल्ला गीतहरूको एल्बम ‘अरुण’ लोकार्पण कार्यक्रममा उनी स्वयम् उपस्थित भएनन् । बागबजारस्थित शंकरदेव क्याम्पसको विपरीत दिशामा भएको ‘जि–फन्ट’ को कार्यालय रहेको घरमा मगर भाषासेवीहरूको पत्रिका ‘लाफ’ को कार्यालय थियो, चौथो तल्लामा । लोकार्पण कार्यक्रम सुरु भयो । त्यहाँ उपस्थित करिब ५० जनाले आधा घण्टासम्म चुपचाप अरुणलाई कुरे । एक घण्टासम्म पनि उनी नआएपछि एल्बम लोकार्पण गरियो । एल्बम लोकार्पण गर्दै प्रमुख अतिथि बैरागी काइँलाले स्यामुअल बेकेटको नाटकको कथा सुनाएको सम्झन्छन्, सोही एल्बमको एउटा गीतका गीतकार सन्जोग लाफा मगर, ‘यो त स्यामुअल बेकेटको नाटक ‘वेटिङ फर गडोट’ जस्तो भयो । भगवान्ले मोजा खोजिदेलान् भनेर भगवान्को प्रतीक्षा गरेको, भगवान् नै आएनन् ।’

कल्पना गर्न सकिन्न कि कोही कलाकार आफ्नो गीति एल्बमको लोकार्पण समारोहमा आफैं छुटोस्, तर यसमा अरुण अपवाद रहे । उनी त्यतिबेला जीवन वियोगको पीडा र ड्रग्सको नशामा निर्लिप्त थिए । संजोग सम्झन्छन्, ‘सुख–दुख भुलेर, चाहे आँधी चलोसलगायतका गीत बजाइयो । त्यसपछि दाइलाई खोज्न गएको कतै भेटाइएन । भोलिपल्ट थाहा भयो, बागबजारबाटै उनलाई पुलिसले पक्रेको रहेछ ।’

त्यस्तै, २०५२ साल मंसिरमा आयोजना भएको एकल साँझमा ठडिँदा पनि नशाको लैबरीमा उनले गाए । कार्यक्रम सुरु हुने बेलाभन्दा अघि उनी दुई घण्टा ट्वाइलेटमा हराएका थिए । अरुण थापा प्रतिष्ठानका अध्यक्ष सन्दन थापा सम्झन्छन्, ‘अरुण दाइले अन्य जति सांगीतिक कार्यक्रममा सहभागिता जनाए, त्यहाँ उनले नशालाई अघि र आफूलाई पछि लगाएर प्रस्तुत भए ।’

‘नाम होस्, चाहे बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने उखान अरुणकै जीवनमा लागू हुन्छ । पोखरामा संगीत जीवनको पूर्वार्द्धमा अरुण निकै चर्चित थिए । संगीतका धेरै बैठकी र कार्यक्रमहरूमा उनले आफ्नो गायिकीले प्रभुत्व जमाउँथे ।

प्रेमको बर्बादीपछि सुरु भएका दिनमा कहिले मदिरा, कहिले गाँजा, कहिले लागूऔषध प्रयोग र ओसारपसारको आरोपमा उनी पक्राउ पर्दा बदनाम भए । उनलाई त्यति बेलाका संगीत क्षेत्रका मानिसले पनि सहयोगसम्म गरेनन् । उनको कुलतलाई ‘सु–लत’ मा ल्याउन कसैले चासो देखाएनन् र पनि अरुण गुमनाम रहेनन् ।

कहिले दार्जिलिङमा, कहिले पोखरामा, कहिले झम्सीखेलमा, त कहिले बागबजारमा गितारका तारमा आफ्नो जीवनका चीत्कार ओकल्ने अरुण संगीतका सुरहरूजस्तै ‘सुर’ मा थिए, केवल उनको जीवन ‘बेसुर’ बनेको हो ।

(यस आलेखमा ‘लय’ भरिदिने प्रसिद्ध संगीतकार राजु सिंहप्रति आभार व्यक्त गर्छु । साथै, ‘जतिमाया लाए पनि’ गीतको स्वर–लिपि (नोटेसन) का लागि म उहाँप्रति कृतज्ञ छु ।)

प्रकाशित : श्रावण ७, २०७९ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×