खानेकुरा खाँदा सावधानी अपनाऔं- विविधा - कान्तिपुर समाचार

खानेकुरा खाँदा सावधानी अपनाऔं

गत वर्ष नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थाननजिकै एक वयस्क तातो ममको डल्लो हतारमा निल्न खोज्दा सर्केर ठहरै भएका थिए ।
ढुण्डीराज पौडेल

काठमाडौँ — सबै उमेरका व्यक्तिहरूको खानेनलीमा कुनै वस्तु अड्किएर या सासनलीमा सर्किएर गम्भीर अवस्था भएका या अकाल मृत्युसमेत हुन पुगेका खबरहरू संप्रेषित हुने गरेकै छन् । दसैंको अवसरमा खसी, बोका, च्यांग्रा, कुखुरा एवं राँगाभैंसी आदिको मासु बढी खाने गरिन्छ । कतिका लागि त धीत मर्ने गरी मासु खान दसैं कुर्नुपर्ने अवस्था पनि छ ।

सात वर्षअघि आफ्ना पारिवारिक सदस्यहरूको मासुको माग पूरा गर्न नसक्दा चितवनका एक दलितले आत्महत्या गरेको दु:खद समाचार पनि आएको थियो । मासु सबै प्रकारको एमिनोएसिडले भरिपूर्ण प्रोटिनको स्रोत भए पनि रातो मासु रगतमा कोलेस्ट्रोल र अल्पघनत्व भएको लिपिडको मात्रा बढी भएका व्यक्तिहरूका निम्ति हानिकारक हुन सक्छ, मस्तिष्क र मुटुको रक्त प्रवाहमा नकारात्मक असर पर्न सक्छ । चाडपर्वमा एकातिर व्यायाम कम हुने अनि अर्कातिर क्यालोरी र कोलेस्ट्रोल बढी हुने वस्तुको सेवन बढी हुन जाँदा शरीरलाई बेफाइदा हुन्छ ।

दसैंमा हतारमा मासु खाँदा घाँटीमा हड्डी अड्काएर अस्पताल आउनेहरूको संख्या पनि बढ्छ । केही वर्षअघिको दसैंमा एक पुराना गायकका छोराको घाँटीमा अड्किएको हड्डीले खानेनली नै छेडेर अवस्था गम्भीर बनाएको समाचार पढिएको थियो । पंक्तिकार कार्यरत मोफसलको एक मेडिकल कलेजमा गत वर्ष दाँत पूरै झरिसकेका ९७ वर्षीय एक वृद्धको समेत घाँटीमा अड्किएको

हड्डी निकाल्नुपरेको थियो । अड्किने या सर्किने मुख्य कारण नै हतारमा, राम्रोसँग नचबाई निल्नु हो । मुखको पछाडिको भाग (ओरोफ्यारिङ्स) पछि स्वर वा सास र खानेपिउने नलीहरू छुट्टिन्छन् । त्यसैले बोल्दा र खानेकुरा निल्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

दाँतहरू राम्रोसँग विकसित भइनसकेका बालबालिका या उमेरका कारण बंगाराहरू झरेर दन्तविहीन भएका वृद्धवृद्धालाई चपाउन गाह्रो हुन्छ । नचपाईकन निल्नु घातक हुन सक्छ । माथि उल्लेख गरिएजस्तो दाँत नभएकाहरू मात्रै होइन, दाँत भएकाहरूले पनि हड्डी सहितको मासुको झोल होसियारी नपुर्‍याई पिउँदा पनि सानातिना तिखा हड्डीहरू घाँटीमा अड्किन सक्छन् । आमाहरूले शिशुहरूलाई सुताएरै स्तनपान गराउँदा या दूध आदि पिलाउँदा त्यो कानतिर जान या सर्किन पनि सक्छ । झोल या ठोस पदार्थ निल्ने बेला स्वरयन्त्र सहितको सासनली माथि उठ्ने र थुनिने गर्छ । चार वर्षमुनिका बच्चाहरूमा त निल्ने प्रक्रिया पूर्ण विकसित नभएका कारण स्वरयन्त्र सहितको सासनली कम सुरक्षित या कम संरक्षित हुने गरेकाले सर्किने सम्भावना बढी हुने तथ्य अनुसन्धानबाट सिद्ध भइसकेको छ ।

बालबालिकामा विभिन्न प्रकारका अनाज, गेडागुडीका दाना, फुकेर बजाउने सिटीको भाग आदि सासनलीतिर सर्किन जाँदा तत्कालै मृत्यु या गम्भीर प्रकारको न्युमोनिया हुन सक्छ । त्यसैले अभिभावकहरूले ध्यान दिनुपर्ने हुन्छ— यदि बच्चाले कुनै वस्तु मुखमा राखेरपछि तत्काल सास फेर्न गाह्रो भयो, नीलो हुन गयो अथवा तत्काल ठीक भए पनि पछि खोकी लाग्ने या श्वास–प्रश्वासमा अप्ठ्यारो हुन गए सासनलीमा कुनै वस्तु अड्किएको शंकामा जँचाउने, एक्सरे या आवश्यक परे सिटी स्क्यान गर्नुपर्ने हुन्छ ।

पंक्तिकार कार्यरत मेडिकल कलेजको नाक, कान, घाँटी विभागमा बर्सेनि एक दर्जनजति बालबालिका सासनलीमा समेत विभिन्न वस्तु सर्किनाले ल्याइन्छन् जसका लागि ब्रोन्कोस्कोपीको जरुरत पर्छ । एक बालकको सासनलीको माथिल्लो भागमा सर्किएर अड्किएको हड्डीको टुक्रासमेत निकाल्नुपरेको थियो । मोफसलका केही नगण्य अस्पतालमा मात्रै यसका लागि आवश्यक पर्ने रिजिट ब्रोन्कोस्कोपीको सेवा उपलब्ध छ ।

सासनलीमा लामो समय केही अड्किए खोकी लाग्ने र सास प्रक्रियामा अवरोध भई न्युमोनियाको समेत सम्भावना हुन्छ । बालबालिकाबाहेक वयस्कको पनि असावधानीका कारण खानेनलीमा केही अड्किने मात्रै होइन, नचपाईकन हतारमा, कुरा गर्दै, खोक्दै, मदिरा आदिको असरमा जथाभावी निल्दा मासु जस्ता ठोस वस्तु अड्किने मात्र नभई पेय पदार्थसमेत सर्किन गई मृत्यु पनि हुन सक्छ । गत वर्ष भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थाननजिकै एक वयस्क तातो ममको डल्लो हतारमा निल्न खोज्दा सर्केर ठहरै भएको समाचारले अन्तर्राष्ट्रिय रूपमै प्रमुखता पाएको थियो ।

निल्ने प्रक्रियामा धेरै मांसपेशी एवं स्नायु पद्धति र तन्तुहरूको संलग्नता रहने भएकाले सुस्त मनस्थिति वा कमजोर चेतना भएका दीर्घरोगीहरू एवं वृद्धवृद्धालाई निल्न सकिने वस्तुहरू राम्रोसँग केलाएर दिनुपर्ने हुन्छ । कोही कुनै कारण अचानक बेहोस भए पानी दिने चलन छ । तर, सर्किएर सासनली एवं फोक्सोमा जान सक्ने भएकाले बेहोस हुँदा मुखमा पानी हालिदिनु घातक हुन सक्छ ।

सर्किनुका कारण

प्रकृतिले मानिसलाई अन्य जनावरमा जस्तो एकोहोरो आवाज मात्रै निकाल्न होइन, बोलीसमेत प्रकट गर्ने क्षमता दिएको छ । तर बोली निकाल्ने, निल्ने र सास फेर्ने तीनवटै काम सँगसँगै गर्न सक्ने सुविधा चाहिँ प्रकृतिले मानिसलाई दिएको छैन । हेक्का राख्नुपर्ने कुरा के हो भने, घाँटीको स्वरयन्त्रसँगै वायु नली (ल्यारिङ्स, ट्राकिया) र झोल एवं ठोस पदार्थ पार हुने खानेनली (हाइपोफ्यारिङ्स, इसोफेगस) पृथक्पृथक् हुन्छ । त्यसैले निल्ने, बोल्ने र सास लिने काम सँगसँगै गर्न सकिन्न ।

हावा बाहेकको कुनै पनि वस्तु त्यो ठोस होस् या झोल, मुखबाट ओरोफ्यारिङ्स, हाइपोफ्यारिङ्स, इसोफेगस (खानेनली) हुँदै पेटमा पुग्नुपर्छ । पेटमा पुगेको वस्तु खानेनली हुँदै घाँटीबाट बाहिर निस्कन नदिन एक प्रकारको मांसपेशीय पद्धतिले काम गरेको हुन्छ ।

वायुको प्रवाह हुने ल्यारिङ, ट्राकिया फोक्सोमा कुनै पनि प्रकारको झोल या ठोस पदार्थ पुग्न गए त्यो घातक हुन सक्छ । यसरी ठोस पदार्थ खाँदा होस् या झोल पदार्थ निल्दा, अन्य अन्तर्निहित स्वास्थ्य समस्याबाहेक पनि यदि होसियारी पुर्‍याइएको छैन भने त्यसले फोक्सोमा गम्भीर प्रकारको न्युमोनियादेखि अकाल मृत्युसमेत निम्त्याउन सक्छ ।

सर्किन र अड्किनबाट कसरी जोगिने ?

कुनै पनि ठोस पदार्थ खाना नलीबाट सहजै पेटमा पुगोस् भनेर मुखमा राखेर चपाएर नहडबडाईकन बसेर निल्नुपर्ने हुन्छ । मुखमा पैदा हुने र्‍यालमा महत्त्वपूर्ण इन्जाइमहरू हुन्छन्, जसले चबाइएको वस्तुलाई झन् नरम बनाइदिन्छन् ।

झोल पदार्थ निल्दा त सावधानी र होसियारी पुर्‍याउनुपर्छ भने कुनै पनि ठोस वस्तु खाँदा सचेतता झनै आवश्यक पर्छ । निलेर घाँटी (फ्यारिङ्स) मा पठाउनुअघि मुखले ठम्याएर ठोस वस्तुलाई राम्ररी चबाएर र बसेर निल्दा अड्किने वा सर्किने सम्भावना कम हुन्छ । चबाएर निल्नुलाई एउटा यौगिक क्रिया मान्न सकिन्छ, जसका लागि मांसपेशी, स्नायु तन्तु, मस्तिष्क या चेतना एवं दाँत, हड्डीसहित बंगाराहरूमा समन्वयको जरुरत पर्छ । केही निल्ने बेला अर्थात् ओठ, जिब्रो, दाँत, तालु सबैको संयुक्त कार्यसम्पादनबाट चबाएर तयार गरिएको बोलस (योग्य बनाइएको भोजनको डल्लो) लाई घाँटी हुँदै खानेनलीसम्म पुर्‍याउने प्रक्रियामा ३० वटा मांसपेशीले समन्वयात्मक भूमिका खेलेका हुन्छन् । मस्तिष्क र मस्तिष्कसँग सम्बन्धित स्नायु नसाहरू (क्रानियल नर्भ) सक्रिय हुन्छन् । खानेनलीबाट वस्तु पार हुने बेला रुद्रघण्टी अर्थात् ल्यारिङ पनि उचालिने गर्छ । निल्ने बेला खानेनलीको वस्तु नछिरोस् भनेर सासनली पनि केही सेकेन्ड बन्द हुन्छ । सहज रूपमा भन्नुपर्दा, सास तान्दा न हामी निल्न सक्छौं, न आवाज नै निकाल्न । फोक्सोमा भरिएको हावा जोडले स्वरयन्त्रको भोकल कर्डमा ठक्कर दिएर पैदा हुने तरंगले आवाज निस्कन्छ जुन मुखबाट बोलीका रूपमा बाहिरिन्छ ।

खानेवस्तु घाँटीमा नसर्कियोस् भनेर जिब्रो र दाँतको सहायताले एउटा डल्लोका रूपमा समेट्ने र त्यसलाई महत्त्वपूर्ण रसादि या इन्जाइमको सहायताले पेटमा पच्न योग्य बनाइनुपर्छ । सर्किएर सासनली नै अवरुद्ध हुन गए पछाडिबाट छातीलाई दबाब पुग्ने गरी थिच्न सकिन्छ । तर अड्किँदा या सर्किंदा पानी दिनु हुन्न । अझ हड्डी अड्किँदा फूल खान दिने प्रचलन छ जुन झनै हानिकारक हुन्छ ।

निल्दा होसियारी पुर्‍याऔं

खाना खानेबित्तिकै पानी पिउन आवश्यक पर्दैन । खानासँगै धेरै पानी पिउँदा पाचन प्रणालीमा नकारात्मक असर पर्न सक्छ । तर केही सीमित बाहेकका औषधिहरू खाँदा भने पानी पिउन आवश्यक हुन्छ । डक्सिसाइक्लिन एन्टिबायोटिक, पिसाबलाई क्षारीकरण गर्ने र पातलो गर्ने पोटासियम आदि औषधिहरू त बसेर एक गिलास पानीसँग सर्लक्क निल्नुपर्छ । सुतेर, बोल्दै खानु हुन्न । झोल, ठोस खाद्य पदार्थसहित औषधिहरू सीधा बसेर होसियारीपूर्वक निल्नुपर्छ ।

प्रकाशित : आश्विन १७, २०७९ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

आयोडिनको थपघट र थाइरोइड

ढुण्डीराज पौडेल

अहिले नेपालीले आवश्यकताभन्दा बढी आयोडिन खाइरहेको तथ्य विभिन्न अनुसन्धानबाट उजागर भइरहेका छन् । आयोडिन, महत्त्वपूर्ण शारीरिक प्रक्रियाहरूको सुसञ्चालन र थाइरोइड हर्मोनको उत्पादनमा अनिवार्य एक प्रकारको लवण हो ।

केही दशकअघिसम्म आयोडिनको कमीका कारण संसारभर ठूलो जनसंख्या, गलगाँड एवं थाइरोइड हर्मोनको अभावमा सृजित जन्मजात एवं अन्य विकारबाट ग्रस्त थियो । नेपालको पहाडी भूभागका बासिन्दाको घाँटीमा ठुल्ठूला गलगाँडहरू देखिन्थे जसलाई ‘इन्डेमिक गोइटर’ भनिन्छ । आयोडिनको अभावमा थाइरोइड ग्रन्थीभित्र अस्वाभाविक उत्तेजना पैदा हुँदा गलगाँडका साथै कोषहरू अनियन्त्रित रूपमा विभाजित भई एक प्रकारको क्यान्सर (फोलिक्युलर) समेत हुने सम्भावना रहन्थ्यो ।

नुनको आयोडिनीकरणसँगै यसको कमीबाट हुने रोगहरू न्यून हुँदै गएका छन् । तर त्यही लवणको अत्यधिक सेवनबाट पनि थाइरोइड ग्रन्थीसम्बन्धी विभिन्न रोगबाट ग्रस्त भएका संकेत देखिएका छन् । दैनिक रूपमा बच्चालाई ९०, वयस्कलाई १५० र गर्भवतीलाई २५० माइक्रोग्राम भए पुग्ने आयोडिन सोभन्दा बढी हुन गए विभिन्न शारीरिक विकृति एवं जटिलता पैदा हुने सम्भावना रहन्छ । वयस्कले प्रतिदिन ११०० माइक्रोग्रामभन्दा बढी आयोडिन सेवन गरे हानिकारक हुने सम्भावना हुन्छ ।

आयोडिनीयुक्त नुनबाहेक शल्यक्रियामा प्रयोग गरिने रसायन, विभिन्न मल्हमदेखि सीटी स्क्यान एवं रोग अनुसन्धानका प्रविधि, कर्न्ट्यास्ट आदि परीक्षणमा प्रयोग हुने रसायनमा पनि प्रशस्त आयोडिन हुने गर्छ । अचम्म त के छ भने, शरीरमा आयोडिनको कमी हुँदा सृजित हुने थाइरोइडसम्बन्धी समस्या सो लवण अत्यधिक मात्रामा शरीरमा जम्मा हुँदा पनि पैदा हुन सक्छन् । जस्तो, सो लवण कमी हुँदा कतिपयमा हर्मोनको मात्रा कम हुने (हाइपोथाइरोइडिज्म) हुन्छ भने कतिपयमा त्यही हर्मोन नै बढी हुने (हाइपरथाइरोइडिज्म) समस्या पैदा हुन्छ । यसो हुनुका पछि व्यक्तिमा अन्तर्निहित अन्य थाइरोइड ग्रन्थी या विभिन्न हर्मोनसम्बन्धी खराबी, थाइरोइडको अटोइम्युनलगायत जिम्मेवार छन् ।

थाइरोइड ग्रन्थीका गिर्खा र क्यान्सर

खाने नुनको आयोडिनीकरणपश्चात् पनि विभिन्न कारणले समुदायमा थाइरोइड ग्रन्थीमा गिर्खाहरू पैदा हुने समस्यामा वृद्धि भइरहेको छ । अमेरिकालगायतका विकसित देश एवं भारतमा समेत घाँटीको अल्ट्रासाउन्ड (भिडियो एक्सरे) का माध्यमबाट गरिएको जाँचपड्तालमा करिब १५ देखि २५ प्रतिशत वयस्कमा थाइरोइड ग्रन्थी बढेको पाइएको छ । तीमध्ये ५–१५ प्रतिशतसम्ममा थाइरोइड क्यान्सर भएको अनुमान छ । क्यान्सरमध्ये पनि बहुसंख्यक (८० प्रतिशत) विस्तारै बढ्ने, कम आक्रामक, प्यापिलरी प्रकारको भएकाले सीमित प्रभावित व्यक्तिहरू मात्रै लक्षणयुक्त हुने सम्भावना रहन्छ, बहुसंख्यकमा कुनै लक्षण नै देखिन्न । आन्तरिक रूपमा कोषभित्र आणुवंशिक उत्परिवर्तन (जेनेटिक म्युटेसन) का कारण कम खतरापूर्ण क्यान्सर बढी आक्रामक बन्न पुगे मृत्युदर बढ्न सक्नेतर्फ सचेत हुन आवश्यक छ । त्यसैले त्यस्ता बिरामीलाई निगरानीमा राख्न आवश्यक हुन्छ, ताकी समयमै शल्यक्रिया गर्न सकियोस् ।

थाइरोइडका गिर्खाहरूको निदान

स्तनमा उत्पन्न गिर्खाजस्तै घाँटीको अग्र एवं अन्य भागमा गिर्खाहरू दुई हप्तासम्म भेटिए समयमै क्यान्सर भए नभएको यकिन गर्न आवश्यक छ । उल्ट्रासोनोग्राफी (भिडियो एक्सरे) र सँगै सियोद्वारा कोषहरूको समूह तानेर परीक्षण (एफएनएसी) गर्न सकिन्छ । यो प्रविधिबाट थाइरोइड क्यान्सरका विभिन्न प्रकारमध्ये ८० प्रतिशतसम्म प्यापिल्लरी समूहको कम खतराजनक र कम आक्रामक ( क्लास्सिकल) भेरिएन्ट्सको क्यान्सर भए नभएको ठम्याउन सकिन्छ ।

एफएनएसीबाट खतराजनक बढी आक्रामक प्रकारको र प्यापिल्लरीभन्दा फरक र कडा प्रकारको ‘फोल्लिक्युलर’ क्यान्सर हो होइन छुट्याउन सकिन्न । त्यसैले एफएनएसीमा आक्रामक क्यान्सर देखिएन भने पनि अल्ट्रासाउन्डले आक्रामक प्रकारको क्यान्सरको शंका देखाउँछ, घाँटीमा सम्बन्धित लिम्फ ग्रन्थीहरू बढेको देखिए कडाखाले आक्रामक क्यान्सरको शंका गर्नुपर्ने हुन्छ ।

थाइरोइड ग्रन्थीका क्यान्सरको उपचार

सबै थाइरोइड क्यान्सर आक्रामक हुँदैनन् । त्यसैले क्यान्सर भन्नेबित्तिकै त्रसित हुनुपर्ने आवश्यकता छैन । बहुसंख्यक थाइरोइड क्यान्सर कम आक्रामक र नबढ्ने प्रकारका हुन्छन् । सानो एक–डेढ सेमीसम्म आकारको, रेडियो विकिरणबाट प्रभावित नभएको, एफएनएसी परीक्षणबाट प्यापिलरी समूहको कम खतराजनक क्लास्सिकल उपसमूहको र भिडियो एक्सरेमा ट्युमर ग्रन्थी भित्रै सीमित छ भने यस्तो गिर्खा क्यान्सरै भए पनि तुरुन्तै शल्यक्रिया गर्न आवश्यक नहुन पनि सक्छ । बरु त्यस्ता बिरामीलाई निगरानीमा राख्नुपर्ने हुन्छ । यदि बढी खतरापूर्ण या आक्रामक प्रतीत हुन पुगे, सम्बन्धित लिम्फ ग्रन्थीमा फैलिए पूरै थाइरोइड र लिम्फ ग्रन्थी पनि निकाल्नुपर्ने हुन्छ ।

शल्यक्रियापश्चात् थाइरोइडको कोष छुट्टिएको क्यान्सरका निम्ति रेडियोआयोडिनबाट स्क्यानिङ गरी बाँकी रहेको तन्तुलाई उच्छेदन गर्न आवश्यक हुन्छ । साथै थाइरोइडबाट मात्रै निःसृत हुने विशेष प्रकारको प्रोटिन (थाइरोग्लोब्युलिन) को पनि मार्करको रूपमा परीक्षण गर्नुपर्ने हुन्छ ।

थाइरोइडको शल्यक्रिया गर्दा एकातिर क्यान्सरयुक्त कोषको तन्तु नरहोस् भन्नेतर्फ हेक्का राख्नुपर्ने हुन्छ भने अर्कोतिर थाइरोइड ग्रन्थी निकाल्दा मुटु मांसपेसी, नसालगायतका अंगको सुसञ्चालनका लागि आवश्यक खनिज क्याल्सियमको नियमन गर्ने पाराथ हर्मोन निष्कासन गर्ने पाराथाइरोइड ग्रन्थीहरूलाई बचाउन अपरिहार्य रहन्छ । त्यसैगरी विशेषगरी स्वरयन्त्र एवं सास नलीलाई संचालन गर्ने नसा पनि काटिन सक्छ । तर सावधानी अपनाए यस्ता जटिलताबाट बचाउन सकिन्छ ।

क्यान्सरका कारणको निवारण

अन्य जस्तो मुख, घाँटी, फोक्सो, सास नली, खाने नली आदि अंगका क्यान्सरको कारण अल्कोहल एवं धूमपानसहितका सुर्तीजन्य वस्तु रहेको प्रमाणित भएको छ । विशेषगरी एक्सरेलगायतका रेडियोधर्मी विकिरण, आणुवंशिकता, आयोडिन घटीबढी हुँदा थाइरोइड ग्रन्थीमा पर्न सक्ने असर, अटोअन्टिबडी पैदा भई थाइरोइडका कोषहरूमा पर्न सक्ने प्रतिक्रिया आदि थाइरोइड क्यान्सरको कारण मानिएका छन् ।

थाइरोइड क्यान्सरका मुख्य कारक नमानिए पनि फोक्सो एवं गलाको क्यान्सर धूमपान, मुख र जिब्रोको क्यान्सरहरू खैनी, गुटखा, सुपारीजस्ता वस्तुका कारण हुने गरेको तथ्य वैज्ञानिक अनुसन्धानबाट सिद्ध भइसकेको छ । निकोटिनमा ६ सय प्रकारका र त्यसलाई जलाएर धूमपानका रूपमा प्रयोग गर्दा ७ हजार प्रकारका रसायन भेटिन्छन्, तीमध्ये ६९ प्रकारका रसायनले क्यान्सर गराउँछन् । नाक, घाँटी स्वरयन्त्र हुँदै फोक्सोसम्म फैलिने चुरोटको धूवाँले कोषहरूलाई क्यान्सर युक्त बनाउन सक्छन् । अझै सँगै अल्कोहल खादा यस्तो सम्भावनालाई धेरै गुणा बढाउँछ ।

थाइरोइड क्यान्सरको स्तरीय शल्यक्रियापश्चात् आवश्यक पर्नेहरूलाई रेडियोआयोडिन, स्क्यानिङ एवं थाइरोग्लोबुलिनको परीक्षण आदि पनि सहज रूपमै परीक्षण गर्ने व्यवस्था हुनुपर्छ । थाइरोइड एवं अन्य नाक, कान, घाँटीसम्बन्धी दक्ष जनशक्तिको बढिरहे पनि त्यो अझै पर्याप्त छैन । त्यसैले यस्तो जनशक्तिको आवश्यकता पूर्ति गर्न तालिम एवं उच्च अध्यापनको खाँचो छ । क्यान्सर अस्पतालहरूको प्रवर्द्धनको आवश्यकता छ । मोफसलका अस्पतालहरूमा पनि क्यान्सर उपचारको प्रबन्ध मिलाउनु जरुरी छ ।

प्रकाशित : असार ८, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×