कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली भाषा सिकाइका कमजोरी

मधु राई

बुबा भारतीय सेनामा कार्यरत हुँदा उहाँको जताजता सरुवा हुन्थ्यो, म पनि त्यतैत्यतै जान्थे, यसरी मैले विभिन्न ठाउँमा शिक्षा आर्जन गर्ने अवसर पाएको थिएँ । नेपालीभाषी भएर पनि, विद्यार्थी जीवनमा नेपाली भाषा लेखपढ गर्न मैले पाएको थिइन् । ३४ वर्षअघि बिहे भएर नेपाल आएपछि, धेरै वर्ष नेपाली भाषाकै कारण मेरो बौद्धिक कर्म रोकिएको थियो ।

मैले नेपाली सिक्न दस वर्ष स्वअध्ययनमा खर्च गरें । नेपाली भाषा तिखार्नकै लागि मैले दुई दशकअघिदेखि नै दैनिकी लेख्न थालें, जुन अझै जारी छ ।

तिनताक नेपाली भाषा सुधार्नकै लागि भनेर म स्थानीय पत्रिका ‘चाणक्य’, ‘चिरफार’ लगायतको वार्षिक ग्राहक बनें । तीबाहेक ‘हिमाल’, ‘नेपाल’ र ‘नारी’ नियमित पढ्थें । साथै उपन्यास र गैरआख्यानलगायत जीवनी पढ्ने बानीले पनि मलाई नेपाली सिक्न थप सहयोग गर्‍यो । नियमित अध्ययनले मलाई लेख्न उत्प्रेरित गर्‍यो । त्यसपछि मैले अखबारी लेखनको यात्रा ‘चाणक्य’ र ‘चिरफार’ बाट थालें । यसबाहेक सधैं रेडियो सुन्ने आमाको बानी ममा सर्लक्कै सरेको छ । बिहान र बेलुकी गरी दैनिक तीन घन्टा रेडियो सुन्छु । यसले पनि नेपाली भाषाको आधारभूत सीप सिक्न मद्दत गरेको छ । केही वर्षयता नेपाली भाषाको प्रवर्द्धन गर्न भनेर मैले पूर्वप्रावि स्थापना गरें ।

मैले विद्यार्थीहरूलाई यो भाषा सिकाउन केही आधारभूत तथा फरक शिक्षणसिकाइ थालेकी छु । नेपालीका शिक्षक र म मिलेर एलकेजी र यूकेजीका विद्यार्थीलाई हरेक शुक्रबार बालचित्र कथा वाचन गरेर सुनाउँछौं । उनीहरूलाई पनि पढ्न दिन्छौं । यूकेजीमा मैले साताको पाँच दिन अंग्रेजी, विज्ञान र सामाजिक विषय पढाउने गरे पनि हरेक शुक्रबार कक्षामा नेपाली भाषामा आफ्नो परिचय दिन तथा कथा भन्न लगाउँछु । साथै उक्त दिन नेपाली भाषा मात्र बोल्ने नियम बनाएकी छु । पठन संस्कृतिको विकास गर्न पनि उनीहरूलाई कथा वाचन गर्न लगाउँछु ।

विडम्बना भन्नुपर्छ, अचेल पूर्वप्रावि तहमा बालचित्र कथाका पुस्तक कनीकनी पढ्न सिकेका बहुसंख्यक विद्यार्थीको नेपाली भाषा सिकाइको सुरुवाती यात्रा कक्षा एक पुग्दा नै रोकिन्छ । किनभने बहुसंख्यक निजी विद्यालयहरूले प्रावि तह छिचोलेपछि मात्र पुस्तकालयको सुविधा दिने गरेका छन् । त्यस्तै अधिकांश विद्यालयमा अंग्रेजी भाषाको बोलवाला छ । विद्यार्थीलाई अंग्रेजी भाषा सिकाउने निहुँमा अधिकांश निजी विद्यालयले नेपाली भाषा बोल्न बन्देज गरेका छन् । सानै उमेरमा अंग्रेजी भाषा सिक्नुपर्ने र नेपाली भाषा बोल्न नपाइने नियम लगाइएको हुन्छ, यसले साना विद्यार्थीहरूमा नेपाली भाषाप्रति वितृष्णा जागिरहेको छ । पूर्वप्रावि तहका विद्यार्थीले नेपाली भाषामा दोहोरो कुरासमेत गर्न सक्दैनन् ।

निजी विद्यालयहरूको नेपाली भाषाप्रतिको यस्तो व्यवहारकै परिणाम अचेल विद्यार्थीहरू नेपाली विषयमा कमजोर हुने गर्छन् । नेपाली भाषाप्रतिको हेपाहा प्रवृत्ति विकास गर्नमा निजी विद्यालयहरूको यस्तो व्यवहारले अहम् भूमिका खेल्दै आइरहेको छ । पाठ्यपुस्तकमा जे छ त्यही पढाए पुग्छ भन्ने मानसिकता अधिकांश शिक्षकमा छ । यस्तो मनोवृत्तिकै कारण पठन संस्कृतिको विकास गर्न वर्तमान शिक्षा चुकेको छ । विद्यालय चाहे सामुदायिक होस् या निजी, साना विद्यार्थीहरूलाई माध्यम भाषा सिकाउन भाषा शिक्षकले नै अतिरिक्त क्रियाकलाप गर्न, गराउन जरुरी छ । तर अधिकांश भाषा शिक्षक यो विषयमा संवेदनशील छैनन् । सरोकारवालहरू पनि मौनप्राय: छन् ।

केही दिनअघि मात्र एसईईको परिणाम बाहिरिएको थियो । परीक्षामा सम्मिलित ३ लाख ३६ हजार ८ जनामध्ये १ लाख ७४ हजार ५ सय ९८ जना अर्थात् ४८ प्रतिशतले मात्र उच्चशिक्षाका लागि अवसर पाएका छन् । बाँकी ५२ प्रतिशत विद्यार्थीहरू उच्चशिक्षा हासिल गर्न नसक्ने भएका छन । त्यस्तै अनिवार्य अंग्रेजीमा सबैभन्दा बढी अर्थात् १ लाख १ हजार १ सय १३ जना र अनिवार्य नेपालीमा ३२ हजार ४ सय ९५ लगायत ऐच्छिक नेपालीमा समेत १७ हजार ७ सय ५४ जना विद्यार्थी ननग्रेडिङमा परेका छन् । निजी विद्यालयका विद्यार्थीको नेपाली भाषा कमजोर हुने र सामुदायिक विद्यालयमा पढ्नेहरूको अंग्रेजी भाषा कमजोर हुने वास्तवकितालाई यस्तो तंथ्यले उजागर गरेको छ ।

कतिपय निजी विद्यालयको नेपाली भाषाप्रतिको हेपाह व्यवहारको प्रत्यक्ष र परोक्ष असर यसपालि पनि नेपाली विषयमा परेको हो । किनभने त्यहाँ अझै ‘नेपाली भाषा पढेर के हुन्छ र ?’ भन्ने शिक्षक र विद्यार्थीहरूको संख्या बढी छ । यसपालिको नतिजा प्रकाशनपछि कतिपय सरोकारवालाले विद्यालय शिक्षाको शिक्षणसिकाइ सुधार्नुपर्ने तर्क अघि सारिरहेका छन् । यसो भनिरहँदा सामुदायिकमा अंग्रेजी तथा निजीमा नेपाली भाषाको शिक्षणसिकाइको अवस्थाबारे बृहत् छलफल गर्नुपर्ने पक्ष फेरि पनि पीँधमा परेको छ । एसईई नतिजापछि हुने मौसमी बहस त्यसै सेलाएर जाने गरेको छ ।

विद्यार्थीले जुन भाषाको माध्यमबाट शिक्षा ग्रहण गर्नुपर्ने हो त्यही भाषाको शिक्षण सिकाइबारे बृहत् छलफल नहुँदासम्म भाषाको हविगत यस्तै हुने निश्चित छ । भाषाको शिक्षण सिकाइको आधारभूत सीपअन्तर्गत पढाइ, लेखाइ, बोलाइ र सुनाइ पर्छ । यी चार सीपको आधारभूत ज्ञान नभएसम्म भाषा सिक्न सकिँदैन । तर यी सीपबारे विद्यालयहरूमा त्यति चर्चा गरिँदैन । परीक्षा केन्द्रित पढाइ र लेखाइलाई मात्र प्राथमिकता दिइन्छ, यसले विद्यार्थीको समग्र सिकाइमै असर गरेको छ । विकसित मुलुकहरूमा विद्यार्थीलाई भाषा सिकाउनकै लागि भनेर सानै उमेरमा अतिरिक्त पुस्तक पढ्न अभिप्रेरित गरिन्छ, हामीकहाँ भने बहुसंख्यक शिक्षकमा अतिरिक्त पुस्तक पढाए बिग्रन्छ भन्ने सोच हाबी छ । परिणाम पठनसंस्कृतिको विकास गर्न, गराउन शिक्षक र विद्यालय व्यवस्थापन पूर्णत: असफल देखिएको छ ।

कुनै पनि भाषाको प्रारम्भिक शिक्षण सिकाइमा विद्यालय व्यवस्थापनलगायत भाषा शिक्षकहरूले अतिरिक्त समय र ऊर्जा खर्चनुपर्ने हुन्छ । अतिरिक्त पुस्तक पढ्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूमा पठनसंस्कृतिको विकास गर्न भाषा शिक्षकहरू आफैं पनि अध्ययनशील हुनु जरुरी छ ।


प्रकाशित : आश्विन १७, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?