मालश्री धुनको मूलमन्थन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालश्री धुनको मूलमन्थन

गोविन्द न्यौपाने

काठमाडौँ — नेपालको सांस्कृतिक इतिहासमा संगीतको निकै महत्त्वपूर्ण स्थान रहेको छ ।  विशेषतः सांस्कृतिक अनुष्ठान, धार्मिक एवम् आध्यात्मिक साधना, तन्त्र-सम्मोहनको अभ्यास र परम्पागत आभिचारिक उपचार पद्धतिमा संगीतले प्रभावकारी भूमिका खेल्दछ ।

त्यसकारण संगीतलाई साधकको आध्यात्मिक समुन्नतिको एउटा आधार मानिन्छ ।संगीतका विविध आयामहरुमध्ये भक्तिसंगीतले गहन शान्ति र आध्यात्मिकतालाई परिस्कार गर्छ । त्यसो त, संगीतलाई जीवनका विविध आयामहरुमा जोडिन्छ । युद्धकला र आमसञ्चार त्यसका केही उदाहरणहरू हुन् ।

नेपालको सांगीतिक एवम् सांस्कृतिक इतिहासमा मालश्री संगीत (धुन) विशेष स्थान छ । शरद ऋतुको आगमनसंगै आउने धार्मिक एवम् सांस्कृतिक पर्व परम्पराले वातावण र पर्यावरणलाई थप संगीतमय बनाएको हुन्छ । मूलतः दसैंमा बज्ने मालश्रीधुन धार्मिकता एवम् आध्यात्मिकता बोकेको नेपालको मौलिक धुन हो जुन धर्म, संस्कृति र आध्यात्मिकताको त्रिवेणी बनेको छ । कतिपय संगीत साधकहरुले मालश्री धुनलाई दसैंको पर्‍यावाचीको रुपमा परिभाषित गरेका छन् ।

नामाङ्करणको आधार

लोकभाषामा मालश्रीलाई मालासिरी भनिएको देखिन्छ । नेवारी संगीतको इतिहासको अध्ययन गर्दा यसलाई मालसी वा मारश्री भनिएको कुरालाई संगीतको अध्यता रामशरण दर्नालले परिचर्चा गरेका छन् । उनका अनुसार भारतीय विद्वान् पण्डित दामोदरले संस्कृत भाषामा लेखेको ‘संगीत’ पुस्तकमा मालश्रीलाई मालसी नै भनिएको छ । हिन्दी भाषामा मालवश्री पनि भनिने यस धुनलाई दसैं वा कुनै मांगलिक अवसरमा गायन तथा वादन गरिने विशेष प्रकारको लयलाई मालश्री भनी नेपाली वृहद् शब्दकोषले परिभाषित गरेको छ ।

इतिहास

मालश्री धुनको इतिहासमा हालसम्म गहन अध्ययन नभएको प्रतीत हुन्छ । संगीतका साधकहरू इतिहासको खोजीभन्दा पनि साधनामै रम्ने हुँदा यसको अध्ययन नभएको तर्क गर्न सकिन्छ । सामाजिक र सांस्कृतिक अध्ययताहरूले पनि यस विषयमा त्यति धेरै अध्ययन गरेको देखिँदैन । लिच्छवीकालका अभिलेखहरूमा संगीत र नाटक विषयका सन्दर्भहरु (धन बज्रबज्राचार्य, लिच्छविकालका अभिलेख) पाइएता पनि मालश्री धुनबारे केही संकेत छैन । मल्लकालमा भने संगीतको राम्रो विकास भएको अभिलेखात्मक एवम् ऐतिहासिक सामग्रीहरूबाट प्रमाणित हुन्छ । तात्कालिक राजाहरूले धारण गरेको विरुदावली र लेखाएका प्रशस्तीको अध्ययनबाट संगीत, अभिनय र नाटकमा उनीहरुको अभिरुची रहेको पुष्टि हुन्छ (राजकुमार सुवेदी, मध्यकालीन मुद्राहरूमा धार्मिक तथा सांस्कृतिक प्रभाव, विद्यावारिधी उपाधिका लागि तयार पारिएको अप्रकाशति शोधपत्र, पृष्ठः १०७–११४) । भक्तपुरका राजा जितामित्र मल्लले राख्न लगाएको ने.सं. ७९७ को कुमारी चोकस्थित अभिलेखमा मालश्री गीतको संकेत परेको इतिहासकारहरूले चर्चा गरेका छन् (संशोधनमण्डलबाट प्रकाशित अभिलेख संग्रह सातौं भागको पृष्ठः २४–२५ ) । संशोधन मण्डलले प्रकाशित गरेको यसै सन्दर्भलाई आधार लिएर संगीतका एक अन्वेषकले मल्लकालमै मालश्री संगीतको विकास र विस्तार भएको चर्चा गरेका छन् (रामशरण दर्नाल, नेपाली संगीत संस्कृति, पृष्ठः ११२) । त्यस्तै जगज्योतिर्मल्लले आफ्नो पुस्तक ‘गीतपञ्चक’ मा मालश्री गीत लेखेको अन्वेषक दर्नालले उल्लेख गरेका छन् (ऐजन, पृष्ठः ११३) । हिन्दू धर्मको साथसाथै बौद्ध धर्म, संस्कृति र कलावास्तुकलाको राम्रो विकास भएको पुरातात्त्विक एवम् ऐतिहासिक प्रमाणहरु पर्याप्त छन् । विशेषतः तान्त्रिक साधनाको सम्पादन एवम् अनुष्ठान गरिने बौद्धचर्या संगीतमा मालश्री रागका धुन, लय र तालमा सिर्जना गरिएकोे अन्वेषक दर्नालले बताएका छन् (ऐजन पुष्ठ) । शाहकालमा आएर मालश्री धुनले अझ व्यापकता पायो ।शक्ति साधना र उपासनामा भक्तिसंगीतको विशेष महत्त्व हुन्छ । मल्ल तथा शाह राजहरूले आफूमा निहीत शक्ति उजागर एवम् आत्मजागरणका लागि मालश्रीधुनलाई अपनाएको हुन सक्ने हनुमानढोका दरबार परिसरमा अनुसन्धान गरेका सुवाशकृष्ण डंगोलको तर्क छ ।

आज पनि हनुमानढोका दरबारमा फूलपाति भित्राउँदा मालश्रीधुनको विशेष महत्त्व हुँदा हर्ष बढाइँ र शक्ति प्रदर्शनमा यस धुनको प्रयोग गरिएको डंगोलको तर्क रहेको छ ।राजा श्री ५ पृथ्वीनारायण शाहले गुरु गोरखनाथ र देवी मनकामनाको समर्पणमा मालश्री धुनमा आधारित गीत लेखेको अध्ययताहरू बताउँछन् । त्यस्तै राजा रणबहादुर शाहले देवी भैरवीको आराधनाका लागि ‘राग मालश्री’ शीर्षकमा गीत तयार गरेका पुरातत्त्वविद् जनकलाल शर्माले उल्लेख गरेका छन् (जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य) । मालश्री धुन काठमाडौंमा मात्रै केन्द्रित भएन, पछि यो देशैभरि फैलियो । खस भाषाको उत्पत्तिस्थल मानिने उपत्यका, लामाथाडास्थित कनकसुन्दरीको देवीथानमा गाइने दसैं गीतको संकलन र त्यसको व्याख्या अध्ययता प्रदीप रिमालले गरेका छन् ( कर्णाली लोक संस्कृति, खण्ड ५ पृष्ठः १३) । यी सन्दर्भहरुबाट हेर्दा मालश्री गीत राष्ट्रव्यापी रुपमा फैलन गई यो राष्ट्रिय एकताको आधार बन्न गएको लेखकको पेटबोलीबाट थाह हुन्छ । देशैभरि वादन, गायन एवम् अभिनयात्मक प्रस्तुति गरिने मालश्री धुनको विषयमा आजभन्दा १०० वर्ष अगाडि नै अध्ययन भएको देखिन्छ । अन्वेषक डा ध्रुवेशचन्द्र रेग्मीका अनुसार गोरखाका मर्दनसिंह थापाले मालश्री गीतहरूको संकलन गरी ‘वृहद् मालश्री गीत’ नामक पुस्तक तयार गरेका थिए (रेग्मीसंग मिति २०७९।०६।१३ मा गरिएको फोनर्वार्ता) । यसरी हेर्दा मालश्री धुनले जनस्तरमा भिजेर राष्ट्रिय मान्यता पाएको महसुस गर्न सकिन्छ ।वर्तमान समयमा भन्ने विभिन्न लोकाबाजा, आधुनिक बाजा तथा सुगमसंगीतमा समेत यो धुनका प्रयोग गरी गायन एवम् वादनको प्रस्तुति गरिन्छ ।

पहिचानको प्रश्न

धार्मिक एवम् सांस्कृतिक अभ्यास र मालश्री धुनको इतिहासको सम्बन्ध नेवारी समुदायसँग निकट देखिन्छ । मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको सृजना, संरक्षण र त्यसको निरन्तरताको लागि काठमाडौं उपत्यकाका नेवारी समुदायको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ । अमूर्त संस्कृतिको निरन्तरता र मालश्री धुनको साइनोलाई हेर्दा त्यस तर्कमा अस्वभाविकता झल्किँदैन । शारदीय ऋतु अर्थात दसैंमा काठमाडौं उपत्यकाका सयौं शाक्त पिठहरूमा बजाइने यो धुनले पनि उल्लिखित तर्कलाई प्रमाणित गर्न जोडबल गर्छ । नेवारी संगीतको लामो इतिहास रहेको छ । मल्ल शासकहरू र तात्कालिक जनसमुदाय कलाप्रेमी, सम्पदाप्रेमी र संगीतप्रेमी थिए भन्ने तथ्य इतिहासका पानामा अंकित छन् । काठमाडौं बाहेक नेपालका अन्य धार्मिक तीर्थस्थल र विशेषतः शाक्तपिठहरूमा मालश्री धुन बज्ने गर्छ । उत्पत्तिगत दृष्टिकोणले हेर्दा काठमाडौंबाटै यो संगीत संस्कृतिको रुपमा देशका अन्य भू-भागमा प्रसारित भयो कि भारतीय संगीत परम्पराको प्रभाव मालश्री धुनमा पर्‍यो भन्ने प्रश्न नउठ्ने होइन । तर‚ जुनसुकै लोकसंगीत वा लोकधुनमा संगीतको व्याकरणीय ध्वनीको सम्बन्ध रहने हुँदा मालश्री धुनमा भारतीय शास्त्रीय संगीत परम्पराको प्रभाव छ भन्ने तर्कलाई संगीतकार ध्रुवेशचन्द्र रेग्मी अस्वीकार गर्छन् । उनका अनुसार भारतीय शास्त्रीय परम्परामा आधारित भन्नुभन्दा आफ्नै मौलिक हिमवत्खण्डीय संगीत परम्परामा मालश्री धुनको सृजना भएको छ भन्ने उनको तर्क बढी मौलिक, आधिकारिक र वैज्ञानिक लाग्छ । यद्यपि यस विषयमा विद्वान्‌हरूबीच मतमतान्तर नभएको भने होइन । नेपाल र भारतबीच सयौं वर्षको सामाजिक–सांस्कृतिक एवम् धार्मिक सम्बन्ध रहेको ऐतिहासिक आधारमा एक-आपसमा सांस्कृतिक अन्तर्घुलन हुनु स्वाभाविक छ । नेपालको धार्मिक-सांस्कृतिक परम्परामा आफ्नो पन, पहिचान, मौलिकता एवम् आधिकारिकताको अटुट प्रवाह रहेजस्तै नेपाली संगीतको इतिहासमा आफ्नै मौलिकता बोकेको मालश्रीधुन हिमवत्खण्डको साझा सांस्कृतिक पहिचान हो ।

लोकधुन की शास्त्रीय राग ?

भाषा पहिला कि व्याकरण पहिला भनेजस्तै लोकधुन पहिला कि संगीतको व्याकरण अर्थात् राग पहिला भन्ने बालसुलभ जिज्ञासा नउठ्ने होइन । तर साधारण बुझाइमा पहिले त प्राकृतिक अर्थात लोक धुन नै हो । यसै प्राकृतिक धुनलाई साधना, परिमार्जन र परिस्कार गरेपछि नै यसले व्याकरण, विज्ञान वा शास्त्र वा रागको स्वरुप लिन्छ भन्ने तर्क हो । मालश्री धुनको प्रसंगमा माथि उल्लिखित जिज्ञसामूलक प्रश्न जोडिन्छ । कतिपय अन्वेषकले नेपाली मौलिक धुन मालश्री धुनलाई भारतीय शास्त्रीय परम्परासँग जोडेका छन् । ‘शास्त्रीय संगीतमा उत्तर भारतीय पद्धतिअनुसार रागिनी मालश्रीलाई कल्याण थाटको रागको रागिनीहरूमध्ये छैटौं रागिनीसँग मालश्री धुन मिल्दोजुल्दो देखिन्छ भन्ने अध्ययता रामशरण दर्नालको तर्क रहेको छ’ ( रामशरण दर्लाल, नेपाली संगीत र संस्कृति, पृष्ठः ११५) ।तर उनको यस तर्कमाथि अन्य संगीतका अध्ययताहरूले प्राज्ञिक बहस आजसम्म नगरेको प्रतित हुन्छ । गायन तथा वादनको अभ्यास परमपराअनुसार वादी ‘प’बाट उठान हुनेहुँदा मालश्री धुन शास्त्रीयतामा आधारित देखिन्छ भन्ने तर्क शास्त्रीय संगीत प्रशिक्षक रामचन्द्र अञ्जानको रहेको छ (मिति २०७९।६।१३ मा गरिएको फोनर्वार्ता) । दर्नाल र अञ्जानको तर्क अनुसार मालश्री धुन शास्त्रीयतामा आधारित भएता पनि यसमा नेपाली संगीतका साधकहरूले आफ्नो पन, पहिचान र मौलिकतालाई धार्मिकता, आध्यात्मिकता र सांस्कृतिक अनुष्ठानसँग जोडेर जीवन्त बनाएका छन् । मालश्री धुन नेपाली मौलिक धुन नै हो भन्ने तर्क बढी सुनिन्छ । साहित्यकार चित्तधर हृदयले पनि मालश्री धुनलाई शास्त्रीयतामा आधारित रहेको बताएका छन् । उनका अनुसार यो काफी घाँटमा पर्ने रागसँग मिल्न जान्छ ( नेपाल सांस्कृतिक, नेपाल संगीत, पृष्ठः ३०) । त्यसो त शास्त्रीय संगीतको विविध रागहरुमध्ये ‘राग-मालश्री’ पनि एक रहेको अन्वेषक डा. ध्रुवेशचन्द्र रेग्मीले बताएका छन् । रेग्मीका अनुसार परम्पगत रुपमा नेपालमा प्रचलनमा रहेको मालश्री धुन शास्त्रीय राग काफी र पिलुसँग मिल्दोजुल्दो देखिन्छ । तर शास्त्रीय संगीतमा उल्लेख भएको मालश्रीसँग नेपालमा प्रचलित मालश्री धुनको कुनै सम्बन्ध र प्रभाव परेको देखिँदैन । लोकधुन भइकन पनि यो शास्त्रनिकट छ तर यो किन यसमा थप विकास भएन भन्ने प्रश्न उठ्न सक्छ । ध्रुवेशचन्द्र रेग्मीका अनुसार यो धुन यति परिष्कृत छ कि यसमा चलाइयो भने यसको मौलिकता नै बिग्रन सक्छ । यसकारण यसमा थप विकास र विस्तार गर्न आवश्यक नै भएन । माथिका छलफलबाट नेपाली मालश्री धुन नेपाली संगीत साधकहरूले तयार गरेको शास्त्रअनुरुपको लोकधुन हो‚ जुन विज्ञानसम्मत र वस्तुपरक छ भन्दा अत्युक्ति नहोला ।

मूलमन्थन

साहित्य, संगीत र संस्कृति जनताको सम्पत्ति हो । यति हुँदाहुँदै पनि यो राजनीतिबाट पृथक रहन सक्तैन । सत्ता प्राप्तिको प्रक्रियामा र प्राप्त सत्तालाई टिकाउँन शासकले आफू निहित कुनै एक धर्म, संस्कृति र भाषालाई माध्यम बनाएको देखिन्छ । आमबुझाइमा दसैंलाई नेपालीको साझा सांस्कृतिक पर्व मानिन्छ । बहुसंख्यक नेपालीले मनाउँने हुँदा यसलाई साझा चाड भनिएको इतिहासकार महेशराज पन्तको कथन छ (महेशराज पन्त, जनैपूर्णिमादेखि रानीपोखरीसम्म, पृष्ठः ६ ) । तर यसरी स्थापित दसैं भाष्यमा आलोचकहरूले प्रश्न उठाएको छन् । दसैं, सत्ताबाट अन्य समुदायमा लाँदियो कि जनसमुुुदायले सहस्र स्वीकार गरे भन्ने प्रश्नमा बहस हुन जरुरी छ । तर आलोचकहरूले दसैं बहुसंख्यकको चाड नभई आफ्नो सत्ता र शक्ति टिकाउन जबर्जस्ती लाँदिएको शासकहरुको चालबाजी हो भन्ने प्रतिकथनको भाष्य स्थापित गरेका छन् (युग पाठकद्वारा लिखित माङ्गेना नामक पुस्तकको विभिन्न पृष्ठहरु) । त्यस्तै शाही सत्ताले प्रतिपादन गरेको राष्ट्रियताको भाष्यलाई मजबुत बनाउँन विभिन्न विम्ब, प्रतिक र मिथकहरुको गलत प्रयोग गरिएको व्याख्याकार सिकेलालको प्रतिकथन रहेको छ ( नेपाली राष्ट्रियताः चिन्तन र अभिव्यक्ति, पृष्ठः १४) । त्यस्तै समाजशास्त्री चैतन्य मिश्रले हिन्दू राज्यको संवैधानिकता र त्यसअन्तर्गत परिचालन गरिने सांस्कृतिक साम्राज्यवादको हतियारको रुपमा दसैंलाई प्रयोग गरिएको भन्ने राजनीतिक व्याख्या गरेका छन् (चैतन्य मिश्र, बदलिंदो नेपाली समाज, पृष्ठः १९१) ।

माथि उल्लिखित तर्कहरुका आधारमा दसैं र मालश्री धुनको सम्बन्धबारे केलाउँनु उचित हुन्छ । मूलतः दसैं शक्ति उपासना र साधनाको पर्व हो । यसलाई राजामहाराजा र शासकहरुले शक्ति, शौर्यता, विरता र विजयउत्सवको प्रदर्शनीको रुपमा प्रयोग गरे । किनभने व्यक्तिमा वीर भाव र साहस जगाउन यस्ता सांस्कृतिक अनुष्ठानहरुले विशेष भूमिका खेलेका हुन्छन् । दसैंमा मालश्रीधुन बजाउनुको मुख्य उद्देश्य साधकमा निहीत शौर्यता र आध्यात्मिकताको भाव जगाउनु नै हो । यसकारण दसैंसँग मालश्री धुनको सम्बन्ध रहेको हुनुपर्छ । मांगलिक अवसरमा गाइने एक विशेष प्रकारको धुन वा लय भनी नेपाली शब्दकोषले मालश्री धुनको परिभाषा दिएता पनि दसैंबाहेक अन्य समयमा यो धुन सुनिँदैन । त्यसकारण दसैं र मालश्री धुनको किन तादात्म्य देखाइयो ? यो अनुसन्धानको विषय हो ।

संगीत अन्वेषक ध्रुवेशचन्द्र रेग्मीले मालश्री धुनमा करुण, वीर, शान्त र प्रेम रसको अभिव्यक्त भएको हुन्छ भनेका छन् । एउटा शासक वा नायकमा यी गुणहरू हुनुपर्छ भन्ने साहित्यको शास्त्रीय भनाइ छ । यसकारण मालश्री धुनमा वीर भाव पाइने हुनाले शासकहरूले विशेष गरी सैन्य अभ्यासमा यो धुन प्रयोग गरेकी भन्ने तर्क गर्न सकिन्छ । किनभने युद्धमा संगीतको अभ्यास गर्नु पूर्वीय सभ्यताको पहिचान र परम्परा पनि हो । मालश्री धुनको ऐतिहासिकताबारे जान्न त्यति धेरै अभिलेखात्मक साक्षीहरू प्राप्त छैनन् । तर पनि उपत्यकावासी नेवारी समुदायकै देन हो मालश्री धुन भन्नेमा दुई मत छैन ।

निष्कर्ष
कृषिकर्ममा रम्ने र संगीतलाई जीवनको अभिन्न अंग मान्ने नेवारी समुदाय (विशेषगरी ज्यापु समुदाय) ले आजका दिनसम्म पनि परम्परागत सिल्प र अभ्यासको रुपमा मालश्री धुनको सृजना र अभ्यास गरेको समाज अध्ययता यादव देवकोटाको तर्क रहेको छ (मिति २०७९।६।१३ गतेको कुराकानीमा आधारित) । तर यसको ऐतिहासिकतालाई वर्तमानमा जोड्ने विषयमा प्रमाणको अभावमा समस्या खडा भएको छ । वस्तुतः मालश्री धुन शासकहरूसँगै नेपाल प्रवेश गर्‍यौं कि यहीँको रैथाने ज्ञान परम्पराबाट यो विकास भयो भन्नेमा थप अध्ययनको आवश्यकता छ । नेवारी समुदायले शारदीय उत्सवमा प्रयोग गर्ने मालश्री धुनलाई सत्ताले प्रयोग गरेको हुन सक्ने अध्येता यादव देवकोटाको भनाइ छ । सारमा, मालश्री धुन ऐतिहासिक र सांस्कृतिक परम्पराको निरन्तरताको रुपमा नेवारी समुदायले परिस्कार र परिमार्जन गर्दै आएको वस्तुनिष्ठ सत्य हो । उत्पत्तिगत आधारको इतिहास हेर्दा यो हिमवत्खण्डीय क्षेत्रको पहिचान हो, राजनीतिक कोणबाट समाजशास्त्रीहरूले दसैंको जे जसरी व्याख्या गरेता पनि मालश्री धुनलाई दसैंको भाष्यसँग जोडेर सत्तालाई मजबुत बनाउन विम्ब र प्रतिकको रुपमा प्रयोग गरियो भन्ने आलोचकहरूको प्रश्नमा बहसको खाँचो छ । मूलतः यो नेपाली संस्कृति, प्रकृति र पर्यावरणबाट सृजित नेपालको मौलिक धुन हो, जुन शास्त्रसम्मत छ ।

प्रकाशित : आश्विन १६, २०७९ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘केन्द्र सरकार हल्लिँदा प्रदेश सरकार ढल्यो’ 

मीनेन्द्र रिजाल

नामका विषयमा केही राजनीतिक अपरिहार्यता, केही राजनीतिक आकांक्षाले कहीँ न कहीँ समात्छ जस्तो लाग्छ । आकांक्षाको कुरा गर्ने हो भने मूलतः सभ्यता र इतिहास हेर्नुपर्छ ।

लिम्बुवान किराँत सभ्यताबाट आएको ठाउँ होला । एक पटक मुख्यमन्त्रीज्यूलाई फोन गरेर प्रदेशको नाम सप्तकोसी राखौं, यसमा लामो चर्चा आवश्यक हुँदैन भनेको थिएँ । सप्तकोसी राख्यौं भने धेरै कुरा पूरा हुन्थ्यो । किनभने तमोरदेखि दूधकोसीसम्म क्षेत्रलाई समेटेर जुन संरचना बनाएका थियौं, त्यसका आकांक्षाहरूलाई यसले समेट्ने थियो । तर मुख्यमन्त्रीले त्यही होइन, विजयपुर नाम मान्य हुन्छ होला भन्नुभयो । कोसी किराँत हुन सक्छ हुन्छ भन्नुभयो ।

प्रदेश १ बाट ८ जना प्रधानमन्त्री बन्नुभयो । कोइराला परिवारले तीन वटा फरकफरक आन्दोलन नेतृत्व गरेको थियो । कोइराला परिवारबाट ३ जना प्रधानमन्त्री बन्नुभयो । कांग्रेसबाट ३ जना प्रधानमन्त्री बन्नुभयो । एमालेले पञ्चायती व्यवस्थाबाट नागेन्द्रप्रसाद रिजाल र सूर्यबहादुर थापा गरी २–२ जना प्रधानमन्त्री बन्नुभयो । यो सबै कुरालाई एउटा मात्रै धागोले जोड्छ, ती सबै बाहुन–क्षेत्री हुन् । त्यसैले कहीँ न कहीँ किराँतवाला, मधेसवाला वा थारुवाला वा कोचिलावाला आकांक्षा छैन भन्नुभएन । त्यो आकांक्षामा मात्रै हिँड्ने हो भने कति ओटा प्रदेश बनाउने । हामी संघबाट प्रदेश बनाउन हिँडेका हौं । तर टुक्राटुक्रा बनाउन हिँडेका होइनौं ।

हाम्रो पूर्वाधारको कुरा गर्दा पूर्वअर्थमन्त्री वर्षमान पुनले तमोरको जलाशययुक्त परियोजना कुरा गर्नुभयो । त्यो बनाउने हो भने ठूलो सम्भावना विकास हुन्छ । पहाडदेखि विराटनगरको दूरी पनि कम हुन्छ । मुख्यमन्त्रीज्यूको जिलला भोजपुर र मेरो जिल्लाको दूरी पनि घटेर जान्छ । त्यो विकासको आकांक्षा प्रदेश पनि हो । त्यो आकांक्षा मात्रै पुगेन । नेपालका अरु चाहनाहरूलाई बोकेर लिएर जान सक्नुपर्छ । तर हामी सरकार उत्पादन गर्न थाल्यौं । मूल्य तोकेको जस्तै अघिल्लो पटकको चुनावमा दुई वटा कम्युनिस्ट मिलेर एउटा संख्याको सरकार निर्माण गर्नुभयो । तर व्यवस्थापन गर्नु सक्नुभएन । हामीले गठबन्धनमा रहेका दल मिलेर एउटा संख्या निर्माण गर्दै छौं । हामी लोकतन्त्रमा कम्पिटिसन (प्रतिस्पर्धा) भन्दा पनि अलिकापोली (साना कम्पनीहरू एक ठाउँमा संगठित भएर निश्चित क्षेत्र प्रभावित गर्ने काम) सिर्जना गरेर सरकार निर्माण गर्छौं । त्यही अलिकापलीको समस्या हो । एउटा दल सरकारमा छ, अर्को दल सरकारमा छैन भन्ने आधारमा विकास र नामको समस्या एकै स्थानमा उभिएको छ । राजनीति र अर्थतन्त्रलाई प्रतिस्पर्धामा लैजान नसक्ने हो भने हामी त्यहीँ फर्किए आउँछौं । र अर्को पाँच वर्ष अर्को ढंगको गठबन्धन बोकेर फेरि चुनावको तयारी गरिरहेका हुन्छौं । त्यहाँबाट कसरी मुक्त हुने, त्यो मुख्य प्रश्न हो ।

कतिलाई लाग्ला, फेरि पुरानो कुरासँग यसले जोड्यो भन्ने । हाम्रो प्रदेशको पहिचान के त ? ताप्लेजुङदेखि सोलुसम्म र त्यसपछि सुनसरीसम्म त्यो प्रदेशले एउटा फरक चरित्र समातेर बसेको छ । त्यो चरित्र एउटा जातलाई मात्रै समात्यो भने नपुग्ला, एउटा बृहत् आकांक्षालाई समट्ने केही न केही बाटो खोज्नुपर्छ । तर त्यो पहिचानको विषय के हो भन्ने विषयमा हामी बहसमा आजसम्म पुगेनौं । सरकार बदलियो भन्यौं । अर्कोले तेरो पार्टी सधैं सरकारमा छ भन्यौं । यसरी गर्दा खोट देखाउन सकिन्छ होला । समाधान दिने ठाउँ पनि होला । तर केन्द्रको सरकार अलिकति हल्लिनेबित्तिकै हरेक प्रदेशका सरकार ढले । त्यस्तो फेरिने अवस्थामा रहँदासम्म केन्द्रसँग छुट्टिएर प्रदेशले आफूलाई एसर्ट गरेर कुन प्रदेशले आफ्नो प्रदेशको पहिचान बनाउन सक्ला ? म संलग्न पार्टी नेपाली कांग्रेसले प्रदेश १ मा कुनै पार्टीसँग मिलेर चुनावमा जाने भनेर सोच्न बाध्य नहुन्जेलसम्म कसरी हुन्छ ? माथि बसेर केन्द्रबाटै एउटा वडाध्यक्ष कसलाई बनाउने भनेर छान्ने भएसम्म प्रदेश वा संघीयता वा पहिचान वा विकासको आकांक्षा पूरा हुँदैन ।

आर्थिक पक्षमा हेर्दा जुन देशको राजस्व भन्सारको एउटा बिन्दुमा धेरै हुन्छ र त्यही प्रदेश लिन खोज्यो भने के गर्ने ? मधेसले वीरगन्ज मेरो बोर्डर हो, यहाँ आएको जति भन्सार सबै मेरो भन्न हुँदैन होला ? रेमिट्यान्स, भन्सारको आधारित अर्थतन्त्र भएको ठाउँमा प्रदेश आफ्नो आधारबाट उभिने ठाउँ सिर्जना नगरुन्जेलसम्म यस्तै हुन्छ ।

महेश जाजुले आन्दोलन गर्ने भन्दा दुई पटक मज्जाले ताली बज्यो तर उहाँले उद्यम चलाउँछु भन्नुभएको भए खासै ताली बज्दैनथ्यो । अघि मधेस प्रदेश सरकारले आन्दोलन गर्ने भनिरहेको कुरा आएको थियो । अहिले एउटा संस्कार निर्माण भएको छ, आन्दोलन गरेर सरकारमा आउने वा सरकारमा बसेर आन्दोलन गर्छौं भनेर तर्साएर सरकारलाई सुनिश्चित गरिरहने । यस्तो राजनीतिलाई बोक्दासम्म यो राजनीति फगत बहसका विषय मात्रै हुन्छ । त्यसैले हामी आधारभूत विषयमा प्रवेश गर्न सकेनौं भने फेरि एक पटक यस्तै यस्तै विषयको वरिपरि हिँड्छौं । त्यसैले उद्यमी व्यवसायीहरूसँग के अनुरोध गरेको छु भने, आन्दोलन गरेर हुन्छ भने राजनीतिक दलसँगको बाँकी सम्बन्ध छाडिदिनुहोस्, समानुपातिक जाने कुरा छाडिदिनुस् अनि आन्दोलन साँच्चै ढंगमा होला । एकतातर्फ हामी माथिदेखि तलसम्म ठाडो गठबन्धन निर्माण गर्छौं अनि त्यसको रापतापमा बसेर कुरा गर्न थाल्यौं भने यो अस्तव्यस्तताबाट बाहिर निस्कने कुरा हुँदैन ।

अहिलेसम्म हामीले आकांक्षा, परिचय वा परिभाषा कसरी बनेका छन्, त्यस विषयमा मात्रै चर्चा गरेका हौं । कुनै राजनीतिक दललाई भन्न खोजेको होइन, काठमाडौंमा रसुवागढीको बाटोबाट रेल ल्याउँछु र वीरगञ्जसम्म पु¥याउँछु— यस्तो भन्दा गजब भिजनरी विचार आयो भनेर हामी प्रशंसा गर्छौं । झापा, ताप्लेजुङदेखि संखुवासभासम्म ताली बजाउँछौं । त्यो भनेको हाम्रो विकासको प्रवृत्ति पनि उल्टो बन्न जान्छ ।

हाम्रोमा कतिपय विषय विरोधभासपूर्ण छन् । हामी आन्दोलन गरेर सरकार बनाउँछौं अनि सरकारमा पुगेपछि पनि आन्दोलनै गरेर टिकाउन खोज्छौं । निजी क्षेत्र एकातर्फ काम गर्ने वातावरण बनाऔं भन्छ । अर्कोतर्फ सेयरबजारको भाउ घट्यो भनेर आन्दोलन घोषणा गर्छ । यो विरोधाभास होइन ? हामी आन्दोलन गरेर सरकारमा बस्ने अनि व्यापारी सेयर बजार वा ब्याजदर तलमाथि भयो भनेर आन्दोलन गर्ने ? सरकारले हस्तक्षेप नगरोस् भन्ने गर्नुहुन्छ । त्यसैले यस्ता मौलिक विषय हामीले आआफ्नै विषयमा छलफल गर्नुपर्छ । हामी ओभानोमा छौं । तर तपाईंहरू चाहिँ बेठिक हुनुहुन्छ भनेर भन्न खोजेको होइन ।

स्रोतको कुरा गर्दा विराटनगर कसरी पहिलो उद्योग हुने सहर भएको हो त ? जुन समयसम्म भारतको रेल जोगबनीमा आएको थिएन, त्यस समयसम्म हाम्रो व्यापार उत्तरतर्फ धेरै हुन्थ्यो । त्यस्तो गर्दा उत्तर र दक्षिण दुवैतर्फ हामी नाफामा थियौं । पहिलो रुख भारत निर्यात गर्दा त्यसमाथि धान राख्ने र कोसीबाट पठाउने गरिन्थ्यो । त्यसपछि त्यो जसका लागि पठाएको हो, त्यसले टिप्ने गथ्र्याे । त्यसरी भारततर्फ निर्यात गर्ने गरिन्थ्यो । जसरी रेल बन्दै गयो, हाम्रो विकासहरू दक्षिणतर्फ केन्द्रित हुँदै गयो ।

पहिले पनि मैले सप्तकोसीलाई कसरी हाम्रो प्रदेश निर्माण गर्दाका आकांक्षाहरूलाई सम्बोधन गर्छ भनेको थिएँ । सप्तकोसी नदीले जसरी जोडिएको छ, त्यहाँबाट ऊर्जा, जलस्रोत पारवहनको विकास गर्ने सकिन्छ । उत्तर–दक्षिण जोडिएका छौं । त्यसैले जोगबनीदेखि किमाथांका जाने आकांक्षालाई सम्बोधन गर्ने हुन्छ । पूर्व–पश्चिम रेल र उत्तर–दक्षिण सडक यातायातको विकास गर्न सक्यौं भने बल्ल हामीले जसरी प्रदेशहरू निर्माण गरेका छौं, त्यसअनुसार काम गर्न सकिन्छ । हाम्रो प्रदेशको नक्साअनुसार जलस्रोत, सडकको विकास हुन्छ । स्रोतको कुरा गर्दा जबसम्म हामीले अर्थतन्त्रको आधारभूत चरित्र परिवर्तन हुँदैन, तबसम्म केन्द्रबाट स्रोत माग्नुपर्ने हुन्छ । यसरी परिवर्तन गर्ने भनेको कहाँ नयाँनयाँ अवसरलाई सिर्जना गरेको पनि छ ।

हिजोभन्दा आज नेपालमा धान, तरकारी, मासु उत्पादन बढी हुन्छ । तर त्यसको माग पनि त्योभन्दा बढी भएको छ । त्यसैले हामीले ३ खर्ब ६० अर्बको आयात गर्छौं, त्यो किन पनि भएको छ भने, उपभोगको संस्कृति र उपभोगको सम्भावना हामीलाई रेमिट्यान्सले दिएको छ । त्यसलाई हिजोको अर्थतन्त्र भन्दा पनि नयाँ अवसरका रूपमा हेरेर कृषिलाई विकास गर्‍यौं भने, कृषिलाई हेर्‍यौं भने कृषिको अगुवाइमा विकास हुन्छ । त्यसको अर्थ यो होइन कि, कृषिमा ६६ प्रतिशत जनसंख्यालाई राख्नुपर्छ । १० प्रतिशतमा झार्नुपर्छ । ५ प्रतिशत खेतीपाती गरेर सय प्रतिशतलाई पाल्ने खालको कृषि बन्यो भने अन्य क्षेत्र, उद्योग, व्यवसायको विकास नयाँ सेवा क्षेत्रको विकास हुन्छ । त्यसैले कृषि आधारित भएर हामीले बिस्तारै आयात विस्थापित गर्ने र त्यससँगै बन्ने अर्थतन्त्रले हामीलाई सहयोग गर्छ ।


- नेपाली -कांग्रेसका नेता रिजालले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘प्रदेशको परीक्षा’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १६, २०७९ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×