१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

‘केन्द्र सरकार हल्लिँदा प्रदेश सरकार ढल्यो’ 

मीनेन्द्र रिजाल

नामका विषयमा केही राजनीतिक अपरिहार्यता, केही राजनीतिक आकांक्षाले कहीँ न कहीँ समात्छ जस्तो लाग्छ । आकांक्षाको कुरा गर्ने हो भने मूलतः सभ्यता र इतिहास हेर्नुपर्छ ।

‘केन्द्र सरकार हल्लिँदा प्रदेश सरकार ढल्यो’ 

लिम्बुवान किराँत सभ्यताबाट आएको ठाउँ होला । एक पटक मुख्यमन्त्रीज्यूलाई फोन गरेर प्रदेशको नाम सप्तकोसी राखौं, यसमा लामो चर्चा आवश्यक हुँदैन भनेको थिएँ । सप्तकोसी राख्यौं भने धेरै कुरा पूरा हुन्थ्यो । किनभने तमोरदेखि दूधकोसीसम्म क्षेत्रलाई समेटेर जुन संरचना बनाएका थियौं, त्यसका आकांक्षाहरूलाई यसले समेट्ने थियो । तर मुख्यमन्त्रीले त्यही होइन, विजयपुर नाम मान्य हुन्छ होला भन्नुभयो । कोसी किराँत हुन सक्छ हुन्छ भन्नुभयो ।

प्रदेश १ बाट ८ जना प्रधानमन्त्री बन्नुभयो । कोइराला परिवारले तीन वटा फरकफरक आन्दोलन नेतृत्व गरेको थियो । कोइराला परिवारबाट ३ जना प्रधानमन्त्री बन्नुभयो । कांग्रेसबाट ३ जना प्रधानमन्त्री बन्नुभयो । एमालेले पञ्चायती व्यवस्थाबाट नागेन्द्रप्रसाद रिजाल र सूर्यबहादुर थापा गरी २–२ जना प्रधानमन्त्री बन्नुभयो । यो सबै कुरालाई एउटा मात्रै धागोले जोड्छ, ती सबै बाहुन–क्षेत्री हुन् । त्यसैले कहीँ न कहीँ किराँतवाला, मधेसवाला वा थारुवाला वा कोचिलावाला आकांक्षा छैन भन्नुभएन । त्यो आकांक्षामा मात्रै हिँड्ने हो भने कति ओटा प्रदेश बनाउने । हामी संघबाट प्रदेश बनाउन हिँडेका हौं । तर टुक्राटुक्रा बनाउन हिँडेका होइनौं ।

हाम्रो पूर्वाधारको कुरा गर्दा पूर्वअर्थमन्त्री वर्षमान पुनले तमोरको जलाशययुक्त परियोजना कुरा गर्नुभयो । त्यो बनाउने हो भने ठूलो सम्भावना विकास हुन्छ । पहाडदेखि विराटनगरको दूरी पनि कम हुन्छ । मुख्यमन्त्रीज्यूको जिलला भोजपुर र मेरो जिल्लाको दूरी पनि घटेर जान्छ । त्यो विकासको आकांक्षा प्रदेश पनि हो । त्यो आकांक्षा मात्रै पुगेन । नेपालका अरु चाहनाहरूलाई बोकेर लिएर जान सक्नुपर्छ । तर हामी सरकार उत्पादन गर्न थाल्यौं । मूल्य तोकेको जस्तै अघिल्लो पटकको चुनावमा दुई वटा कम्युनिस्ट मिलेर एउटा संख्याको सरकार निर्माण गर्नुभयो । तर व्यवस्थापन गर्नु सक्नुभएन । हामीले गठबन्धनमा रहेका दल मिलेर एउटा संख्या निर्माण गर्दै छौं । हामी लोकतन्त्रमा कम्पिटिसन (प्रतिस्पर्धा) भन्दा पनि अलिकापोली (साना कम्पनीहरू एक ठाउँमा संगठित भएर निश्चित क्षेत्र प्रभावित गर्ने काम) सिर्जना गरेर सरकार निर्माण गर्छौं । त्यही अलिकापलीको समस्या हो । एउटा दल सरकारमा छ, अर्को दल सरकारमा छैन भन्ने आधारमा विकास र नामको समस्या एकै स्थानमा उभिएको छ । राजनीति र अर्थतन्त्रलाई प्रतिस्पर्धामा लैजान नसक्ने हो भने हामी त्यहीँ फर्किए आउँछौं । र अर्को पाँच वर्ष अर्को ढंगको गठबन्धन बोकेर फेरि चुनावको तयारी गरिरहेका हुन्छौं । त्यहाँबाट कसरी मुक्त हुने, त्यो मुख्य प्रश्न हो ।

कतिलाई लाग्ला, फेरि पुरानो कुरासँग यसले जोड्यो भन्ने । हाम्रो प्रदेशको पहिचान के त ? ताप्लेजुङदेखि सोलुसम्म र त्यसपछि सुनसरीसम्म त्यो प्रदेशले एउटा फरक चरित्र समातेर बसेको छ । त्यो चरित्र एउटा जातलाई मात्रै समात्यो भने नपुग्ला, एउटा बृहत् आकांक्षालाई समट्ने केही न केही बाटो खोज्नुपर्छ । तर त्यो पहिचानको विषय के हो भन्ने विषयमा हामी बहसमा आजसम्म पुगेनौं । सरकार बदलियो भन्यौं । अर्कोले तेरो पार्टी सधैं सरकारमा छ भन्यौं । यसरी गर्दा खोट देखाउन सकिन्छ होला । समाधान दिने ठाउँ पनि होला । तर केन्द्रको सरकार अलिकति हल्लिनेबित्तिकै हरेक प्रदेशका सरकार ढले । त्यस्तो फेरिने अवस्थामा रहँदासम्म केन्द्रसँग छुट्टिएर प्रदेशले आफूलाई एसर्ट गरेर कुन प्रदेशले आफ्नो प्रदेशको पहिचान बनाउन सक्ला ? म संलग्न पार्टी नेपाली कांग्रेसले प्रदेश १ मा कुनै पार्टीसँग मिलेर चुनावमा जाने भनेर सोच्न बाध्य नहुन्जेलसम्म कसरी हुन्छ ? माथि बसेर केन्द्रबाटै एउटा वडाध्यक्ष कसलाई बनाउने भनेर छान्ने भएसम्म प्रदेश वा संघीयता वा पहिचान वा विकासको आकांक्षा पूरा हुँदैन ।

आर्थिक पक्षमा हेर्दा जुन देशको राजस्व भन्सारको एउटा बिन्दुमा धेरै हुन्छ र त्यही प्रदेश लिन खोज्यो भने के गर्ने ? मधेसले वीरगन्ज मेरो बोर्डर हो, यहाँ आएको जति भन्सार सबै मेरो भन्न हुँदैन होला ? रेमिट्यान्स, भन्सारको आधारित अर्थतन्त्र भएको ठाउँमा प्रदेश आफ्नो आधारबाट उभिने ठाउँ सिर्जना नगरुन्जेलसम्म यस्तै हुन्छ ।

महेश जाजुले आन्दोलन गर्ने भन्दा दुई पटक मज्जाले ताली बज्यो तर उहाँले उद्यम चलाउँछु भन्नुभएको भए खासै ताली बज्दैनथ्यो । अघि मधेस प्रदेश सरकारले आन्दोलन गर्ने भनिरहेको कुरा आएको थियो । अहिले एउटा संस्कार निर्माण भएको छ, आन्दोलन गरेर सरकारमा आउने वा सरकारमा बसेर आन्दोलन गर्छौं भनेर तर्साएर सरकारलाई सुनिश्चित गरिरहने । यस्तो राजनीतिलाई बोक्दासम्म यो राजनीति फगत बहसका विषय मात्रै हुन्छ । त्यसैले हामी आधारभूत विषयमा प्रवेश गर्न सकेनौं भने फेरि एक पटक यस्तै यस्तै विषयको वरिपरि हिँड्छौं । त्यसैले उद्यमी व्यवसायीहरूसँग के अनुरोध गरेको छु भने, आन्दोलन गरेर हुन्छ भने राजनीतिक दलसँगको बाँकी सम्बन्ध छाडिदिनुहोस्, समानुपातिक जाने कुरा छाडिदिनुस् अनि आन्दोलन साँच्चै ढंगमा होला । एकतातर्फ हामी माथिदेखि तलसम्म ठाडो गठबन्धन निर्माण गर्छौं अनि त्यसको रापतापमा बसेर कुरा गर्न थाल्यौं भने यो अस्तव्यस्तताबाट बाहिर निस्कने कुरा हुँदैन ।

अहिलेसम्म हामीले आकांक्षा, परिचय वा परिभाषा कसरी बनेका छन्, त्यस विषयमा मात्रै चर्चा गरेका हौं । कुनै राजनीतिक दललाई भन्न खोजेको होइन, काठमाडौंमा रसुवागढीको बाटोबाट रेल ल्याउँछु र वीरगञ्जसम्म पु¥याउँछु— यस्तो भन्दा गजब भिजनरी विचार आयो भनेर हामी प्रशंसा गर्छौं । झापा, ताप्लेजुङदेखि संखुवासभासम्म ताली बजाउँछौं । त्यो भनेको हाम्रो विकासको प्रवृत्ति पनि उल्टो बन्न जान्छ ।

हाम्रोमा कतिपय विषय विरोधभासपूर्ण छन् । हामी आन्दोलन गरेर सरकार बनाउँछौं अनि सरकारमा पुगेपछि पनि आन्दोलनै गरेर टिकाउन खोज्छौं । निजी क्षेत्र एकातर्फ काम गर्ने वातावरण बनाऔं भन्छ । अर्कोतर्फ सेयरबजारको भाउ घट्यो भनेर आन्दोलन घोषणा गर्छ । यो विरोधाभास होइन ? हामी आन्दोलन गरेर सरकारमा बस्ने अनि व्यापारी सेयर बजार वा ब्याजदर तलमाथि भयो भनेर आन्दोलन गर्ने ? सरकारले हस्तक्षेप नगरोस् भन्ने गर्नुहुन्छ । त्यसैले यस्ता मौलिक विषय हामीले आआफ्नै विषयमा छलफल गर्नुपर्छ । हामी ओभानोमा छौं । तर तपाईंहरू चाहिँ बेठिक हुनुहुन्छ भनेर भन्न खोजेको होइन ।

स्रोतको कुरा गर्दा विराटनगर कसरी पहिलो उद्योग हुने सहर भएको हो त ? जुन समयसम्म भारतको रेल जोगबनीमा आएको थिएन, त्यस समयसम्म हाम्रो व्यापार उत्तरतर्फ धेरै हुन्थ्यो । त्यस्तो गर्दा उत्तर र दक्षिण दुवैतर्फ हामी नाफामा थियौं । पहिलो रुख भारत निर्यात गर्दा त्यसमाथि धान राख्ने र कोसीबाट पठाउने गरिन्थ्यो । त्यसपछि त्यो जसका लागि पठाएको हो, त्यसले टिप्ने गथ्र्याे । त्यसरी भारततर्फ निर्यात गर्ने गरिन्थ्यो । जसरी रेल बन्दै गयो, हाम्रो विकासहरू दक्षिणतर्फ केन्द्रित हुँदै गयो ।

पहिले पनि मैले सप्तकोसीलाई कसरी हाम्रो प्रदेश निर्माण गर्दाका आकांक्षाहरूलाई सम्बोधन गर्छ भनेको थिएँ । सप्तकोसी नदीले जसरी जोडिएको छ, त्यहाँबाट ऊर्जा, जलस्रोत पारवहनको विकास गर्ने सकिन्छ । उत्तर–दक्षिण जोडिएका छौं । त्यसैले जोगबनीदेखि किमाथांका जाने आकांक्षालाई सम्बोधन गर्ने हुन्छ । पूर्व–पश्चिम रेल र उत्तर–दक्षिण सडक यातायातको विकास गर्न सक्यौं भने बल्ल हामीले जसरी प्रदेशहरू निर्माण गरेका छौं, त्यसअनुसार काम गर्न सकिन्छ । हाम्रो प्रदेशको नक्साअनुसार जलस्रोत, सडकको विकास हुन्छ । स्रोतको कुरा गर्दा जबसम्म हामीले अर्थतन्त्रको आधारभूत चरित्र परिवर्तन हुँदैन, तबसम्म केन्द्रबाट स्रोत माग्नुपर्ने हुन्छ । यसरी परिवर्तन गर्ने भनेको कहाँ नयाँनयाँ अवसरलाई सिर्जना गरेको पनि छ ।

हिजोभन्दा आज नेपालमा धान, तरकारी, मासु उत्पादन बढी हुन्छ । तर त्यसको माग पनि त्योभन्दा बढी भएको छ । त्यसैले हामीले ३ खर्ब ६० अर्बको आयात गर्छौं, त्यो किन पनि भएको छ भने, उपभोगको संस्कृति र उपभोगको सम्भावना हामीलाई रेमिट्यान्सले दिएको छ । त्यसलाई हिजोको अर्थतन्त्र भन्दा पनि नयाँ अवसरका रूपमा हेरेर कृषिलाई विकास गर्‍यौं भने, कृषिलाई हेर्‍यौं भने कृषिको अगुवाइमा विकास हुन्छ । त्यसको अर्थ यो होइन कि, कृषिमा ६६ प्रतिशत जनसंख्यालाई राख्नुपर्छ । १० प्रतिशतमा झार्नुपर्छ । ५ प्रतिशत खेतीपाती गरेर सय प्रतिशतलाई पाल्ने खालको कृषि बन्यो भने अन्य क्षेत्र, उद्योग, व्यवसायको विकास नयाँ सेवा क्षेत्रको विकास हुन्छ । त्यसैले कृषि आधारित भएर हामीले बिस्तारै आयात विस्थापित गर्ने र त्यससँगै बन्ने अर्थतन्त्रले हामीलाई सहयोग गर्छ ।


- नेपाली -कांग्रेसका नेता रिजालले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘प्रदेशको परीक्षा’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन १६, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?