कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अब ढिला गर्नु हुँदैन'

– नेपालमा ‘नलेज इन्डस्ट्री’को अपार सम्भावना छ, प्रविधिमा लगानी गर्न ढिला नगरौं
सुरेन्द्र पाण्डे

पूर्वबाटै ८ जना प्रधानमन्त्री भइसकेका छन् । नेपालको प्रजातान्त्रिक अभियानको सुरुवात नै पूर्वबाट भएको हो । सिंगो नेपाललाई राजनीतिक रुपमा डोर्‍याउने केन्द्रका रुपमा पूर्व रह्यो, यसमा दुई मत छैन । कुनैबेला विराटनगरलाई उद्योगको मुख्य क्षेत्र मानिन्थ्यो । तर, अहिले त्यस्तो छैन । तर कुनै समयमा विराटनगर नै औद्योगिक आउटपुट र मुख्य क्षेत्र थियो । बिस्तारै समयक्रम अनुसार विराटनगरको सम्भावना अन्य ठाउँमा सर्दै गयो । विराटनगर ओझेलमा पर्दै गयो । तुलनात्मक रुपमा विराटनगर पछाडि पर्दै गएको छ । सबै सम्भावना गुमाएको भने पक्कै होइन । विराटनगरको सम्भावना धेरै उच्च छ ।

'सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अब ढिला गर्नु हुँदैन'

सिलिगुडीबाट झापामा पेट्रोलको स्टोरेज राख्ने सम्झौता भइसक्यो । ४० हजार किलोलिटर डिपोजिट गर्ने क्षमता छ । जसकारण यो क्षेत्रको फोसिल फ्युलले उर्जाको सुनिश्चितता सिर्जना गर्दछ । जलविद्युत्मा पनि पूर्वको प्रगति बढ्दो क्रममै छ । यसको योगदान ठूलो छ । अझै पनि सम्भावनालाई प्रयोग गर्न सकेको छैन । जलविद्युत् अर्को ठूलो क्षेत्र हुनेछ । जसले पूर्वको विकासलाई थप उजागर र विस्तार गर्न सक्ने सम्भावना बोकेको छ ।

पूर्वमा कृषि पनि उत्तिकै छ । यहाँ चिया, अलैंची, हरियो तरकारी र फलफूल छन् । चियामा नयाँ जोखिम बेहोर्नु परेको छ । भारतले नेपालको कच्चा चियापत्तीमा ४० प्रतिशत कर लगाउँदा समस्या भएको हो । भारतसँग औपचारिक छलफलको खाँचो छ । नेपाली उत्पादनको सुरक्षा गर्न सकेनौं भने हामी प्रतिस्पर्धी हुन सक्दैनौं । यस्तै समस्याका बाबजुद पनि यी क्षेत्रमा धेरै सम्भावनाहरु छन् ।

शिक्षा र स्वास्थ्य पनि अर्को एउटा क्षेत्र हो । जुन बिस्तारै विकसित हुँदैछ । यसमा निकै ठूलो सम्भावनाहरु छन् । तर वर्तमान नीति नियममा हामी उदार भएनौं । त्यसकारण देशमा सम्भावनाहरु छ । तर ती आफैं व्यवहारमा रुपान्तरण हुँदैन । हामीले प्रयास गर्न जरुरत छ । आवश्यक ऐन, कानुन, नीतिगत व्यवस्था, आर्थिक व्यवस्थाका पक्षहरुमा उदार नीति अपनाएनौं भने त्यो सम्भावनामै सीमित हुन्छ ।

पहिला हामी पढ्नलाई दार्जिलिङ जाने भन्थ्यौं । अब इलाम किन नजाने ? बसन्तपुर किन नजाने ? भेडेटारमा भारतका भन्दा राम्रो स्कुल खोलेर बाहिरका विद्यार्थीलाई ल्याउन सक्ने सम्भावना निकै ठूलो छ । देहरादुनको दुन स्कुल नेपालमा बन्न सक्छ कि सक्दैन ? त्यस प्रकृतिका सम्भावनाहरु खोज्न उदार नीतिहरु आवश्यक छ । आगामी दिनमा यसतर्फ गृहकार्य गर्न जरुरी छ । शिक्षा र स्वास्थ्यको क्षेत्रका हरेक सम्भावनालाई आवश्यक नीतिगत व्यवस्था गरेरे अवसर लिन सक्नुपर्नेछ । भारत र अन्य मुलुकका विद्यार्थीलाई नेपालका शिक्षालयबाट गुणस्तरीय शिक्षा दिन सकिन्छ । नेपालको पूर्व क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई भारतीय नागरिकका लागि पनि केन्द्रित गरेर अघि बढाउन सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा केही उदार नीतिहरुको जरुरत छ । त्यसका लागि हामीले गृहकार्य गर्नुपर्छ ।

संसारकै उद्योगमध्ये अहिले ‘नलेज इन्डस्ट्री’ ठूलो छ । जहाँ लगानी बढ्दै छ । नेपालमा वार्षिक रुपमा धेरै खर्च हुने क्षेत्र भनेको नै शिक्षा हो । जहाँ सरकारको २ खर्बभन्दा बढी लगानी र नागरिकको गरी ५/६ खर्बभन्दा बढी लगानी गरिरहेको छ । यती ठूलो पैसा अन्य कुनै क्षेत्रमा खर्च गरिरहेको अवस्था छैन । आगामी दिनमा यो अझै बढ्दै जाने छ । चौथो औद्योगिक क्रान्तिपछि सबैभन्दा ठूलो सम्भावना भनेको शिक्षा नै अर्थतन्त्रको मुख्य विषय बनेको छ । भविष्यका दिनमा ठूलो खरिद बिक्री डेटा हुन सक्छ । अमेरिकाको जम्मा ऊर्जा खपतमध्ये २ प्रतिशित डेटा सेन्टरले प्रयोग गर्दा रहेछन् । अष्ट्रियाको वार्षिक प्रयोग गर्ने ऊर्जाभन्दा अमेरिकाको डेटा सेन्टरले बढी ऊर्जा प्रयोग गर्ने रहेछ । नेपालमा प्रविधिमा लगानी गर्ने र डाटा इन्डस्ट्री बनाउनका लागि वातावरण पनि अनुकुल छ । अबको युग सूचना प्रविधिको युग हो । यो क्षेत्रमा लगानी गर्न ढिलाई गर्न हुँदैन । जुन मुलुकले सूचना प्रविधिमा लगानी गरेको छन् उनीहरु अबका शक्तिशाली र धनी हुन् । यसलाई कुनै नाकाबन्दीले पनि छेक्दैन । आईटीमा मात्रै लगानी गर्न सक्यौं भने २ प्रतिशत जीडिपी बढ्न सक्छ । पहाडी भेगमा जुनसुकै ठाउँमा डेटा सेन्टर बनाउन सक्छौं । अबको युग नितान्त नयाँ छ । अबको युग सूचना प्रविधिको युग हो । अब स्मार्ट घरहरु साथै बायोमेट्रिकबाट चल्ने घर बन्नेछन् । १९ औं शताब्दीमा वस्तु बेचेर नाफा खान्थ्यों । २० औं शताब्दीमा पुँजी बेचेर पैसा कमाउन थाल्यो । २१ औं शताब्दी भनेको व्यक्तिका अनुभव किनबेच गर्ने युग हो ।

हामीसँग पानी मात्रै त्यस्तो हतियार हो जसबाट हामी भारतलाई अठ्याउन सक्छौं । नेपाल र बंगलादेशको कनेक्टिभिटीका लागि काँकडभिट्टाबाट बंगलादेशसम्म प्रसारण लाइन र यातायात सञ्जाल जोड्न सक्नुपर्ने र त्यसका लागि नेपालले भारतलाई सप्तकोसी उच्च बाँध बनाउन दिने सम्झौता गर्न सकिन्छ । त्यसबेला वातावरण अनुकूल थिएन । तर, यो सम्भावना अझै जीवित नै छ । राष्ट्रियताको मुद्दाको अमूर्त कुरा समाधानमै धेरै समय खर्चिन्छौं । अब मूर्त विषयमा कुरा गर्ने र समस्याको समाधान गर्दै जानु पर्छ भन्ने निष्कर्ष आइसकेको छ । औद्योगिक क्रान्तिपछि आएको पुस्ता संसारभरि नै क्रान्तिमै रमाउँछ, सुत्छ, शब्दहरु मन पराउँछ । अर्को पुस्तामा स्थान्तरण भएपछि यथार्थ हुँदै जान्छ । हामी त्यही संक्रमणको डिलमा छौं । नेपालको राजनीति नेतृत्व, नेपाल स्वयं नै पुस्तान्तरणको क्रममा छ । नयाँ युवाहरु नयाँ कुराको खोजीमा छ । त्यसकारण राजनीतिमा पनि नयाँ सम्भावनाहरु पैदा हुँदैछ । पञ्चायत कालदेखि नै धेरै चाहिँदैन । ठिक्क भए पुग्छ भन्ने हाम्रो प्रचलन रहँदै आएको छ । यी अवस्थादेखि हामी नयाँ कुरामा परिवर्तन हुँदैछ ।

नेपालको राष्ट्रियका मुद्दाहरु के–के हुन्, त्यो पहिचान गर्न आवश्यक छ । सिमानाका मुद्दा समाधान गर्न ‘स्ट्रयाटिजी’ बनाएर अघि बढ्नु पर्छ । सिमानाका समस्या समाधान गर्न भारतबाट सिक्न सक्छौं । भारत र चीनको बीचमा ४ हजार किलोमिटरभन्दा बढी क्षेत्रमा विवाद छ । विवादका बाबजुद १०८ अर्ब डलरभन्दा बढीको व्यापार छ । वार्ता जारी भएपनि सहमति भइसकेको छैन । आर्थिक विकासको पाटो पनि सँगसँगै द्रुत गतिमा गइरहेको छ । सिमानाका मद्दा समाधान नभएसम्म केही गर्दैनौं भनेर अझै बस्यौं भने नेपाल अघि बढ्दैन । आर्थिक मुद्दाहरुको समाधान गर्न प्रयोगात्मक कुरा गर्न जरुरी छ ।

खोलाको पानीमा सार्वभौसत्ता रहेपनि हामी बोटलको पानीमा खोजिरहेका छौं । खोलामा अधिकार राखेर पानी किनबेचको विषयको बनाउनु पर्छ । त्यसैले हाम्रो बहसलाई प्रयोगात्मक र प्रागम्याटिक बाटोबाट गयौं भने ठूलो सम्भावना छ ।

पूर्वमा सहर बिस्तारको पनि त्यतिकै सम्भावना छ । पूर्वमा नयाँ ‘रेजिडेन्सल’ कुरा ल्याएर विकास गर्न सक्छौं । पाथिभरा, चतरा, हलेसीलगायत धामको भरपुर सम्भावना प्रयोग गर्न सक्नु पर्छ । जलस्रोत, रिसोर्टलगायतको सम्भावना उत्तिकै छ । भविष्यमा पूर्व क्षेत्रको ठूलो सम्भावना छ । लामो समयसम्म सरकारमा बस्दाको अनुभव नेपाल र भारतसँग सहमति हुने र नहुने कुरा गरौं । सिमानाका कुरामा मिलापत्र हुन नसके पनि बाँकी विषयमा सम्झौता गर्न सकिन्छ । त्यस हिसाबले सम्झौताको अवस्था उच्च बनाउने हो भने मात्रै हाम्रो विकास सहज हुन्छ । यसतर्फको एजेन्डा सिफ्ट गर्ने र विकासको एजेन्डमा आइपर्ने कुरालाई मात्रै केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी छ ।

– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष पाण्डेले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश ।

प्रकाशित : आश्विन १६, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?