कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

दसैंमा पनि ‘बिदा’ नपाउने महिला

मञ्जु भट्ट

मेरो चिनजानकी एक बहिनी राजधानी सहर काठमाडौंमा बस्छिन् । २०५२–६२ सालसम्म चलेको द्वन्द्वकालका बेला दुर्गम गाउँमा बस्न नसकने भएपछि सहर पस्नुको विकल्प थिएन उनलाई । अहिले श्रीमान्–श्रीमती नै जागिरे छन् । दुई छोराछोरी हुर्काइसके ।

दसैंमा पनि ‘बिदा’ नपाउने महिला

उनले दुई महिना सुत्केरी बिदाबाहेक छोराछोरी हुर्काउन अफिसबाट कहिल्यै छुट्टी लिइनन् । बच्चाहरू सानो हुँदा उनीहरूका थाङ्ना, श्रीमान्का लुगा, आफ्नै लुगासमेत धुन्थिन् । बिहानबेलुकी घरको काम, सरसफाइ, पाहुनाहरूको स्वागत सबै गर्नुपर्थ्यो नै । श्रीमान्–श्रीमती दुवै जागिरे भए पनि घरायसी काममा उनी नै घोटिनुपर्थ्यो । श्रीमान् कार्यालयको काम मात्र गर्थे ।

प्रत्येक नेपाली परिवारको कथा उनीसँग लगभग मिल्छ । पितृसत्तात्मक सोचले जरा गाडेको समाजमा जागिरे भए पनि घरको काम महिलाले नै गर्नुपर्छ । कतिसम्म भने, श्रीमान्का साथीहरू घर आउँदा श्रीमती नै भान्सामा पस्नुपर्ने बाध्यता छ । यस्तो कहिलेसम्म ? श्रीमतीले आफ्ना साथीहरू घर आउँदा आफैंले चिया बनाउनुपर्छ तर यही काम श्रीमान्ले किन गर्न सक्दैनन् ? दुवै मिलेर पनि त गर्न सकिन्छ । तर नेपाली परिवारमा श्रीमान्–श्रीमती मिलेर घरायसी काम गरेको विरलै मात्र देखिन्छ । हुन त, श्रीमतीलाई घरायसी काममा सहयोग गर्ने श्रीमान्लाई ‘जोइटिंग्रे’ भन्न पनि पछि पर्दैन हाम्रै समाज । बिनापारिश्रमिक जीवनभर गृहणीका रूपमा रातदिन घरको काम गर्ने, सबैको ख्याल गर्ने महिलाको कामको तुलना ‘आखिर परिवार मैले पालेको छु’ भन्ने पुरुषको धाकसँग कदापि गर्न सकिँदैन । दुवैले आआफ्नो सीपअनुसार उत्तिकै काम गरेको भए पनि तलब थाप्ने जागिरे पुरुष र बिनातलब काम गर्ने गृहिणी महिलालाई हेर्ने नजरमा परिवर्तन गर्न अति जरुरी भइसकेको छ ।

घरबाहिर बसेर पढेका युवाहरूमा घरायसी काम पनि मिलेर गर्नुपर्छ भन्ने अलिअलि चेतना पलाएको देखिन्छ । कतिपय सेना, पुलिसमा जागिर गर्नेहरू घरायसी काम गर्न हिचकिचाउँदैनन् । श्रीमतीका लुगाहरूसमेत धोएको देखिन्छ । यदि श्रीमतीले श्रीमान्का लुगाहरू धुन अप्ठेरो मान्दिनन् भने श्रीमान्ले पनि श्रीमतीका लुगा धोइदिनु पर्ने हो । तर यस्तो खासै समाजमा देखिन्न । औंलामा गन्न सकिने केही पुरुषले मात्रै श्रीमतीलाई भान्साको काम गर्न मद्दत गर्छन् । श्रीमतीले गर्ने घरभित्र, घरबाहिरका जुनसुकै काम गर्न पछि पर्दैनन् । तर कहिलेकाहीँ यस्ता कतिपय पुरुषहरूसमेत परिवारका अगाडि निरीह बनिदिन्छन् । घरको कामजति सबै श्रीमतीलाई सुम्पन गाह्रो मान्दैनन् । परिवारको अगाडि न त काम गर्न सक्छन्, न केही बोल्न नै । पढेलेखेका सक्षम पुरुषहरूले अब परिवारको यस्तो सोचलाई बदल्न सक्नुपर्छ ।

सहरी परिवेशमा रमाएका कतिपय परिवारमा अझैसम्म पनि छोराको बिहे गर्नु भनेको काम गर्न बुहारी भित्र्याउनु हो भन्ने ठानिन्छ । यसै सन्दर्भमा हालैको एउटा घटना उल्लेख गर्न चाहन्छु । मेरी छिमेकी नानीलाई कलेज पढ्न छुटाएर २२ वर्षको उमरमै विदेशमा बस्ने केटासँग बिहे गरियो । कमाइ राम्रै देखेपछि केटी पक्षले बिहे गराइदिने निर्णय गरे । केटी पक्षले बिहेपछि आफूसँगै लैजानुपर्ने, सासुससुरासँग बस्नु नपर्ने सर्त राखेका थिए ।

यसलाई केटा पक्षले सहजै स्विकारेका थिए । सहरमा जन्मेकी, पढेलेखेकी केटीलाई पनि बिहेपछि, गाउँमा आमाबुबासँग गएर बस, उनीहरूको सेवा गर्नैपर्छ, बुहारीको कर्तव्य निभाउनै पर्छ नत्र वैवाहिक सम्बन्ध धेरै दिन टिक्दैन भनिन्छ । सो केटाले बिहेपछि केटीलाई केही समय आफूसँगै विदेश लगेका पनि थिए । पछि के भयो, केटी यतै फर्किइन् । आमाबुबा अति नै रूढिवादी छन् भन्ने थाहा पाउँदापाउँदै पनि केटाले उनलाई नेपाल नै फर्काइदियो । अहिले केटीलाई बस्ने भए आमाबुबासँगै बस होइन भने छोड्दे भनेर धम्क्याइन्छ रे !

अझ चाडवाडका बेला पितृसत्तात्मक सोचले महिलालाई झनै पिल्स्याउँछ । दसैं, तिहार, छठजस्ता पर्वमा धेरैजसो जागिरेलाई बिदा पनि लामै हुने गर्छ । कतिपय जगिरे महिला पनि फुर्सदमा हुन्छन् । तर यो बेला पुरुषको तुलनामा उनीहरूले निर्धक्कसँग दसैं मनाउन पाउँदैनन् । अरु बेला गर्न नभ्याइएका घरायसी कामका चाङ थुप्रिरहेका हुन्छन् । त्यसमाथि चाडावाडका बेला महिलालाई अरु बेलाभन्दा बढी भान्सामा खटिनुपर्छ ।

पाहुनालगायत परिवारका प्रत्येक सदस्यको इच्छाअनुरूप पकवान बनाउनुपर्ने हुन्छ । दसैंमा मासुका भाँडा माझ्दैमा र तिहारमा घरको सरसफाइलगायत गर्दैमा धेरैजसो महिला थकित हुन्छन्, बिरामी नै पर्छन् । घरका सबै सदस्यले मिलेर काम गरे महिलाले पनि चाडवाड आरामले मनाउन पाउँथे । आफ्नो मात्र नभई एकअर्काको खुसीको जिम्मा पनि परिवारका सबै सदस्यले लिनुपर्छ ।

चाडवाडमा आफन्त भेटघाट गर्न, नयाँ लुगा लगाउन, मिठोमसिनो खान, आराम गर्न महिलाले पनि पाउनुपर्छ । त्यसका लागि परिवारले उनीहरूलाई साथ दिनुपर्छ । नत्र दसैंले उनीहरूलाई खुसी बनाउँदैन । कहिले पनि छुट्टी नपाउने महिलाको ‘जागिर’ लाई पुरुष सदस्यहरूले पनि सहयोग गर्नुपर्छ । अनि मात्र सही अर्थमा महिलाका लागि दसैं आउनेछ ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?