१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

‘नेपालका धेरैजसो युवा विदेश गएकाले यहाँ बस्नेलाई धेरै अवसर छ, प्रतिस्पर्धा कम छ’

कविन श्रेष्ठ

२०५०/५२ तिर निर्वाचन हुँदा सुनसरी क्षेत्र नम्बर ४/५ का उम्मेदवार गिरिजाप्रसाद कोइरालालाई नेपाली कांग्रेसका युवा नेता भनी प्रचार गरिन्थ्यो । त्यो सुनेको भएर मलाई चाहिँ गिरिजाबाबु जस्ता मान्छेलाई युवा भनिँदो रहेछ भन्ने लाग्थ्यो । आज नेपालमा १५ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिलाई युवा भन्ने गरिएको छ । यो उमेर समूहको कुल जनसंख्या नेपालमा १ करोड २० लाख हाराहारी छ ।

‘नेपालका धेरैजसो युवा विदेश गएकाले यहाँ बस्नेलाई धेरै अवसर छ, प्रतिस्पर्धा कम छ’

त्यसमध्ये ४३ लाख युवा आज बेरोजगार छन् भने ४५ लाख युवा सेल्फ–इम्प्लोयड अर्थात् स्वरोजगारीमा छन्, उनीहरू आफैंले आफ्ना लागि रोजगारी सिर्जना गरेका छन् । दैनिक हजारौं, वर्षको साढे ६ लाख युवा मजदुरी गर्न विदेश गएका छन्, जसमध्ये ९१ प्रतिशत खाडी र मलेसिया जान बाध्य छन् । यो ठूलो समस्या हो हाम्रो लागि । यसलाई नियन्त्रण गर्नुपर्छ ।

तर, हाम्रो समस्या के छ भने हामी कार रेसमा कसरी भाग लिने भन्ने विषयमा अलमलिइरहेका छौं । रेस कसरी जित्ने, कति किलोमिटर दूरी पार गर्नुपर्ने हो, कुन गतिमा कुदाउनुपर्ने हो, कुन मोडमा घुम्नुपर्छ भन्ने विषयमा हामी केन्द्रित छैनौं । पुरानो गाडी लिएर जसरी हुन्छ भाग लिने भन्नेमा हाम्रो ध्याउन्न छ । पुरानो गाडीले अहिलेको रेस जित्न सकिँदैन ।

काठमाडौंमा २० वर्षभन्दा पुरानो गाडीलाई फाल्ने वा रिप्लेस गर्ने चलन छ । हामी युवालाई नेतृत्व गर्ने, हामीले चयन गर्ने नेताहरूलाई फाल्ने चलन वा नीति छैन । जस्तोसुकै नीति बनाए पनि कार्यान्वयन नगरिए केही पनि हुनेवाला छैन । युवा तथा खेलकुद मन्त्रलायले २०१५ अगस्ट १६ मा युवाहरूका लािग ‘भिजन २०२५’ शीर्षकमा १० वर्षे योजना बनाएको थियो । नेपाल सरकारले यसलाई पारित गरेको थियो । तर, आज सात वर्ष भइसक्यो, कार्यान्वयन हुन सकेको छैन । बरु, ६ लाख ३७ हजार युवाले श्रम स्वीकृति पाएको समाचार पत्रपत्रिकामा देखिन्छ । यस्तो किन ?

जुन हिसाबले हाम्रा युवाहरू विदेश गइरहेका छन्, भोलिका दिनमा नेपालको जनसंख्या घट्ने निश्चित छ । नेपाला प्रतिदिन औसतमा १७ सय बच्चा जन्मिन्छन्, ५ सयको हाराहारीमा मृत्यु हुन्छ, करिब अढाइ सय विदेश जान्छन् । हामीले व्यापार कसका लागि गर्ने ? के गर्ने ?

००७ सालदेखि ०७९ को ७२ वर्षमा ५१ वटाभन्दा बढी प्रधानमन्त्री फेरिए । प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र देखियो । तर, नवउद्यमीले काम गर्ने वातावरण कहिल्यै पाएको देखिएन । राजनीतिक अस्थिरता कायम रहेसम्म यो वातावरण कदापि प्राप्त हुने छैन ।

नेपालका धेरैजसो युवा विदेश गएकाले यहाँ भएकालाई धेरै अवसर छन्, प्रतिस्पर्धा कम छ । तर, केही समस्या छन् । तीमध्ये एउटा हो, बैंकिङ समस्या वा ब्याज आतंक । नेपालको बैंकिङ क्षेत्रको नीति–नियमको कहिले पनि टुंगो लाग्दैन । हिजोसम्म हामीले ७ प्रतिशत ब्याजदरमा ऋण लिएर काम गरिरहेका थियौं, अब निक्षेपमा १५ प्रतिशत ब्याज दिने भनिएको छ । त्यसको अर्थ, कर्जाको पनि ब्याज बढ्यो । हामी कसरी त्यत्रोविधि कर्जा चुक्ता गर्ने ? नेपालमा चाहिनेभन्दा बढी बैंक भएजस्तो लाग्छ । बैंकहरूको लडाइँका कारण सीडी रेसियो कायम गर्नुपर्ने भएकाले हामीजस्ता युवा व्यवसायीहरू बैंकबाट ऋण लिएर काम सक्ने अवस्थामा छैनौं ।

विराटनगरमा हामीले नेपाल बजार भन्ने संस्था खोलेका थियौं । सात वर्षको दौरानमा हामी असफल भयौं । कारण थियो– खुला सीमाना । हामीले अवसर देखेरै लगानी गरेका थियौं । तर, मेरो सात/आठ वर्ष बर्बाद भयो । खुला सीमानालाई नियन्त्रण नगरुन्जेल नेपालमा कुनै पनि हालतमा व्यापार–व्यवसाय फस्टाउँदैन । गत वर्ष १९ खर्ब चानचुन आयात भएको छ, जसमध्ये ६२. ५ प्रतिशत (१२ खर्ब ६२ अर्ब) भारतबाट मात्रै निर्यात भएको थियो ।

त्यो १२ खर्ब ६२ अर्ब वैधानिक तरिकाले आयो, अवैधानिक रूपले कसरी र कति आउँछ म एउटा उदहारण दिन्छु । हामीले नेपाल बजार सञ्चालन गर्दा दैनिक २ देखि ३ लाखको सामान बिक्री गर्थ्यौं, विराटनगर महेन्द्र चोकमा । युवाहरू मिलेर गरेका थियौं । जोगबनी बन्द हुँदा हामी दिनको १२ लाख रुपैयाँ बराबरको सामान बेच्थ्यौं । त्यो भनेको ५ गुणा बढी बेच्थ्यौं । हामीलाई महसुस हुन्थ्यो, हामीले किन बजार बढाउन सकिरहेका छैनौं र हाम्रो पैसा कसरी बाहिर गइरहेको छ भन्ने कुरा । मान्छेले रोजगारी यहाँ होइन, पारी पाइरहेका छन् ।

एक सय रुपैयाँको सामान किन्दा २० रुपैयाँको भ्याट बिल आउँथ्यो, बेच्नुअघि नै ८० रुपैयाँ नाफा हुन्थ्यो । बेच्नुपर्ने १ सय २० रुपैयाँ नाफा खाएर । काम गर्नुभन्दा अगाडी नै म चाहिँ एक सय रुपैयाँ घाटामा गइसकेँ । अनि हामीले कसरी काम गर्ने ? सय रुपैयाँमा किनेको सामानको भ्याट नै २० रुपैयाँ भएपछि १२ खर्ब होइन १२० खर्बको आयात भइरहेको हुन सक्छ ।

सरकारले सीमा नाकामा अलिकति कडाइ गरिदिने हो भने हामीलाई धेरै राहत हुन्थ्यो । कोभिडको समयमा हाम्रो व्यापार सप्रिएको थियो । धेरैजना भाइ–बहिनीहरूले विराटनगरमा थुप्रै वटा रेस्टुरेन्ट खोले । ती सबै रेस्टुरेन्ट चलिरहेकै छन् ।

सबै युवाले केही न केही गर्नैपर्छ, त्यत्तिकै चुप लागेर बस्नु हुँदैन भन्ने सन्देश दिन चाहन्छु । मोबाइलमा बसेर जीवनको अमूल्य समय खेर नफाल्न पनि अनुरोध गर्छु । हामीमध्ये धेरै युवा मोबाइलमा अलमलिएको देख्छु । भारतमा टिकटक, पबजी आदिमा प्रतिबन्ध छ, चीनमा फेसबुक प्रतिबन्ध । त्यहाँका सरकारले केही सोचेरै प्रतिबन्ध लगाएका होलान् । युवाहरू उत्पादनमूलक बाटोमा लाग्नुपर्छ । नेपालमा दक्ष जनशक्तीको अभाव छ । त्यसैले लागिपर्नेलाई यहाँ अवसर नै अवसर छन्, यत्तिको छिट्टै हरेस खानुहुँदैन ।

–लेमन ट्री प्रिमियम होटलका अध्यक्ष श्रेष्ठले विराटनगरमा आयोजित 'उज्यालो पूर्व' कार्यक्रमको तेस्रो सत्र 'युवा उद्यमीका अपेक्षा' मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन ११, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?