कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण चाहियो’ 

नवीन रिजाल

सरकारले राजस्व संकलन धेरै गरेको छ । यो देशमा उत्पादन बढेर, आर्थिक गतिविधिमा बढोत्तरी आएर भएको नभई आयात महँगो भएर हो । यसअघि १ हजार डलर पर्ने सामानको मूल्य तीन हजार डलर पुगेको छ । आयातको मूल्य बढेपछि राजस्व बढ्नु स्वाभाविक नै हो । प्रदेश १ मा कृषिको सम्भावना राम्रो छ ।

‘उद्योगी व्यवसायीलाई काम गर्ने वातावरण चाहियो’ 

तर, त्यो पर्याप्त छैन । पछिल्लो २० वर्षअघि हामीभन्दा धेरै पछि रहेका राष्ट्रहरू अहिले हामीभन्दा धेरै माथि पुगेका छौं । यो अवधिमा हामीले के गर्‍यौं ? यस अवधिमा काम गर्न हामीलाई केले रोकेको छ ? पछिल्लो ३२ वर्षदेखि हामीले काम गर्ने इच्छाशक्ति नै दखाउन सकेनौं । त्यसको परिणाम अहिले अर्थतन्त्रको अवस्था हेरे हुन्छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का पास गर्नकै लागि हामीले ३ वर्ष खर्चियौं । त्यसका लागि कैयौं बैठक बसे, टेबलकुर्सी भाचिए, देशको साधनस्रोत खर्च भयो । त्यति नै मिहिनेत सम्भावनायुक्त पानी, कृषि र पर्यटनमा खर्च गरेको भए आज हाम्रो यो अवस्था नै आउँदैनथ्यो । हाम्रो अहिलेको स्तर र छलफलको विषय पनि अर्कै हुन्थ्यो ।

यसअघि ७ प्रतिशत ब्याजदर हुँदा बैंक तथा वित्तीय संस्था घरमै आएर कर्जा लिनका लागि अनुरोध गर्थे । त्यति बेला जसरी भए पनि कर्जा दिएरै छाड्ने रणनीतिमा तपाईंहरू हुनुहुन्थ्यो । आज बैंकको कर्जा घरजग्गामा गएकाले अर्थतन्त्रको यो अवस्था भयो भनिरहनुभएको छ । बैंकहरूले जहिले र जस्तो अवस्थामा पनि नाफा कमाउनुपर्ने ? पछिल्लो चार वर्षमा बैंकहरूको नाफा र अन्य क्षेत्रको नाफा तुलना गरौं, त्यसबाट पनि सबै स्पष्ट हुन्छ ।

चालिस वर्षदेखि सञ्चालित उद्योग अचानक बन्द हुँदाको पीडा/वेदना उद्योगपतिलाई थाहा होला । नीतिगत रूपमा त्रुटि भयो । त्यो आवास सरकारलाई पुर्‍याउनुपर्ने थियो । यसका लागि जिल्ला, प्रदेश, केन्द्रलगायतका सरकार, प्रशासन प्रमुखलगायत सबैसमक्ष कुरा पुर्‍यायौं । त्यहाँबाट सकारात्मक आश्वासन पनि पायौं । तर, विभेदकारी नीति परिमार्जन गर्नेबारे कहीँबाट पनि पहल भएन । यसकारण सडक आन्दोलनमा उत्रिन हामी बाध्य भयौं । आन्दोलनकै कारण संघीय सरकारले नीति परिमार्जन गरेको छ । यससँगै एउटा नजिर स्थापित भएको छ । आन्दोलन गरेपछि आफ्ना माग पूरा गराउन सकिँदो रहेछ भन्ने आत्मविश्वास उद्योगी व्यवसायीहरूमा आएको छ ।

बजारमा तरलता अभावको समस्या अझै कामय छ । सरकारले १७ खर्बको बजेटमा ३ खर्ब मात्र विकास खर्च छुट्याएकै कारण तरलता समस्या देखिएको हो । यस्तो अवस्थामा तरलता समस्या छैन भनिन्छ । हाम्रा उद्योगहरू आंशिक रूपमा मात्र खुलेका छन् । उद्योगबाट निस्किएको सामान उपभोक्तासमक्ष पुग्न सकेका छैनन् । उपभोक्तासँग पैसा छैन, ऊ पसलमै पुगेको छैन । यस्तो अवस्थामा कसरी उद्योग चल्छ ? हाम्रो उद्योग चल्ने वातावरण बनाइदिनुस् । हामी सडकमा आउँदैनौं । तपाईंहरूले जस्तो कडा नीति बनाए पनि हामी पूर्ण रूपमा पालना गरेर उद्योग चलाएर बस्छौं ।

अब सान्त्वना र फकाएर मात्र उद्योगी व्यवसायीले मान्नेवाला छैनन् । निर्यात कसरी बढाउने, आयात कसरी घटाउने भन्नेबारे हामीले व्यावहारिक तहमा कुनै काम नै गरेका छैनौं । सरकार बाहिर हुँदा कसरी सरकारमा जाने र सरकारमा रहँदा कसरी सरकार जोगाउने भन्ने कसरतमा समय खेर फालिएको छ । अब सरकारले जनताका लागि सोचिदिनुपर्‍यो, काम गर्ने र उद्योग सञ्चालनको वातावरण बनाउने इच्छाशक्ति देखाइदिनुपर्‍यो ।

उद्योगी व्यवसायी रहे मात्र राज्य राम्रोसँग सञ्चालन हुन्छ । नत्र राज्यको मात्र के काम हुन्छ र ? सरकारले वातावरण मात्र बनाइदिनुपर्‍यो । हरेक वर्ष उत्पादन हुन सबै श्रमशक्तिलाई रोजगारी दिने जिम्मा उद्योगी व्यवसायीले लिन्छन् । बंगलादेशले धेरै सामान ल्याएर नेपालमा बेचिरहेको छ । किन नेपालले एउटा सामान पनि बंगलादेशका पुर्‍याउन सकेको छैन । यसबारेमा गम्भीर भएर सोच्नुपर्ने समय आएको छ ।

–मोरङ व्यापार संघ अध्यक्ष रिजालले विराटनगरमा आयोजित ‘कान्तिपुर उज्यालो पूर्व’ कार्यक्रमको ‘अर्थनीतिका उल्झन’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन ११, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?