१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘हामी उद्यमीको काम नै समस्या पहिल्याएर त्यसको समाधान खोज्ने हो’

अनुपम राठी

हामी उद्यमी, व्यवसायीहरू व्यापार गर्दा एउटा प्रदेशलाई मात्र सोचर गर्दैनौं, समग्र देशकै अवस्थालाई ध्यानमा राख्छौं । हाम्रो देश संघीय प्रणालीमा गए तापनि नीति निर्माणको काम प्रदेश वा स्थानीय सरकारले नभई केन्द्रीय सरकारले गर्दै आएको छ । त्यस हिसाबले हामीलाई पर्ने असर भनेकै केन्द्रका नीतिले गर्दा हो । स्थानीय र भूराजनीतिक अवस्थितिले पैदा हुने समस्या बेग्लै छन् ।

‘हामी उद्यमीको काम नै समस्या पहिल्याएर त्यसको समाधान खोज्ने हो’

हाम्रो व्यापारलाई आन्तरिक र बाह्य दुवैथरी समस्याले प्रभाव पार्ने गरेको छ । आन्तरिकमा हाम्रो संघीय सरकारको नीतिका कुरा आउँछन् । पर्यटन, उत्पादन, सेवालगायत कुन क्षेत्रका लागि सरकारले कस्तो नीति बनाएको हो, त्यसले महत्त्व राख्छ । सरकारले स्थिर, दिगो र प्रगतिशील नीति बनाउनुपर्छ । व्यवसाय खडा गर्न मात्रै नीति बनाइएको छ भने त्यस्ता नीतिअनरूप सुरु भएका व्यवसाय लामो समयसम्म टिक्न सक्दैनन् ।

नीति बनेपछि उद्यमीले अवसर खोज्न थाल्छन् । कुन क्षेत्रमा लगानी गर्ने हो, त्यो छानेपछि हामी व्यवसाय स्थापनातिर लाग्छौं । व्यवसाय सुरु गर्न पहिले जस्तो कागजी प्रक्रियाको झमेला अहिले धेरै हदसम्म कम भएको छ । यद्यपि, व्यवसाय खडा गर्दाको प्रक्रियालाई विदेशका व्यवस्थासँग तुलना गरेर हेर्ने हो भने हामी ‘इज अफ डुइङ बिजनेस’ मा अझै सहज छैनौं । यसमा सरकारको ध्यान जानुपर्छ । व्यवसाय विस्तारका लागि बजारको कुरा आउँछ । सेवाग्राही वा उपभोक्ताको आवश्यकता पहिल्याउनुपर्छ ।

हाम्रो व्यापारलाई धक्का दिने बाह्य तत्त्व भनेको भारतसँग जोडिएको खुला सिमाना हो । खुला सिमाना हुँदा अवैध व्यापारको कुरा आउँछ । मान्छेहरू सामान बोकेर भन्सार नतिरी वार–पार गरिरहेका हुन्छन् । यसले हाम्रो व्यापारलाई असर गर्छ । हाम्रो उत्पादन लागत असाध्यै बढी छ । देशको आर्थिक अवस्था, कामदार अभाव, कच्चा पदार्थआयात लगायत विभिन्न कारणले लागत बढी भएको हो ।

आन्तरिक समस्या सरकारले समाधान गर्न सक्छ भने बाह्य समस्या समाधान गर्न सरकारले हामीलाई बलियो बनाउनुपर्छ । ताकि हामी तीसँग लड्न सकौं । यसमा मुख्यत: सरकारको भूमिका रहन्छ । आफ्ना नागरिक र व्यवसायीलाई अरूको सेवक बनाउने कि रोजगारीका लागि विदेश पठाउने कि वा अरूलाई रोजगारी दिन सक्ने उद्यमी बनाउने, सरकारको हातमा छ ।

चुनौती भएको ठाउँमा अवसर पनि हुन्छ । हामी उद्यमीको काम नै समस्या पहिल्याएर त्यसको समाधान खोज्ने हो । त्यही समाधान व्यापारमा परिणत हुन्छ । आजका युवा उद्यमीले त्यही नै गरेको देखिन्छ । ट्याक्सी लिन समस्या भएकाले नै भारतमा ओलाको जन्म भएको थियो । होटल सञ्चालन गर्न समस्या भइरहँदा त्यसलाई डिजिटाइज गरी ओयो होटलका रूपमा व्यापार विस्तार गरिएको छ । समस्या पहिल्याएर समाधानका उपाय खोजी त्यसलाई व्यापारमा परिणत गर्न युवा उद्यमीको अब्जरभेसन (हेराइ) बलियो हुनुपर्छ ।

प्रदेश १ मा प्रचुर मात्रमा अवसर छन् । तर, कस्ता खालका अवसर छन्, सरकारले कस्तो भूमिका निर्वाह गरिरहेको छ र हामीले ती अवसरहरू किन पहिचान गर्न सकिरहेका छैनौं— यो मूल प्रश्न हो । जलविद्युत्कै कुरा गर्दा, हाम्रा नेताहरूले असिमित अवसर छन् भन्ने गरेको सुनिन्छ । जलविद्युत्मा उहाँहरूले नै नीति बनाउनु भएको छ । तर, त्यसको कार्यान्वयन भएको छैन । प्रदेश १ मा ५ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन हुनसक्ने सम्भावना छ । तर, हामी त्यही अरुण तेस्रो बनाएर बसिरहेका छौं, जुन सन् १९९२ मै बनिसक्नुपर्ने थियो । एउटा जलविद्युत् आयोजना निर्माण गर्न हामीले एउटा पूरै पुस्ता गुमायौं ।

कृषिजन्य उत्पादनमा हामी धनी छौं । पर्यटनमा सम्भावना छ । एक मात्र काम सरकारले के गर्नुपर्छ भने पूर्वाधार बनाइदिने । सडकको पहुँच पुर्‍याउनुपर्‍यो । प्रदेश १ मा औद्योगिकीरणको उत्तिकै अवसर छ । विराटनगरबासीका नाताले हाम्रो रगमतै उद्योग बगेको छ । यहाँको रघुपती जुटमिल्सले गत वर्ष ७५ औं वार्षिकोत्सव मनाएको थियो । यो उद्योग कसरी आजसम्म टिकिरहेको छ ? किनभने यो निजी क्षेत्रको हातमा छ । सरकारको हातमा भएको विराटनगर जुटमिल्समा राजनीतिबाहेक केही भएको छैन ।

सरकारले व्यवसाय सञ्चालन गर्न खोजेर असफल भएका कयौं उदाहरण हामीले देखेका छौं । सरकार व्यवसाय गर्न जान्दैन । तसर्थ, सरकारले नीति बनाउने हो । र, व्यवसाय सञ्चालनको जिम्मा उद्योगी, व्यवसायीलाई दिने हो ।

रणनीतिक रूपमा हामी प्रदेश १ भारतीय बन्दरगाहाको सबैभन्दा नजिक छौं । हामी बन्दरगाहबाट जम्मा ५५२ किमि टाढा छौं । मोरङ व्यापार संघका धेरै वर्तमान र पूर्वअध्यक्षज्युहरूले एसईजेड (विशेष आर्थिक क्षेत्र)बारे धेरै पटक कुरा उठाइसक्नुभएको छ । पाँच वर्ष भयो, सरकारले त्यति पनि व्यवस्थापन गर्न सकेको छैन । त्यति गरिदिएको भए प्रदेश १ मा व्यवसायिक अवसरको ओइरो लाग्थ्यो । त्यो नभएकाले सीमावर्ती भारतीय बजारसँग हामीले प्रतिश्पर्धा गर्न सकेका छैनौं ।

अबको ८ वर्षमा नेपालमा ५० प्रतिशत युवा जनशक्ति हुनेछन् । यत्रो ठूलो युवा जमात हुनु भनेको हामी धेरै कुरामा निर्णायक हौं । नीति निर्माण गर्नेदेखि हाम्रा नेता चयन गर्ने कुरामा हाम्रो मतले मान्य हुन्छ । यसको जल्दोबल्दो उदाहरण भनेको काठमाडौंका मेयर बालेन शाह हुन् । युवाहरूकै जनमत र निर्णयले उहाँ मेयर बन्नुभयो । र, उहाँले पूराना नेताहरूले भन्दा फरक तरिकाले राम्रो काम गररहनुभएको छ ।

उद्यमीका रूपमा हामी देशका नेतादेखि आफ्नै जनशक्ती सबैको मूल्यांकन गरिरहेका हुन्छौं । उहाँहरू परिणाममुखी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको हेक्का राख्छौं । नेताहरूले भन्ने एउटा, गर्ने काम अर्को हुन्छ । यो कुराको मूल्यांकन हाम्रा युवाले अब गर्छन् र गर्न थालेका छन् । प्रतिनिधि र प्रदेश सभाको चुनाव आउँदैछ, त्यसमा युवाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

व्यवसायमा आउँदा युवा साथीहरूले पुरातन मानसिकताले काम गर्नु भएन । केही नयाँ र सिर्जनशिल प्रोडक्ट वा सर्भिसेससहित आउनुपर्छ, जसले समाजलाई वास्तवमै परिवर्तन गर्न सकोस् । धेरै हदसम्म प्रविधि र डिजिटलाइजेसनले पनि हामीलाई साथ दिएको छ । यस्तोमा हामीले हाम्रा बुबा/बाजेले झैं परम्परागत शैलीले काम गर्नु भएन । हामी द्रुत र सिर्जनशील हुनुपर्छ । पैसा कमाउने मात्रै होइन, समाजलाई पनि केही योगदान पुर्‍याउने हिसाबले आउनुपर्छ ।

–मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राठीले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रमको तेस्रो सत्र 'युवा उद्यमीका अपेक्षा' मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन ११, २०७९ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?