१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘कागजमा देखिएका सम्भावनालाई कार्यान्वयनमा ल्याउनुपर्छ’

गगन थापा

०७४ सालको निर्वाचले हामीलाई अद्भुत (अपूर्व) अवसर दिएको थियो । लामो राजनीतिक संक्रमणपछि हाम्रा निम्ति अनुकूलता अवस्था थियो । ५ वर्ष बित्यो । बीचमा कोभिड, रुस–युक्रेन युद्ध र यसले ल्याएका असरका जटिलताका बाबजुद त्यो पाँच वर्ष पूरा भएको छ । आहिले हामी फेरि निर्वाचन नजिक आइपुगेका छौं । यो पाँच वर्ष हाम्रो खेर गएको छ । यसको जिम्मा लिन पनि हामी कोही पनि तयार छैनौं ।

‘कागजमा देखिएका सम्भावनालाई कार्यान्वयनमा ल्याउनुपर्छ’

अहिलेको सरकारलाई भन्यो भन्ने अघिल्लो सरकार जिम्मेवार छ भन्छ, अघिल्लो सरकारलाई भन्यो भन्ने अहिलेको सरकारले जिम्मेवारी लिनुपर्छ भन्छ । जिम्मेवारी जताजता पन्छाए पनि यथार्थ तितो छ । त्यसलाई हामीले स्वीकार गर्नु नै पर्छ । यो पाँच वर्ष खेर फाल्नुमा हामी कहीँ न कहीँ जिम्मेवार छौं । त्यसको जवाफदेहिता राखे पनि नराखे पनि त्यसले हामीलाई छाड्दैन र छाड्नु पनि हँुदैन । किनकि हामी अर्को निर्वाचनको सङ्घारमा आइपुगेका छौं ।

फेरि ५ वर्षका लागि निर्वाचन गर्दै छौं । अहिले हामीले २ वटा कुरा गरिरहेका छौं । पहिलो, जुन संविधानको बाटो हामीले लियौं, यो पाँच वर्ष त्यो तलमाथि नहोस् । दोस्रो, यसभन्दा अघि नभएको दलहरूको गठबन्धन गर्दै छौं । त्यसबाट हामीले के भन्दै छौं भने अबको ५ वर्ष हामीले स्थिर सरकार दिनेछौं । तर, स्थिर सरकार कसका लागि र किन भन्ने कुराको व्यापाक रूपमा छलफल हुन जरुरी छ ।

हामीले स्थिर सरकार भनेर जे भनिरहेका छौं, त्यो स्थिर सरकारबाट लाभ कसले पाउँछ ? स्थिर सरकार नभएको भए हामीले के कुरा गुमाउँथ्यौं ? स्थिर सरकार हुँदा प्राप्त लाभ कसरी गुमाउँदै छौं ? जुन स्थिरताको छलफल गरिरहेका हुन्छौं, त्यसको उद्देश्य के हो ? स्थिर सरकार गठन गर्ने भनिरहेका बेला त्यसबाट लाभ आम नेपाली जनताले पाउने कि नपाउने भन्ने मूल प्रश्न हो । यस विषयमा छलफल गर्न नसकेर हामी चुकेका छौं । स्थिरताको लाभ आम नेपालीले प्राप्त गर्ने अवसर बन्छ कि बन्दैन । त्यसको जोखिम सरकारले उठाउँछ कि उठाउँदैन ? त्यो पाँच वर्षमा थप विकासका आधार तयार गर्न सक्छ कि सक्दैन ? त्यो गर्न सकेको अवस्थामा हामी निर्वाचनको गोलचक्करबाट बाहिर निस्कन्छौं । अन्यथा अबको पाँच वर्ष पनि यसअघिको जस्तै खेर फाल्नेछौं । हामी भनिरहेका छौं । पूर्वमा पनि शिक्षा, स्वास्थ्य, पर्यटन, उत्पादनलगायतको प्रचुर सम्भावना छ । तर, ती सबै सम्भावना कागजमा मात्र सीमित छन् । तिनको कार्यान्वयका लागि प्रयत्न गरिएन भने त्यो सबै निबन्ध भनेको जस्तो मात्र हुनेछ ।

यो पृष्ठभूमिमा नयाँ निर्वाचित स्थानीय सरकार आइसकेको छ । निर्वाचनपछि संघ र प्रदेशको सरकार आउने छन् । अब बन्ने पाँच वर्षको सरकारले स्थिरताको लाभलाई प्रभावकारी रूपमा नागरिक समक्ष वितरण गर्न सक्नुपर्छ । यसका लागि ती सरकारले मुलुकको राज्यसत्ता सम्हाल्ने, संगठित गर्ने र आफै पनि दौडिने, अरुलाई पनि सँगसँगै दौडाउने गरी मुलत: यी तीन कुराहरू गर्नुपर्छ ।

अहिले पूर्वदेखि पश्चिमसम्मका जुनकोही नेपालीलाई पनि अहिलेको अर्थतन्त्रको अवस्थाबारे प्रश्न गर्‍यौं भने उसले उत्साहित भएर राम्रो भन्दैन । उसको उत्तर जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने नै हुन्छ । यसका कारण सरकारको कार्यक्षमता, सार्वजनिक खर्च गर्ने क्षमता, सुशासनको अवस्थालगायतमा समय सान्दर्भिक रूपमा सुधार हुन नसक्नु नै हो । विगतको भन्दा बदलिएको छैन । झन् राम्रो हुनुपर्नेमा हरेक पछिल्ला वर्षहरूमा अवस्था झन्झन् बिगिँ्रदै गएको छ । नागरिकको आत्मविश्वास खस्किँदै गएको छ ।

हाम्रा अर्थतन्त्रमा लामो समयदेखि संरचनात्क समस्या कायमै थियो । त्यसको बाबजुद पनि अर्थतन्त्र किन चलिरहेको थियो भने विदेशमा गएर श्रम गरेर नेपाली युवाले पठाएको विदेशी मुद्रा हामीलाई उपलब्ध थियो । त्यही रकमले भान्सादेखि प्रत्येक वस्तु तथा सेवा विदेशबाट किनेर ल्याउने । ती सामान ल्याउने क्रममा सरकार ढाड थापेर बाटोमा (भन्सार) बस्ने, केही पैसा उठाएर खुत्रुकेमा पैसा जम्मा गर्ने, त्यही पैसाबाट सरकारले यो गर्छु त्यो गर्छु भनेर फुर्ती लगाएकै भरमा नेपालको अर्थतन्त्र चलेको थियो । यसमा अलिकति तलमाथि हुनासाथ अर्थतन्त्रको अवस्था तलमाथी हुनु स्वाभाविक थियो, जुन हामीले देखिरहेका छौं ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले विस्तार हुँदा आयात १०/१५ प्रतिशतले मात्र बढ्नुपथ्र्यो । तर ५०/६० प्रतिशतले आयात बढेको छ भने ३/४ प्रतिशतको मात्र आर्थिक वृद्धि भएको छ । हाम्रो अर्थतन्त्रको संरचना नै कस्तो रह्यो भने हामीले सजिलो बाटो खोज्यौं । यही क्रममा राज्यको चरित्र पनि दोहन गर्ने, ढाड थाप्ने र बिचमा बसेर सजिलो बाटोबाट केही धन आर्जन गर्ने काम भयो । यसको असर मुलुकको विदेशी मुद्रा सञ्चितिमा पर्‍यो । यहीकारण आयात नियन्त्रण गरेर विदेशी मुद्रा सञ्चिति थप घट्न नदिन हामीले सुधारका उपाएहरू अवलम्बन गरेका छौं । ती उपायहरू अवलम्बन गरेयता अर्थतन्त्रको अवस्था हेर्दा झन्झन् खस्किँदो र दयालाग्दो बनेको छ । एकातिरको प्लाट टाल्न खोज्दा अर्कोतिर प्वाल पर्ने गरेको अवस्था छ । यस्तो अवस्थामा संघ र प्रदेशमा नयाँ सरकार आउँदै छ । नयाँ सरकारले यो अवस्था सम्हाल्न सक्छ कि सक्दैन त्यो मुख्य चुनौती छ । त्यो चुनौती सामना गर्न सकेनौ भने हामी चर्चा गरिरहेका सम्भावना र समृद्धिको सपना पूरा गर्नै सक्दैनौं ।

यस्तै, अहिलेको जनसांख्यिक बनावटलाई हामीले सम्हालेर राख्नुपर्नेछ । हाल नेपालीको मध्यिका उमेर (मिडियन एज) २४.६ वर्ष छ । बुढ्यौली लाग्न अझै ८ वर्ष समय नेपालका लागि उपलब्ध छ । यो निकै फाइदाजनक हो । फ्रान्सले बुढ्यौलीबाट बुढो हुन १६० वर्ष पायो । स्विडेनले करिब ८५ वर्ष पायो, अमेरिकाले १ सयभन्दा बढी पायो । तर नेपाल २०/२२ वर्षबाटै बुढ्यौलीबाट बुढो हुँदै छ । हाम्रो जनसंख्या पहाडबाट तराईमा स्थानान्तरण हुँदै छ । पहाडका धेरै जिल्ला खाली हुँदै छन् । त्यसलाई चाहेर पनि रोक्न सक्ने अवस्था पनि छैन । नेपालका धेरै ठाउँ सहर बन्दै छन् । नेपालको २० प्रतिशत भूभागमा ८० प्रतिशत नागरिक बसोबास गर्ने अवस्था छिट्टै आउँदै छ । अबको सम्भावना भनेको सहरको हो । गाउँबाट युवा सहर पसेको यो प्रवृत्तिलाई हामीले क्याच (उपयोग) गर्न सक्नुपर्छ ।

कृषिबाट बाहिरिएको श्रम उद्योग हुँदै सेवा क्षेत्रमा जानु स्वाभाविक नै हो । तर, नेपालमा कृषिबाट बाहिरिएको श्रम उद्योगमा राम्रोसँग अडिन नपाई सेवा क्षेत्रमा गइसकेको छ । सेवा क्षेत्रमा पनि श्रमिक कम ज्यालामा काम गर्न बाध्य छन् । यद्यपि क्षेत्रमा धेरै कामदार भित्रिएका छन् । उदाहरणका लागि नेपालमा एयरलाइन्स सेवा स्थापना गर्दा धेरैभन्दा धेरै पर्यटक र विदेशी मुद्रा भित्र्याउन सकिन्छ भन्ने थियो । तर, नेपाल भित्रिने विदेशी मुद्राभन्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा धेरै हुने अवस्था आयो । यो खालको छ नेपालको सेवा क्षेत्र ।

कृषिलाई आधुनिकीकरण गर्ने भनेको त्यो क्षेत्रको जनशक्ति कटौती गर्ने हो । कृषिको व्यवसायीकरण गर्दा नयाँ रोजगारी सृजना हुँदैन । व्यवसायीकरणको अर्थ कृषि थोरैले गर्ने, उत्पादकत्व बढाउने र धेरै कमाउने हो । यसकारण औद्योगिक क्षेत्रलाई बलियो नबनाईकन त्यो श्रमशक्तिलाई रोजगार दिन सकिँदैन । यसरी औद्योगिक क्षेत्रलाई बलियो बनाएर मात्र हाम्रो अर्थतन्त्रको संरचनात्मक सुधार गर्न सकिन्छ । यद्यपि हामीले पूर्वाधारमा लगानी बढाएका छौं । यी लगानीलाई हामीले कृषि, उद्योग लगायत उत्पादनसँग जोड्नुपर्छ ।

विश्वशक्ति सन्तुलनको कारणले गर्दा विश्वव्यापी रूपमा अहिले सबैको ध्यान नेपालतिर आकर्षित भएको अवस्था छ । आज नेपालको महत्व, युरोप, अमेरिकका, भारत, चीनलाई सबैलाई छ । नेपाललाई बेवास्ता गरेर उनीहरूले केही पनि काम गर्न सक्ने अवस्था छैन । यसको लाभ नेपालले कसरी लिने ? नेपालको निजी क्षेत्र निकै सशक्त छ । पुराना व्यावसायिक घराना मात्र नभएर विकसित राष्ट्रमा पुगेर फर्केका एक जमात नेपाली पनि निजी क्षेत्रबाट योगदान दिन तयार छन् । विदेशी जाँदा केही सीप नभएको मानिस फर्किदा पर्याप्त सीप, अनुभव र पुँजी बोकेर आएको छ । घरपरिवारको पनि उपभोग प्रवृत्ति बदलिएको छ । यी सबै विषयलाई संगठित गर्नुपर्नेछ ।

आजभन्दा १०/१२ वर्षपहिले शान्ति भए पनि सबै कुरा हुन्छ भन्थ्यौं । त्यसपछि बिजुलीको समस्या समाधान गर्नुपर्‍यो भन्यौं, त्यो पनि भयो । अब फेरि अरु समस्या समाधान गर्नुपर्‍यो भनिरहेका छौं । यी सबै विषयलाई संगठित गरेर एकसाथ अघि बढाउनुपर्नेछ । नत्र जुन ‘सिनर्जी’ आउनुपर्ने हो, त्यो आउँदैन ।

प्रदेश १ मा अलैंची र चियाको उत्पादन र मूल्य दोब्बर बनाउन संघीय र प्रदेश सरकारले के गनुपर्छ ? कुनै कानुन बाधक छन् ? ती समस्या समाधान गर्न सरकारले नीतिगत सुधार गर्नुपर्छ भने पनि यहाँबाट त्यो कुरा भन्नुपर्छ । हामी संसदीय व्यवस्थामा छौं । यो व्यवस्थाको सुन्दरता भनेकै चाहेको समयमा नीति नियम बनाउन सक्छौं । प्रत्यक्ष निर्वाचन प्रणाली भएको भए त्यो यति सजिलै सम्भव हुने थिएन । यस्तो राजनीतिक शक्ति बोकेर सरकार बसेको छ ।

संघको सरकारले बनाइदिने गलत नीतिको कारण वर्षौंदेखि सञ्चालनमा रहेका उद्योग बन्द हुन पुगेका छन् । उद्योगहरू सडकमा आउनुपर्ने अवस्था भएको छ । एक/दुई जनालाई पोस्न खोज्दा सरकारले यस्तो गल्ती गरेको छ । सरकारले त उत्पादनमूलक क्षेत्रका लागि निश्चित समयका लागि नीतिगत स्थिरता कायम गर्न सक्नुपर्छ । ताकी उक्त अवधिमा निश्चित उपलब्धि हासिल गर्न सकियोस् ।

काम गर्ने निजी क्षेत्रले हो । सरकारले नीति र उपयुक्त वातावरण बनाइदिने हो । त्यही नीतिभित्र रहेर निजी क्षेत्रले तोकिएको उपलब्धि हासिल गर्न सक्छौं भनेर राज्यलाई आश्वस्त पार्न सक्नुपर्छ ।

अहिले पूर्वले पनि सबैभन्दा धेरै बेच्ने भएको युवा श्रम नै हो । हामीसँग यस्तो अवसर धेरै वर्षसम्म कायम रहँदैन । त्यसपछि रोजगारीका लागि विदेश जाने युवा पनि नहुने अवस्था आउँछ । मुलुकमा आर्थिक रूपमा निष्क्रिय जनशक्ति (६० वर्ष माथीका) धेरै हुनेछन् । यसकारण समयमा सम्भावनाको सदुपयोग गरौं ।

–नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री थापाले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश ।

प्रकाशित : आश्विन ११, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?