सांस्कृतिक घेराभित्र महिला

सांस्कृतिक गतिविधिको घेराभित्र महिलालाई फुर्सद भन्ने अनुभूति हुन पाउँदैन, हरेक जाति–समुदायले आफ्ना सांस्कृतिक अवस्थामा महिलाको हविगत के छ भनी समीक्षा गर्नु आवश्यक छ, हिन्दु संस्कृतिमा त गहिरो अध्ययन जरूरी भइसक्यो
मिश्र बैजयन्ती

काठमाडौँ — प्रसिद्ध लेखक गायत्री चक्रवर्ती स्पिवाक सबाल्टर्नहरू बोल्न सक्दैनन् भन्छिन् । तिनका लागि अरूले नै बोलिदिनुपर्छ भन्ने उनको राय छ । दमित वर्गमा पर्ने सबै सबाल्टर्न हुन् । आर्थिक वर्गले सम्बोधन नगरेका विषयसमेत सबाल्टर्नले गर्छ । 

सांस्कृतिक घेराभित्र महिला

समयले सबाल्टर्नहरूलाई बोल्न सक्ने बनाए पनि कलाको माध्यम अपनाउनुपर्ने अवस्था अझै छ । कानुन र विधान व्यवहारमा न्यून वा कतै त शून्यसमेत छ । नेपाली सन्दर्भमा हामीले आम महिलालाई अझै पनि सबाल्टर्न अर्थात् निमुखा वर्गमा राखेर हेर्नुपर्ने हुन्छ । निमुखाहरूको सांस्कृतिक अभिव्यक्तिका लागि नेपाली गीत–संगीत क्षेत्रमा महिलाका लागि तीज गीतले निकै शक्ति राख्छ ।

२०७८ र २०७९ सालमा चर्चित गीत बन्यो विष्णु माझीको ‘चरी जेलैमा १’ र ‘चरी जेलैमा २’ । योसँगै अन्य अधिकांश तीज गीतलाई अध्ययन गर्दा समयको अन्तरालमा संगीत परिवर्तन भएको छ तर आजभन्दा आधा शताब्दीअघिका गीतको मर्म आजका गीतमा पनि जिउँदै छन् । खानु तीजको मुख्य मुद्दा नभएको तर्क यी गीत र आधा शताब्दीअघिका गीतले समेत प्रस्तुत गरेका छन् ।

नेपाली समाजका शिक्षित र सम्भ्रान्त महिला दबाबमूलक जीवनको अभिव्यक्तिका लागि निकै कमजोर छन् । तथ्यांक हेर्दा के परिणाम आउँछ, अध्ययनपछि थाहा होला तर साधारणीकरण गरेर हेर्दा भने उच्च वर्गका महिला पारिवारिक अवस्थामा लैंगिक, यौनिक, आर्थिक, श्रमको शोषणका प्रतिवादमा उच्च सहनशीलताको जीवन बाँचिरहेका छन् ।

खासगरी ग्रामीण सामन्त वर्गमा महिलालाई दास बनाउने प्रवृत्ति छ भने सहरिया सामन्त वर्गमा महिलालाई सुखी र सौन्दर्यमुखी बनाउने प्रवृत्ति छ । यस बेला विचार, भावना उत्सर्जनका लागि केही मनोरञ्जन, केही कानुन, केही राजनीति, केही बहसको आवश्यकता हुन्छ । धेरै महिला भावना उत्सर्जनका लागि कलाको सहारा लिन्छन् ।

मैदानमा उत्रने, शारीरिक, मानसिक र बौद्धिक बहसमा जोखिम मोल्ने वर्ग भएकाले मध्यम वर्गका महिला जोखिमपूर्ण कुरा ज्यादा सतहमा ल्याउँछन् भने निम्न वर्गका महिला जानेर–नजानेर व्यवहारमा शोषित पनि छन्, कतिपय अवस्थामा अघि पनि । उनीहरूका लागि परिचयको वर्ग र अध्ययनको परिधि सीमित हुन्छ । श्रमका सन्दर्भमा उनीहरू पुरुष समवयी काम गर्न सक्छन्, मर्यादामा समानुभूति राख्दछन् ।

यस वर्गका महिला चित्त नबुझे दोस्रो बिहे गर्ने, एकल जीवन बिताउने, पारपाचुके गर्नेजस्ता कुरामा धेरै समय लगाउँदैनन् । सांस्कृतिक पर्वका रूपमा यी सबै प्रकारका महिलालाई समग्रमा तीजका गीतले साधारणीकरण गरिदिएका छन् । हुन त नेपाली समाज अहिले न उहिले, कहिल्यै पनि चरित्रका हिसाबले महिलामैत्री छैन ।

‘हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुने हाँस्दछन्

वेश्या नै नहुन् तथापि घरको काम ती सबै नास्तछन् ।’

कुनै पनि लेखक आफ्नो समयको दमदार प्रस्तोता हो, हुन चाहन्छ । लेखक समयको ट्रेन्ड खोज्छ, अर्थात् धेरै स्याबासी वा पाठक खोज्छ । मानिसलाई अनुशासन सिकाउन समाजले धर्मको आड लियो, लेखकले मानिसका लागि लेख्न समाजको आड लिए । भानुभक्तले समाजको दर्शन कवितामा लेखे । मनोविज्ञान समाजको हो, शब्द र कला भानुभक्तको । समाज यही संस्कारले अभिप्रेरित हुँदै गयो । भानुभक्तलाई गाली गरेर समाज बदल्ने होइन, समाज लेख्ने लेखकका यस्ता विषयलाई खुराक प्रदान गर्ने समाजले महिलामैत्री कहिले हुने ?

मानिसले आफूभित्र अनेक सिद्धान्त र विचार भरेर अरूका कुरा सुन्नै नसक्ने बनाएको हुन्छ । बेला–बेला पुराना धान निकालेर ढुकुटीको सरसफाइ गरेजस्तै दिमागी ढुकुटीलाई बेलाबेला खाली गर्नुपर्छ । यसो गर्न योग र ध्यान आवश्यक छ । तर मानिसले त्यस दिनका लागि भनी धेरै अगाडिदेखि मनको एकाग्रतालाई काबुमा राख्नुपर्छ । वचन, चिन्तन, आहार, विहारलाई काबुमा राखेर गरेको खाली पेटको ध्यानले ब्रह्मशक्तिको नजिक पुर्‍याई मानिसलाई आनन्दको अनुभूति गराउँछ । तर हाम्रो तीज पर्वमा यो सम्भव छैन ।

महिलाका पोसाक, नाच र प्रस्तुतिलाई भड्किलो बनाउन सघाउने तत्त्व सामाजिक सञ्जाल हुन् । रत्यौलीलाई समेत सामाजिक सञ्जालमा राख्न पछि नपर्नेहरूले हातेफोनको प्रशस्त दुरुपयोग गरेका छन् । जहाँ जे भेटियो त्यही पोस्ट हुन थालेका छन् । तीज मात्रै संस्कृति होइन, सञ्चार पनि संस्कार हो । यसैका चरित्र संस्कृति हुन् । कतिपय मानिसका अनिच्छाएका विषय पनि सामाजिक सञ्जालमा प्रकाश गरिन्छन् र कथित बौद्धिकीको चक्रवात सिर्जना गरिएका छन् ।

पछिल्लो चरणमा टिकटक र युट्युबको भ्युअर्सबाट करिअरको उकालो चढ्ने होडमा बनेको व्यावसायिक संगीत तथा ती संगीतमा बन्ने भिडियोका विभिन्न प्रतिहरूले तीजको परम्परालाई धुमिल र धुलिसात बनाउँदै लगेका छन् । पुरुषले महिलाको पोसाक लगाएर नाचिएका गीतलाई आम अध्येताले महिलामाथिको व्यङ्ग्य ठानेका छन् ।

पोसाक मानिसले आफ्नो कामका आधारमा आरामदायी बनाउन लगायो होला । सामाजिकीकरणका सन्दर्भमा मौसम र कर्मको परिवेशले पोसाक निर्धारण गरिएको हुनुपर्छ । पाइन्ट लाउँदा पुरुषजस्तो लाग्नुपर्ने, गरगहना वा टीकाचुरा नलाउँदा पुरुषजस्तो अनुभूति हुने कुरा एउटा होला । यो पनि एक प्रकारको क्रान्ति नै होला । पोसाक स्वतन्त्र विषय हो । तर पोसाककै हिसाबले पुरुषजस्तो हुनुपर्ने किन महिलाले ? त्यही शोषण, त्यही दमन, त्यही चिन्तनको प्रतिवाद रातदिन महिलाले गरिरहिछे । महिलाले कानुनी, आर्थिक, सामाजिक अधिकार, व्यवहार, चिन्तन, सम्मानको समानुभूति, समताको वकालत गर्नुपर्ने होइन र ? महिला प्राकृतिक रूपमा पुरुष होइन । बच्चा गर्भमा हुँदा महिलाको पीडा अनुभूति ऊ एक्लै गर्छे, बच्चा जन्माउँदाको पीडा ऊ एक्लै सहन गर्छे । गर्भावस्थाको सहयोग, बच्चा जन्मँदाको साथ, सुत्केरी अवस्थामा गरिने सहयोग, बच्चा बिरामी हुँदा गरिने समान योगदान निकै महत्त्वपूर्ण हुन्छन् ।

सुत्केरी महिलाले छिनछिनमा बच्चालाई खुवाउने र दिसापिसाब जाँच्ने काम गर्छन् । यी सब काम मैले मात्रै भन्ने प्रश्नले उनीहरूलाई लघारिरहन्छ । पाहुना आउँदा अबेर रातिसम्म महिला नै काममा व्यस्त हुन्छन् । कतिपय पारिवारिक विखण्डन सम्पत्तिले मात्र होइन, व्यवहारले हुन्छ । मानिस मानसिक रूपमा पीडित छन् भने हाँस्दाहाँस्दै, नाच्दानाच्दै, बोल्दाबोल्दै आफैंबाट धेरै टाढा पुगिसकेका हुन्छन् । महिलाहरूका लागि चाडपर्व यस अवस्थामा थप मानसिक सुनामी बनेर आइदिन्छन् ।

नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय मुलुक हो । जातीय विविधता, धार्मिक विविधताका कारण नेपालमा वर्षभरि चाडपर्व मनाइरहिएको हुन्छ । नेपालमा दसैं, तिहार, तीज, बुद्ध जयन्ती, ल्होसार, श्रीपञ्चमी, उँधौली पर्व, चासोक तङ्नाम, सिरुवा पर्व, गौरा पर्व, जुडशीतल, सिथि नखः, पेन्दिया, गढीमाई मेला पर्व, गुँला पर्व, तोरनल्ह, ट्रहुटे पर्व, माघे संक्रान्ति, जनैपूर्णिमा, रामनवमी, मातृऔंसी, नागपञ्चमी, छठ पर्व, कुशे औंसी, होली, इद उल फित्र, क्रिसमस आदि संस्कृति अभ्यासमा छन् । कतिपय संस्कृतिका नाम हामी सुन्नसमेत अभ्यस्त छैनौं । कतिपय त अझै सुनेका पनि छैनौं । पर्वका रूपमा यी मानिल्याएका संस्कृतिले जात, धर्म, सामाजिक जीवन, प्राकृतिक जीवनसँगको सामीप्य आदिलाई अध्ययन गर्न सहज बनाउँछन् । सामाजिक जीवनमा भैपरी आएका विभिन्न दुविधा, मनमुटाव, दूरी, असमानुभूतिलाई चाडपर्वले निराकरण गरी पारिवारिक, सामाजिक, सांस्कृतिक निकटता, सहअस्तित्व, समानुभूतिको सिर्जना गरिदिने हुनाले मानव सभ्यताका सन्दर्भमा चाडपर्वले महत्त्व राख्छन् ।

तर सांस्कृतिक गतिविधिको घेराभित्र महिलालाई फुर्सद भन्ने अनुभूति हुन पाउँदैन । अधिकांश संस्कृतिमा सायद यो अवस्था छ । सधैं व्यस्त, सबै महिला व्यस्त । हरेक संस्कृति मान्ने मानिस र जातिले आफ्ना सांस्कृतिक अवस्थामा महिलाको हविगत के छ भनी समीक्षा गर्नु आवश्यक छ । अझ हिन्दु संस्कृतिमा त गहिरो अध्ययनको आवश्यकता छ । दसैं नारी शक्तिको पूजा, आराधना गर्ने, नारी शक्तिको समीक्षा गर्ने पर्व हो ।

यसबेला हरेक मानिसले दुर्गाको पूजा गरे पनि समकालीन महिलाका विषयमा, इतिहास र भविष्यका विषयमा, चर्चा परिचर्चा गर्नुपर्ने पर्व हो । महिलाले आफ्नो क्षमता पहिचान गरेर अभिमानी भएर होइन, अर्थवान् भएर शक्तिको निरन्तरता दिनुपर्ने पर्व हो । दसैंको मुखैमा उभिएर कुरा गर्दा त महिलाको अवस्था झन् व्यस्त छ । हिन्दु महिलालाई सोह्रश्राद्ध, घटस्थापना, नौरथा, महासप्तमी, महाअष्टमी, महानवमी, बडादसैंका पाँच दिन सधैं हतारैहतारो ।

माघे संक्रान्तिमा नुवाकोटमा गोरु जुधाउने खेलको प्रतिस्पर्धा गरेर मानिसभित्रका पाशविक चरित्रको उत्सर्जन गर्दछन् । फागुपूर्णिमामा दधिकादो गरेर हिलामा गाडिएको तेलले युक्त बाँसमा चिप्लिँदै चढेर बाँसका टुप्पामा राखिएको वस्तु भेटेर ल्याउने खेल पनि शक्ति वा विकार उत्सर्जनको खेल हो । सहयोग, समभाव, सद्भावले विकार निर्माण घटाउँछन् । आज यसको आवश्यकता पूरा गर्न व्यक्ति, परिवार, समाज, राज्य सबैको जिम्मेवारी आवश्यक छ । यसरी नै विभिन्न पर्वमा नाच्ने, गाउने, खेल्ने, दोहोरी गाउने अभ्यास गर्नु संस्कृतिको परिचयसहित अभिव्यक्त हुन नसकेकाहरूका लागि आफैंभित्रका भावना, विचार, अव्यक्त अनुभूतिको उत्सर्जन हो । यसलाई सकारात्मक बनाउन आलोचना मात्र होइन, असल निर्माणका सुझाव पनि दिनु उपयुक्त हुन्छ ।

प्रकाशित : आश्विन ८, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?