कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पहाडी बाटोको गन्तव्य

नयाँ सडक खोल्नेभन्दा पनि निर्माण भइसकेकाको स्तरोन्नति गरेर बाह्रैमास गाडी चल्ने बनाउन तीनै सरकारले रणनीति बनाउन जरूरी देखिन्छ
लक्ष्मी गौतम

काठमाडौँ — भौतिक विकासको फड्कोसँगै सडक ‘लाइफलाइन’ बनिसक्यो । सदरमुकाम र सहरकेन्द्रित सडकमा चासो र बजेट बढिरहँदा पालिका र वडासम्म जोड्न बनेका कच्ची सडकको स्तरोन्नति भने हुन सकेको छैन । राष्ट्रिय, प्रादेशिक, सहायक प्रादेशिक र ग्रामीण गरी चार किसिमका सडक छन्, प्रदेश १ मा ।

पहाडी बाटोको गन्तव्य

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार प्रदेशभर निर्माण भएका सबै सडकको कुल लम्बाइ ९ हजार ६ सय २९ किलोमिटर छ । प्रदेश सरकारको वर्गीकरणअनुसार यहाँ १३ वटा राष्ट्रिय, ४४ वटा प्रादेशिक, १ सय १२ वटा सहायक प्रादेशिक राजमार्गसँगै जेनतेन मोटर गुड्न सक्ने १ सय ५६ ग्रामीण सडक छन् ।

प्रदेशभर सबै किसिमका सडकको संख्या ३ सय २५ छ । झापा, सुनसरी र मोरङ जिल्लालाई छाड्ने हो भने १४ मध्ये ११ जिल्ला पहाडी, मध्यपहाडी र हिमाली भेगमा पर्छन् । पछिल्लो समय तराई, पहाड र हिमालसम्मको आउजाउ सहज बनाउन सरकारले सडक निर्माणलाई तीव्रता दिएको छ ।

पाँचथरको चिवा भन्ज्याङबाट सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग प्रदेश १ को पहाडी जिल्लाको सम्पर्क सेतुका रूपमा रहेको छ । यो लोकमार्गले पाँचथरका याङवरक, हिलिहाङ र फिदिम, तेह्रथुमका आठराई, फेदायक, म्याङलुङ र लालीगुराँस, धनकुटाको महालक्ष्मी र छथर जोरपाटी, भोजपुरका अरुण, पौवादुम्मा र टेम्केमैयुङ, खोटाङका हलेसी तुवाचुङ, मझुवागडी र साखेवासँगै ओखलढुंगाको मानेभन्ज्याङ हुँदै अगाडि बढेको छ । पहाडैपहाड बैतडीको झुलाघाट पुगेर टुंगिने यो लोकमार्ग सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकलाई संघीय राजधानी काठमाडौं हुँदै पश्चिम र सुदूर पश्चिमका गाउँबस्ती पुग्न सजिलो भएको छ । आर्थिक वर्ष २०६४/६५ मा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले पहाडी भूभागलाई पूर्व–पश्चिम जोड्ने अवधारणा ल्याएर सडक रेखांकन गराएका थिए । यो सडकलाई सरकारले २०६८ मा राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै निर्माण प्रक्रियालाई तीव्रता दियो । यो लोकमार्गको एक चौथाइ भाग कालोपत्र भएको छ भने अधिकांश स्थानमा ग्राभेल स्तरको काम सकिएको छ ।

हालसम्म मध्यपहाडी लोकमार्गमा एक खर्बभन्दा धेरै रकम खर्च भइसकेको आयोजनाले जनाएको छ । ‘विगतमा जस्तो भूकम्प, नाकाबन्दी, लकडाउन र राजनीतिक अस्थिरता झेल्न नपरे दुई वर्षभित्र पूर्वपश्चिम सबैतिर काम सकिन्छ,’ आयोजनाको पाँचथर कार्यालय प्रमुख दानबहादुर शाक्यले भने ।

पूर्वका पहाडी जिल्लालाई तराई र काठमाडौंसँग जोड्ने द्रुत मार्गका रूपमा लिइएको अर्को रणनीतिक सडक हो, तमोर करिडोर । सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङचुङगोला जोड्ने करिडोरको कुल लम्बाइ २ सय ३८ किलोमिटर छ ।

ओलाङचुङगोलादेखि २१ किलोमिटर दूरीमा चीनको टिप्ताला पुगिन्छ, त्यहाँ पुग्ने २१ किलोमिटर सडक भने ५ वर्षअघि नै बनिसकेको हो । संघीय सरकारले गौरवको आयोजनाका रूपमा अगाडि सारेको यो सडकले तमोर नदीको किनारैकिनार सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङलाई जोडेको छ । ग्राभेलस्तरको काम सम्पन्न भएर दुई वर्षदेखि गाडी चल्न थालेको करिडोरको गणेशचोक (फेदापा) सम्म १ सय १० किलोमिटर कालोपत्र गर्न बोलपत्र आह्वान गरी सम्झौताको चरणमा पुगेको आयोजना प्रमुख कुवेर नेपाली बताउँछन् । यो सडक नखुल्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दाले मेची राजमार्ग भएर धरान र विराटनगर पुग्नुपर्‍यो । फिदिमबाट इलाम, झापा हुँदै २ सय ५७ किलोमिटरको घुमाउरो यात्रापछि धरान पुग्नुपर्थ्यो । अहिले तमोर करिडोर भएर १ सय १० किलोमिटरमै धरान पुग्न सकिन्छ । २०६५ मा सडक निर्माण थालिएको थियो ।

तराईको झापादेखि इलाम र पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सबैभन्दा पुरानो सडक हो, मेची राजमार्ग । २०३० को दशकमा निर्माण भएर यो सडक २०४५ ताका ताप्लेजुङ जोडिएको थियो । झापाको चारआलीदेखि सुरु हुने २ सय ६८ किलोमिटर दूरीको राजमार्ग लामो समयसम्म मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । सडक डिभिजन कार्यालय इलामले इलामको सूर्योदय र पाँचथरको फिदिम नगरपालिका क्षेत्रमा चौडा दायाँबायाँ १५ मिटरमा निर्माण भएका संरचना हटाउने काम गरिरहे पनि अन्यत्रको अवस्था दयनीय छ । ताप्लेजुङ–पाँचथर खण्डमा पर्ने गोपेटार भारपा, इलाम खण्डको माइखोला, पुवाखोला र हर्कटेलगायत दर्जनौं स्थानमा सडक भासिनुका साथै खाल्डाखुल्डी छन् ।

वर्षमा एक पटक मर्मत गर्दै आए पनि कालोपत्र गरेको लामो समय भएकाले भत्कने क्रम नरोकिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे तराई र पहाड जोड्ने सम्पर्क सेतुका रूपमा स्थापित यो सडकको निरन्तर मर्मत गर्न स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वयसँगै दिगो कार्ययोजना बन्नु जरुरी रहेको बताउँछन् ।

सधैंको बेहाल

पाँचथर, इलाम र धनकुटालाई जोड्ने राँके–रवि–छ नम्बर बुधबारे–भेडेटार सडक सरकारले उच्च प्राथमिकतामा राखे पनि वर्षौंसम्म बन्न नसकेको सरकारी गौरवको आयोजना हो । भारतीय निर्माण कम्पनीलाई कालोपत्र गर्ने जिम्मेवारी दिइएको यो सडक निर्माण व्यवसायीको लापरबाहीले लथालिंग छ । पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने सडकको कुल लम्बाइ १ सय ३ किलोमिटर छ ।

३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकी डलर लागत रहेको सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्राले नेपाल सरकारसँग २०७५ सालमै सम्झौता गरेको थियो । सम्झौतामा २०७८ को मंसिरभित्र काम सक्नुपर्ने उल्लेख छ । सडक निर्माणका लागि भारतीय एक्जिम बैंकले सहयोग गरेको हो ।

मेची राजमार्गअन्तर्गत इलाम–फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्बिसे पञ्चमी, सप्तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, छ नम्बर बुधबारे, सौरे, मुढेबास, समिया, चौकीभन्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हुँदै कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने भेडेटार पुगेर यो सडक टुंगिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौतालगत्तै २०७५ पुस २१ मा कालोपत्र गर्न उद्घाटन गरेका थिए । गत फागुनमै निर्माण सकिनुपर्ने सम्झौता भए पनि म्याद गुज्रेको ७ महिना बितिसक्दासमेत कामको प्रगति १९ प्रतिशतमा सीमित छ । यातायात सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिक गाउँपालिका केन्द्र रविसम्म आउन दुई दिन पैदल र सदरमुकाम फिदिमसम्म पुग्न छ नम्बर बुधबारेबाट झापा र इलाम हुँदै तीन जिल्ला पार गर्नुपर्ने बाध्यता छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो भारतीय सहयोगमा कालोपत्र सुरु गरिएको सडक निर्माण भारतीय ठेकेदारले नै अघि बढाउनुपर्ने बाध्यकारी सम्झौताले योजना पूरा हुन चुनौती थपेको बताउँछन् । यो सडक पूरा भए पाँचथर, इलाम, मोरङ र धनकुटाका सीमावर्ती क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिन सक्छन् ।

पहाडी जिल्लाका प्रायः सदरमुकामसम्म जोड्ने सडक कालोपत्र गरिए पनि त्यहाँबाट पालिका केन्द्रसम्म जोडने सहायक सडक भने हिँउदमा मात्रै सञ्चालन हुन्छन् । राँके रवि, छ नम्बर बुधबारे सडक अधकल्चो भएकाले पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाबाट सदरमुकाम आउन वर्षायाममा धौधौ पर्छ । ‘सडककै कारण वर्षायाम सदरमुकाममा हुने महत्त्वका कार्यक्रममा पुग्न सकिँदैन,’ पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम भन्छन् । मिक्लाजुङ र फाल्गुनन्द जस्तै फालेलुङ गाउँपालिका जोड्ने कच्ची सडकको अवस्था पनि नाजुक छ । २०३० कै दशकमा मेची राजमार्ग जोडिएको इलाममा पनि सदरमुकामदेखि ग्रामीण क्षेत्रका पालिका केन्द्र जोड्ने सडकको हालत उस्तै छ । देउमाई नगरपालिकाको केन्द्र मंगलबारे जोड्ने नेपालटार–मंगलबारे खण्डमा गरिएको कालोपत्र उप्किएर सडक कच्चीसरह बनेको छ । सन्दकपुर र माई जोगमाईलगायत पालिकाबाट सदरमुकाम आउन निर्माण गरिएका सडकको स्तरोन्नति पनि जरुरी रहेको जनप्रतिनिधिहरू बताउँछन् ।

धनकुटा, तेह्रथुम, खोटाङ र भोजपुरसहितका पहाडी जिल्लाका सदरमुकामसम्म कालोपत्रे सडक पुगेका छन् । यद्यपि सदरमुकामबाट पालिका र वडासम्म जोड्न बनेका कच्ची सडकको स्तरोन्नति हुन सकेको छैन । ओखलढुंगा सदरमुकाम रुम्जाटारसम्म मिर्चैयादेखि कालोपत्रे सडक हुँदै पुग्न सकिन्छ तर त्यही जिल्लाको लिखु र खिजिदिम्बा गाउँपालिका वर्षाभर सदरमुकामसँग सडक सम्पर्क विच्छेद हुन्छन् । संखुवासभामा निर्माणाधीन उत्तरदक्षिण कोसी सडकलाई संघीय सरकारले गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ, जुन सडकले विराटनगरको रानी भन्सारदेखि किमाथांका जोड्छ ।

सोलुखुम्बुमा निर्माणाधीन गोल्डेन ट्रेंगल पनि राष्ट्रिय गौरवको आयोजना हो । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सुकेटार विमानस्थल हुँदै ओलाङचुङगोला जोड्ने सडक निर्माणाधीन छ, यो उत्तर–दक्षिण लोकमार्गअन्तर्गत पर्छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सोम स्थानीय संघ र प्रदेश सरकारको समन्वयमा सबै सडकको वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्न सके सबैतिर गाडी गुड्न सक्ने सम्भावना औंल्याउँछन् । ‘तीन तहका सरकारबीच समन्वय नहुँदा कुन स्तरका सडकमा कति पैसा हाल्ने र कत्तिको महत्त्व दिने यकिन छैन, त्यही भएर सबै सरकारले एउटै योजनामा दोहोरो पर्ने गरी बजेट छुट्याइरहेका छन्,’ उनले भने, ‘त्यस्तो हुन नदिन सडक प्रोजेक्ट बैंक बनाउन आवश्यक छ ।’

प्रकाशित : आश्विन ८, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?