१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
उज्यालो पूर्व

त्रिदेशीय व्यापारको मुकाम

धेरै हदसम्म अरूभन्दा सबै हिसाबले अगाडि बढेको प्रदेश हो यो, तर मानव विकास सूचकांकमा प्रदेश १ एक नम्बर हो भन्न अझै पाइएको छैन तैपनि यहाँ अरू प्रदेशमा नभएका धेरै विषय छन् ।
शिक्षित श्रमशक्ति अरू प्रदेशको तुलनामा यहाँ बढी छ, आईसीटी, रेलवे आदिको विस्तार पनि यही प्रदेशमा हुनेवाला छ, विराटनगर छेउमा आएको रेललाई पूर्वपश्चिम रेलसँग जोडेर अघि बढाउनुपर्छ ।
युवराज खतिवडा

नेपालका ठूला राजनीतिक नेतृत्व, घटनाक्रम र परिवर्तनका घटना प्रदेश १ बाट सुरु भएका थिए । २००४ सालको मजदुर आन्दोलन, ००७ सालको क्रान्ति मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलनको भूमि पनि यही नै हो । भारतको पश्चिम बंगालसँग जोडिएको प्रदेश भएकाले यहाँ पहिले दुई किसिमको प्रभाव थियो ।

त्रिदेशीय व्यापारको मुकाम

राजनीतिक रूपमा पश्चिम बंगालमा लामो समय कम्युनिस्ट सरकार रह्यो । त्यहाँ गरिएका कतिपय काम भूमिसुधार र प्रगतिशील सुधारका काम आदिले नेपालमा पनि वामपन्थी राजनीतिमा चेतना जगाउने काम गर्‍यो । त्यसैको जगमा मदन भण्डारी, सीपी मैनाली, आरके मैनालीहरूको उदय भएको हो । ०२४/२५ सालमा मैले राजनीति बुझ्दा त्यसको जग पश्चिम बंगाल नै थियो ।

अंग्रेजहरूले दार्जिलिङलाई आफ्नो विकासको ‘हिल स्टेसन’ बनाएका थिए । त्यसो गरिरहँदा दार्जिलिङमा रेल पुग्यो, चिया क्षेत्रको विकास भयो । स्कुल राम्रा बने । मेची अञ्चलका हुने–खानेले दार्जिलिङ, कालिम्पोङ, सिक्किममा आफ्ना छोराछोरी पढाउँथे । त्यसले गर्दा यताका विद्यार्थी उता गएर पढ्थे । उताका शिक्षित मानिसले नेपालमा आएर पढाउँथे । नेपाली र सामाजिकबाहेकका शिक्षक धेरैजसो उतैबाट आउँथे ।

सयौं बिघा जग्गा दिएर स्कुल खोल्ने प्रवृत्ति थियो । अझै पनि त्यस्ता विद्यालय छन् । यसले पूर्वाञ्चलमा मेची अञ्चलका विद्यालयमा गुणस्तरीय शिक्षा पुर्‍यायो । महेन्द्र मोरङ क्याम्पस, मेची कलेजजस्ता शैक्षिक संस्था यसका उदाहरण हुन् । त्यसैले सीमापारिको शैक्षिक उन्नयनको प्रभाव यहाँ परेको हो । सामाजिक, सांस्कृतिक रूपमा पनि यो प्रदेश पछिल्लो समयसम्म बलियो नै छ ।

विकास सूचकांकमा अघिपछि

धेरै हदसम्म अरू प्रदेशभन्दा सबै चेतनाका हिसाबले अगाडि बढेको प्रदेश हो यो । तर मानव विकास सूचकांकमा प्रदेश १ एक नम्बर हो भन्न अझै पाइएको छैन । यहाँ अरू प्रदेशमा नभएका धेरै विषय छन् । नेपालकै सबैभन्दा अग्लो र होचो ठाउँ यहीं छ– केचनादेखि सगरमाथासम्म । करिब डेढ सय किमिको धरातलमा हामीले उष्ण प्रदेशको वनस्पतिदेखि हिउँ अल्पाइनको वनस्पतिसम्म पाउँछौं । नेपालको कुल जनसंख्याको १७ र भूगोलको १७/१८ प्रतिशत यसले ओगट्छ । सगरमाथालगायत विश्वकै अग्ला चुचुरामध्ये ५ वटा अग्ला हिमाल (सगरमाथा, लोत्से, चोयु, मकालु र कञ्चनजंघा) यही प्रदेशमा छन् । विश्वमै अति दुर्लभ रातोपान्डादेखि काँडेभ्याकुरसम्म पाइन्छ । त्यसैले यहाँ भौगोलिक र जैविक विविधता धेरै छन् ।

अरुण उपत्यका र कोसी नदीको सम्पूर्ण बहाव क्षेत्रका आधारमा प्रदेश १ लाई भौगोलिक, जलवायु र रिभर बेसिनका दृष्टिले हेर्दा यो कोसी बेसिनको क्षेत्र हो । धेरैजसो नदी प्रदेश १ बाटै बग्छन् । तिनले ६०/६५ प्रतिशत जलाधार ओगट्छन् ।

यहाँ सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष जस्ता क्षेत्र यहीँ छन् । धार्मिक पर्यटनका लागि पनि यो प्रदेश अब्बल छ । खासगरी महाभारतको क्रीडास्थल नै हो । विराट राजाको दरबारदेखि पाण्डवहरू गुफा बसेको सतासीधाम र किचकलाई मारेको किचकवध यहीँ छन् । हलेसी यहीँ छ, जहाँ भुटानबाट समेत पर्यटक आउँछन् । अहिलेको जल्दोबल्दो पाथीभरा, बराहक्षेत्र, बूढासुब्बा आदि धार्मिक महत्त्वका स्थान यहीँ छन् ।

लालीगुराँसको राजधानी तेह्रथुम यहीँ छ । सामाजिक विविधता १२४ जातजाति र ९६ भाषाभाषी छन् । अरू प्रदेशमा नभएका जातजाति पनि यहाँ बढी छन् । राजवंशी, सन्थाल आदि तिनका उदाहरण हुन् । शैक्षिक हिसाबले समेत यो प्रदेश उन्नत छ । साक्षरतामा यो प्रदेश तेस्रो छ । अघिल्लो जनगणनाअनुसार यहाँको साक्षरता ७२ प्रतिशत थियो । लैंगिक विकास सूचकांकमा लुम्बिनीसँग बराबर छ, वाग्मतीभन्दा पछि र अरू प्रदेशभन्दा अगाडि छ । समग्र मानव विकास सूचकांकमा प्रदेश १ भन्दा गण्डकी माथि छ । लैंगिक असमानतामा भने प्रदेश १ माथि छ । यो प्रदेशले कुल गार्हस्थ्य उत्पादनमा १६ प्रतिशत जति ओगट्छ । तर रमाइलो, प्रदेशभित्रको कुल गार्हस्थ्य उत्पादनमा मोरङको हिस्सा साढे २२ प्रतिशत, झापाको साढे १८ र सुनसरीको करिब १६ प्रतिशत छ । यो प्रदेशले देशमै कृषि क्षेत्रको ३० प्रतिशत अंश लिन्छ । यो पहिलो नै हो । यसले खाद्यान्न उत्पादनमा २२ प्रतिशत अंश ओगट्छ । झापा, मोरङ र सुनसरीले धान उत्पादनको १८ प्रतिशत ओगट्छन् । पहिले यसभन्दा बढी थियो ।

जुट अधिकांश यही प्रदेशमा उत्पादन हुन्छ । रबर उत्पादनको पनि पूरैजसो हिस्सा यसले ओगट्छ । ९० प्रतिशत अलैंची, ४२ प्रतिशत अदुवा, अमिलो जातको खेती ६० प्रतिशत र किबी उत्पादन ५० प्रतिशत यही प्रदेशमा छ । दाल र खुर्सानी २८/२८ प्रतिशत यहीँ उत्पादन हुन्छ । सम्पूर्ण खाद्यान्न उत्पादनमा मोरङ, झापा र सुनसरीले १३ प्रतिशत हिस्सा ओगट्छन् । औद्योगिक लगानीमा उद्योग १० प्रतिशत, औद्योगिक रोजगारी करिब १५ प्रतिशत र औद्योगिक लगानी करिब २० प्रतिशत यहाँ छ ।

आयआर्जनका क्षेत्र– जलविद्युत्, कृषि र पर्यटन

कृषि, पर्यटन र जलस्रोत यहाँका सम्भावनाका क्षेत्र हुन् । कतिपय अध्ययनले यो प्रदेशमा मात्र ३४ हजार मेगाबाट बिजुली उत्पादन गर्न सकिन्छ भनेको पनि पाइन्छ । तत्काल विकास गर्न सम्भावना भएका जलाशययुक्त र नदी प्रवाहमा आधारित आयोजना पनि १६ हजार मेगावाटभन्दा बढी क्षमताका छन् । किमाथांका अरुण भ्याली, अरुण–४, माथिल्लो अरुण, अरुण–३ र तल्लो अरुण गर्दा ३ हजार मेगावाटभन्दा बढी बिजुली यहीँ उत्पादन गर्न सकिन्छ । कोसीका अरू क्षेत्रमा पनि धेरै आयोजना छन् । तमोरको एउटै आयोजना ७५० मेगावाटको र दूधकोसीमा पनि ६५० मेगावाटको आयोजना बनाउने भनिएको छ । सोलुका आयोजना यही प्रदेशमा छन् । यसबाट पनि प्रदेश १ लाई ‘पावर हब’ र ‘पावरहाउस’ भन्न सकिने अवस्था छ ।

जलस्रोतमा यो प्रदेश ठीकै किसिमले अघि बढिरहेको छ । ४०० केभीएका प्रसारण लाइन यहाँ बनिरहेका छन् । उत्पादन मात्र होइन, प्रसारण र वितरणलाई पनि सम्भावना बढेको छ । हिमालमा मुहान भएका नदी यहाँ भएकाले सिँचाइको क्षेत्रमा पनि प्रदेश १ अगाडि छ । सुनकोसी मरिन डाइभर्सनबाट प्रदेश १ को पानी मधेस प्रदेशलाई बाँड्न सक्ने अवस्था छ । मोरङको चिसाङ नदीमा पथान्तरण आयोजना बनाउन खोजिएको छ । यसबारे अध्ययन हुँदै छ । प्रदेश १ समग्रमा पानीको अभाव भएको ठाउँ होइन । स्वच्छ पिउने पानी पनि यहाँ पर्याप्त मात्रामा छ ।

जलविद्युत्का विषयमा हाम्रो छिमेकीको अप्ठ्यारो नीति छ । उसले नेपालका जलविद्युत् आयोजनामा आफ्नो लगानी खोज्छ । हामी आन्तरिक खर्चमै ती आयोजनालाई अघि बढाऔं भन्छौं । दक्षिणी छिमेकीले उत्तरी छिमेकीको लगानी नहोस् भन्ने खोजेको छ । हाम्रा भनाइ हो– लगानी पो विदेशीको हो, स्रोत त हाम्रो पो हो ।

ढिलै भए पनि राम्रो भएको छ, अरुण–३ र तल्लो अरुण भारतको सतलज जलविद्युत् निगमले नै बनाउँदै छ । यसले बजार पनि आफैंले सुनिश्चित गर्छ । अपर अरुणको बजार पनि भारत र बंगलादेश नै हुन् । अरुण रिभर बेसिनका सबै जलविद्युत् आयोजनाको बिजुली पूर्वी भारत र बंगलादेश हुन् । यसका लागि ४०० केभीको प्रसारण लाइन छ । कहिलेकाहीँ ७६५ केभीको प्रसारण लाइन चाहिन्छ, त्यो पछि अपग्रेड गर्न सकिन्छ ।

भारतले बंगलादेशमा हाम्रो विद्युत् निर्यात गर्न सहजीकरण गरिदिनुपर्छ । यहाँको सरकार उसका लागि सहज भयो भने भारतले सहजीकरण गरिदिन्छ । अन्यथा गरिदिँदैन । अन्तरसम्बन्धित विश्वमा जलविद्युत् व्यापार क्षेत्रीय हो । रुसको ग्यासको पाइपलाइन युरोपभरि छरिँदा हाम्रो ‘असल छिमेकी’ भारतलाई ‘सीमाबाट ३०/३५ किमि दूरीमा रहेको बंगलादेशमा विद्युत् लैजान कि प्रसारण लाइन निर्माण गर्न देऊ, होइन भने तिम्रै डेडिकेटेड लाइनबाट बिजुली लैजान देऊ’ भन्न किन नमिल्ने ? बरु भारतले प्रसारण लाइनको सिस्टम अपग्रेड गर्ने बेला कस्ट सेयर गर्न सकिन्छ । ‘असल छिमेकी’ ले यति गरिदिए अति राम्रो हुन्छ ।

कूटनीतिक एवम् राजनीतिक तहबाट छिमेकीलाई विश्वासमा लिएर व्यापारका अवरोध हटाउनुपर्छ । तिम्रा वस्तु र सेवा हामीले ल्याउँदा तिम्रो हो कि अरूको हो भनेर हामीले कहिल्यै सोधेका छैनौं, त्यसो हुँदा हामीलाई पनि त्यो सुविधा देऊ भन्न डराउनु हुन्न । पौंठेजोरी खोजेर होइन, भारतलाई बुझाएर काम अघि बढाउनुपर्छ । र, बंगलादेशसँग हाम्रो व्यापार घाटा छ । यस्तो अवस्थामा स्थानीय मुद्रामा कारोबार गर्न सकिन्छ । सामान पठाउने, सामान नै ल्याउने गर्न पनि सकिन्छ । हामीले सार्कका जुन–जुन मुलुकसँग व्यापार गरिरहेका छौं, ती मुलुकसँग स्थानीय मुद्रामा व्यापार गर्न सकिन्छ । यसले विदेशी मुद्रा सञ्चितिमा हामीलाई सघाउँछ । बंगलादेशमा १६/१७ करोड जनसंख्या छ । त्यहाँ बन्ने सडकका लागि दक्षिण कोरियाबाट कच्चा पदार्थ ल्याएको देखिन्छ । हामीले त्यो बजारलाई हेरेर पनि यहाँको उत्पादन पठाउन सक्छौं । यसका लागि नजिकको छिमेकी मुलुकलाई विश्वासमा लिनुपर्छ । बंगलादेशसँग गरिने व्यापारको बाटो प्रदेश १ नै हो ।

भौगोलिक, सामाजिक, सांस्कृतिक आदि विविधताले गर्दा पर्यटनको सम्भावना यहाँ पर्याप्त छँदै छ । छिमेकी मुलुकमा आउने पर्यटकलाई सीमा कटाएर यता ल्याउन सकिन्छ । त्यसमाथि विराटनगर एयरपोर्टलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय पनि उठेको छ । यसलाई अघि बढाउनुपर्छ । आन्तरिक होस् या बाह्य पर्यटन— हामीले यी दुवैलाई अघि बढाउनुपर्छ । प्रदेश १ का सबै बोर्डर पोइन्टमा भारतीय रेल छ । जोगबनी, गलगलिया, पानीट्यांकी र दार्जिलिङ जाने पोइन्ट नजिकै रेलको उपलब्धता छ । मध्यपहाडी राजमार्गले सिक्किमको कुनै पोइन्ट छुन्छ । त्यहाँको सरकारसँग कुरा गरेर नेपालको सिमानाबाट सिक्किमको कुनै ठाउँलाई जोड्न सकिन्छ । यसो भयो भने सिक्किम आउने पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ ।

आन्तरिक पर्यटनको कुरा गर्ने हो भने पाथीभरा जाने मानिस पहिले दिनमा आठ–दस जना हुन्थे । अहिले हजार हाराहारी पनि पुग्छन् । सहज यातायातका कारणले यो सम्भव भएको हो । त्यसकारण यातायातलाई प्राथमिकता दिनुपर्छ । विराटनगरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरेर भारतका मुख्य–मुख्य हवाई अड्डाबाट यहाँ आउने वातावरण बनाउन सकियो भने भारत आउने पर्यटक यता पनि आकर्षित हुन सक्छन् ।

चिनियाँ पर्यटकलाई पनि यता आकर्षित गर्न यसले सघाउँछ । पर्यटकका लागि पदयात्रा सुरक्षित गरिदिने, ट्रेकिङ गाइड, सुरक्षा आदिको व्यवस्था गरिदिनु पनि पर्छ । वनस्पति एवम् वातावरणको लाभ लिन खोज्नेहरूलाई पनि हामीले सहयोग गर्नुपर्छ । कतिपय धार्मिक पर्यटकीय क्षेत्रमा अभिलेखीकरण गर्ने काम पनि थाल्नुपर्छ । जस्तो कि, हलेसीमा भुटानका राजपरिवारका सदस्य आएर गएको हामीले पत्तै नपाएको अवस्था पनि छ । तिनीहरूको अभिलेख राखेर त्यसैलाई प्रचारप्रसारको माध्यम पनि बनाउन सकिन्छ ।

कृषिमा अब्बल, उद्योगमा शिथिल

सबैभन्दा पुरानो औद्योगिक नगरी प्रदेश १ मा छ । तर सबैभन्दा ठूलो छैन । औद्योगिक क्षेत्रमा प्रदेश १ शिथिल नै छ । पछिल्ला दुई दशकमा रेलवे, रोड र भारतका ठूला बजारमा पहुँच पुग्ने हिसाबले सुनसरी–मोरङ औद्योगिक करिडोरभन्दा वीरगन्ज–पथलैया करिडोर बढी सहज बन्यो । रक्सौलमा ब्रोडगेज रेलवे अलि अघि नै आयो । त्यहाँबाट भारतको कोलकाता जान पनि सजिलो भयो । प्रदेश १ मा औद्योगिक क्षेत्रको कुरा गर्दा जमिन महत्त्वपूर्ण हुन आउँछ । सुनसरी–मोरङ औद्योगिक करिडोरभन्दा वीरगन्ज–पथलैयामा सस्तोमा जग्गा पाइयो । यसो हुँदा सुनसरी–मोरङ औद्योगिक करिडोरमा शिथिलता आउनु स्वाभाविकै हो । विराटनगरमा विशाल रूपमा औद्योगिक क्षेत्र बनाउने भनिए पनि अझै सम्भव भएको छैन ।

बृहत्तर आर्थिक क्षेत्रका लागि पनि हामीले जमिन खोजिरहेका छौं, पाइएको छैन । जमिन महँगो बन्दै गएपछि पूर्वाधार विस्तारलाई त्यसले पक्कै प्रभाव पार्छ । यसमा धेरै प्रगति हुने अवस्था म देख्दिनँ । व्यवसायहरू क्रमश: वीरगन्ज करिडोरतिर सिफ्ट भएका हुन् कि भन्ने लाग्छ । अर्को, विराटनगरका पुराना उद्योग प्रविधि, बजार आदिका कारण शिथिल भए । टेक्सटायल, वनस्पति घिउ, जुट उद्योगहरू क्रमश: कम हुँदै गएका छन् । खासगरी जस्तापाता, कर्कटपाताका उद्योग विराटनगरबाट वीरगन्जतिर सरेको अवस्था पनि छ । धेरै लामो समयसम्म प्रदेश १ मा हाई भोल्टेज बिजुलीको समस्या रह्यो । कहिलेकाहीँ प्रसारण लाइनमा पनि समस्या आइदियो । यसले पनि औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पारेको हो । जोगवनीबाट भारतलाई जोड्ने मीरगन्जको पुलमा सधैं समस्या आइरहने भएकाले पनि उद्यमीले जोगवनीको विकल्प खोजेका हुन् कि !

शिक्षित श्रमशक्ति अरू प्रदेशको तुलनामा यहाँ बढी छ । आईसीटी, रेलवे आदिको विस्तार पनि यही प्रदेशमा हुनेवाला छ । विराटनगर छेउमा आएको रेललाई पूर्वपश्चिम रेलसँग जोडेर अघि बढाउनुपर्छ भनेर म अर्थमन्त्री भएका बेला पनि काम गर्न खोजिएको थियो । भलै, त्यो टेन्डर रद्द भयो । तर जे भए पनि प्रदेश १ मै हो, सबैभन्दा छिटो रेलवे बन्ने । त्यो रेलवेले नेपालको सामानलाई भारतको जलपाइगुडी हुँदै बंगलादेश लैजान सजिलो हुनेछ । यसले औद्योगिक कच्चा पदार्थ आयात–निर्यात मात्र होइन, अरू वस्तुका लागि पनि पक्कै सघाउनेछ ।

सिमेन्टका लागि सबैभन्दा उपयोगी कच्चा पदार्थ उदयपुरमा छ । चियामा सबैभन्दा धनी, नगदे बालीमा त्यस्तै, फलफूलमा पनि धनी प्रदेश १ नै हो । यहाँ कृषिमा आधारित उद्योग लगाउन सक्छौं । ग्रीन एग्रिकल्चरमा आधारित वस्तुलाई उद्योगमा परिणत गर्न सक्ने अवस्था छ । म योजना आयोगको उपाध्यक्ष हुँदा कमर्सियल एलायन्स फर एग्रिकल्चर भनेर अभियान नै चलाएका थियौं । यसले कृषिलाई व्यवसायीकरण गर्ने योजना थियो । सुपारीको राजधानी नै भयो यो प्रदेश । सुपारी, अदुवा, अलैंची, फलफूल आदि प्रशोधन गरेर निर्यात गर्न सक्छौं । कतिपय पहाडी जिल्लाबाट अर्गानिक एग्रिकल्चरको लाभ लिन पनि सकिन्छ । बिस्तारै हामी यस्ता उद्योगमा पनि जानुपर्छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रदेश १ मा प्रशोधन गरेर निर्यात गर्न सकियो भने पनि औद्योगिकीकरणमा यसले सघाउनेछ ।

आशा जगाउँदै पूर्वाधार

पूर्वाधार विकासको हिसाबले १० वर्षअघिको कुरा गर्ने हो भने त्यति राम्रो होइन । ०४७ सालपछि मनमोहन अधिकारी, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओली यो प्रदेशबाट प्रधानमन्त्री भए । त्यसको लाभ यो प्रदेशले त्यति लिन सकेन । पछिल्लो चरणमा यहाँको पूर्वाधारका लागि केही पहल भएका छन् । मध्यपहाडी राजमार्गको काम सकिन लागेको छ ।

प्रदेश १ को पहाडी खण्डलाई वाग्मतीको पहाडी भूभागलाई यसले सोझै जोड्दै छ । मदनभण्डारी राजमार्गले भित्री मधेसको कृषिलाई व्यवसायीकरण गर्ने र आवागमन सजिलो पार्नेछ । यसको धेरै काम सकिएको छ । हुलाकी राजमार्गको मोटामोटी काम सकिएको छ । केही स्थानमा पुल बन्न बाँकी छ । पूर्वपश्चिम राजमार्ग विस्तारको काम पनि भइरहेको छ । उत्तर–दक्षिण करिडोरको काम भइरहेको छ । मेची करिडोर, कोसी करिडोरमा काम भइरहेको छ । कोसी करिडोरको प्रगति राम्रो छ । केही किमि अप्ठ्यारो ठाउँमा सेनाले ट्रयाक खोल्दै छ, किमाथांका जान । ट्रयाक खुल्यो भने किमाथांका नाका चीनसँग जोडिनेछ । तमोर करिडोरको काम भइरहेको छ । ओलाङचुङगोलासम्म जान ट्रयाक खुलेको छ ।

यहाँको सबैभन्दा राम्रो पक्ष हो– सुन्दर सडक भनेर धरान–धनकुटालाई लिइन्छ । बेलायतले यसमा आफ्नो शक्ति लगाएर काम गरेको छ । यो महँगो भएर पनि नमुना सडक बनेको छ । हुन नसकेको कुरा भने सगरमाथाका जान कटारीदेखि ओखलढुंगासम्मको बाटो राम्रो छैन । ओखलढुंगाबाट सोलुखुम्बुसम्म जाने बाटो भने राम्रो छ । मध्यपहाडीबाट सोलुखुम्बुसम्मको बाटो पनि राम्रो छ । प्रदेश १ का कतिपय सडक अति राम्रो अवस्थाका छन्, कतिपय स्थानमा अझै बाटो नपुगेको अवस्था छ । तर अब स्थानीय एवम् प्रदेश सरकारले सडकमै पैसा खन्याएका छन् । मलाई अबको पाँच वर्षमा सडकको समस्या हुने छैन ।

प्रदेश १ मा एक दर्जनभन्दा बढी विमानस्थल छन् । तर तिनमा सुरक्षा व्यवस्था, भौतिक पूर्वाधार र उपयुक्त उपकरणको उपलब्धता हुनुपर्छ । अन्यथा यो रहरको काम मात्र हुन सक्छ । दूरसञ्चारको अवस्था राम्रो छ । सबैतिर फोरजी चल्ने अवस्था बनिसकेको छ । सडक सुरक्षामा भने हामीले चासो दिनुपर्छ । यसो गर्न सकियो भने सडक दुर्घटना रोक्न सकिन्छ । यहाँ कोसीमा जल पर्यटन पनि सञ्चालन गर्न सकिन्छ ।

शिक्षा एवम् स्वास्थ्यमा औसत

मलाई लाग्छ, यो प्रदेश राष्ट्रिय औसतकै हाराहारीमा छ । साक्षरतामा औसतभन्दा माथि नै छ । प्रत्येक जिल्लामा क्याम्पस छन् । तर कृषि, इन्जिनियरिङ जस्ता विषय पढाइ हुने कलेज थोरै मात्र छन् । मानविकी र वाणिज्यशास्त्र अध्यापन गराउने कलेज धेरै छन् । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान यहाँ छ । पूर्वाञ्चल विश्वविद्यालय यहीँ छ । मेडिकल कलेजहरू पनि छन् । राम्रा अस्पताल छन् । शैक्षिक पूर्वाधार पुगेको छ । तर तिनले जनशक्ति उत्पादन गर्न नसकेको अवस्था छ ।

सरकारी अस्पतालमा बेथिति पनि छन् । सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव त छ नै, प्रोत्साहन र औषधिको अभाव पनि छ । स्वास्थ्य बिमाका प्रावधान पनि सरकारले पूरा गर्न नसकेको अवस्था छ । त्यसैले प्रदेश १ का धेरै मानिस स्वास्थ्य सेवा लिन भारत जाने गरेका छन् । झापा र इलामका मानिस सिलिगुडी नगएको कमै सुनिन्छ ।

यहाँबाट भारत गएर महँगोमा स्वास्थ्य सेवा लिनेहरू छन् । तर भारतबाट नेपालमा आएर स्वास्थ्य सेवा सस्तोमा लिनेहरू पनि बढी नै छन् । यहाँ क्यान्सर, आँखाको उपचार सस्तो छ । हामीले सस्तोमा यहाँ सेवा दिइरहेका छौं । तर हाम्रा मानिसले उता महँगो तिरिरहेका छन् । यो समग्र देशकै स्वास्थ्य क्षेत्रको समस्या हो । अब स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्छ ।

त्रिदेशीय व्यापार रणनीति अबको आवश्यकता

प्रदेश १ बाट चीन जोड्ने दुई नाका हुन्– किमाथांका र ओलाङचुङगोला । म अर्थमन्त्री भएका बेला किमाथांकामा व्यापार गर्न भनेर भन्सार बैंक राख्ने काम सुरु गरिएको हो । यहाँ ठाउँ पनि छ । सडक पुग्नेबित्तिकै यो नाका चालु गर्न सकिन्छ । यसबाट चीनलाई पनि कोलकाता पोर्टसम्म जाने छोटो बाटो हुन सक्छ । यसले चीन र भारतको नजिकको बन्दरगाहसम्मको व्यापार गर्ने माध्यम हामी बन्न सक्छौं । ओलाङचुङगोलाबाट चीनसम्म सीमावर्ती क्षेत्रमा यातायात चल्ने अवस्था बनेको छ । तमोर करिडोर सकियो भने त्यसमा सफलता हासिल हुन्छ । तर के बिर्सनु हुँदैन भने त्यो तिब्बत हो । त्यो संवेदनशील क्षेत्र पनि हो । तातोपानी नाकाबाट हामीले बुझेका छौं, यी नाकाबाट व्यापार गर्न चीन त्यति तयार छैन ।

ताप्लेजुङ सदरमुकामबाट ओलाङचुङगोला हुँदै नेपाल–चीन सिमाना टिप्ताला जोड्ने सडक । तस्बिर : आनन्द/कान्तिपुर

भारतसँगका सबै नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । मध्यपहाडीको चियाभन्ज्याङमा व्यापारिक नाका बनाउनुपर्छ । र, लाभ लिनुपर्छ । इलामको पशुपतिनगर नाकालाई पनि व्यापारिक रूपमा सञ्चालन गर्न सक्नुपर्छ । यसो भयो भने सिक्किम, दार्जिलिङ, कालिम्पोङसँगको कनेक्टिभिटी हुन सक्छ । दुवै देशले यसबाट लाभ लिन सक्छन् ।

काँकडभिट्टा नाकामा एसियन हाइवेकै स्ट्यान्डर्डमा पुल बनेको छ । पारिपट्टि पुल बनेको छ । यो बंगलादेशसँग हाम्रो व्यापार हुने नाका हो । यसबाट बंगलादेशसँग जोड्नलाई हाम्रा डेडिकेटेड सवारीलाई सोझै बंगलादेश लैजाने वातावरण बनाउन छिमेकी मुलुक भारतसँग कूटनीतिक पहल गर्नुपर्छ । पारवहन सम्झौता गरे मात्र पुग्छ । रेल, रोड दुवै माध्यमबाट जान सकिन्छ । पूर्वपश्चिम राजमार्ग चार लेन र कहीँकहीँ छ लेनको भइरहँदा विराटनगर या धरानदेखिका कन्साइनमेन्ट बंगलादेश जाने र मधेस प्रदेशका कन्साइनमेन्ट पनि यो बाटो भएर जान सक्छन् । भुटान जाने बाटो पनि यही हो । त्यता जाने बाटोका लागि पनि काँकडभिट्टा नाका प्रयोग गर्न सकिन्छ । मोटर भेहिकल एग्रिमेन्ट गर्‍यौं भने हामी बंगलादेशसँग सिधै जोडिन्छौं ।

यति भयो भने बंगलादेशसँगको व्यापार धेरै गुणा बढ्न सक्छ । यसले हामीलाई बढी नै लाभ हुनेछ । दक्षिणतिर जाँदा झापाबाट एउटा मात्र भन्सार बिन्दु भयो । भद्रपुरमा अर्को भन्सार बिन्दु छ । त्यो पहिला छोटी भन्सार थियो । म अर्थमन्त्री भएका बेला मूल भन्सारमा स्तरोन्नति गरिएको हो । त्यहाँ पारिपट्टि बिहार पर्छ । मेची पुल बनेको छ । तर नेपाल–भारतको सिमानामा रहेको टर्निङमा लामा ट्रक घुमाउन नसकिने अवस्था छ । यसलाई सोझो पार्न सकिएको छैन । त्यसलाई सोझो पार्नुपर्नेछ । त्यो आएर हुलाकी राजमार्गमा जोडिन्छ । अर्को मोरङको जोगवनी भन्सार हो । पूर्वी मोरङमा अर्काे भन्सार निकाल्न सकियो भने थप राम्रो हुन्छ ।

सुनसरीमा भने जस्तो भन्सार छैन । मीरगन्ज पुल बिग्रियो भने भीमनगर हुँदै कोसी ब्यारेजसम्म ल्याउनुपर्ने अवस्था छ । यहाँ पनि अर्को कुनै पोइन्टले भारतलाई जोड्न सक्नुपर्छ । सडक कमसे कम डेडिकेटेड दुई लेनको, भएसम्म चार लेनको बनाउन सक्नुपर्छ । त्यसमा पारि पनि रेल वा सडक यातायात रहेको भए झनै राम्रो हुन्छ । यति भइदियो भने प्रदेश १ ले अन्तर्राष्ट्रिय व्यापारको पर्याप्त लाभ लिन सक्छ ।

(पूर्वअर्थमन्त्री खतिवडासँग कान्तिपुरका कृष्ण आचार्य र भूमीश्वर पौडेलले गरेको कुराकानीमा आधारित)

प्रकाशित : आश्विन ८, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?