महिलाको उम्मेदवारीमा नै नेतृत्वले ध्यान दिनुपर्छ 

फूलबती राजवंशी

मैले जिम्मेवारी बहन गर्दैगर्दा महिला र पुरुष फरक छैन भन्ने सन्देश दिएको छु । सन्देश दिँदै गर्दा महिला र पुरुष चुनावी मैदानमा फिल्डमा जाँदै गर्दा फरक चाँहि हुँदो रहेछ । महिला र पुरुष प्राकृतिक दृष्टिकोणले नै फरक–फरक दिएको विषयवस्तु हो । अर्कोचाहिँ समयसापेक्षले चुनावी मैदानमा पुरुष अलि छिटो दौडने र महिला अलि ढिलो दौडने हुने रहेछ

महिलाको उम्मेदवारीमा नै नेतृत्वले ध्यान दिनुपर्छ 

पुरुष चुनावको मैदानमा राति १२ बजेसम्म हिँड्दा पनि कुनै आपत्तिको विषय रहेन । महिलाले घरपरिवार सम्हालेर हिडँ्दा, म्यानेज गर्नुपर्ने हुँदा अलिकति ढिलो हुने गरेको छ । महिलाले जन्मघर र कर्मघर दुई ठाउँको नेतृत्वमा सम्हाल्दा पुरुषभन्दा धेरै फरक मैले पाएँ । आर्थिकमा पहिला पछाडि, निर्णायक तहमा पितृसत्तात्मक सोचले गर्दा हुँदा म नै नेतृत्व हुँ भन्ने पुरुषमा दम्भ हुन्छ । महिलामा माइती छाडेर आएपछि उसले धेरै कुराको ब्यालेन्स गरेर दुई वटा घरलाई खुसी बनाएर मात्र हिँड्नु पर्ने हुन्छ ।

यसले गर्दा धेरै नै फरक पाएँ । फरक हुँदाहुँदै पनि महिलाले हिम्मत हार्नुपर्ने रहेछ । हिम्मतका साथ अगाडि बढ्यो भने सफलता मिल्छ भन्ने प्रमाणित भएको छ । दोस्रो घरमा भूमिको अधिकार, आर्थिक अधिकार हुँदैन । त्यसले पनि ढिला हुन्छ । घर व्यवहार मिलाउन खोज्दा केही ढिला त अवश्य पनि हुन्छ । त्यति अधिकार प्राप्त गरेमात्र महिला सबल भएर निस्कन्छन् ।

मचाहिँ गठबन्धनलाई फरक ढंगले प्रस्तुत गर्न चाहन्छु । स्थानीय तहमा गठबन्धन भयो । अहिले पनि संघ र प्रदेशमा पनि गठबन्धनको कुरा छ । हाम्रो जस्तो देशमा यसको अति आवश्यक हो जस्तो मलाई लाग्छ । उमेदवारीका क्रममा धेरै र थोरै आफ्नो ठाउँमा होला । महिलाले इच्छा गर्नुपर्ने पनि आफ्नो ठाउँमा छ । नेपालको राजनीतिलाई हेर्दा समयसाक्षेप र अति जरुरी छ । किनभने नेपालको राजनीतिक धरातल र आर्थिक अवस्थालाई बलियो बनाउनका लागि सबैलाई समेटेर लैजानुपर्छ ।

गठबन्धन बलियो भने मात्र नेपालको राजनीति पनि बलियो हुनेछ । यो एउटा परिवार जस्तै हो । एउटै परिवारमा दाजुभाइ मिलेर बस्ने जस्तै हो । यसलाई मिलाएर लैजानुपर्छ । त्यो क्षमता गठबन्धनमा मैले देखेको छु । स्थानीय तहमा गठबन्धन हुँदा स्थानीय तह बलियो भएको छ ।

संघ र प्रदेशमा हुँदा पनि राज्यले पाउने आर्थिक तथा सामाजिक निकास पाउँछ । महिलाहरू जिम्मेवारीको नेतृत्वदायी पदमा आउनुपर्छ भन्ने हाम्रो माग पनि हो । प्रमुख पदमा महिलालाई दिनु हुँदैन भन्ने सोच छ भने त्यो कमीकमजोरी हो । गठबन्धन गर्दा पनि महिलाले प्राथमिकता पाउनु नै पर्छ । राजनीतिक नेतृत्व त्यसमा सचेत हुनुपर्छ । महिलाको अधिकार सुनिश्चित गरेर मात्रै गठबन्धन गरिनुपर्छ । नेताहरूले ३३ प्रतिशत महिला नेतृत्व स्थापित गराउन ध्यान दिनुपर्छ । महिलाको उम्मेदवारीमा नै नेतृत्वले ध्यान दिनुपर्छ ।

पुरुषले जरो गाडिसकेको हाम्रो जस्तो देश समाजमा धेरै नै संघर्ष हुन्छ । एकै पटक समस्या समाधान हुँदैन, जरो उखेल्न सकिँदैन । समाजलाई सकारात्मक सोचमा ल्याउन समय लाग्छ । महिला इच्छाशक्ति जागेर नेतृत्वमा आउँदै गरेको अधिवेशनबाट पनि देखिन्छ । समग्र सबै पार्टीमा ऊर्जाशील महिला नेतृत्वमा आउन थालेको पनि पाइन्छ । पुरुषवादी सोचले गर्दा दबाउनचाहि खोजिन्छ । तर दबिनु हुँदैन भनेर महिला सजग हुनुपर्छ । आफ्नो अधिकारलाई सुनिश्चित गर्न अगाडिचाहिँ बढिरहनुपर्छ ।

सीमान्तिकृत समुदायबाट बाहिर निस्कन अझै धेरै समस्या छ । दृढ इच्छाशक्ति र संकल्प भयो भने नेतृत्वमा पुग्न सकिन्छ । म अहिले त्यति छिट्टै नेतृत्वमा आइपुगेको होइन । मैले २०४६ साल देखि नै आफ्नो समुदायमा नेतृत्वको बीउ रोपेको थिएँ । म कति वर्ष निरन्तरत लाग्नु पर्‍यो । निडर हुँदा दबाब खेप्नु पर्‍यो, त्यसलाई चिर्दै अघि बढेको हो । निरन्तरता र आत्मबल बलियो भयो भने मात्र नेतृत्वमा पुग्न सकिन्छ । स्कुल लेभ देखि नै संघर्ष गर्दागर्दै यहाँसम्म आइपुगेकी हुँ ।

–कान्तिपुर कन्क्लेभ–२०२० अन्तर्गत ‘नेतृत्वमा महिला, अब पहिला’ सत्रमा झापाको गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीले व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : भाद्र ३१, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?