१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हाम्रा रैथाने संगीत हराउँछन् कि भन्ने चिन्ता छ

झुमा लिम्बू

हामी नेपाली संगीतमा कहाँ चुक्यौं ? सिर्जनशील संगीतमा अम्बर गुरुङलगायतबाट धेरै ठूला काम भए । तर मलाई संगीतको हाम्रो रैथाने रुट धरमराउने हो कि भन्ने चिन्ता लाग्छ ।

हाम्रा रैथाने संगीत हराउँछन् कि भन्ने चिन्ता छ

गीतमा भाषा हुन्छ । संसारभरिका जुनसुकै समुदायले बोल्ने भाषामा गीत संगीत छन् । संगीतको एउटा सिमाना भाषा हुन्छ जस्तो मलाई लाग्दैन । पछिल्लो पटक मैले रैथाने भनेर नामकरण गर्नु नै संगीतको भाषा हुँदैन भन्ने खोजेको हो । रैथाने नेपालमा मात्रै छैनन्, संसारभरि छन् । मैले पनि नेपाली रैथाने नेपाली मादल नै मात्र राख्नु पर्छ अथवा झ्याउरे, ढोल मात्रै राख्नु पर्छ भनेको भए धेरै जना सहमत नहुन सक्थे । संसारभरका रैथाने संगीतकर्मीका भाषा एकअर्कासँग मिल्छ, त्यही नै हो संगीतको भाषा ।

गीत गाउने मान्छेको सबैभन्दा ठूलो धर्म भनेकै भाषा जोगाउने हो । पछिल्लो समय नेपाली उच्चारण बिगारेर गीत गाउने चलन बढ्दो छ । नेपाली भाषा कि अंग्रेजीजस्तो सुनिन्छ कि हिन्दीजस्तो ।

हाम्रा बाजा यति धेरै छ, भाषा, संगीत यति धेरै छन् । संस्कार, संस्कृतिमा हामी यति धेरै छौं भनेर हामीले गफ गरेको बाहेक अरु अहिलेसम्म केही देखिएन । एकेडेमीबाट पनि केही काम हुन सकेको छैन । पछिल्लो समय केही सुरु भएजस्तो लाग्छ । विद्यार्थी रिसर्चका लागि गाउँ जान थालेका छन् । संसारभरिको संगीत सुनेपछि मात्र हाम्रो संगीतको स्थान कहाँ छ भन्ने थाहा हुन्छ । हामीले के–के काम गर्न बाँकी छ त्यो पनि त्यसपछि मात्रै थाहा हुन्छ ।

नेपालमा बाजा पनि थरिथरि छन् । नेपालमा जति जाति छन् त्यति नै भाषा छन् । त्यति नै संगीत र बाजा पनि छ । बाजा जातीय र क्षेत्रीय हिसाबले मात्र सीमित भएका छन् । नेवारीबाहेक अरु बाजा व्यावसायिक हुन सकेको छैन । नेवारी बाजा धेरै स्टेजमा भेटिन्छ । मादल पनि चलेको छ । विशेष गरी मगरहरूले चलाउने बाजा हो तर अहिले सबैले चलाउने भइसक्यो । नेवारी बाजा पनि कति छन् कति । अरु बाजा कति छन् कति । ती एक–एक बाजालाई ल्याएर म्युजियम/स्टुडियोमा राख्न–बजाउन आवश्यक छ ।

म एउटा उदाहरण दिन्छु लिम्बूको च्याब्रुङ बजाउनलाई बाजामा लामो एउटा सिन्का लगाएको हुन्छ तल । त्यसलाई ठीक्क मात्रै तन्काएर राख्नु पर्छ । धेरै तन्काए पनि थोरै तन्काए पनि त्यसको टोन बिग्रन्छ । त्यसलाई पानीले भिजाएर राख्नुपर्छ । पानीले भिजाएको आधा घण्टाभित्र सुकेर टोन चेन्ज हुन्छ । त्यो कुराहरुलाई कसरी व्यवस्थापन गर्ने त ? सबै नसके पनि नेपालको १२/१५ वटा समुदाय/ठाँउको बाजालाई व्यवस्थापन गर्‍यो भने मात्र पनि नेपाली संगीत कहाँ पुग्छ कहाँ जस्तो लाग्छ । फेस्टिभलमा जाँदा एउटा/एउटा काठबाट बनाएको यस्तो यस्तो बाजा लिएर आए अरु देशहरुबाट । हामीचाँहि देउसी भैलोजस्तो मात्रै भयो । बाजा नै पुगेन । हाम्रोमा यति साह्रै्र बिजोग छ । एकदमै धेरै काम गर्नुपर्ने छ । अहिले बाजाको म्युजियम पनि छ । राज्य र एकेडेमीबाट धेरै भन्दा धेरै अनुसन्धानका काम हुनपर्छ । एउटा व्यक्ति मात्रै तातिएर हुँदैन । सम्बन्धित निकायबाट गम्भीरतापूर्वक काम हुनुपर्छ । व्यक्तिले मात्र गरेर हुनेवाला केही छैन ।

हरेक कुराका राम्रो र नराम्रा पाटा हुन्छन् । प्रविधिले संगीतलाई बचाइदिएको पनि छ । कति भइरहेको सिजर्नशील मान्छेलाई अल्छि पनि बनाइदिएको छ । उदाहरणका लागि अहिले सारंगी धेरै अगाडि आइसक्यो । सांरगीले धेरै मान्छेलाई स्थापित गरायो । सारंगीबिना म त सायद स्टेजमा नै उत्रेको छैन होला । सारंगीका लागि हामी सबै जना लाग्यौँ । तीबाहेक पनि धेरै बाजा छन् ।

शैक्षिक प्रणालीमा संगीतका बारेमा विरलै छलफल हुन्छ । गन्धर्वहरू स्कुलमा आइसके । त्यस्तो खाले थुप्रै जातिमा संगीत छ बाजा छ । जोचाँहि आफ्नो समुदायभित्र धर्म वा आफ्नो संस्कारभन्दा बाहिर निस्कन सकेको छैन । त्यहाँ भित्रभित्र राम्रा संगीत छन् । र्‍यापको कुरा पनि धेरै भइरहेको छ । नेपालमा नयाँ ‘ट्रेन्ड’ आएर स्थापित भएको एउटा र्‍याप हो । त्यो अमेरिकाले स्थापित गर्‍यो, उसको टोनमा आयो र उसैको स्टाइलमा स्थापित भयो । तर त्यसरी नै भट्र्‍याएर भन्ने संस्कृति हाम्रोमा किन छैन र ?

हाम्रै लिम्बूका त्यो परम्परा छ नि । मान्छे मर्दा बर्खी गरिसकेपछि लास्टमा फराक्लो गर्ने चलन छ । त्योचाँहि एक्लै होइन समूहमा हुन्छ । एउटाले भट्र्‍याउँदै लग्छ अनि अरुले हो मा हो मिलाउँछ त्यो त्यही नै हो । जोगीले राति फेरी लाउने शैली पनि त्यही हो । त्यस्तै यस्तै अरु पनि कति छ कति । हाम्रोमा संगीतलाई संरक्षण गर्ने प्रणाली खै त ?

जोगीहरुले ७ वटा पोको मिलाएर घुम्ने एउटा जुन संस्कृति छ । उनीहरुले त्यो पोको बोक्न छोडेको दिन त्यो संस्कृति सकियो । लिम्बूहरूले पनि भाषा बोल्न/बुझ्न छाडेको दिन भट्याउन छाड्छन् । त्यो दिनबाट त्यो संस्कार सकियो । यस्तै गरी संस्कारहरु सकिरहेको छ । डरलाग्दो स्थिति आइसक्यो । हामीले देखेको सपनाअनुसार संगीतमा काम गर्न पाइन्छ कि पाइँदैन ?

-संगीतकार झुमा लिम्बूले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : भाद्र ३०, २०७९ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?