कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुई कृष्णको चुनावी लीला !

झापाका सिटौला र काठमाडौंका श्रेष्ठ दुवैको भागमा हार र जीतको ताज पनि बराबरै रहनु संयोग हो या लीला ?
ध्रुव सिम्खडा

काठमाडौँ — २०४८ सालयताका ७ वटा संसदीय निर्वाचनमा झापाका कृष्णप्रसाद सिटौला र काठमाडौंका कृष्णगोपाल श्रेष्ठलाई तिनका पार्टीले सातैपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनायो । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री सिटौलाले सातपटक संसद्को चुनाव उठे तर चारपटक हारे, तीनपटक जिते ।

दुई कृष्णको चुनावी लीला !

२०४८ वैशाख २९ गते सम्पन्न निर्वाचनमा झापा–१ बाट उम्मेदवार बनेका सिटौलालाई एमालेका द्रोणप्रसाद आचार्यले पराजित गरे । कार्यकाल पुरा नहुँदै २०५० सालमा क्यान्सरका कारण सांसद् आचार्यको निधन भएपछि रिक्त स्थानमा सोही वर्ष माघ २५ गते उपनिर्वाचन गरिएको थियो । त्यस निर्वाचनमा सिटौलाले एमालेका लीला उदासीलाई पराजित गरी ‘लालकिल्ला’ तोड्दै संसद्मा प्रवेश गरे । त्यसबेलासम्म उनी भट्टराई समूहका नेता मानिन्थे ।

२०५१ कात्तिक २९ गते सम्पन्न मध्यावधि निर्वाचनमा सिटौला झापा–३ बाट एमालेका पुष्प पोखरेलसित पराजित हुनपुगे । त्यसपछि २०५६ वैशाखमा भएको निर्वाचनमा झापा–३ बाट उनले एमाले उम्मेदवार नारायण राजनवंशीलाई पराजिति गरी संसद्मा प्रवेश गरे । र, पार्टीभित्र पनि आन्तरिक रुपमा उनले त्यसैबेलादेखि गुट परिवर्तन गरे । भट्टराईलाई छाडेर गिरिजाप्रसाद कोइरालातिर लस्के । फलस्वरुप, २०६२/६३ सालमा आइपुग्दा उनी गिरिजाप्रसाद कोइरालाको सबैभन्दा विश्वासपात्र बन्न सफल भए ।

२०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा उनलाई झापा–३ मा माओवादीका पूर्णप्रसाद राजवंशीले पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–३ मा उम्मेदवार बनेका उनले राप्रपाका राजेन्द्र लिङ्देनलाई जित्न सफल भए । २०७४ सालको संसदीय निर्वाचनमा भने उनलाई सोही क्षेत्रबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले नै पराजित गरिदिए । त्यसबेला लिङ्देनलाई एमालेसहित अन्य वामपन्थी दलहरूको पनि समर्थन थियो ।

एमाले नेता तथा पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि सातैपटक संसद्को चुनाव उठे । चारचोटी हारे, तीनचोटी जिते ।

२०४८ वैशाख २९ मा सम्पन्न निर्वाचनमा काठमाडौं–५ मा पार्टी महासचिव मदनकुमार भण्डारी नै उम्मेदवार बनेपछि उनले टिकट पाएनन् । महासचिव भण्डारीले काठमाडौं–१ र ५ दुवै क्षेत्रबाट चुनाव जिते । उनले क्षेत्र–५ छाडिदिएपछि रिक्त हुनपुगेको स्थानमा २०४८ माघ २६ गते भएको उपनिर्वाचनमा कृष्णगोपाल श्रेष्ठले मौका पाए र जिते पनि । त्यसबेला उनले कांग्रेसका तीर्थराम डंगोललाई पराजित गरेका थिए ।

२०५१ कात्तिक २९ मा सम्पन्न मध्यावधिमा उनले काठमाडौं–७ बाट कांग्रेसका नेता दामोदर गौतमलाई हराए भने २०५६ मा उनी कांग्रेसका तीर्थराम डंगोलसित पराजित हुनपुगे ।

२०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–९ बाट कांग्रेसका ध्यानगोविन्द रञ्जितसित पराजित भए । त्यस्तै, २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी पुनः कांग्रेसका रञ्जितसितै पराजित हुनपुगे । उक्त निर्वाचनमा एमाले नेता माधवकुमार नेपाल रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित भएका थिए । उनले छाडेको काठमाडौँ–२ को उपनिर्वाचनमा पुनः कृष्णगोपालले उम्मेदवार बन्ने मौका पाए पनि उनलाई कांग्रेसका दीपकप्रसाद कुइँकेलले पराजित गरिदिए ।

२०७४ सालमा सम्पन्न संसदीय निर्वाचनमा भने उनी वाम गठबन्धनका उम्मेदवार बनेकाले जित्ने सुनिश्चित थियो । काठमाडौँ–९ बाट उम्मेदवार बनेका कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गर्दै उनी निर्वाचित भए ।

सिटौलाले झापाको आफ्नो क्षेत्रभन्दा बाहिर गएर चुनाव उठेका छैनन् भने श्रेष्ठले आफ्नो क्षेत्र परिवर्तन गरेर पनि चुनाव उठेका छन् । २०७१ को उपनिर्वाचनमा उनी माधवकुमार नेपालले छाडेको काठमाडौं–२ बाट उम्मेदवार बनेका थिए तर पराजित भए ।

झापाका सिटौला र राजधानी काठमाडौंका श्रेष्ठ दुवैको भागमा हार र जितको ताज पनि बराबरै रहनु संयोग हो या लीला ? आगामी मंसिर ४ को चुनावमा यी दुईले प्रत्यक्ष चुनाव उठ्लान् कि नउठ्लान् त्यो भने अब एक महिनापछि थाहा हुनेछ ।

प्रकाशित : भाद्र २०, २०७९ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?