बीपीसँग भिन्न मत राख्ने नेता- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीसँग भिन्न मत राख्ने नेता

गिरिजाप्रसादसँग उहाँको सम्बन्ध राम्रो भएन । तर बीपीको रचनालाई संरक्षण, संकलन र प्रकाशन गरेर अरूभन्दा बढी कोइरालावादी पनि उहाँ नै देखिनुभएको छ । कोइरालाका बारेमा एउटा लाइन पनि नलेख्नेलाई कोइरालावादी भन्न मिल्दैन ।
नरहरि आचार्य

२०२६ सालतिर म तीनधारा संस्कृत छात्रावासमा बसेर पढ्थें । प्रदीपजी बनारसबाट आउनुभएको थियो । उहाँ छात्रावासमा आएर केही दिन लुकेर बस्नुभयो । ‘यी नेपाली कांग्रेसका ठूला नेता हुन्, बनारसमा थिए । अहिले यहाँ आएका हुन्’ भनेर उहाँलाई चिनाइएको थियो । म १६ वर्षको भएकाले अहिले सबै कुरा याद भएन । संस्कृत छात्रावासमा आफैंले मेसबाट भात ल्याएर खानुहुन्थ्यो । त्यसपछि प्रवचन दिनुहुन्थ्यो ।

प्रवचन दर्शन, पार्टी, राजनीति र कम्युनिस्टका विषयमा हुन्थे । छात्रावासमा मभन्दा ठूला सिद्धराज ओझा, चिरञ्जीवी वाग्ले हुनुहुन्थ्यो । प्रदीपजी सिद्धराज ओझाकै कोठामा बस्नुभए जस्तो लाग्छ । हामी पनि त्यहाँ जान्थ्यौं । त्यतिबेला सबै कुरा बुझ्दिनथें । नबुझे पनि यी राम्रो बोल्ने नेता रहेछन् भन्ने परेको थियो । पहिलो भेटमै उहाँको प्रवचनबाट म प्रभावित भएको हुँ ।

त्यति बेला म छात्र कार्यसमितिको सदस्य थिएँ । मेरो विभागको जिम्मेवारी पत्रिका ल्याउने थियो । न्युरोडबाट पत्रिका ल्याउँथें । पत्रिका बेलुका आउँथ्यो । मलाई पत्रिका मन्त्री भन्थे । कार्यसमितिमा सभापति, उपसभापति, सचिव पनि हुन्थे । सभापतिको विभाग थिएन । सात जना मन्त्री थिए । पत्रिका, शिक्षा, खेलकुद, खाद्यमन्त्री यस्तै हुन्थे । महत्त्वपूर्ण खाद्यमन्त्री थियो । खाद्य क्षेत्रमा फुल र सहायक मन्त्री नै हुन्थे ।

२०२७ सालतिर प्रदीपजी पक्राउ पर्नुभयो । उहाँ नख्खु जेलमा रहेका बेला म साथीसहित भेट्न गएँ । नख्खु जान अरू साधन थिएन । साइकल भाडामा लिएर गयौं । प्रदीपजीले किताब मगाउनुभएको थियो । संस्कृत साहित्यको इतिहास मैले लगिदिएको थिएँ । नख्खुबाट निस्केपछि उहाँ बनारस जानुभयो । म यता पढ्न थालें । पछि विभिन्न अवस्थामा भेट भयो । ०३६ सालतिर उहाँ सिरहाको बस्तीपुरस्थित घर आउनु भएको थियो । उहाँका लेखहरूको सँगालो पुस्तकमा मैले र पार्टीसँग सम्बन्धित मेरो पुस्तकमा उहाँले भूमिका लेखेका थियौं ।

०४८ सालको आम निर्वाचनमा उहाँले टिकट पाउनु भएन । २०५१ सालमा उहाँ सिरहाबाट निर्वाचित भएर संसद् छिर्नुभयो । त्यसपछि विभिन्न समयमा सांसद भइराख्नुभयो । तर कहिल्यै सत्तामा जाने र जिम्मेवारी बोक्ने काममा अघि बढ्नुभएन । ‘तपाईं हामीजस्ता मान्छेले यी खाँदा पनि राजनीति, सुत्दा पनि राजनीति गर्ने मान्छेसँग प्रतिस्पर्धा गर्न सकिन्न’ भन्नुहुन्थ्यो ।

०६२ सालमा पार्टीको एघारौं महाधिवेशनमा मैले गिरिजाप्रसाद कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गरेको थिएँ । प्रदीपजी शेरबहादुर नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) मा हुनुहुन्थ्यो । उहाँ कांग्रेस (प्रजातान्त्रिक) तिर भए पनि सम्पर्क र कुराकानी भइरहन्थ्यो । वैचारिक कारणले हामीबीच घनिष्टता बढेको थियो । मेरै नेतृत्वमा सुरु भएको त्यतिबेलाको गणराज्य अभियानमा समेत प्रदीपजीको समर्थन थियो । उहाँ गणतन्त्र ल्याउनै पर्ने स्थिति छ भन्नुहुन्थ्यो । त्यतिबेला हाम्रो अभियानमा प्रजातान्त्रिक कांग्रेसबाट वैचारिक समर्थन दिने उहाँ नै हुनुहुन्थ्यो । आत्मीय सम्बन्ध भएकाले यता र उताको कांग्रेस भन्ने हामीबीच थिएन । पछि पार्टी एकता भयो । एकतापछिको बाह्रौं महाधिवेशनमा हामीबीच अन्तर्क्रिया बढ्यो ।

पहिलो संविधानसभा निर्वाचनपछि हामीबीच धेरै कुराकानी भयो । लेखन आदानप्रदान भयो । त्यतिबेला उहाँ संविधानसभा सदस्य हुनुहुन्थ्यो । संविधानका कतिपय मुद्दा, खासगरी शासकीय स्वरूपमा उहाँले हाम्रो विचारलाई अघि बढाउनुभएको थियो । उहाँ शासकीय स्वरूपसम्बन्धी समितिमा हुनुहुन्थ्यो । समितिले मलाई बोलाएर शासकीय स्वरूपबारे धारणा सोधेको थियो । हामीले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने प्रस्ताव राखेका थियौं । पछि प्रदीपजीले समितिमा यहीं प्रस्तावलाई अघि सार्नुभयो ।

प्रदीपजी आफूले विभिन्न किताब पढ्ने, अरूलाई किताब दिने गर्नुहुन्थ्यो । मलाई पनि थुप्रै किताब दिनुभएको छ । फिर्ता गर्नु नपर्ने गरी ती किताब दिनुभएको हो । पढेका किताब सम्झिने, आवश्यक परेका बेला पेज नम्बरसमेत भन्न सक्ने स्मरण शक्ति भएको अद्भुत क्षमताको हुनुहुन्थ्यो ।

राजनीतिमा उहाँ संसद् सदस्य त पटकपटक हुनुभयो । संसद् सदस्यमा उहाँको अभिरुचि पनि थियो । तर, सत्तामा जाने इच्छा थिएन । कतिपय मान्छेले यसलाई उहाँको क्षमता नै नभएको भनेर प्रतिक्रिया दिन्छन । तर, क्षमता नभएका कति मान्छे सत्तामा पुगेका छन् । उहाँमा क्षमता नभएको होइन । आफ्नो योग्यता केमा देखाउन सकिन्छ भन्ने उहाँलाई राम्रोसँग थाहा थियो । सत्तामा नगएर संसद्मै बोल्दा सबैले ध्यानपूर्वक सुन्छन्, संसद्बाटै योगदान दिन सकिन्छ भन्ने उहाँलाई लागेको हुनुपर्छ । तर, यो विषय कहिल्यै सेयर गर्नुभएन । संसद् सदस्यभन्दा अरू जिम्मेवारी लिन कहिल्यै चाहनुभएन । संसदीय समितिमा पनि सभापति हुने इच्छा राख्नु भएन । सदस्य भने जहाँ पनि हुनुभयो । आफ्नो कुरा राख्न सदस्य हुनुभएको हो । आफ्नो कुराबाट जति प्रभाव पार्नुहुन्थ्यो, त्यसैमा उहाँ सन्तुष्ट हुनुहुन्थ्यो । प्रश्न गर्ने ठाउँमा जहिल्यै हुनुभयो । त्यसमा पुग्नका लागि कोसिस पनि गरिरहनुभयो । त्यसभन्दा अतिरिक्त उहाँले विशेष जिम्मेवारी लिन चाहनुभएन । सत्ता राजनीतिमा जाँदा प्रभावकारी हुन सक्दिनँ भन्ने लागेको हुन सक्छ ।

प्रदीपजीले संसद्मा उठेर बोल्नासाथ कांग्रेसका त सबै चुप हुन्थे, एमाले र पछि संसद्मा आएका माओवादीसमेत गम्भीर भएर सुन्थे । माओवादीसँग उहाँको संवाद अप्ठ्यारो चरण (भूमिगत अवस्थामा) मा समेत भएको देखिन्छ । उहाँ धेरैजसो भारतमा बस्नुभयो । माओवादीका नेताहरूले शरण लिएको ठाउँ पनि भारत नै थियो । त्यसैले माओवादी नेताहरूसँग राम्रो संवाद थियो । आन्तरिक कुराका लागि प्रदीपजीसँग कुरा गर्न माओवादीका नेताहरू पनि उत्सुक हुन्थे ।

एकप्रकारले उहाँ ससाना व्यावहारिक कुरा गर्नुहुन्थ्यो तर विस्तारै अत्यन्त दार्शनिक कुरा गर्नुहुन्थ्यो । उहाँले बारम्बार ‘मेरो इच्छाले आएको होइन, मर्ने पनि मेरो इच्छाले हुँदैन, जसरी संयोगले आए, त्यसैगरी संयोगले मर्छु’ भन्नुहुन्थ्यो । सुन्दा सामान्य लागे पनि यो कुरा एकदमै गहिरो छ, सबैको जीवनमा ।

हामीले भन्दा उहाँले बोलेपछि राजनीतिमा एकखाले तरंग सिर्जना हुन्थ्यो, पार्टी/संसद् सबैतिर । उहाँले बोल्दा हामीलाई सजिलो हुन्छ कि भनेर शेरबहादुरजीहरूसमेत पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रतीक्षा नै गरेर बस्नुहुन्थ्यो । नेतालाई साह्रै अप्ठ्यारो पारेर पनि बोल्नुहुन्थेन । तर, जे बोल्नुहुन्थ्यो, गहिरो दर्शन हुन्थ्यो । सबैले गम्भीर भएर सुन्थे ।

कृष्णप्रसाद भट्टराईले एक पटक चुनावी प्रचारमा सिरहामा जाँदा प्रदीपजीलाई जिताउनुहोस्, म शिक्षामन्त्री बनाइदिन्छु भन्नुभएको थियो । पछि पत्रपत्रिकामा उहाँले ‘यिनले अर्थशास्त्र जानेका छन्, अर्थमन्त्री बनाइदिन्छु’ भनेको पढेको थिएँ । किसनुजी प्रचारमा अन्त धेरै जानुभएन तर प्रदीपजीको निर्वाचन क्षेत्रमा जानुहुन्थ्यो । किसनुजीसँग उहाँ वैचारिक धारणागत र कार्यशैलीगत रूपमा समेत नजिक हुनुहुन्थ्यो । किसुनजी १८ वर्ष पार्टीको सभापति हुनुभयो । ०४७ सालमा अन्तरिम र ०५६ मा निर्वाचित निर्वाचित प्रधानमन्त्री हुनुभयो । उहाँलाई सन्त पुरुष भनिए पनि सबै जिम्मेवारी लिनुभयो । जिम्मेवारी वहन गर्दा दागबाट अछूतो रहनुभयो । तर प्रदीपजीले जिम्मेवारी लिनुभएन । संसद्को चुनाव लड्नुभयो । चुनाव लड्नासाथ कार्यकर्ताको व्यवस्थापन गर्नुपर्‍यो । उहाँमा आश्रित तीन सय कार्यकर्ता छन् भनेर मान्छेहरूले सुनाउँथे । तिनीहरूको सबै व्यवस्थापन उहाँले गर्नुहुन्थ्यो भन्ने त होइन । तर केही न केही गर्नुहुन्थ्यो पक्कै । त्यो गर्न सक्ने सामर्थ्य र क्षमता चुनाव लडेकैले पाउनुभएको हो ।

प्रदीपजीको जीवनमा महात्मा गान्धीको गहिरो प्रभाव थियो । उहाँ बीपीको विचारबाट प्रभावित हुनुहुन्थ्यो । तर, बीपीसँग भिन्न मत राख्ने क्षमतासमेत उहाँमा थियो । बनारसमा हुँदा बीपीका सबै कुरामा उत्तिकै अधिकार राख्नुहुन्थ्यो, कोठामा, किताबमा, यताउति चिजबिजमा पनि । त्यहाँ प्रदीपजीभन्दा ठूला नेता थिए । कनिष्ठ भए पनि बीपीसँग धक खोलेर कुरा राख्नुहुन्थ्यो । कहिलेकाहीं बीपीसँग टकरावसमेत हुने गर्थ्यो । त्यो टकराव वैचारिक कारणले हुने होला । बीपीसँग टक्कर लिने मान्छे भनेर पनि प्रदीपजीलाई चिन्थे ।

प्रदीपजीले बीपीले जसरी जिम्मेवारी लिनुभएन, आफ्नो परिवार पनि बनाउनुभएन । खुला रूपमा बोल्ने, अरूलाई प्रेरणा दिने काम गर्नुभयो । पार्टी र संसद्मा उहाँ जहिल्यै प्रतिपक्ष देखिनुहुन्थ्यो । कुनै जिम्मेवारी नलिएको मान्छेले सरकारको प्रशंसक बनेर बोल्दा राम्रो हुन्न भन्ने उहाँलाई थाहा थियो । सरकारको आलोचना गरी–गरी समर्थन गर्नुहुन्थ्यो । उहाँको वक्तव्यको सारमा सरकारलाई समर्थन हुन्थ्यो र भनाइमा सरकारको आलोचना सुनिन्थ्यो । विपक्षी दंग पर्थे । उहाँको विचार गम्भीरतापूर्वक सुन्थे ।

उहाँ पार्टी र गुटको पनि हुनुभयो । गुटको हित चाहनुहुन्थ्यो होला, तर कमजोरीका बारेमा पनि बताइदिन सक्ने हिम्मत उहाँमा थियो । सत्तामा लुब्ध नभएपछि हिम्मत बढ्ने रहेछ । पार्टीले उहाँको वैचारिक लाभ पायो, यसले कांग्रेसको कीर्ति बढाएको छ । अर्को, उहाँलाई बोल्न धेरै स्वतन्त्रता रहनुका पछि कांग्रेसको सदस्य हुनु पनि हो ।

नेताहरूको प्रवृत्तिलाई जतिसुकै आलोचना गरे पनि कांग्रेसको क्षति र क्षय हुने गरी कहिल्यै प्रस्तुत हुनुभएन । नेताहरूको क्षय भयो होला, तर कांग्रेस र संगठनको भएन । विचारको हिसाबले प्रदीपजी साझा नेता बन्नुभयो । के बोल्दा सबै खुसी हुन्छन् भनेर कहिल्यै बोल्नुभएन । उहाँको वक्तव्य उपल्लो तहको हुन्थ्यो । पार्टीगतभन्दा समष्टीगत सम्बोधन हुन्थ्यो । कसैलाई खुसी पार्ने पनि बोल्नुभयो होला, तर कहिल्यै त्यस्तो देखिएन । प्रदीपजी जस्तो गहिरो अध्ययन भएको मान्छे समकालीन राजनीतिमा अरू कुनै पार्टीमा छैनन् । कांग्रेसमा त झनै छैन । उहाँका नखुलेका पाटाहरू अरू पनि हुन सक्छन् । तर ती सुनिएका छैनन् । आत्मकथा लेखेर राखेको छु भन्नुहुन्थ्यो । उहाँका बारेमा नआएका पाटाहरू त्यही आत्मकथामा आउलान् । व्यक्तिगत जीवन, त्यसमा भएका लगाव, व्यक्तिगत जीवनमा भएका शत्रुता तथा मित्रता के कस्ता छन्, आत्मकथामा पक्कै आउला ।

पछिल्लो पटक उहाँ कांग्रेस र शेरबहादुरजीकै गुटमा रहनुभयो । कतिपयले शेरबहादुरजी र प्रदीपजीको चरित्र नै मिल्दैन, कसरी त्यहाँ टिक्नुभएको छ पनि भन्छन् । शेरबहादुर देउवा उमेरको हिसाबले साथी पनि हुनुभयो । दोस्रो, कोइराला परिवारसँग पहिल्यैदेखि उहाँको टकराव थियो । उहाँमा किसनुजीको व्यक्तित्वले पारेको प्रभावले पनि त्यसलाई भरथेग गर्‍यो । जीवनमा मान्छेलाई एउटै कुराले मात्रै अघि बढाउँदैन । धेरै कुरा जोडिन्छन् । उहाँको सम्बन्ध गिरिजाप्रसादसँग राम्रो भएन । तर बीपीको रचनालाई संरक्षण, संकलन र प्रकाशन गरेर अरूभन्दा बढी कोइरालावादी पनि उहाँ नै देखिनुभएको छ । कोइरालाका बारेमा एउटा लाइन पनि नलेख्नेलाई कोइरालावादी भन्न मिल्दैन ।

प्रदीपजीमा गान्धीको गहिरो प्रभाव पर्नुका पछि केही कारण छन् । बीपीलाई पनि कसै–कसैले गान्धीवादी भन्थे । तर, बीपीकै पालामा कांग्रेसले तीन पटक हतियार उठायो । दुई पटक आफ्नै नेतृत्वमा सशस्त्र आन्दोलन भएको छ । पहिलोपल्ट बीपी र मातृकाको नेतृत्वमा २००७ सालमा हतियार उठाइएको थियो । एक पटक सुवर्णशमशेर र अर्को एक पटक आफ्नै नेतृत्वमा हतियार उठाएको थियो । २००७ सालमा सफलता मिल्यो । दुइटा सशस्त्र आन्दोलनले सफलता पाउन सकेनन् । २०१८ सालमा सुवर्णशमशेरको नेतृत्वमा भएको हतियार बन्द आन्दोलनमा प्रदीपजीले समर्थन गरेको देखिएन । हुन त विरोध गरेको पनि पाइन्न । ओखलढुंगालगायत अदालतमा बीपीविरुद्ध परेका सातवटै मुद्दाका काण्ड जोडिएको २०२८ सालको हतियार बन्द आन्दोलनमा प्रदीप गिरी कतै हुनुहुन्थेन । त्यसैले उहाँलाई गान्धीवादी नेता भनिएको हो जस्तो लाग्छ ।

प्रदीपजी जहिल्यै पार्टीभित्र खास गरेर कांग्रेसभित्र लोकतन्त्र ल्याउनैपर्छ भन्नुहुन्थ्यो । आन्तरिक लोकतन्त्र रहँदासम्म मुलुकमा लोकतन्त्रमाथि तानाशाही हावी हुन सक्दैन भन्नुहुन्थ्यो । पार्टीभित्र राष्ट्रिय मुद्दामा बहस–छलफल गर्ने र नयाँ विचार उत्पादन गर्ने अभियानलाई बढाउनैपर्छ भन्नुहुन्थ्यो । खासमा उहाँ विचार उत्पादन गर्ने विशिष्ट नेता हुनुहुन्थ्यो ।

(संवादमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदीप गिरीको आश्रम

उहाँ जहिले पनि जनतामा आत्मविश्वास नआउन्जेल, यो सरकार राज्य हाम्रो हो भन्ने बोध नहुन्जेल व्यवस्थामा परिवर्तन आउँदैन भन्नुहुन्थ्यो
कुमुद रञ्जन बराल

कुमुद रञ्जन बराल — मेरो घरदेखि प्रदीप दाजुको एक घर छाडेर उत्तरपट्टि थियो । बस्तीपुर हाईस्कुलबाट उहाँले २०१८ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो भने मैले २०२३ मा पास गरें । बाल्यकालमा उहाँसँग त्यत्ति नजिक हुन पाएनौं । बरु उहाँका भाइहरू लक्ष्मण, शेखर मेरा बाल्यकालका साथी थिए । एसएलसीपछि बनारस पढ्न जानुभयो ।

धेरै वर्षपछि २०३६ सालमा बस्तीपुर हाईस्कुलको प्रांगणमा पहिलो पटक भेट भएको हो । त्यतिखेर उहाँ निर्दल र बहुदलको जनमत संग्रहताका बहुदलको पक्षमा प्रचारप्रसारसँगै संगठनको हिसाबले आफ्नो जन्मस्थान बस्तीपुर आउनुभएको थियो । भेटका क्रममा मसँग गोविन्दपुरको क्याम्पसका विद्यार्थी राजकुमार राउत, सुमन बराल, शिवनारायण साह, रामपरीक्षण महतो र सुभाष गिरी थिए । युवाहरूलाई संगठित गर्ने र प्रचारप्रसार काममा लगाउनुभयो ।

त्यतिखेर उहाँको जन्मथलो बस्तीपुरलाई नै आन्दोलनको केन्द्रस्थल बनाउनुभएको थियो । युवाहरू एकत्रित भए । बहुदलको पक्षमा जनलहर तयार भयो । राजकुमार राउत, गंगाबहादुर राउत, कृष्णबहादुर थापा, सूर्यनारायण यादव, शेखर रेग्मी, वासुदेव यादव, रामजतन यादव, खड्गनारायण चौधरी, राजेन्द्र चौधरी, भरतकान्त अर्याल, शीतल यादव, रामकुमार यादवलगायतले उहाँको नेतृत्वमा अग्रणी भूमिका खेलेका थिए ।

जनमत संग्रहको प्रचारप्रसारमा बहुदलवादीहरूलाई धेरै प्रताडना, उत्पीडन, दुःख दिने, मुद्दा लगाउने तत्कालीन पञ्चायत व्यवस्थाका प्रशासकहरूले गरेका थिए । पञ्चायती सरकारको निर्देशनमा स्थानीय प्रशासनले प्रदीप गिरी, सुदीप पाठक, सुभाष गिरी, राजकुमार राउत, टीकाबहादुर राउतलगायतलाई सिरहा जिल्ला प्रहरीमा १३ दिनसम्म थुनेको थियो । लाठीचार्जका क्रममा प्रदीप गिरीका भाइ कमलेशको हातको औंला भाँच्चिएको थियो । दाजुका कारणले भाइ शेखर गिरीको तत्कालीन समयको प्रधानपञ्च पद बर्खास्तीमा परेको थियो । त्यतिखेर शेखरलाई बहुदलवादी पञ्च भनेर निर्दलवादीले अपमान गर्थे ।

२०४० सालपछि प्रदीप दाइको बसाइ काठमाडौंमै बाक्लियो । केही बौद्धिक, प्राज्ञिक काम गर्न थाल्नुभयो । २०४२ सालको सत्याग्रहमा उहाँको नेतृत्वमा कांग्रेसको राजनीतिक अंगका रूपमा प्रसयुद (प्रजातान्त्रिक समाजवादी युवा दल) बाट काठमाडौंको इन्द्रचोकबाट प्रदीप गिरी, वीरेन्द्रभक्त श्रेष्ठ, मुकुन्द गौतम, शैलेश आचार्य, राजकुमार राउत, सुदीप पाठक र सिरहामा टोपेन्द्रराज रेग्मी, पदमबहादुर थापा, केदार गौतम, रामदयाल यादव, रामजतन यादवले गिरफ्तारी दिएका थिए ।

२०४३ सालदेखि मेरो प्रदीप दाजुसँग बसाइ नियमित भयो । २०४८/४९ सालतिर आश्रमको सुरुवात भयो । जमिनको नापजोख सुरु भयो, कहाँ मूल घर बनाउने, कहाँ के बनाउने योजना बनायौं । त्यतिखेर जुगेश्वर यादव, गंगाबहादुर राउत, अर्जुन गिरी, सुरेश गिरी, सुमन बराल, गोविन्द यादव, रामप्रसाद, राजकुमार साह, श्यामसुन्दर तातीलगायतको सहयोगबाट वृक्षरोपण गर्‍यौं ।

आश्रमको जग्गा प्रदीप गिरीको मूलथलो बस्तीपुरबाट झन्डै एक किलोमिटर दूरीमा अवस्थित छ । पर्ती रहेको जग्गामा भदैया, पिडरबनी, बस्तीपुर, लक्ष्मीनियाँतिरका बस्तुभाउको चरनस्थल थियो । वृक्षरोपण गरिसकेपछि आश्रमले मूर्तरूप लियो ।

वृक्षरोपणपछि आश्रममा जस्ताले छाएको तीन कोठाको पहिलो घर निर्माण भयो । त्यहाँ एउटा कोठामा पुस्तकालय राखियो । त्यही घरमा किसुनजी आएर धेरै दिनसम्म बस्नुभयो । पछि घेराबेरा हुँदै जस्ताका केही घर निर्माण भए । आश्रमको रूप लिन थालेपछि मित्र सेवा आश्रम र गान्धी आश्रमसमेत भनिन थालियो ।

हरेक पटक आश्रम आउँदा प्रदीप दाजु जनजीविकाका सवालका बारेमा चिन्तन गर्नुहुन्थ्यो । बौद्धिक र राजनीतिक गफ हुन्थे । बौद्धिकताबारेमा उहाँ पृथक् धारणा राख्नुहुन्थ्यो । उहाँ सधैं भन्ने गर्नुहुन्थ्यो, ‘किताब पढ्ने, युनिभर्सिटीमा बस्ने, लेख लेख्नेलाई बौद्धिकताको एक मात्र परिचय मैले मान्ने गरेको छैन ।’ बौद्धिकतासँगै जोडेर निरक्षर मान्छेहरूलाई धेरै कुरामा खेतीपातीका सम्बन्धमा, पशुपालन, सामान्य गाउँको रोगव्यथाका बारेमा गाउँघरका वृद्धवृद्धामा सहज बुद्धि (कमन सेन्स) लाई जागृत गर्नुलाई बौद्धिकतामा जोड्नु हुन्थ्यो । उहाँ जहिले पनि जनतामा आत्मविश्वास नआउन्जेल, यो सरकार, राज्य हाम्रो हो भन्ने बोध नहुन्जेल व्यवस्थामा परिवर्तन आउँदैन भन्नुहुन्थ्यो ।

उदारवादी प्रजातन्त्र अत्यन्त खराब व्यवस्था हो तर योबाहेकका व्यवस्था झन् खराब छ, जसलाई हामी कम्युनिजम, फाँसिजम भन्छौं भन्नुहुन्थ्यो । उर्दू कविको हरफ सुनाउँदै प्रदीप दाइले सुनाउनुहुन्थ्यो, ‘जमुरियत कहते हैं ऐसी हुकुमत को इन्सान के बन्दे गिने तो जाते है तौले नही जाते ।’

उर्दूमा प्रजातन्त्रलाई ‘जमुरियत’ भनिन्छ । लोकतान्त्रिक व्यवस्थालाई टाउको गन्ने व्यवस्था भन्ने गरिन्छ । यस व्यवस्थामा मान्छेलाई गनिन्छ, तौलिने काम हुँदैन । मान्छेको त्याग, तपस्या, करुणा कति छ भनेर तौलिनुपर्ने हो । उहाँको तर्क हुन्थ्यो, मान्छेको विशेषता र महानता बौद्धिक ज्ञानबाट मात्र हुँदैन, साहस, करुणा छ कि छैन परदुःख काँतरता (अरूको दुःखप्रति संवेदना छ कि छैन) भन्ने हेरिँदैन, आदर्श व्यवस्था कहिले आउँछ भन्नेमा बहस जारी छ भन्नुहुन्थ्यो । राज्य सत्तामाथि उहाँको जहिल्यै विरोध रहन्थ्यो ।

राजनीतिकबाहेक उहाँ कृषि–फसलका बारेमा, किसानका बारेमा चिन्ता लिनुहुन्थ्यो । सिरहाको उत्तरवर्ती क्षेत्रमा सिँचाइको चरम अभाव छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा अराजकता छ । गरिबीमा सिरहा ६४ औं जिल्लामा पर्दछ । गाउँ–गाउँ घुम्न जाँदाखेरि जहाँ पनि ‘यहाँ बाँध हालिदिनुपर्‍यो, बिजुली, यहाँ ट्रान्सफर्मर लगाइदिनुपर्‍यो’ भनेको सुनाउनुहुन्थ्यो ।

धन प्रदर्शन र शक्ति प्रदर्शनले नेताहरू प्रभावित भएको भन्दै सधैं चिन्तित बन्नुहुन्थ्यो । आश्रममा भेटघाटसँगै राजनीति गसिप धेरै चल्थ्यो । आश्रम चिन्तन चौतारी नै थियो ।

(भरत जर्घामगरसँग संवादमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×