विचार जगाउने जोगी- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विचार जगाउने जोगी

सत्ताको भोक उहाँमा थिएन तर संसद् र पार्टीको मञ्च चाहिन्छ भन्नुहुन्थ्यो, संसद् आम जनतासँग जोडिएको छ भन्नुहुन्थ्यो, जनता र पार्टीसँग जोडिन पार्टीको केन्द्रीय कार्यसमितिमा बसेको भन्नुहुन्थ्यो
दुर्गा सुवेदी

सिरहाको हाईस्कुलमा छँदैदेखि म प्रदीपजीलाई चिन्छु । उहाँका पिता मित्रलालले त्यहाँ स्कुल खोल्नुभएको थियो । धेरै विद्यार्थी पढ्न जान्थे । त्यस क्षेत्रमा रहेका एसएलसीका तीन/चार वटा सेन्टरमध्ये एउटा सिरहामा थियो । पहाडतिर पढ्नेहरूले पनि त्यहाँ गएर परीक्षा दिन्थे । धनकुटाको एउटा भाइलाई ‘ट्रान्सफर’ गरेर त्यही स्कुलमा सेन्टर राख्न म गएको थिएँ । मैले पहिलो पटक प्रदीपजीलाई भेटेको त्यतिबेलै हो ।

पहिलो भेटमै हामीबीच धेरै कुराकानी भयो । गीता र महाभारतका विषयमा लामो कुराकानी भयो । उमेरले म केही महिना मात्र कान्छो थिएँ । पहिलो पटक भेट हुँदा हामी १६/१७ वर्षका थियौं । प्रदीपजीमा त्यतिबेलै महाभारतको गहिरो अध्ययन रहेछ । पूर्वीय साहित्य, संस्कृतिमा त्यति नै राम्रो दक्खल थियो । पहिलो भेटमै उहाँको विलक्षण प्रतिभाबाट म प्रभावित भएँ । अरू मानिसले धेरैपछि थाहा पाएका हुन् । त्यसपछि हामीबीच समीपता बढ्यो । उहाँले ‘म पनि विराटनगर आउँला, तपाईं पनि आइराख्नुहोस्’ भन्नुभयो ।

म आईए पढ्न बनारस जाँदा उहाँसँगै हिँड्न, बस्न थालें । त्यतिबेला नेपालमा भर्खरै विद्यार्थी आन्दोलन सुरु हुँदै थियो । प्रदीपजी बनारसको छात्र संघमा आबद्ध हुनुहुन्थ्यो । म नेविसंघमा थिए । बनारसमा छात्र संघमा छँदा उहाँको प्रभाव अहिले पनि मलाई सम्झना छ । उहाँ नेविसंघ र प्रजातन्त्र तथा भारतको स्वतन्त्रताका बारेमा घण्टौं प्रवचन दिनुहुन्थ्यो । जुनसुकै विषयको उत्सुकता मेट्नुहुन्थ्यो । हरेक प्रश्नको जवाफ दिने उहाँको बानी थियो । दिनभरि कुरा गर्न पाएको बेला उहाँ भित्रैदेखि आनन्दित हुनुहुन्थ्यो । प्रश्न सोध्नेलाई पनि अरू सोध भन्ने र सोधिएका प्रश्नको व्याख्यासहित सन्तुष्ट पार्ने बानी थियो । पढ्दा र प्रवचन दिँदा कतिपय बेला त खाना खानै बिर्सनुहुन्थ्यो । प्रायः १/२ बजे बल्ल खाना खानुहुन्थ्यो । उहाँसँग २०२० सालदेखि नै निरन्तर संगत रह्यो ।

२०५१ सालमा मैले गिरिजाप्रसादविरुद्ध मोरङमा उम्मेदवारी दिएको थिएँ । प्रदीपजीलाई नोना आमाले चुनावमा सहयोग २५ हजार रुपैयाँ दिनुभएछ ।त्यसबाट १२हजार रुपैयाँ मलाई दिनुभयो । गिरिजाप्रसादको बागी उम्मेदवारलाई पार्टीकै पैसा दिएको भनेर हल्लीखल्ली भयो । तर, कारबाही गर्ने आँट भएन ।

प्रदीपजीको जीवनको उत्कट लक्ष्य नै अध्ययन थियो । हामी पढ्नेलेख्ने आदत भएकाले सत्ता सञ्चालन गर्ने होइन, जनतालाई सुसूचित गर्ने, प्रजातन्त्रका बारेमा बताउने, पद्धति बसाल्ने, विकासका बारेमा बताउने हो भन्नुहुन्थ्यो । सत्तालाई कहिल्यै लक्ष्य बनाउनु भएन । भित्र (सत्तामा) बस्ने मानिस राम्रो बनाउन पहिला जमिन राम्रो बनाउनुपर्छ भन्ने सोचाइ थियो ।

बीपी प्रवासमा हुनुहुन्थ्यो । बीपीसँग उहाँको सामीप्य वैचारिक कारणले बढेको थियो । उहाँकै संगतबाट मैले पनि पहिलोपल्ट बीपीलाई भेटेको हो । प्रदीपजी बीपीलाई के–के पढ्नुभयो भनेर सोध्नुहुन्थ्यो । किताब पनि दिनुहुन्थ्यो । पछि बीपीलाई भेट्दा उहाँले ‘तिमी प्रदीपजीलाई भेट्दै छौ ? एकदम राम्रो मान्छे हुन्, विद्वान् छन्’ भन्नुभयो । बीपी पनि चिन्तनमनन गर्ने मान्छेलाई बढी मन पराउनुहुन्थ्यो । पार्टी र साहित्यका विषयमा बीपी र प्रदीपबीच घण्टौं छलफल हुन्थ्यो । विचार मन्थन हुन्थ्यो । बीपीका कतिपय विचारप्रति प्रदीपजी फरक मत राख्नुहुन्थ्यो । त्यसलाई लिएर बीपी भन्नुहुन्थ्यो– ‘प्रजातन्त्रमा फरक मत पनि राख्नुपर्छ । फरक मतले नयाँ विचार जन्माउँछ । असहमतिमा नयाँ कुरा हुन्छ, सहमति भनेको परम्परागत हुन्छ ।’

पछि कोइराला परिवारसँग सम्बन्ध टाढिएको जस्तो देखियो । बीपीले सशस्त्र आन्दोलन सुरु गर्दा अनेक थरीका मान्छे आउँथे । आफूले गरेका गल्ती अरू कसैको टाउकामा हालेर आफू जिम्मेवारीबाट पन्छिने प्रवृति कोइराला परिवारमा सुरु भयो । त्यस्तो प्रवृत्तिका विषयमा पार्टी सञ्जालमार्फत देशभर प्रचार भयो । त्यसलाई प्रदीपजीले मन पराउनुभएन । उहाँ आफ्नो विचारप्रति दृढ र गम्भीर हुनुहुन्थ्यो । केही दिनअघि अस्पतालमा गएर भेट्दा पनि प्रदीपजीले आफू जाँदै छु भन्ने आभास खुसी मनका साथ दिनुभएको थियो । ‘हामी आफैंले चाहेर आएका होइनौं दुर्गाजी, आफूले चाहेर जाने पनि होइन । यो त हाम्रो इच्छामा छैन । को अघि, को पछि भन्ने मात्रै हो’ भन्नुभएको थियो । भेटमा सुशीलाजी (सुशीला कार्की) पनि सँगै हुनुहुन्थ्यो । ‘पुस्तकमा बनारसमा भेटेको, सहयोगको कुरा गरिछ्यौ’ भनेर सुशीलाजीलाई धन्यवाद पनि दिनुभयो ।

मेरो पुस्तक सम्पादनका क्रममा प्रदीपजीसँग लामो वार्तालाप भएको थियो । त्यसक्रममा उहाँले आफ्नो आत्मवृत्तान्तको कुरा उठाउनुभएको थियो । कुराकानीमा आधारित आत्मवृत्तान्त तयार पार्ने कुरा गर्दै हुनुहुन्थ्यो । त्यसमा मेरो राय सोध्नुभएको थियो । प्रश्नोत्तर शैलीमा आत्मवृत्तान्त तयार पार्न केही टेप रेकर्ड भएको जस्तो पनि लाग्छ ।

किसनुजी २०५६ सालमा पर्साबाट चुनाव लड्नुभएको थियो । किसनुजीले प्रदीपजीलाई उहाँकै निर्वाचन क्षेत्र सिरहामा पुगेर मन्त्री बन्नुपर्छ भनेर भन्नुभएको थियो । प्रदीपजीले ‘म मन्त्री बन्ने पात्र होइन । १२ बजेसम्म पढ्छु । ३ बजे सुत्छु । तपाईंको मन्त्री कसरी चलाउँछु ?’ भन्नुभएको थियो । किसनुजीले मन्त्री बन्न जोड दिइराख्दा सिरहाका कार्यकर्ताले पनि उहाँलाई दबाब दिएका थिए । उहाँले भन्नुभयो, ‘मन्त्रीले के–के गर्छन्, म त्यस्तो काम गर्न सक्दिनँ । मेरो काम छलफल गर्ने, तपाईंहरूबाट सिक्ने, जानेका कुरा सिकाउने हो । समयमा मन्त्रालय जाने, आश्वासन बाँड्ने मबाट हुन सक्दैन ।’ हुन पनि मन्त्रीका लागि अफर आइराख्दासमेत उहाँ अघि सर्नुभएन ।

२०५१ सालमा मैले गिरिजाप्रसाद कोइरालाका विरुद्धमा मोरङमा उम्मेदवारी दिएको थिएँ । त्यतिबेला उम्मेदवारलाई २५ हजार रुपैयाँ सहयोग दिइएको थियो । प्रदीपजीलाई नोना आमा (नोना कोइराला) ले २५ हजार रुपैयाँ दिनुभएछ । ‘म त सकिहाल्छु, तपाईं पनि पैसा लिनुस्’ भनेर मलाई उहाँले २५ हजारबाट १२ हजार रुपैयाँ दिनुभयो । गिरिजाप्रसादको बागी उम्मेदवारलाई पार्टीकै पैसा दिएको भनेर हल्लीखल्ली भयो । कारबाही गर्नुपर्छ भनेर दबाब भयो । पछि पार्टी केन्द्रीय कार्यसमितिमा उहाँले सिधा–सिधा ‘नोना आमाले मलाई २५ हजार रुपैयाँ दिनुभएको हो, दुर्गाजीलाई १२ हजार रुपैयाँ दिएको सत्य हो, यसमा तपाईंहरूको के विचार छ, त्यही गर्नुहोस्’ भन्नुभयो । तर, कारबाही गर्ने आँट भएन ।

प्रदीपजीमा आफूले भनेका, गरेका र मनमा लागेका कुरा लुकाउने बानी थिएन । पार्टीको अनुशासन र निर्णयमा पनि कहिल्यै बाँधिनुभएन । २०५२ सालपछि ‘हङ पार्लियामेन्ट’को अभ्यास चल्दै थियो । एक पटक सरकार जोगाउन सांसदलाई होटलमा थुनियो । त्यतिबेला पार्टी सभापति कृष्णप्रसाद भट्टराई नै हुनुहुन्थ्यो । भट्टराईले सबै सांसदलाई होटलमा बस्न ह्वीप नै लगाउनुभयो । प्रदीपजीले भट्टराईसँग भेटेर ‘किसनुजी म विवेकको राजनीति गर्छु, पशुजस्तै होटलमा सांसदलाई थुन्न लागिएको प्रति मेरो पटक्कै सहमति छैन, म त जान्नँ’ भन्नुभयो । किसनुजीले हुन्छ भनेर हात हल्लाएर जवाफ दिनुभयो । त्यतिबेला प्रदीप र शैलजा आचार्य मात्रै होटलमा जानुभएन । आफ्नो विवेकलाई उहाँले कहिल्यै बन्धक राख्नुभएन भन्ने यसले पनि पुष्टि गर्छ । संविधान जारी गर्दा पनि उहाँले विवेककै निर्णय गर्नुभएको हो । पार्टीको निर्णयविपरीत संविधानमा हस्ताक्षर गर्नुभएन । बैठकमै अनुपस्थित भइदिनुभयो ।

प्रदीपजीलाई सत्ता र शक्तिमा बसेका नेताले पनि कहिल्यै हेप्न सकेनन् । निहुरिएर उहाँ कहिल्यै बस्नुभएन । ‘सत्तामा गएपछि कर्मचारीदेखि पार्टीका नेतासम्मले सम्झौता गर्नुपर्छ, म त्यो काम गर्ने मान्छे होइन’ भन्नुहुन्थ्यो । कांग्रेसकै नेतृत्वमा हुन लागेको चुनावी गठबन्धनप्रति पनि उहाँको फरक विचार थियो । प्रधानमन्त्री बन्नकै लागि गठबन्धन गरिएको हो भन्ने उहाँको बुझाइ थियो । एक वर्षअघि शेरबहादुरजी प्रधानमन्त्री हुने बेला ‘एउटै व्यक्ति कतिन्जेल सत्तामा बस्ने ?’ भन्नुभएको थियो । गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच द्वन्द्व चर्केका बेला प्रदीपजीले केन्द्रीय कार्यसमिति बैठकमै गिरिजाबाबुलाई आजीवन प्रधानमन्त्री र किसुनजीलाई आजीवन पार्टी सभापति बनाइदिउँ भन्नुभएको थियो ।

उहाँले मार्क्सवादको गहिरो अध्ययन गर्नुभएको थियो । कार्लमार्क्सको जन्म दिवसमा कम्युनिस्टहरूले बोलाएर उहाँको विचार सुन्थे । नेपालको राजनीतिलाई अघि बढाउने क्रममा सबै पाटो विश्लेषण गर्ने समकालीन नेताहरूमा उहाँबाहेक अर्को कुनै व्यक्ति छैन । बीपीले कम्युनिस्टसँग एकता गर्नु हुन्न भन्दा र मेलमिलापको नीति लिएर राजासँग घाँटी जोडिएको प्रसंग ल्याउँदा प्रदीपजी राय बझाउनुहुन्थ्यो । सत्ताको भोक उहाँमा थिएन, तर संसद् र पार्टीको मञ्च चाहिन्छ भन्नुहुन्थ्यो । संसद् आम जनतासँग जोडिएको छ भन्नुहुन्थ्यो । जनता र पार्टीसँग जोडिन पार्टीको केन्द्रीय कार्यसमितिमा बसेको भन्नुहुन्थ्यो । आफ्नो विचारलाई पार्टीमा मात्रै सीमित नराखेर आमजनतासँग पुर्‍याउन संसद्मा जानुपर्छ भन्ने मान्यता थियो । त्यसैले पटक–पटक सांसद बन्नुभयो ।

किसनुजी बेलाबखत प्रदीपजीलाई ‘जोगी’ भन्नुहुन्थ्यो । प्रदीपजी अलख जगाएर खाने जोगी होइन । विचार जगाएर खाने जोगी हुनुहुन्थ्यो । म उपस्थित रहेको एक भेटमा उहाँले किसुनजीलाई ‘फेरी लगाउने जोगी होइन, विचारको जोगी हो’ भन्नुभएको थियो । उहाँ ‘फेरी लगाउने जोगीले अधर्मी, धर्मत्मा जस्तोसुकैको घरमा जान्छ, म त्यो जोगी हुँ, जो कांग्रेस, कम्युनिस्ट, पञ्चायत जसको घरमा गएर पनि बोल्छु’ भन्नुहुन्थ्यो ।

प्रदीपजीको जीवन आफ्नै शैली र तालको थियो । २ बजे राति उठेर पनि पढिदिने, कहिले रातभर पढ्ने गर्नुहुन्थ्यो । जेएनयू (जवाहरलाल नेहरू युनिभर्सिटी) मा सँगै बस्दा हामी उठ्ने बेला उहाँ बल्ल सुत्ने गर्नुहुन्थ्यो । कक्षामा पनि कहिले जाने, कहिले नजाने बानी थियो । उहाँले जुन जीवन बिताउनुभयो, निष्फिक्री आफ्नै तालमा बिताउनुभयो ।

(संवादमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

गिरीकै विचारले निर्माण गरेको बाटोमा देश

मैले मेरो जीवनमा यत्तिको तीक्ष्ण बुद्धि र स्मरण शक्ति भएको अर्को मान्छे भेटेको छैन । उहाँसँग म घण्टौं बिताउँथें । यति धेरै फराकिलो ज्ञान भएको मान्छे पाउँदा म त छक्क पनि पर्थें ।
गगन थापा

प्रदीप गिरीसँग मेरो गुरु–शिष्य सम्बन्ध हो । २०५३/५४ सालतिर म भर्खर विद्यार्थी राजनीतिमा जिम्मेवारी लिएर काम गर्न थालेको थिएँ । त्यतिखेर हामी कांग्रेसभित्र विलक्षण प्रतिभा भएका बौद्धिक नेता भनेर उहाँलाई चिन्थ्यौं । पार्टीभित्र र बाहिर उहाँको राम्रो छवि थियो । साप्ताहिक पत्रिकाहरूमा कहिलेकाहीं उहाँको अन्तर्वार्ता आउँथ्यो, लेखहरू प्रकाशित हुन्थे । म त्यो नछुटाई पढ्थें ।

उहाँसँग नभेट्दै मैले उहाँका बारेमा रातभरि पढ्नुहुन्छ रे, कुनै पुस्तक पढ्न थालेपछि रात बितेको थाहा हुँदैन रे, जो भेट्यो उहीसँग किताबी संवाद गरिहाल्ने स्वभावको हुनुहुन्छ रे ! भन्ने सुनेको थिएँ । उहाँलाई पढ्दै जाँदा उहाँप्रति रुचि पनि बढ्दै गयो । हामी उहाँलाई निरन्तर पढ्न र सुन्न चाहन थाल्यौं । पार्टी विभाजनपछि हामी अलग–अलग बाटोमा लाग्यौं । त्यही बेलादेखि विचार निर्माण र मैले गर्ने गतिविधिमा उहाँको प्रभाव परेको थियो ।

मलाई व्यक्तिगत रूपमा उहाँले ०६० सालभन्दा अगाडि नोटिस गर्नुभए जस्तो लाग्दैन । त्यो बेला नेपालमा गणतन्त्र ल्याउनुपर्छ भन्ने विषयमा जसरी म र साथीहरू ‘भोकल’ भएरै आएका थियौं, त्यसले नै मलाई उहाँसँग जोडेको हो । त्यही सेरोफेरोबाट उहाँसँग निकटता बढ्यो ।

राज्यको अग्रगामी बाटो के हुन्छ भनेर हरेकजसो पार्टीभित्र अन्तरसंघर्ष थियो । कोही राजतन्त्रकै पक्षमा थिए भने कोही परिवर्तनको पक्षमा बोल्न थालेका थिए । हामीचाहिँ आमूल परिवर्तको पक्षमा थियौं । समग्रमा नेपालको रूपान्तरणका लागि अब ठूलो आन्दोलनको खाँचो छ भन्ने जनमत बनिरहेको थियो ।

०४६ को राजनीतिक परिवर्तनपछि समाजले पाएको चेतना भनेका आवधिक निर्वाचन, मतदानको अधिकार, वाक् स्वतन्त्रता जस्ता प्रजातन्त्रका आधारभूत अधिकारहरू हुन् । ०४७ को संविधानले तिनै कुरालाई दस्ताबेजीकरण गरेको थियो । तर, त्यसपछि पनि प्रजातन्त्रको सर्वव्यापी मूल्य र मान्यतालाई स्वीकार गर्दैमा नेपाली समाजमा रहेका सबै समस्याको सम्बोधन हुन्छ भन्ने खालको अपेक्षा थियो, तर त्यो गलत सावित भइसकेको थियो ।

नेपाली समाज विविधतायुक्त छ । जस्तो कि जातीय विविधता यहाँको नैसर्गिक अवस्था हो । यहाँ वर्षौंदेखि संरचनागत विभेदको खाडल छ, चाहे त्यो महिलाको सन्दर्भमा होस् वा दलित वा अन्य समुदायको हकमा होस् । त्यस्तै, विकाससँग पर्यावरणका पक्षहरू जोडिएका छन्, दिगोपनाको सवाल पनि जोडिन्छ । यस्तो अवस्थामा हामीले समाजमा प्रजातान्त्रिक अधिकारहरू प्रयोग गर्दै गर्दा त्यसले स्वतः हाम्रा समस्याहरूको समाधान नहुँदो रहेछ । बरु समाजमा झन्–झन् असमानताको खाडल बढिरहेको थियो । यस्ता थुप्रै विषय थिए, जुन पहिले राजनीतिक दलहरूमा छलफलको विषय नै बन्दैनथे । यी विषयलाई नेपालको प्रजातान्त्रिक विमर्शको मूलधारमा अर्थात् राजनीतिको मूलधारमा ल्याउने कुरामा प्रदीप दाइले सर्वाधिक योगदान गर्नुभएको छ ।

हामीले मुलुकका खास–खास राजनीतिक घटनाक्रममा कसले के भूमिका खेले भनेर सम्झिन्छौं । जस्तो कि १२ बुँदे समझदारी गर्दा हस्ताक्षरकर्ता को–को थिए भनेर सम्झिने कुरा एउटा भयो । तर, त्यो प्राविधिक कुरामात्रै थिएन, सँगैसँगै विचार निर्माण पनि भइरहेको थियो । प्रजातन्त्रबाट लोकतन्त्रसम्म जाने कुरा भाष्यमा आएको सामान्य परिवर्तन मात्रै थिएन, त्यो विचारमै परिवर्तन भएको अवस्था थियो । त्यो नयाँ विचार निर्माण गर्ने कुरामा प्रदीप गिरीको सबैभन्दा ठूलो योगदान रह्यो । लोकतन्त्र ल्याउने सन्दर्भमा हाम्रो एउटा पुस्ता जसरी आन्दोलित भयो, त्यो पुस्ता उहाँबाट प्रभावित थियो । उहाँको विचारबाट हामी प्रभावित भयौं, हाम्रो पंक्ति प्रभावित भयो र बिस्तारै त्यो कुराले पार्टीलाई पनि प्रभावित पारेको थियो ।

पार्टी विभाजित हुँदा प्रदीप दाइ कांग्रेस प्रजातान्त्रिकमा हुनुहुन्थ्यो । त्यो बेला कांग्रेस प्रजातान्त्रिकले नेपाली समाजको संरचनागत विभेदलाई अन्त्य गर्ने गरी महत्त्वपूर्ण र ऐतिहासिक प्रस्तावहरू पारित गरेको थियो र पार्टीभित्र लागू पनि गरेको थियो । त्यसमध्ये ‘कदमजम’ का आधारमा प्रतिनिधित्व गराउने कुरा एउटा हो, जसको प्रस्ताव प्रदीप गिरी हो । उहाँले राज्य संरचनामा कर्णाली (क), दलित (द), मधेसी (म), जनजाति (ज) र महिला (म) को प्रतिनिधित्व बढाउनुपर्छ भनेर त्यो प्रस्ताव ल्याउनुभएको थियो ।

०६० सालमै कांग्रेस प्रजातान्त्रिकले नेपालमा संघीयता लागू गर्नुपर्छ भनेर निर्णय गरेको थियो । हामी अहिले धेरैपछि मधेस आन्दोलनबाट मात्रै संघीयताको अवधारणा आयो भन्छौं, तर त्यो ०६० सालमै उठेको विषय हो, जसको प्रस्तावक उही प्रदीप गिरी हुनुहुन्थ्यो । अहिले हामी संघीयता भन्नेबित्तिकै प्रदेश भनेर बुझ्छौं, तर उहाँको जोड त्यसमा होइन । प्रदीप गिरीले कदमजम वा संघीयता भन्दै गर्दा त्यसको राजनीतिक व्यवस्थाभन्दा पनि मर्मलाई जोड दिनुभएको थियो । उहाँ अहिलेजस्तो पाँच–पाँच वर्षमा चुनाव गर्ने, कोही निर्वाचित भएर आउने, सरकार चलाउने पद्धतिबाट नेपाली समाजका समस्या समाधान हुनै सक्दैनन्, यो युरोपको जस्तो ‘होमोजिनियस’ सोसाइटी होइन र यसले आफैं हल गर्न सक्दैन भन्नुहुन्थ्यो । समाजको शक्तिलाई विकेन्द्रित गरेर भुइँ तहका मान्छेसम्म पुर्‍याउनुपर्छ, भुइँ तहमा प्रजातन्त्रको अभ्यास गर्न पाउनुपर्छ भन्नेमा उहाँको जोड थियो ।

०६०–०६२ ताका मैले सबैभन्दा बढी भेट्ने, सुन्ने गरेको व्यक्ति हो उहाँ । उहाँ आफैं पनि सधैं युवा, नयाँ पुस्तासँग भेट्न, कुरा गर्न चाहनुहुन्थ्यो । ०६२/६३ को आन्दोलनपछि चाँहि उहाँ यो एउटा विचार त सिर्जना भयो तर यसलाई अब कसैले बोकेर हिँड्ने हो वा होइन, अबको पुस्ताले यो विचारलाई जोगाएर राख्ला वा नराख्ला भनेर ठूलो चिन्ता व्यक्त गर्नुहुन्थ्यो । त्यसैले हामीले उहाँकै प्रेरणा र संरक्षकत्वमा ‘पब्लिक पोलिसी पाठशाला’ खोल्यौं, जसमा अहिले पनि हामी काम गरिरहेका छौं । यसको सुरुवात, नाम जुराउने सबै काम उहाँबाटै भएको हो । सुरुमा हामी एउटा समूहमा थियौं, सातामा एउटा साथीले कुनै एउटा पुस्तक पढेर त्यसबारेमा समूहमा बसेर विवेचना गर्नुपर्थ्यो । पछि हामीले पाठशालाबाटै ‘विचार’ त्रैमासिक प्रकाशन गर्‍यौं । प्रदीप दाइ सधैं पार्टीमा विचार पक्ष कमजोर भयो भनेर चिन्ता व्यक्त गर्नुहुन्थ्यो । पार्टीका हकमा उहाँले सधैं विचारभन्दा टाढा रहेर पार्टीको संगठन चल्न सक्दैन भन्नुहुन्थ्यो । वास्तवमा उहाँले आफ्नो सक्रिय जीवनमा त्यही विचारलाई निखार्ने, प्रस्फुटन गर्ने काम गर्नुभयो । उहाँले बीपी कोइरालाका रचनाहरू संकलन तथा प्रकाशन गर्ने र बीपीका विचार/सोच के–के थिए भनेर लेख्ने गर्नुभयो । उहाँकै प्रेरणामा हामीले पार्टीका दस्ताबेजहरूलाई संकलन गर्‍यौं । यी कामको पछाडिचाहिँ उहाँको चिन्ता के थियो भने नेपाली कांग्रेस पार्टी निर्माण सत्ता राजनीति र शक्ति प्रयोगका लागि मात्रै होइन, यसको वैचारिक पक्ष छ तर त्यो छाडिँदै गयो भन्ने थियो ।

मैले संविधानसभामा उहाँसँगै रहेर काम गरें । पहिलो संविधानसभामा प्रदीप गिरी, नरहरि आचार्य र म भएर नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था आवश्यक छ भन्ने कुरा उठाएका थियौं । हामीले सामूहिक रूपमा पार्टीभित्र र संविधानसभामा पनि यो विषय उठायौं । प्रदीप दाइले त यस विषयमा संविधानसभामा फरक मत नै दर्ज गर्नुभयो । हामीले त्यस विषयका पक्षमा विचार निर्माण गर्न पनि पहल गर्‍यौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुँदा र नहुँदा के हुन्छ, के फाइदा छन्, के बेफाइदा छन् भनेर छलफल चलायौं । नेपालको अहिलेको परिप्रेक्ष्यमा त्यो सबैभन्दा उपयुक्त छ भन्ने हाम्रो निष्कर्ष थियो ।

त्यो बेला हामीले पार्टीभित्र बदलाव चाहिन्छ भनेर अन्य पहल पनि गर्‍यौं । जस्तो कि हामी तीन जनासहित १२ जना मिलेर सुप्रभा घिमिरेलाई संसदीय दलको नेतामा लडायौं । जब–जब पार्टीको महाधिवेशन आउँछ, प्रदीप दाइले सधैं ‘वी फस्ट सेलेक्ट भोटर्स, देन दे सेलेक्ट अस’ भन्ने गर्नुहुन्थ्यो । अर्थात् पहिले हामी पार्टीका क्रियाशील सदस्य छान्छौं, त्यसपछि उनीहरूले हामीलाई छान्छन् । र, यसरी पार्टी चल्दैन भन्ने उहाँको कुरा थियो । अहिले हामी दुई महामन्त्रीले पार्टीको क्रियाशील सदस्य खुला गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ भनेर लागेको पनि त्यही प्रेरणाले हो । प्रदीप दाइ पार्टीको संरचनालाई जब्बर बनाएर हुँदैन, अलि उदार, खुला प्रकृतिको हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो ।

अर्को कुरा, उहाँ एकदमै विद्रोही स्वभावको मान्छे हो । उहाँ पार्टीसँग सधैं गुनासो गरिरहनुहुन्थ्यो । पार्टी जीवन्त हुनुपर्छ भन्ने उहाँको जोड थियो । पार्टीभित्र संघर्ष हुनुपर्छ, अधिकारको आन्दोलन भइरहनुपर्छ, लामो समयसम्म एउटै मान्छे नेतृत्वमा भइरहनुहुँदैन भन्नुहुन्थ्यो । उहाँ के भन्नुहुन्थ्यो– हाम्रो पार्टी कार्यालयमा किन कोही पनि भोकहडताल बस्दैन ? किन कोही मान्छे आन्दोलन गर्न आउँदैन ?

उहाँ पार्टी सञ्चालनमा सीमित मान्छे मात्रै व्यस्त हुन्छन्, बाँकी मान्छे प्रेरित हुने भनेको पार्टीभित्रको संघर्ष र आन्दोलनले हो भन्नुहुन्थ्यो । पार्टी कसरी चल्नुपर्छ भन्नेमा उहाँको एकदमै मौलिक र उपयुक्त चिन्तन थियो, जसका बारेमा पार्टीभित्र एकदमै कम छलफल भयो । कतिपय कुरामा उहाँसँग मेरा मतभेद पनि थिए । पछिल्लो समयमा नेपालले लिनुपर्ने आर्थिक नीतिका विषयमा उहाँसँग मेरो वैचारिक द्वन्द्व हुन्थ्यो । उहाँ हामीलाई ‘नयाँ पुस्ताका युवा साथीहरूलाई पनि विश्व पुँजीवादको चक्रबाट अलग्ग रहेर नेपाल चल्नै सक्दैन भन्ने विचारले आक्रान्त पारिरहेको छ, यसबाट तपाईंहरू निस्किनुपर्छ’ भन्नुहुन्थ्यो । हामी त्यसबाट कसरी निस्किने त भनेर सोध्थ्यौं । उहाँले नयाँ पुस्ताको मान्छेले मौलिक बाटो खोज्नुपर्छ भन्नुहुन्थ्यो ।

पार्टीको १४ औं महाधिवेशनमा मैले एउटा दस्ताबेज सार्वजनिक गरें, त्यो बेला उहाँ भारतमै उपचाररत हुनुहुन्थ्यो । उहाँले मेरो साथी जुगल भुर्तेलमार्फत मगाएर पढ्नुभयो अनि ‘नेपाल आइसकेपछि लेख्छु, यसबारेमा मेरा असहमति पनि छन्’ भनेर खबर पठाउनुभएको थियो ।

अस्पतालको बेडमा बस्नुभएका प्रदीप गिरीले मेरो अवधारणापत्र पढ्नुभयो तर जो महाधिवेशनमा सशरीर सहभागी हुनुहुन्थ्यो, उहाँहरूका बीचमा सामान्य छलफल गर्ने विषय पनि भएन त्यो । उहाँ यस्तो मान्छे हो कि कांग्रेसमा त उहाँसँग तुलना गर्ने कोही

मान्छे नै छैन । म लेखपढ गर्ने मान्छेसँग संगत गर्न रुचाउँछु, धेरथोर साथीहरूसँग कुराकानी गरेको छु, मैले मेरो जीवनमा यत्तिको तीक्ष्ण बुद्धि र स्मरण शक्तिको भएको अर्को मान्छे अहिलेसम्म भेटेको छैन । उहाँसँग भेटघाट गर्न जाँदा म घण्टौं बिताउँथें । उहाँ यति धेरै फराकिलो ज्ञान भएको मान्छे हो कि म त छक्क पर्थें । उहाँले एकै बसाइमा राजनीति मात्रै होइन, चलचित्र, संगीत, खेलकुद, नजानेको कुनचाहिँ विषय होला भन्ने लाग्थ्यो ।

मैले प्रदीप दाइलाई १५ दिन अगाडि अस्पतालमै पुगेर भेटेको थिएँ । म पुग्नेबित्तिकै उहाँले मृत्युसम्बन्धी हिन्दी सायरी सुनाउनुभयो । मैले भुलिसकें । उहाँले नै धेरै कुरा गर्नुभयो, बोल्नुभयो । खास मैले केही कुरा गर्न सकिरहेको थिइनँ । अनि उहाँले नै ‘के तिमीलाई डर लाग्यो, म त डराएको छैन, मृत्युदेखि पनि डराउने हो ?’ भन्नुभएको थियो । त्यसपछि पनि उहाँले नै बोल्नुभयो । ‘पार्टीभित्र जे लाइन लिइरहनुभएको छ, त्यो ठीक छ, त्यसमा नडगमगाईकन अघि बढ्नू, पार्टीमा संघर्ष आवश्यक छ’ भन्नुभयो । म उहाँको अवस्था देखेर बोल्न सकिरहेको थिइनँ । त्यसको दुई/चार दिनपछि त उहाँ बोल्नै छाड्नुभयो । त्यस्तो अवस्थामा पनि उहाँले मलाई बाटो देखाइरहनुभएको थियो । उल्टै मलाई प्रश्नहरू गरिरहनुभएको थियो । त्यो छोटो समयमा उहाँले एमसीसीलगायत विषयमा मैले निर्वाह गरेको भूमिकालाई लिएर प्रशंसा पनि गर्न भ्याउनुभयो ।

अहिले हामीले उहाँको विचार र दर्शनचाहिँ गुमायौं जस्तो लाग्छ । हामीले जति पटक भेट्दा पनि उहाँलाई भनिरहेका हुन्थ्यौं– तपाईंले अरूका विचार र साहित्यबारे लेख्नुभयो, संकलन गर्नुभयो तर तपाईंको आफ्नै विचार, दर्शन लेख्नुपर्‍यो, जुन भोलिको नेपाली समाजका लागि एकदमै महत्त्वपूर्ण छ । त्यो कसैले लेखेको छ, सुनेको छ भने एउटा कुरा, अन्यथा त्योचाहिँ ‘मिस’ भएजस्तो लाग्छ ।

प्रदीप गिरीको आफ्नै चिन्तन थियो । विचार थियो । उहाँले नेपाली समाजलाई राम्ररी चिन्नुभएको थियो । उहाँले बीपीले नेपाली समाज र समाजवादलाई कसरी व्याख्या गर्नुभएको छ भनेर लेख्नुभयो । तर त्यसमा उहाँका आफ्नै चिन्तन, बुझाइ के थियो, त्योचाहिँ छुट्यो । नेपाली समाजका समस्याहरू के हुन्, तिनलाई कसरी समाधान गर्ने, नेपालको अबको बाटो के हो भनेर उहाँको विचार अबको पुस्ताले पढ्न पाउनुपर्ने थियो ।

प्रदीप दाइ नेपाली राजनीतिको अलग पात्र हो । एक पटक उहाँले मलाई ‘तपाईं राम्रो सम्भावना भएको मान्छे हो, प्रधानमन्त्री बन्नुपर्छ’ भन्नुभयो । मैले पनि उहाँलाई ‘मभन्दा पहिले त तपार्इं बन्नुपर्छ नि’ भनेको थिएँ । उहाँको जवाफ के थियो भने ‘मचाहिँ यो दक्षिण एसिया नै एउटा देश भयो भने प्रधानमन्त्री बनूँला, नेपालको मात्रै त बन्दिनँ, तपाईंहरूलाई बनाउने हो’ भन्नुहुन्थ्यो । कहिलेकाहीं जिस्किएर भन्नुहुन्थ्यो– ‘मचाहिँ चाणक्य बन्ने हो, तपाईंहरू चन्द्र गुप्त हो । मैले तपार्इंहरूलाई बनाउने हो ।’ एउटा सामान्य राजनीतिज्ञमा सत्ता र शक्तिको जुन किसिमको चाहना र आशक्ति हुन्छ, त्यस्ता सबै कुराबाट उहाँ टाढा हुनुहुन्थ्यो । त्यस हिसाबले उहाँ फकिर नै हो । फेरि उहाँ राजनीतिमा जोडिएर रहन पनि चाहनुहुन्थ्यो । उहाँ पार्टीको केन्द्रीय सदस्य जित्न चाहनुहुन्थ्यो, सांसद बन्न चाहनुहुन्थ्यो । यसपालिको संसद्मा त उहाँ एकदमै सक्रिय हुनुहुन्थ्यो । मैले उहाँलाई बुझेको चाहिँ के हो भने राजनीतिक नेतृत्वको सोच्ने तरिका जुन हो, उहाँ त्यसमा प्रभाव छाड्न चाहनुहुन्थ्यो, विचारमा प्रभाव छोड्न चाहनुहुन्थ्यो । जस्तो कि हामी १२ बुँदे समझदारीकर्तालाई शक्तिशाली भनिरहेका हुन्छौं । उहाँचाहिँ त्यहाँ ओझेलमा रहेको विचारको स्रोत त म नै हो नि भनेर खुसी हुनुहुन्थ्यो । उहाँ अहिले बित्नुभयो । तर म त अहिले पनि उहाँकै विचारले निर्माण गरेको बाटोमा देश हिँडिरहेको देख्छु ।

उहाँले त्यो बेला ल्याएको ‘कदमजम’ को प्रस्ताव अहिले त संविधानबाटै सम्बोधन भएको छ । त्यो बेला उठेको संघीयता जस्तो प्रबन्धमा होस्, लागू भएको छ । त्यसकारण उहाँको नजरमा शक्ति विचारमा छ, सत्तामा होइन ।

मेरो हकमा त म एक प्रकारले उहाँको नियन्त्रणमा थिएँ भन्छु । किनकि मैले नेपाली समाजलाई कसरी चिन्छु, कुन नजरले हेर्छु, मेरो चेतना कस्तो छ भन्ने कुराचाहिँ उहाँसँगै जोडिन्छ । उहाँ मेरो गुरु नै हो । कतिपय विषयमा मतभेद पनि छन् । तर, मलाई वैचारिक रूपमा स्थापित गरेको उहाँले नै हो । मलाई मन्त्री बनाउन, महामन्त्री बनाउन उहाँको भूमिका भएन होला । तर, मन्त्री वा महामन्त्री हुँदा काम कसरी गर्ने भन्ने कुरामा उहाँको नियन्त्रण थियो । त्यसैले उहाँले कार्यकारी पदमा नगए पनि शक्तिको अभ्यास गर्नुभयो जस्तो लाग्छ । मैले राजनीतिक जीवनका करिब २० वर्ष उहाँसँगै बिताएँ । त्यो बेला धेरै कुरा भए । राजनीतिक रूपमा कहिले म उहाँसँग भइनँ, कहिल्यै उहाँले मलाई आशीर्वाद दिनुभएन । तर म उहाँसँग कहिल्यै टाढा भइनँ । म उहाँसँग जानु भनेको नयाँ कुरा सिक्नकै लागि हो, त्यस कुरामा उहाँले कहिल्यै मुठी बन्द पार्नुभएन ।

अब प्रदीप दाइ हामीसँग हुनुहुन्न । अब नयाँ पुस्ताका राजनीतिकर्मीहरूले उहाँबाट सिक्नुपर्ने कुरा भनेको राजनीति केका लागि गर्ने भन्ने हो । म राजनीतिमा किन छु भनेर आफूले आफूलाई सोध्नुपर्छ । जवाफ हुन्छ, केही कुराको बदलाव ल्याउनका लागि । त्यो बदलाव कसरी ल्याउने भन्दै प्रश्न गर्दै गयो भने त्यसका लागि वडाध्यक्ष, सांसद वा मन्त्री नै हुनुपर्छ त भन्दा त्यसको जवाफ पर्दैन भन्ने आउँछ । त्यसैले उहाँको जीवनबाट लिनुपर्ने ज्ञान भनेको ‘आफैंसँग एकपटक प्रश्न गर’ भन्ने हो ।

(कांग्रेस महामन्त्री थापासँग प्रकाश धौलाकोटीले गरेको संवादमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×