कमरेड प्रदीप गिरी- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमरेड प्रदीप गिरी

मार्क्सका बारेमा प्रदीपजी जतिको अध्ययन र प्रभावका साथ बताउन सक्ने अहिले नेपाली क्षितिजमा कोही पनि देखिएको छैन
घनश्याम भुसाल

मार्क्सको समाधिमा एंगेल्सले १४ जना मलामीसामु विश्व इतिहासमा मार्क्सका योगदानबारे चर्चा गरेका थिए । त्यस क्रममा उनले ‘सबैभन्दा मुख्य कुरा मार्क्स क्रान्तिकारी थिए’ भनेका थिए । प्रदीपजीले मार्क्सको परिचयबारे बोल्दा त्यस वाक्यांशलाई सबैभन्दा जोड दिन्थे । आज प्रदीपजी बिदा भएका छन् र उनी के थिए भनेर छलफल/चर्चा चल्दै छ । बितेका आफ्ना अग्रजका बारेमा सबैले चर्चा गर्छन् ।

प्रदीपजीका बारेमा त झन् धेरै चर्चा हुनेछ किनकि उनी बाँचेको जीवनको दायरा फराकिलो थियो । त्यो दायरा कति फराकिलो थियो भन्नेबारेमा पनि अवश्य धेरै छलफल हुनेछ । सबैको जीवन बहुआयामिक हुन्छ, केहीको अझ बढी बहुआयामिक हुन्छ । प्रदीपजीको जीवन बहुआयामिक थियो । एंगेल्सले मार्क्सका बारेमा गरेको चर्चालाई आधार बनाएर मैले प्रदीपजीका बारेमा भन्नुपर्दा ‘सबैभन्दा मुख्य कुरा प्रदीपजी समाजवादी थिए’ भन्छु । अर्थात्, उनी जे–जे थिए, ती सबैमध्ये सबैभन्दा बढी समाजवादी थिए । उनी जुन परिवारबाट आए र आफूले सार्वजनिक जीवनका बारेमा कबुल गरेका मूल्यहरूको जसरी रक्षा गरे, त्यो चानचुने कुरा होइन ।

सार्वजनिक जीवनमा ठूला कबुल गर्नु आफैंमा महान् कुरा हो, ती कबुलमा केही समय कायम रहनु पनि ठूलो कुरा हो । किनकि सबै मानिस आफूले कबुल गरेका सबै मूल्यका साथ लामो समय बाँच्दैनन् । तर त्यस्ता मूल्यहरूका साथ जीवनभर बाँच्नु असाधारण कुरा हो । त्यस अर्थमा प्रदीपजीको जीवन असाधारण थियो भन्ने मलाई लाग्छ । मैले प्रदीपजीलाई खासगरी मार्क्सवादी विमर्श र समाजवादी आन्दोलनका छलफलका सन्दर्भमा चिनेको हुँ । त्यसैमा आधारित भएर उनीप्रति श्रद्धाञ्जलीका रूपमा यो सानो टिप्पणी लेखिएको हो ।

प्रगतिशील प्रदीप गिरी

प्रदीप गिरीलाई मैले सुनेदेखि नै एक जना प्रगतिशील व्यक्तिका रूपमा जान्दै आएँ । पहिलो पटक २०३७/३८ सालतिर मेरा दाजुबाट ‘समता’ पत्रिकाका बारेमा कुरा हुँदा ‘कांग्रेसभित्रका प्रदीप गिरीजस्ता रोजा लक्जमवर्गवादीहरूले निकालेको पत्रिका’ भनेर सुनेको हुँ । ‘रोजावादी कांग्रेस’ मेरा लागि कौतुहलको विषय थियो । मैले सुनेअनुसार त्यो पत्रिका केवल प्रचारको माध्यम थिएन बरु ‘न मालिक, न श्रमिक’ सिद्धान्तमा आधारित उत्पादनको कम्युन बनाउने प्रयास थियो । पछि, २०४२ सालको बमकाण्डमा म भैरहवा जेल परेका बेला प्रदीप गिरीको किताब ‘लेनिन ः एक अध्ययन’ कमरेड राधाकृष्ण मैनालीबाट पाएँ । लेनिनबारे उक्त किताब पढेर मैले समाजवादी आन्दोलनमा प्रदीपजी कहाँ उभिएका रहेछन् भनेर बुझें । उनका प्रति उत्सुकता अझ बढ्यो ।

सोभियत संघको विघटनलगत्तै कुनै एउटा छलफलमा मेरी श्रीमती गएकी थिइन् । प्रदीप गिरीको अध्ययन र प्रस्तुतिबाट प्रभावित भएर फर्केकी उनले टिपेका केही बुँदा हेरेको थिएँ । सोभियत असफलता समाजवादकै असफलता होइन, बरु समाजवादको स्टालिनवादी प्रयोग असफलता हो, यसले विश्वमा लोकतान्त्रिक समाजवादमाथि संकट बढाउँछ भन्ने प्रदीपजीको धारणा थियो । यो त्यस समयको कुरा हो जुन बेला पुँजीवादी उदारवाद इतिहासकै हर्षातिरेकमा थियो । नेपाली कांग्रेसभित्र कम्तीमा भूमिसुधार गर्नुपर्छ भन्ने जगन्नाथ आचार्यहरूलाई किनारा लगाइँदै थियो र कांग्रेसलाई ‘वामपन्थी विकृति’ बाट शुद्धीकरण गरिँदै थियो । संसारभरिका वामपन्थी, खासगरी कम्युनिस्टहरूमा घोर निराशा थियो । अघिल्लो वर्ष ‘अदालतमा उभिएको समाजवाद’ भन्ने मेरो लेख ‘दृष्टि’ साप्ताहिकमा छापिएको थियो । सोभियत मोडलको संकटबारे उक्त लेखले कम्युनिस्ट पार्टीका कैयौं नेता–कार्यकर्तालाई मसँग चिढ्याएको थियो । त्यस क्रममा मैले आफूलाई गिरीजीको नजिक पाएँ ।

कमरेड मदन भण्डारीको मृत्यु एमालेका लागि एउटा असाधारण चोट थियो । भर्खर राष्ट्रिय राजनीतिमा पहिचान बनाउँदै गरेको पार्टीले आफ्नो मुख्य नेता गुमाएको थियो । मदन भण्डारीलाई पार्टीबाहिर पनि स्थापित गर्दै पार्टीको मनोबल उँचो राख्नु एमालेका लागि चुनौती थियो । कमरेड भण्डारीका योगदानका बारेमा प्रदीप गिरी, दमननाथ ढुंगानाहरूले धेरै कार्यक्रममा व्याख्यान दिएर एमालेलाई ठूलो गुन लगाएका छन् । स्वयं प्रदीपजी प्रजातान्त्रिक समाजवादी आन्दोलनको वामपन्थी धाराका बौद्धिक नेता थिए र जनताको बहुदलीय जनवादमा त्यसको अनुहार देख्थे । कम्युनिस्ट पार्टीलाई संसदीय प्रजातन्त्रमा ल्याएको भनेर मदनको प्रशंसा गर्ने त धेरै थिए । तर प्रदीपजीको कोण फरक थियो, उनले क्रान्तिलाई प्रजातान्त्रिक बाटोमा अगाडि बढाउन योगदान गरेकामा मदनको प्रशंसा गर्थे । कमरेड मदन भण्डारीले क्रान्तिलाई संसद्भित्र हुलेका हुन् कि क्रान्तिलाई लोकतान्त्रिक बाटोमा अगाडि बढाउन प्रयास गरेका हुन् भन्ने त्यो सैद्धान्तिक प्रश्न कम्युनिस्ट पार्टीहरूका लागि आज पनि उत्तिकै महत्त्वपूर्ण छ ।

कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाको नेतृत्वमा माओवादी जनयुद्धसम्बन्धी कार्यदल बन्यो । प्रदीपजी पनि सदस्य थिए । त्यस क्रममा उनीसँग कैयन् पटक भेट भयो । हामी मूलतः सैद्धान्तिक छलफल गर्थ्यौं । म माओवादी जनयुद्ध मार्क्सवादी सिद्धान्तको बर्खिलाप छ भन्ने कोणबाट बहस गर्थें । उनी मेरा तर्कलाई इन्कार गर्दैनथे तर माओवादी समस्याको समाधान अझ प्रगतिशील सुधारबाट मात्रै हुन्छ भन्थे । म जनयुद्धका नाममा भूराजनीतिक शक्तिहरू हावी हुन्छन् भन्थें, उनी हामी आफैंले जति छिटो समाधान गर्छौं, त्यति नै भूराजनीतिक शक्तिहरूलाई निरस्त गर्न सकिन्छ भन्थे । क्रमशः म उनीसँग नजिक हुँदै गएँ । उनी मेरा अग्रज थिए तर छलफल मित्रतापूर्ण हुन्थ्यो । यस क्रममा उनी मप्रति व्यक्तिगत रूपमा पनि स्नेही हुँदै गएको अनुभूत गर्न थालें ।

मैले दोस्रो किताब ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ लेख्ने तयारी गर्दै थिएँ । मलाई भिन्न–भिन्न समाजवादी धाराका इतिहासका किताबहरू चाहिएको थियो । प्रदीपजीले खोजिदिने आश्वासन दिए । करिब दुई महिनापछि उनले केही किताबका करिब पन्ध्र सय पेजको फोटोकपी ल्याइदिए । उनी आफैं जवाहरलाल नेहरू विश्वविद्यालय, दिल्लीको पुस्तकालयबाट फोटोकपी गरेर ल्याएका रहेछन् । म के लेख्दै छु भन्नेबारेमा उनलाई बताएँ । उनी औधी खुसी थिए, मलाई आफ्ना केही सुझाव बताए । हाईस्कुलपछि मैले त्यस्तो व्यक्ति फेला पारेको थिइनँ, जसले मेरो अध्ययनबारे त्यस तहमा चासो राखोस् । केही दिनपछि मैले उनलाई फोटोकपीको पैसाबारे भनें । उनले अझ रमाइलो कुरा गरे, ‘फोटोकपीको पैसा दिनु पर्दैन, बरु मलाई तपाईंको किताबका २० प्रति दिनुस् ।’ मैले सोधें, ‘के गर्नु हुन्छ २० प्रति किताब लगेर ?’ उनले भने, ‘नेविसंघका विद्यार्थीहरूलाई पढाउँछु ।’ मैले ‘नेपालको अर्थ राजनीति ः संकटको पुनरुत्पादन र रूपान्तरणको दिशा’ किताब २० वटा दिएँ । प्रदीपजीले ती किताब युवा–विद्यार्थीलाई बाँडेको तरुण दलका एक पदाधिकारीले खुसी हुँदै कुनै बेला सुनाएका थिए । एक दिन कुराकानीमा प्रदीपजीले भने, ‘एक जनाले पनि पढेन त्यो किताब ।’ त्यसो भन्दा उनको अनुहारमा क्षोभ उम्लेको स्पष्ट देखिन्थ्यो । मैले बेलाबेला अखिलका विद्यार्थीसँग मार्क्सवादबारे कक्षा चलाउँदै गरेको उनलाई सुनाएँ । अखिल र नेविसंघका जागरुक विद्यार्थीको संयुक्त अध्ययन कक्षा चलाऔं भन्ने उनको प्रस्ताव थियो ।

त्यसपछि प्रदीपजीले त्यो सन्दर्भ नै बिर्से, मैले पनि कोट्याइनँ ।

नयाँ पिँढीलाई पढाउने उनको हुटहुटी कुनै शास्त्रीय उपन्यासको शिक्षकजस्तो थियो । भेट हुँदा उनी मलाई ‘कमरेड लालसलाम’ भन्थे, म ‘जय नेपाल’ भन्थें । म कृषिमन्त्री भएपछि उनले फोनमा बधाई दिँदै भनेका थिए, ‘कमरेड म आजसम्म कसैलाई बधाई दिन मन्त्रालय पुगेको छैन तर तपाईंलाई मन्त्रालय नै आएर बधाई दिन्छु ।’ दुई–तीन महिनापछि प्रदीपजी मन्त्रालयमै आए । म मन्त्री भएकामा खुसी नभएको उनको भनाइ थियो । कृषि मन्त्रालय रोजेकामा भने बधाई दिन मन लागेको बताए । म किन मन्त्री बन्नु हुँदैनथ्यो भन्ने कुरा केही समयपछि संसद्को एउटा भाषणमै बताए । त्यसबारेमा उनी नै ठीक रहेछन् । म चक्रव्युहबाट त निस्किएँ तर चोटपटक लागेर ।

संक्षेपमा, मैले जानेदेखि प्रदीपजीसँग मेरो संगत एउटा प्रगतिशील, जागरुक र सहयोगी अग्रजका रूपमा भयो ।

समाजवादी प्रदीप गिरी

प्रदीपजी नेपाली समाजवादी आन्दोलनका एक जना अगुवा हुन् भन्ने कुरा स्वयंसिद्ध तथ्यजस्तै भएको छ । उनी नेपाली कांग्रेसका नेताका रूपमा पनि उत्तिकै स्थापित छन् । त्यस्तै, बीपीको व्यक्तित्वको प्रभावबाट प्रदीपजी जति वशिभूत सायद अरू कोही भयो होला । तर प्रदीपजीको समाजवाद र बीपीवादी कांग्रेसको कहिल्यै भेट भएन । प्रदीपजीका विचारमा २०४६ साल अगाडिको कांग्रेस पार्टी होइन, बरु एउटा आन्दोलन हो, जब पार्टीको रूप लियो त्यसपछि कांग्रेसले आन्दोलनको चरित्र गुमायो । कांग्रेस आफूलाई बीपीवादी भन्छ, प्रदीपजी पनि आफूलाई बीपीवादी भन्छन् तर प्रदीपजी बीपीको राजनीतिक जीवन राजनीतिक रूपले अन्तरविरोधपूर्ण वा असंगतिपूर्ण रहेको देख्छन् । बीपीका अनेक नीतिमा उनी सहमत थिएनन्, न त सशस्त्र संघर्ष न त राष्ट्रिय मेलमिलाप । बीपीले २०१२ सालमा वीरगन्ज महाधिवेशनमा उल्लेख गरेको समाजवादसमेत प्रदीपजीका लागि आलोच्य छ । उनका अनुसार ‘त्यो महाधिवेशनमा मुस्किलले एक वा दुई प्याराग्राफमा समाजवादको चर्चा छ,

होइन भने, अधिवेशन र घोषणाले अगाडि सारेका प्रस्ताव एउटा उदारवादी दलले अगाडि सार्न सक्ने खालका छन् ।’

बीपीको समाजवाद मूलतः कम्युनिस्ट पार्टीविरोधी हो, जबकि प्रदीपजी मार्क्स मात्रै होइन, लेनिनलाई पनि आफ्नो समाजवादी धारामा ठूलो महत्त्व दिन्छन् । उनको किताब ‘लेनिन : एक अध्ययन’ मा संविधानसभा विघटन गरेको बाहेक अरू सबैजसो मुद्दामा प्रदीपजी लेनिनसँग सहमत छन् । ‘राष्ट्रिय मेलमिलाप’ का साथ बीपी नेपाल आएपछि कम्युनिस्टहरूविरुद्ध अझ बढी आलोचक हुँदै गए । त्यस क्रममा ‘अडिट फर्मूला’ को अवधारणा प्रचारमा ल्याए । इन्डोनेसियामा कम्युनिस्ट पार्टीका महासचिव डीएन अडिटले राज्य सत्तामा घुसपैठ गरेर सत्ता हत्याउन खोजेका थिए, नेपालमा पनि कम्युनिस्टहरूले त्यस्तै नीति लिएका छन् भन्ने त्यसको व्याख्या थियो । प्रदीपजी भने, ‘अडिट फर्मूला’ का नाममा इन्डोनेसियाका कम्युनिस्टहरूविरुद्ध अमेरिकी उक्साहटमा चलाइएको नरसंहारलाई साम्राज्यवादको षड्यन्त्र ठान्थे । तर पनि बीपी नै नेपाली राजनीतिका सबैभन्दा अगुवा राजनीतिज्ञ हुन् भन्ने प्रदीपजीको अविचल, निरन्तर र दृढ धारणा छ । त्यसैले प्रदीपजीको समाजवादी विचारधारालाई कांग्रेस र बीपीको समाजवादमा सीमित राखेर बुझ्नु गल्ती हुनेछ । अर्थात्, प्रदीपजीको समाजवाद बीपीप्रति उनको सम्मान वा अनुराग र कांग्रेसको सदस्यताभन्दा अलग थियो ।

प्रचलित सोभियत समाजवादी मोडललाई प्रदीप गिरीले सधैं विरोध गरे । स्टालिनको उदयपछि बनेको सोभियत मोडलको राज्य, लोकतन्त्र र विकास तथा सम्पन्नताको अकन्टक आलोचक प्रदीपजीले सोभियत वा क्युवाली वितरण व्यवस्थाको भने समर्थन गरिरहे । मार्क्सवाद वा साम्यवाद र समाजवादजस्ता कैयन् मुद्दामा प्रदीपजी जवाहरलाल नेहरूको नजिक देखिन्छन् । तर नेहरूको समाजवाद इन्दिरा गान्धी हुँदै भारतीय राज्य सत्ता पुँजीवादको कब्जामा गएकामा उनको विरोध थियो । व्यावहारिक राजनीतिका कैयन् मुद्दामा प्रदीपजी भारतीय समाजवादी नेताहरू राममनोहर लोहिया र जयप्रकाश नारायणको पक्षमा उभिन्छन् । स्वतन्त्रता, स्वाधीनता, स्वावलम्बनजस्ता मुद्दामा गान्धीसँग बढी नजिक छन् । सिरहाको बस्तीपुरमा उनले बनाएको ‘आश्रम’ उनको त्यही आदर्श समाजको भ्रूण हो, समाजवादी कम्युन् हो । त्यो कम्युन् उनले बुढेसकालमा देखेको सपना मात्रै होइन बरु २०३६/३७ सालतिरै ‘समता’ मार्फत थालेको प्रयोगको निरन्तरता हो । यसरी हेर्दा प्रदीपजीको समाजवाद गान्धीवाद, अराजकतावाद, राममनोहर लोहिया र जयप्रकाश नारायणको समाजवाद, फेबियनवाद, जर्मन सामाजिक जनवाद आदिको समष्टिजस्तो देखिन्छ । तर जगजाहेर के छ भने ती सबैलाई हेर्ने उनको दृष्टिकोणचाहिँ मार्क्सवादी थियो । संक्षेपमा, प्रदीपजी इतिहासका सबै समाजवादीका कमजोरी वा सीमाको समाधान मार्क्समा देख्छन् तर प्रचलनमा रहेको मार्क्सवादले नसुल्झाएका धेरै समस्याको समाधान खोज्न चौतर्फी भौंतारिइरहेका देखिन्छन् ।

मार्क्सवादी अभियन्ता प्रदीप गिरी

प्रदीपजीले जीवनभरि लेखेका लेख र किताब, गरेका भाषण तथा व्याख्यानलाई ‘प्रदीप गिरी साहित्य’ भन्न सकिन्छ । दृष्टिकोणका हिसाबले त्यो साहित्य मूलतः मार्क्सवादी हो । तर, उनको मार्क्सवाद नेपालका अन्य कुनै मार्क्सवादीको भन्दा लचिलो थियो, धेरै परसम्म पुग्थ्यो र अन्ततः ऐतिहासिक भौतिकवाद र अतिरिक्त श्रमको मूल्य सिद्धान्तमै फर्किन्थ्यो । उनी आफूलाई मार्क्स र मार्क्सवादमा आफूलाई निर्धक्क फुकाउन/फैलाउन चाहन्थे । कार्ल मार्क्सको जन्मद्विशतवार्षिकीले त्यो अवसर जुरायो । सन् २०१८ मा मार्क्सको जन्मद्विशताब्दी विभिन्न कार्यक्रमका साथ मनाउन त्यसताका चारवटा कम्युनिस्ट पार्टीमा रहेका हामीले एउटा समिति बनायौं । सबै कम्युनिस्ट पार्टीका नेताहरू केपी ओली, प्रचण्ड, झलनाथ खनाल, मोहनविक्रम सिंह, माधव नेपाल, चन्द्रदेव जोशी, वामदेव गौतम, गणेश साहलाई सल्लाहकार राख्ने समझदारी भयो । अवधारणाको प्रस्तावकका हिसाबले गोपीरमण उपाध्यायलाई सल्लाहकारमा राखियो । प्रदीप गिरीलाई पनि सल्लाहकारमा राखौं भन्ने प्रस्तावमा पनि सबैको सहमति भयो । मैले त्यो कुरा प्रदीपजीलाई फोनमा बताएँ । सुन्नासाथ उनी औधी खुसी भए र भने, ‘तपाईं जहाँ हुनुहुन्छ, यहाँ आउनुस् ।’ उनको आत्मीय शैली यस्तै थियो । म उनको बानेश्वरस्थित घरमा गएँ । लामो कुराकानी भयो । उनले कार्यसमितिमै राखे पनि आफूलाई फरक नपर्ने बताए । मार्क्स र मार्क्सवादमाथि त्यस्ता कार्यक्रममा उनले सबै किसिमले योगदान गर्ने, आवश्यक पर्दा खर्चपर्च जुटाउन पनि सघाउने आश्वासन दिए । अझ जोड दिँदै उनले भने, ‘म तपाईंका नेताहरूजस्तो निष्क्रिय होइन, सक्रिय सल्लाहकार हुनेछु ।’

समितिले देशैभरि मार्क्सवादी कक्षा सञ्चालन गर्ने योजना बनायो । प्रदीपजीलाई ‘कार्ल मार्क्स ः व्यक्तित्व र कृतित्व’ मा प्रवचनका लागि अनुरोध गरियो । बोलाइएका काठमाडौं, धुलिखेल, वीरगन्ज, नेपालगन्ज, पोखरालगायत सबै कार्यक्रममा उनी पुगे । काठमाडौंमा कैयौं कार्यक्रम आयोजना भए । साँच्ची नै ती सबै कार्यक्रममा कम्युनिस्ट पार्टीका अरू कैयन् नेताभन्दा प्रदीपजीको तत्परता बढी हुन्थ्यो । प्रदीपजीलाई कार्यक्रममा बोलाएर धेरै पटक आयोजकहरू जिल्लिएका छन्, प्रदीपजी नआएर हैरान भएका छन्, कैयन् कार्यक्रममा मैले पनि त्यो बेहोरेको छु । तर मेरो अनुभव के भन्छ भने शीर्षकमा मार्क्स र समाजवाद जोडिएका कार्यक्रममा प्रदीपजी पुगिछाड्थे । उनको भाषा, विषयको संगठन र प्रस्तुतिको बेजोड संयोजनका बारेमा दुनियाँ जानकार छँदै छ । उनको प्रस्तुतिमा यस्तो देखिन्थ्यो कि एंगेल्सपछि मार्क्सको सबैभन्दा नजिकको साथी उनी नै हुन् । मार्क्सको जन्म, पालनपोषण, अध्ययन, परिवार, निर्वासन, अभाव, मजदुर आन्दोलन, विवाद र बहसलाई तत्कालीन युरोपेली र विश्व परिस्थिति सँगसँगै उनले जसरी व्याख्या गर्थे, त्यसले श्रोतामा असाधारण प्रभाव पार्थ्यो । विषयवस्तु र भाषामा उनको अधिकारले गर्दा धेरै जटिल ठानिने अवधारणालाई पनि सहज ज्ञानको विषयजस्तो बनाइदिन्थे ।

मार्क्स र मार्क्सवादको प्रचारले बिस्तारै गहिरो प्रभाव दिन थाल्यो । कम्युनिस्ट पार्टीमा व्याप्त ‘चुनावदेखि चुनावसम्म’ को राजनीतिमाथि प्रश्न उठ्न थाल्यो । राजनीतिलाई विचारहीन बनाउने र विचारहीनतालाई नै राजनीति ठान्नेहरू त्यस अभियानविरुद्ध देखिन थाले । कतिसम्म भयो भने मसमेत रहेको पार्टीको कमिटीमा ‘कांग्रेसीलाई ल्याएर मार्क्सवाद पढाउने ?’ जस्ता प्रश्न उठे । मैले किञ्चित ठाडो प्रतिप्रश्न गरेको थिएँ, ‘प्रदीप गिरीले जति मार्क्सको जीवन पढेका र बताउन सक्ने व्यक्ति नेपालमा मात्रै होइन, एसियामै कति जना होलान् ? दोस्रो, कमरेड मदनलाई स्थापित गर्नसमेत प्रदीप गिरीको प्रशस्तै योगदान परेको छ, उनलाई अरू कार्यक्रममा बोलाउँदा के बिग्रन्छ ?’ उता, कांग्रेसमा पनि प्रदीप गिरीले कम्युनिस्टहरूलाई पढाउँछ भनेर असन्तुष्टि देखिएको कुरा धेरै पटक प्रदीपजीले मलाई भनेका थिए । जे होस्, हामीले प्रदीपजीलाई करिब ५ हजार कम्युनिस्ट कार्यकर्ता तथा जिज्ञासुकहाँ पुर्‍यायौं र उनको मार्क्सवादी ‘आत्मा’ लाई निर्धक्क फैलिने अवसर जुटायौं । आज पश्चातापका साथ स्मरण गर्छु, त्यो अभियान निरन्तर अगाडि बढाउन सकिएको भए मुलुकको राजनीति, समाजवादी आन्दोलन र मार्क्सवादमा असाधारण योगदान हुन सक्थ्यो । स्वयं नेपाली कांग्रेसमा पनि विचारको राजनीतिका लागि दबाब सिर्जना हुन्थ्यो । मार्क्सका बारेमा प्रदीपजी जतिको अध्ययन र प्रभावका साथ बताउन सक्ने अहिले नेपाली क्षितिजमा कोही पनि देखिएको छैन । त्यसैले उनको देहावसान मार्क्सवादको प्रसारमा पनि एउटा अपूरणीय क्षति हो ।

अन्त्यमा,

सबै मानिस आ–आफ्नो समयमा बाँच्छन् तर केहीले मात्रै आफू बाँचेको समयको कुरा बुझ्छन्, आफू बाँचेको समयको कुरा बुझ्ने सबैले त्यसलाई भाषा दिन सक्दैनन्, भाषा दिन सक्नेहरूमध्ये सबैले त्यस्तो भाषा बोल्ने हिम्मत गर्दैनन् । प्रदीपजी ती व्यक्ति हुन् जसले आफ्नो युगको कुरा बुझे, त्यसलाई भाषा दिए र दुनियाँसामु जोडजोडले बताइरहे । त्यस अर्थमा उनी हाम्रो युगको एक जना बौद्धिक प्रतिनिधि थिए । समयले आफ्नो बौद्धिक प्रतिनिधि आफैं जन्माउँछ तर परीक्षा पनि लिइरहन्छ । कैयन् प्रतिनिधि असफल हुन्छन् वा परीक्षामा सहभागी नै हुँदैनन् । तर, प्रदीपजी यस्ता बौद्धिक हुन् जसले सार्वजनिक जीवनमा आएपछि न कुनै परीक्षामा गयल भए न असफल भए । अर्थात्, आफू बाँचेको समयभरि उनी त्यो समयको अघिल्लो पंक्तिमा रहिरहे । भनिन्छ, मानिस समयअनुसार चल्छ । तर, इतिहास कसरी बन्छ भने समयले मानिस र मानिसले समयलाई चलाइरहेका हुन्छन् । मानिस र समयको तानातानीमा दुवैले एकअर्कालाई चलाउँछन् र दुवै अगाडि बढ्छन् । समय र मानिसको यो तानातानीमा प्रदीपजीले जीवनभरि आफूलाई अगाडि राखे । त्यसैले उनी बाँचेको समयको राजनीतिक उतारचढावमा कैयौं स्वयं घोषित राजनेता, अभियन्ता, बौद्धिकहरूले चमत्कारको ढोग देखाए र गए । तर, प्रदीपजीले आफ्नो उचाइ यसरी निर्माण गरे कि उनी त्यहाँबाट कहिल्यै तल झर्नुपरेन ।

प्रकाशित : भाद्र ६, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

'अहिले नबोल्नु भनेको अदालतसँग हाम्रो सेटिङ छ भन्‍ने स्वीकार गर्नु हो'

नबोल्दा यसले हामीलाई झनै बदनाम बनाउँछ
घनश्याम भुसाल

काठमाडौँ — एउटा भनाइ छ, 'अन्तका पाप काशीमा धुने, काशीमा गरेको पाप चाँहि कहाँ धुने ?' अन्यत्र गरेको पाप अदालतमा धुने होला । अदालतमा गरिएको पाप कहाँ धुने होला ? यो ठूलो विषय हो । बाहिरबाट हेर्दा अदालतको विषय हो बोल्नु हुँदैन भन्ने वातावरण बनाउन खोजिएको छ तर त्यस्तो गर्नु हुँदैन । किनभने अदातलको मुद्दा भनेको राज्यको प्रमुख अंगको मुद्दा हो ।

यत्रो ठूलो विषयमा राजनीतिक दलहरूले धारणा नबाउनु भनेको जुनसुकै किसिमले सिद्धान्तत:, व्यवहारत: रुपमा केही न केही धारणा बनाउनुपर्छ, यो ठीक हो कि गलत हो भनेर । न्यायाधीश र वकिलहरूले, खासगरी नेपाल बारले उठाइरहेका विषय नेपालको एउटा सचेत नागरिकले समर्थन गर्नुपर्ने मामिला छन् ।

प्रधानन्यायाधीशले मनपरी रुपमा मुद्दा छानी-छानी कसलाई के मुद्दा तोक्ने भन्ने विषयले पनि न्यायिक स्वच्छता देखाउँदैन । मुद्दा तोक्दा विधि निर्माण गर्नुपर्छ भन्ने विषय कसैले विरोध गर्नसक्ने कुरा नै होइन । अदालतभित्रै विधि स्थापित हुँदैन भने विधि खोज्न कहाँ जाने ?

अनेकन मुद्दाहरू, खासगरी 'मालदार मुद्दा'हरू प्रधानन्यायाधीशले आफैँ राख्ने गरेका छन् । सिद्धान्तत: यो कुरा गलत हो । यो सबै नेपालीको चासोको विषय हो । त्यसमा फुलकोर्टमा भएको कुरा पनि लागु भएको छैन । अझ गम्भीर विषय भनेको नेपालभर अदालतको न्याय व्यवस्था प्रभावित गर्ने गरी विचौलियाहरूको राष्ट्रिय सञ्जाल विस्तार भएको विषय छ ।

हामीले कि यो विषय होइन भनेर भन्न सक्नुपर्‍यो या यसलाई समर्थन गर्न सक्नुपर्‍यो । यो विषय भनेको अदालतले सर्वोच्च अदालतका न्यायाशीध हरिकृष्ण कार्कीको नेतृत्वमा बनाएको कार्यदल जसमा नेपाल बार यस विषयका जानकारहरू राखिएको छ । जुन कार्यदल अदालतमा भएको विकृति, विसंगती र भ्रष्टचारको विषयमा छानबिन गर्न गठन गरिएको हो । यसको अर्थ अदालतमा यो कुरा छ भनेर स्वीकार गरेर निर्माण गरिएको हो । त्यसले यो अदालत कहाँसम्म पुगिसकेको रहेछ भन्ने देखाउँछ ।

भ्रष्टाचारको दलदलमा जाकिसकेपछि अदालतले यो कार्यदल बनाएको हो । कार्यदलले दिएका निष्कर्षलाई कसैले पनि ठीक होइन भनेर भनेको छैन र प्रधानन्यायाधीशले समेत यसलाई स्वीकार गरेको भन्ने बुझिन्छ । आफैँले स्वीकार गरेको विषय पनि लागू गर भनेर बोल्न नसक्ने हुन्छ ? यो नागरिकको चासोको विषय हो ।

राजनीतिक दलहरूले आफ्ना सांसद्‍मार्फत् वा स्वतन्त्र रुपमा, संसदीय दल वा पार्टी कमिटीमा उठाउनुपर्ने हुन्छ । यस्तो विषयमा पनि हाम्रो तत्परता नहुनु भनेको मेरो भाषामा भन्दा राज्यको एउटा धेरै महत्वपूर्ण अंगमा रहेको दलाल पूँजीवादमाथि हामीले प्रश्न गर्न नसक्ने कुरा हो । प्रगतिशील भनिएका पार्टीहरूले प्रश्न उठाउन नसक्नु, छलफल गर्दैनौँ भन्नु, यो धेरै ठूलो नालायकी हो । त्यसैले यो विषयमा राजनीतिक दलहरूले सोच्नुपर्छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि मन्त्रिपरिषद्‍मा भाग लिएको भन्ने आरोपपछि अहिलेको आन्दोलन सुरु भएको हो । बाहिरबाट हेर्दा देखिएको विषय भनेको अदालतमा राजनीतिक दलहरूको लेनदेनको बक्यौता रहेको छ ।

यति कारणले गर्दा हामी चुक्छौँ । नत्र हामी यत्रो विषयमा किन चुप छौँ ? अदालतको नाममा राजनीतिक दलका सबैले डिल गर्ने वा सेटिङ गर्ने गरेका छन् भन्ने कुरा उठिरहेको छ । यस्तो विषयमा हामीले नबोल्दा यसले हामीलाई झनै बदनाम बनाउँदैछ । अहिले नबोल्नु भनेको अदालतसँग हाम्रो सेटिङ छ भन्ने बुझिन्छ । त्यसै कारणले बोल्न सक्दैनौँ भनेर एक प्रकारले स्वीकार गर्नु हो । राजनीतिक दलहरू यस्तो मुद्दामा स्वतन्त्र छन्, कुनै लेनदेनमा फसेका छैनन् भनेर नागरिकलाई आश्वस्त पार्नुपर्ने छ । त्यस अर्थमा पनि हामीले बोल्नुपर्छ, न्यायालय शुद्धिकरणका लागि उठेका मागहरूलाई समर्थन गर्नुपर्छ । जसले न्यायालयभित्रको शुद्धिकरणको समर्थन गर्न सक्दैन त्यसले पार्टीभित्रको अशुद्धि, भ्रष्टाचार, विसंगति र विकृतिमाथि प्रश्न गर्न सक्दैन ।

यस्तो अवस्थामा अदालतले शासन गरेको विषय कसरी प्रजातान्त्रिक हुन्छ ? लोकतन्त्र कसरी बलियो हुन्छ? यस्तो धेरै प्रश्नहरू छन् । त्यसैले गर्दा दलहरूले बोल्नुपर्छ ।

सामान्य आर्थिक व्यवस्थाले यसको राजनीतिक, संवैधानिक, यसको सांस्कृतिक व्यवस्था निर्माण गर्छ । त्यस अर्थमा आजको अर्थतन्त्रको वर्चश्वशाली चरित्र भनेको दलाल पूँजीवाद हो । त्यसले यो सबै अंगहरूलाई कब्जा गर्छ । आफ्नो अनुकुल चलाउँछ । समाज र अदालतसहित सबै संस्थाहरूलाई झन भ्रष्ट बनाउँदै जान्छ । अन्तत: यसले हरेक लोकतन्त्रलाई आक्रमण गर्छ ।

त्यस अर्थमा सैद्धान्तिक रुपमा, ऐतिहासिक रुपमा हेर्दा यो भयंकर रुपमा खतराको विषय हो । नेपाली समाज, राजनीति, अर्थतन्त्र र हाम्रो लोकतन्त्रलाई कसरी जिवित राख्ने, यसलाई कसरी जीवन्त पार्ने, लोकतन्त्रलाई कसरी लोकको बनाउने भन्ने आजको प्रश्न हो । यस्तो प्रश्नमा चुपचाप रहने हो भने राजनीतिक दलले राजनीति वाहेक अन्य थोक गर्ने, राजनीति नगर्ने भन्नु हो ।

(मणि दाहालसँग कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक १५, २०७८ २१:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×