हामीले खाने कुरा जमिनबाट उत्पादन गर्नुपर्छ, फ्याक्ट्रीबाट होइन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामीले खाने कुरा जमिनबाट उत्पादन गर्नुपर्छ, फ्याक्ट्रीबाट होइन

राजेश हमाल

हामी जति पनि कमाउँछौँ, त्यसको ९८/९९ प्रतिशत त खानेकुरा, लगाउने कुरा र सवारी साधनमै खर्च गरिरहेका छौँ । हामीले विभिन्न परिश्रमबाट आर्जन गरेको कमाइ नै अन्धाधुन्ध खर्च गरिरहेका छौँ । दु:ख गरेर कमाएको खर्च गर्नलाई हामी सावधान त हुन पर्‍यो नि । कस्तो सामग्रीमा हामीले खर्च गरिरहेका छौँ ?

हामी लहैलहै र बहकाउमा लागिरहेका छौँ कि ? आवश्यकता नै हो कि ? हामीले प्रयोग गरिरहेको वस्तुमा कति ध्यान दिएका छौँ ? आज खतराको घण्टी बजी नै सकेको छ तर पनि हामी सचेत भएका छैनौँ । यही परिस्थितिलाई समेट्दै एक जना डाक्टरसाबले मलाई के भन्नु भएको थियो 'आजकल मान्छे बिरामी हुँदाभन्दा स्वस्थ छ भन्दा आश्चर्य लाग्छ ।'

मान्छे कसरी स्वस्थ छ भन्नेमा आश्चर्य लागिरहेको छ । स्वस्थ रहन भनेर हामीले फलफूल, सागसब्जी र दूधदही मात्र खान्छौँ तर पनि ती कति गुणस्तरीय छन् त ? हामीले खाने सागसब्जी र फलफूलमा पनि विषादी प्रयोग गरिएको छ । ती कुराले पनि हामीलाई पूर्ण स्वस्थ बनाउन सक्दैन । आज हामीले सेवन गरिरहेका चिजबारे हामीलाई नै थाहा छैन । न त त्यो वस्तु कहाँबाट आएको भन्ने कुरा थाहा छ न त त्यो चिज कसले बनायो भन्ने ? हामीले खाने माछामासु कति स्वस्थ छ भन्ने कुरा नै हामीले सरोकार राख्दैनौँ । हामीले खाने चिजको स्रोत त थाहा हुनुपर्‍यो नि । अहिले हामी आकर्षित विज्ञापनका नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका छौँ ।

आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी बहकिएका छौँ । हामी आधुनिकताको नाममा यसरी बहकिएका छौँ कि, हामीले उपभोक्ताको हिसाबले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । उदाहरणका लागि आकर्षक र्‍यापरमा आउने चिप्सलाई नै लिऔँ न । हामीले भित्र हुने चिप्सलाई भन्दा खोललाई बढी पैसा तिरिरहेका छौँ । उत्पादकहरूले पनि वस्तुलाई भन्दा प्याकेजिङमा नै धेरै खर्च गरिरहेका छन् । हामी सबै आधुनिकताका नाममा उपभोक्तावादमा फसिरहेका छौँ ।

अब हामीले उपभोक्ताका रूपमा कसरी सचेत हुने भन्नेबारे सोच्नैपर्ने भएको छ । यसका हरेक व्यक्तिले निर्णय लिनुपर्ने भएको छ । अन्त्यमा सरकारले पनि यसबारेमा निर्णय लिनेछ । हामीले स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ । मान्छेले खाने कुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र ? मान्छेले खाने चिज त जमिनबाट उत्पादन गर्नुपर्छ ।

-बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई हमालले गरेको सम्बोधनको सम्पादित अंश ।

प्रकाशित : श्रावण २७, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

राजा महेन्द्रले दिएका उपहार विदेशी संग्रहालयमा फेला

राजा महेन्द्रले उपहारमा दिएको आठौं शताब्दीको तारा/पार्वतीको प्रस्तर मूर्ति अमेरिकाकै पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरस्थित एक संग्रहालयमा फेला परेको छ ।
देवेन्द्र भट्टराई

काठमाडौँ — पुरातत्वविद् लैनसिंह वाङ्गदेलको सन् १९८९ मा प्रकाशित बहुचर्चित कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ को प्राक्कथनमा भनिएको छ‒‘न्युयोर्कको एसिया हाउसमा नेपाली कला‐सम्पदाबारेको प्रदर्शनी पहिलोपटक सन् १९६४ मा गरिएको थियो । त्यो प्रदर्शनी आयोजना गर्ने डा.स्टेला क्रमरिच नै त्यस्ती विद्धान हुन् जसले नेपालको कलालाई पश्चिमा जगतमा पहिलोपटक चिनाएकी थिइन् ।’

संयोगले कलाविद् एवं क्युरेटर डा. क्रमरिचले नेपालको कलालाई बाहिरी विश्वमा चिनाएको ५८ वर्षपछि एउटा सूचना बाहिर आएको छ जहाँ तिनै क्युरेटरलाई राजा महेन्द्रले उपहारमा दिएको आठौं शताब्दीको तारा/पार्वतीको प्रस्तर मूर्ति अमेरिकाकै पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरस्थित एक संग्रहालयमा फेला परेको छ । सन् ६० दशकको सुरुवातमै राजा महेन्द्रले उपहारमा दिएको यो पुरातात्विक सम्पदा 'फिलाडेल्फिया म्युजियम अफ आर्ट'मा भेटिएकोबारे नेपाली कला/सम्पदा अन्वेषणको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले जानकारी दिएको छ । यो मूर्ति सन् १९६५ मै अमेरिका पुगेको पाइएको छ । तर, मूर्तिको टाउको सहितको माथिल्लो अंश फुटेको अवस्थाबारे म्युजियमले आफ्नो विवरणमा केही उल्लेख गरेको छैन ।

अन्वेषक डा. रमेश ढुङ्गेलका अनुसार, कलाविद् डा. स्टेला क्रमरिच भारतीय कला इतिहासकी प्राध्यापक हुन् जसले कलकत्ता युनिभर्सिटीमा समेत प्राध्यापन(१९२४‐५०) गरेकी थिइन् । उनी युनिभर्सिटी अफ पेनिन्सिल्भियाको दक्षिण एसिया विभागमा अध्यापन गर्थिन् । उनी लामो समय फिलाडेल्फिया म्युजियम अफ आर्टमा क्युरेटरका रुपमा कार्यरत रहिन् । उनको ९७ वर्षको उमेरमा १९९३ मा निधन भएको थियो ।

‘ट्रेडिङ फेथ फर डिप्लोम्यासी’ शीर्षकमा लस्ट आर्टस् अफ नेपालले दिएको जानकारी अनुसार, तत्कालीन राजा महेन्द्रले उच्चपदस्थ विदेशी अधिकारी वा कूटनीतिज्ञलाई उपहारमा दिएको तर कालान्तरमा कुनै म्युजियममा बिक्री वा प्रर्दशनीमा भेटिएको सम्पदा यो पहिलो होइन । यसअघि, राजा महेन्द्रले क्यानेडियन कूटनीतिज्ञ चेस्टर रोनिङलाई उपहारमा दिएको चाँगुनारायण मन्दिरको विष्णु/नारायण(डोला शिखर नारायण) प्रतिमा उपहारमा दिएका थिए । कला संग्रहकर्ता एवं कूटनीतिज्ञ रोनिङको सन् १९८४ मा ९० वर्षको उमेरमा क्यानडामा निधन भएको थियो ।

अन्वेषक डा. गौतम बज्राचार्यले गरेको लिपी अनुवादअनुसार, यो डोला शिखर नारायण प्रतीमा नेपाल सम्वत् ११०५ मा राजा सिंहदेवको सम्मानमा उनका मन्त्री श्रज्यधाराले सम्मानपूर्वक निर्माण गरेको जनाइएको छ । यो पुरातात्विक सम्पदा हाल न्युयोर्कको मेट्रोपोलिटान म्युजियममा रहेको छ ।

यस्तै, राजा महेन्द्रले राजदूत रोनिङलाई दिएको १४ औं शताब्दीमा निर्मित बोधिसत्व मञ्जुश्री प्रतिमा हाल हङकङको सद्बिज अक्सन हाउस(कला संग्रह/बिक्री केन्द्र)मा रहेको छ । क्यानेडियन मूलका राजदूत रोनिङको प्रभावमा रहेर भारतीय कांग्रेसका नेता डा. करण सिंहले समेत ३१ डिसेम्बर १९६३ मा नेपाली उत्पत्तिको बोधिसत्व (सत्रौं शताब्दी) प्रतीमा उपहारमा दिएको प्रमाण फेला परेको लस्ट आर्टस् अफ नेपालले जनाएको छ । त्यसबेला डा. सिंहले बिकानेरका महाराजाको प्रतीमा पनि रोनिङलाई दिएका थिए । बोधिसत्व प्रतीमा भने रोनिङको निधनपछि उनका सन्तानले सन् २०१२ मार्चमा न्युयोर्कको सद्बिज अक्सन हाउसलाई बिक्री गरेको पाइएको छ ।

चोरिएको मूर्ति र बिक्रेता सँगै

इटुम्बहालको बौद्ध गुम्बाबाट चोरिएको स्वर्ण तामाको चक्रसम्भरा बज्रबाराहीको मूर्ति अमेरिकाको न्युयोर्कस्थित कला व्यापारी न्यफ होम्सीबाट जफत गर्दै जिल्ला न्यायाधिवक्ता कार्यालयले आफ्नो जिम्मामा लिएको छ ।

गत मार्च २५ मा जिल्ला न्यायाधिवक्ताले सम्पदा बिक्रीको यो आपराधिक मुद्दालाई अदालतमा दर्ता गराएको थियो । १६ औं शताब्दीको मानिने चक्रसम्भरा सन् १९८३ मा काठमाडौंको गुम्बाबाट चोरिएको र ३ लाख ७० हजार डलरमा बेचिएको प्रारम्भिक सूचना अदालतले दायर गरेको मुद्दामा उल्लेख छ । कला व्यापारी न्यफ होम्सी पनि सम्पदाजन्य कलाकृति बिक्री तथा ओसारपसारको अभियोगमा सन् २०१५ मै पक्राउ परेर तारिखमा छाडिएका थिए ।

‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, जिल्ला न्यायधिवक्ता कार्यालयले राखेको विवरणमा चक्रसम्भरा बज्रबाराहीलाई १३ औं शताब्दीको कलाकृति मानिएको छ । न्यूयोर्कमा रहेको सम्पदा घर फर्काउनेबारे न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत कार्यालयले समन्वय गर्दै आएको छ ।

प्रकाशित : श्रावण २७, २०७९ १५:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×