जनैको हिसाबकिताब- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनैको हिसाबकिताब

निर्जला पौडेल

काठमाडौँ — विश्वव्यापीकरणको यस युगमा हामी देशको भौगोलिक सिमानाभन्दा बाहिर गएर कुनै पनि सामान खरिद तथा बिक्री गर्न सक्छौं; त्यो पनि उचित मूल्यमा । यो प्रतिस्पर्धी व्यापार बजार नीतिको विशेषता नै हो । यस वर्षको जनैपूर्णिमामा मात्र लाखौं मूल्य बराबरको जनै आयात गरिनु यसैको परिणाम हो । जनै पूजापाठ तथा व्यक्तिको आस्थासँग सोझै जोडिएको वस्तु हो ।

हेर्ने हो भने, निर्यातमा अनुदानप्राप्त वस्तुमध्ये पर्ने सुती तथा धागोको निर्यात वृद्धिदर राम्रै छ । यद्यपि ठूलो रकममा जनै चीनलगायत मुलुकबाट आयात किन हुन्छ ? जब कि चीनमा बनेका जनै विधिअनुरूप बनेका पनि पाइँदैनन् ।

भावनात्मक रूपमा हेर्ने हो भने धेरैजसो नेपालीले आफूलाई सनातन धर्मानुयायी मान्छन् । आफ्नो संस्कार, संस्कृतिलगायत कार्य गर्न अन्य मुलुकको भर नपर्नुपर्ने हो, अझ ती मुलुक जहाँ नेपाली संस्कृतिले अंशतः पनि ठाउँ पाएको देखिँदैन । जुन श्रद्धा, आस्था र भावनाले नेपालमा जनैको उत्पादन हुन्छ, त्यही भावनाले अन्यत्र जनै उत्पादन नहुन सक्छ । त्यसमाथि हाम्रा आफ्नै धागो उद्योगहरू छन् । नेपालमै बनेका जनै विधिपूर्वक पनि बन्न सक्छ । राम्रो भएकाले वा अझ राम्रो बनाउन आफ्नै उत्पादनलाई प्रोत्साहन गर्दा देशलाई पनि फाइदा नै पुग्छ । यसको व्यावहारिक पक्ष नियाल्ने हो भने चीनबाट आयातित जनै प्रतिगोटा १ देखि २ रुपैयाँ पर्न जान्छ । नेपालमा उत्पादन हुने जनै भने प्रतिगोटा १० रुपैयाँ पर्न जान्छ । यसर्थ मागको नियमअनुसार जुन वस्तुको मूल्य कम हुन्छ, त्यस वस्तुको माग अधिक हुन्छ; विशेषतः हाम्रोजस्तो विकासोन्मुख देशमा ।

नेपालले आफ्नो प्रतिस्पर्धा भारत र चीनजस्ता औद्योगिक क्षेत्रमा अघि बढेका मुलुकसँग गर्नुपर्ने हुन्छ । हुन त नेपाल पनि सन् २००४ देखि विश्व व्यापार सङ्गठनको सदस्यता लिएको मुलुक हो । यद्यपि यी दुई ठूला मुलुकसँग नेपालको प्रतिस्पर्धा कायमै छ । खुला बजार नीति स्विकार्ने हो भने यस्ता प्रतिस्पर्धा पनि स्विकार्नुपर्ने हुन्छ । त्यसैले पनि हामीसँग आफ्नो उत्पादनको स्तर बढाउनुको विकल्प छैन ।

विगत लामो समयदेखि आयातको संरचनामा खासै ठूलो परिवर्तन आएको देखिँदैन । निर्याततर्फ भने विसं. २०४० को दशकमा अग्रस्थानमा रहेका वस्तुको हिस्सा पछिल्ला वर्षहरूमा उल्लेख्य घटेको देखिन्छ । धागोको आयात २०४० को दशकदेखि नै भारतलगायत अन्य मुलुकबाट गरिएकामा २०७० को दशकदेखि चीनबाट पनि हुन थालेको पाइन्छ । यसबाट नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गइरहेको स्पष्ट हुन्छ । बढ्दो व्यापार घाटामा सुधार ल्याउन संरचनात्मक सुधार गर्नु अत्यावश्यक देखिन्छ ।

उत्पादनका साथै संरचनाको विकास गर्न हामीसँग प्रशस्त स्रोतसाधनको जरुरत पर्छ । हुन त नेपालमा सुती र धागोको उत्पादन निकै पुरानो व्यवसाय हो । चर्खा आन्दोलन र घरबुना कपडालाई प्राथमिकता दिनुपर्ने इतिहास रहेका कारण धागोको उत्पादन नेपालका लागि परम्परागत व्यवसाय हो भन्न सकिन्छ । नेपालको पहिलो सामाजिक संस्था नै श्री चन्द कामधेनु चर्खा प्रचारक महागुठी हो, जुन तुलसीमेहर श्रेष्ठले विक्रम संवत् १९८३ वैशाख १ मा स्थापना गरेका थिए । नेपालको आधुनिक र वैज्ञानिक धागोको उत्पादन सन् १९७१ मा हेटौंडा धागो उद्योगबाट भएको मानिन्छ ।

हाल नेपालका विभिन्न भूभागमा सुती उत्पादन हुने गरेको छ । विशेषतः बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, डोटी आदि जिल्ला सुती उत्पादनका लागि प्रमुख मानिन्छन् । सुती उत्पादनका लागि पानी नजम्ने जमिन, आर्द्रता ५.५-७.५ र २१ डिग्रीदेखि २७ डिग्री सेल्सियस तापक्रम उत्तम मानिन्छ । वर्षमा २० देखि ३० इन्चसम्मको सामान्य वर्षा अनि असोजदेखि कात्तिकको सुक्खा हुने मौसममा सुती उत्पादन अधिक हुन्छ । चिम्ट्याइलो र बलौटेबाहेक सबै प्रकारको माटो सुती उत्पादनका लागि उपयोगी हुन्छ । त्यसैले नेपालका त्यस्ता भूभाग जहाँ अन्य नगदेबालीको उत्पादन सम्भव छैन; ती जमिनमा सुती उत्पादन गर्न सकिन्छ । यसले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गराउन पनि मद्दत गर्दछ । उपयोगी भूगोलको पहिचान गरी वैज्ञानिक र व्यवस्थित उत्पादन गर्न सकिएको खण्डमा सुतीलगायत धागोको उत्पादनमा वृद्धि हुन सक्छ ।

कच्चा पदार्थबाहेक उत्पादनमा चाहिने अर्को महत्त्वपूर्ण वस्तु हो, उपकरण। नेपालको उत्पादन प्रणाली मानव केन्द्रित छ। यसलाई साधन केन्द्रित बनाउन सकेथोरै लगानीबाट धेरै उत्पादन गर्न सकिन्छ । त्यसैले यथासम्भव कुशल र उत्पादनशील उपकरणहरूको सहुलियतका साथ व्यवस्था गरिनुपर्दछ।जबसम्म बजारसापेक्ष उपकरण उपलब्ध हाुदैनन्, तबसम्म अधिकतम उत्पादन हुन सक्दैन । यस्ताउपकरणको आयातमा गरिने सहजीकरणले उत्पादकमा थप प्रोत्साहन मिल्न सक्छ।

स्रोत व्यवस्थापन मानव स्रोतबिना अधुरो हुन्छ । वस्तुगत व्यवस्थापन नै मानव स्रोतबाट हुन्छ । त्यसैले सशक्त मानव स्रोत कुनै पनि क्षेत्रको आवश्यकता हो । दक्ष जनशक्ति निर्माणका लागि आवश्यक अभिप्रेरणाका कार्यक्रमका साथै उपयोगी वातावरण सिर्जना गरिए उत्पादन बढ्छ । विगत वर्षदेखि लघु उद्यम विकास कार्यक्रम (मेडपा) कार्यक्रमअन्तर्गत र समृद्धि कार्यक्रमअन्तर्गत युवालाई उद्यमी बनाउने कार्य भइरहेको छ । यस्ता कार्यक्रमहरू थप उत्साहका साथ अघि बढाएर विशिष्टीकरण गर्दा यसले वस्तुको उत्पादनमा सोझो सकारात्मक असर पार्दछ ।

‘आम्दानी, उत्पादन र रोजगारी’ को केनिसियन सिद्धान्तअनुसार प्रभावशाली मागका दुई महत्त्वपूर्ण तत्त्व हुन्छन्- एउटा, पर्याप्त पूर्ति संयोजन र अर्को पर्याप्त मागको संयोजन । प्रभावशाली माग हुन पर्याप्त पूर्तिको क्षमता हुन जरुरी हुन्छ । कुनै वस्तु जतिसुकै अब्बल भए पनि ग्राहकले चाहेको समय र परिमाणमा उक्त वस्तु नपाएको खण्डमा उसले त्यो वस्तुमा रुची राख्दैन । अतः पूर्तिको क्षमताअनुसार मागको निर्माण गर्न सकिन्छ ।

पर्याप्त पूर्ति संयोजन दरिलो भौतिक र प्राविधिक अवस्थामा निर्भर हुन्छ । जति पूर्ति बलियो हुन्छ, माग पनि त्यहीअनुसार बलियो बन्छ । हाल विश्वमा चीन सबैभन्दा बढी सुती उत्पादन गर्ने मुलुकमध्ये एक हो । उसले प्रतिवर्ष ६४ लाख टन हाराहारीमा सुती उत्पादन गर्दछ । चीनको प्राविधिक र भौतिक पक्ष पनि सुदृढ छ । त्यसैले उसले सस्तो मूल्यमा अधिकतम उत्पादन गरिरहेको छ भने माग पनि त्यहीअनुसार बढाइरहेको छ ।

‘एब्सोल्युट इनकम ह्यापिनेस’ सम्बन्धी केनिसियन सिद्धान्तले पनि व्यक्तिको क्रयशक्तिअनुसार उसले वस्तु खरिद गर्छ । यसरी हेर्दा हाम्रो क्रयशक्ति कमजोर छ, त्यसैले चीनबाट आयातित सस्ता जनैहरूको खपत बढ्नु स्वाभाविक भएको हो ।

विचारणीय पक्ष के छ भने, जनै नियमित खरिद गरिने वस्तु होइन ।जेम्स ड्युन्सबेरी (१९१८–२००९) ले प्रतिपादन गरेको तुलनात्मक आयको सिद्धान्तले पनि वस्तुको खपतमा त्यसको मूल्यबाहेक परम्परागत सोच, मूल्य र मान्यताले पनि अहम् भूमिका खेलेको हुन्छ भनेर बताएको छ । विशेषतः संस्कार र परम्परासँग सोझै जोडिएका जनैजस्ता वस्तु यसमा पर्छन् । त्यसैले महँगै भए पनि नेपालमै विधिअनुसार बनेका जनैको खपत उत्तिकै छ । तर‚ विश्वव्यापी प्रतिस्पर्धाको यो समयमा हामीले आफैँलाई प्रतिस्पर्धामा खरो उतार्न सकेनौं भने यस्ता वस्तुको खपतको लेखाचित्र कति दिनसम्म उकालो लाग्न सक्ला यथावत् नै रहला र !

अब पनि हामीले हाम्रा श्रद्धा, आस्था, मूल्य र मान्यता जोडिएका जनैजस्ता वस्तुलाई प्रतिस्पर्धात्मक बजारमा जोगाउन सकेनौं भने कुनै दिन आफ्नो अस्तित्वसँग जोडिएका वस्तुहरूको लिलामी गर्नुपर्ने दिन नआउला भन्न सकिन्न । जनै त एउटा प्रतिनिधि वस्तुमात्र हो; हामीमाझ आफ्नो पहिचान, गर्व र शान जोडिएका यस्ता धेरै वस्तु छन्, जसमा हामी परनिर्भर हुनुपरेको छ । अझै पनि आयातित वस्तुहरूको भरमा जीवन सहजीकरण गर्दै जाने हो भने बिस्तारै हामीले आफ्नो पहिचान गुमाउँदै जानुपर्ने छ ।

यसकारण, बेलैमा हामीसँग भएका सम्भावनाको पहिचान गरेर व्यावसायीकरणका साथ त्यसको उत्पादनलाई बढावा दिएमा भविष्यमा आइपर्ने समस्याहरूबाट बच्न सकिन्छ ।

प्रकाशित : श्रावण २७, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए । 

प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताए । त्यस्तै उनले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने उनले बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवसजस्ता कार्यक्रमले समतामूलक शान्तिपूर्ण समाज निर्माणमा सहयोग पुग्ने पनि उनले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×