किन लगाउने जनै ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन लगाउने जनै ?

हिन्दूशास्त्रअनुसार कुनै पनि यज्ञको अनुष्ठान गर्दा उत्तरीय (कम्मरभन्दा माथि लगाइने वस्त्र) लगाएर मात्रै गर्ने गरिन्थ्यो । उत्तरीय नलगाई गरिएको कर्मको फल नपाइने भएकाले यज्ञका लागि उत्तरीय आवश्यक हुन्थ्यो । कालान्तरमा यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवीतको प्रयोग हुन थालेको पाइन्छ ।
प्रदीप घिमिरे

काठमाडौँ — श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म अर्थात् जनैपूर्णिमाको छुट्टै महत्व छ । विशेषत: हिन्दू धर्मावलम्बीहरूले मनाउने यो पर्वको सुरुवात वैदिककालदेखि नै भएको शास्त्रहरूमा उल्लेख छ ।

विधिपूर्वक मन्त्रेपछि नयाँ यज्ञोपवीत (जनै) धारण गर्ने भएकाले पनि यसलाई जनैपूर्णिमा भन्न थालिएको हो । वैदिककालमा वैदिक अध्ययनको आरम्भ गर्ने दिनलाई उपाकर्म (जनैपूर्णिमा) भन्ने गरिएको शास्त्रहरूमा उल्लेख भएको नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक आमोदवर्धन कौण्डिन्न्यायन बताउँछन् ।

‘उपाकर्म भन्ने शब्द नेपाली समाजमा त्यति प्रचलित नभएकाले यसको अर्थ पनि प्रसिद्ध नभएको देखिन्छ । तसर्थ यसको शाब्दिक तथा लाक्षणिक अर्थ बुझ्नुपर्ने हुन्छ‚’ कौण्डिन्न्यायन भन्छन्‚ ‘सामान्यत: ‘उपाकर्म’ शब्दले कुनै पनि कार्यको आरम्भ वा उपक्रमलाई बुझाउने भए तापनि यस प्रसंगमा भने उपाकर्म शब्दले शास्त्रीय विधिका साथ वेद पढ्ने कार्यको आरम्भ भन्ने बुझाउँछ ।’

सत्कर्म, विद्या आर्जन, वेदाध्ययन गर्न सुरुमा उपनयन संस्कार गर्नुपर्ने र यज्ञोपवीत धारण गर्नुपर्ने भएकाले पनि यसलाई हिन्दू धर्ममा भएको षोडश संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको छ ।

प्राचीन हिन्दूशास्त्रअनुसार कुनै पनि यज्ञको अनुष्ठान गर्दा उत्तरीय (कम्मरभन्दा माथि लगाइने वस्त्र) लगाएर मात्रै गर्ने गरिन्थ्यो । उत्तरीय नलगाई गरिएको कर्मको फल नपाइने भएकाले यज्ञका लागि उत्तरीय आवश्यक हुन्थ्यो । कालान्तरमा यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवीतको प्रयोग हुन थालेको पाइन्छ ।

आजभोलि यो पर्वमा रक्षाबन्धन बाँध्ने, श्रावणी कर्म गर्ने‚ ऋषितर्पणी कर्म गर्ने, यज्ञोपवीत धारण गर्नेलगायतका कर्महरू गरिँदै आए पनि वैदिक ग्रन्थअनुसार यसलालाई उपाकर्म संस्कार भन्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत धर्मशास्त्र विभागका प्रमुख प्रा. देवमणि भट्टराईले बताए । समयको परिवर्तनसँगै विभिन्न पौराणिक मान्यताले स्थान पाउँदै जाँदा श्रावण पूर्णिमालाई धेरै तरिकाले मनाउन थालिएको छ । विशेषगरी यज्ञोपवीत धारण गर्ने दिनका रुपमा यसलाई मनाइन्छ ।

व्रतबन्ध गरेको वटुको श्रावण शुक्ल पूर्णिमादेखि औपचारिक वेदाध्ययन सुरु हुन्छ । त्यसपछि उसले चारदेखि पाँच महिनासम्म वेदको अध्ययन गर्छ । तत्पश्चात क्रमश: उसले वेदका अङ्गहरू, जस्तै: १. शिक्षा २. कल्प ३. व्याकरण ४.ज्योतिष ५. छन्द ६. निरुक्तको अध्ययन गर्नुपर्ने शास्त्रहरूमा उल्लेख गरिएको भट्टराई बताउँछन् । ‘वेदको अर्थ ज्ञानको राशि भन्ने हुन्छ । अब बालक वेद पढ्न अर्थात् ज्ञानार्जन गर्न सक्षम भयो भन्ने भएपछि निश्चित संस्कार गरेर उसलाई वेदको ज्ञान दिइन्छ । त्यो संस्कार अथवा कर्म नै उपाकर्म अर्थात् यज्ञोपवीत धारण गर्ने कर्म हो‚’ उनले भने ।

वैदिक परम्परा अनादि सिद्ध परम्परा भएको भन्दै उनले अक्षर चिनेर मात्र वेदको अध्ययन नहुने भएकाले गुरुको सम्मुखमा भएर सुनिएको कुरा अनुसरण गर्दै जानु, त्यसलाई व्यवहारमा उतार्न सक्नु अथवा मनन गर्नु महत्वपूर्ण हुने बताए । ‘यी सबै कुराका लागि पनि विद्यार्जनको आरम्भ गर्न यज्ञोपवीत धारण गर्नु जरुरी हुने शास्त्रहरूमा उल्लेख भएको’ पनि उनले बताए ।

आजभोलि व्रतबन्ध गर्दा चूडाकर्म‚ उपयनयन‚ वेदाध्ययन र समावर्तन गरी चारवटा संस्कार एकैदिन सिध्याउने चलन भए पनि चूडाकर्म सामान्यत: एक वर्ष पुगेपछि तीन वर्षसम्ममा सक्नुपर्ने स्वतन्त्र संस्कार हो ।

पछिल्लो समय मानिसहरूमा जनै लगाउने संस्कार दिनदिनै हराउँदै गए पनि यो अनुशासनको सूचक भएको र जनै धारण गर्नाले आफूमा त्यस्ता केही कर्म छन्, जसलाई मैले पूरा गर्नुपर्छ भन्ने जिम्मेवारीबोध गराउनसमेत यसले सहयोग पुग्ने धर्मशास्त्रीहरू बताउँछन् ।

हिन्दूशास्त्रमा उल्लेखित षोडश संस्कारमध्ये सबैभन्दा महत्वपूर्ण जनैपूर्णिमा अर्थात् यज्ञोपवीत धारण गर्ने संस्कारलाई बताइएको छ । यज्ञोपवीत धारण नगरेको मानिस वेद अध्ययन‚ विद्या आर्जन गर्न योग्य नहुने शास्त्रीय मान्यता छ । वेदाध्ययन गर्न सुरुमा गरिने कर्म अनुष्ठानलाई उपाकर्म भन्ने गरिन्थ्यो, यो अनुष्ठानलाई शास्त्रीय रुपमा वेद अध्यापन गराउने गुरु र अध्ययन गर्ने शिष्य मिलेर गर्ने कर्मका रुपमा पनि व्याख्या गरिएको प्राध्यापक कौण्डिन्न्यायनले बताए ।

पौराणिककालमा विद्यार्जन गर्ने बाटो अहिलेको भन्दा भिन्न थियो । त्यसबेला गुरुकुलमा गएर गुरु सम्मुख रहेर विद्यार्जन गर्ने, वेदाध्ययन गर्ने चलन थियो तर, गुरुकुलमा विद्यार्जन गर्नक पहिला बालकको उपनयन (व्रतबन्ध) संस्कार हुनु आवश्यक थियो । उपनयन संस्कार गराउने क्रममा गुरुले आफ्नो चेलालाई जिम्मेवारीबोध गराउँदै ऊमाथि रहेका तीन ऋण (पितृ ऋण, देव ऋण र ऋषि ऋण) को बारेमा बुझाउँथे । यिनै ऋणबाट मुक्त हुने एउटा मात्रै साधन विद्या/ज्ञान भएको र त्यसका लागि यज्ञोपवीत संस्कार आवश्यक भएकाले पनि यसलाई महत्वपूर्ण संस्कारका रुपमा हेरिएको हो ।

श्रावणी पूर्णिमाकै दिन द्विजातिले ऋषिपूजन गर्ने र नयाँ यज्ञोपवीतलाई अभिमन्त्रण गरी धारण गर्ने प्रचलन छ तर पारस्करगृह्यसूत्रको उपनयन–संस्कारको प्रकरण यज्ञोपवीत धारण गर्ने कुरा मूलरुपमा नआएर क्षेपक (पछि थपिएको अंश) का रुपमा आएको उल्लेख भएको कौण्डिन्न्यायन बताउँछन् ।

यज्ञोपवीत संस्कार वृहस्पति, शुक्र अस्त नभएको समयमा गर्नुपर्ने प्राध्यापक भट्टराईले बताए । पूर्णिमाको दिन बिहानै उठेर नजिकैको नदी–तलाउमा गएर संकल्प, विधि र मन्त्रद्वारा स्नान गर्ने गरिन्छ, त्यसलाई श्रावणी स्नान पनि भन्ने गरिन्छ । समूहमा गएर स्नान गरिने भएकाले यसलाई गणस्नान पनि भनिने उनले बताए । त्यसपछि उपाकर्मका लागि पूजाका निश्चित विधि पूरा गरी सप्तर्षि, शिवजी र रक्षासूत्र (यज्ञोपवीत) को पनि विशेष मन्त्रद्वारा पूजा गरेर जनै धारण गर्ने प्रचलन रहेको छ ।

शास्त्रीय नियमका प्रभावले नै आजभोलि लौकिक विद्याध्ययन गरी उच्च परीक्षा उत्तीर्ण हुनेलाई पनि स्नातक भन्ने चलन चलेको देखिए पनि विधिपूर्वक वेदवेदाङ्गको अध्ययन पूर्ण गरेका शुक्लयजुर्वेदाध्यायी स्नातकले गृहस्थाश्रममा प्रवेश गरेपछि आफू आचार्य (गुरु) नभएमा श्रावणी पूर्णिमामा उपाकर्म नगर्दा पनि फरक नपर्ने तर व्रतबन्ध गरिसकेको व्यक्तिले गुरुकहाँ गएर वेदाध्ययन गरेको छैन भने उसले उपाकर्म गर्नुपर्ने प्राध्यापक कौण्डिन्न्यायनले बताए ।

यही दिन रक्षाबन्धन कार्यसमेत गर्ने परम्परा रहिआएको छ । रक्षाका निम्ति विधिपूर्वक अभिमन्त्रण गरेको डोरो पूरोहितको हातबाट नाडीमा बन्धन गरिने भएकाले यसलाई रक्षाबन्धन भनिन्छ । कालान्तरमा यसमा पनि विभिन्न रुपमा परिष्कृत भएर आए पनि पौराणिककालमा यो संस्कार आएको देखिने कौण्डिन्न्यायन बताउँछन् । रक्षाबन्धनको महत्व र महिमाका विषयमा पुराणहरूमा चर्चा पाइन्छ । पुरोहितले हातमा डोरो बाँध्दा येन बद्धो बली राजा दानवेन्द्रो महाबल: । तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल ।। (अर्थात् जुन डोरोले दानवहरूमध्ये सबैभन्दा श्रेष्ठ अतिबलवान् दानवहरूका राजा बली बाँधिए, त्यही डोरोले तिमीलाई बाँध्दछु, हे रक्षाबन्धन डोरो तिमी यहाँबाट अन्त कतै नजाऊ) भन्ने जस्ता मन्त्रोच्चारण गरेर रक्षाबन्धन बाँध्ने प्रचलन छ । रक्षाबन्धन श्रावण शुक्लपूर्णिमामा मात्र नभई हरेक मंगलकार्य गर्दा पनि बाँध्ने गरिन्छ ।

श्रावणी पूर्णिमाकै दिनमा मात्र यज्ञोपवीत अभिमन्त्रण गर्नुपर्ने उल्लेख शास्त्रमा नभएकाले भारतमा जुनसुकै दिन भए पनि आवश्यक परेको समयमा यज्ञोपवीत मन्त्रिने गरिन्छ । (आमोदवर्धन कौण्डिन्न्यायन, उपाकर्म, जनैपूर्णिमा र रक्षाबन्धन, २०५१-०५-०४, कान्तिपुर, कोसेली - ख)

पछिल्लो समय पर्वहरूमा देखासिकी गर्ने प्रवृत्ति हावी हुँदा यी पर्वका धार्मिक र आध्यात्मिक महत्वको बारेमा अनभिज्ञ रहनु परेको सर्वस्वीकार्यजस्तै भइसकेको छ ।

बुद्धधर्ममा श्रावणी पूर्णिमाको महत्त्व

नेपालको बुद्धधर्म महायान/वज्रयान परम्परामा श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म ‘गुँला पर्व’ मनाउने प्रचलन छ । यो पर्व नेपाल संवत्को दशौं महिनामा पर्ने गर्छ । नवौं महिना पूरा भई दशौं महिनाको प्रवेशलाई गुणिला अथवा गुनिला महिना गुँलाध्व/गुँलागा भन्ने प्रचलन छ । यसै अवधिमा श्रावकयानी भिक्षुहरूको वर्षावास प्रारम्भ हुन्छ । प्राय: सबै भिक्षुहरू विपश्यना र शमध अभ्यासका लागि विहारमा ध्यान, समाधिमा बस्ने गर्छन् । महायान र वज्रयानी साधकहरू‚ जो गृहस्थ बुद्ध परम्परा मान्छन् उनीहरूले यो महिनाभरि बौद्ध वेदको रुपमा मान्यताप्राप्त नवग्रन्थ पाठ, पूजा, ध्यान र समाधि गर्ने गरेको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत बौद्धदर्शन विषयका प्राध्यापक शान्त गुरुजुले बताए ।

यसैगरी यसै दिन बौद्ध विहारमा परित्राण धागो बाँध्ने, करुणामयका मन्दिरहरुमा पञ्चरक्षासूत्र बाँध्ने गरिन्छ ।

यो महिनामा लक्ष चैत्य व्रत बस्ने गरिन्छ । एक महिनासम्म व्रत बसी भगवान् बुद्धको ज्ञान‚ दर्शन सुन्ने/सुनाउने; बौद्ध जातक अवदानहरू श्रवण गर्ने; शील पालना गर्ने; चैत्य परिक्रमा, दान, धर्म गर्ने; पुण्यका कर्महरू गर्ने महिनाको रुपमा यो महिनालाई हेरिएको छ ।

काठमाडौं उपत्यकाभित्र महायानी बौद्ध सम्प्रदायअन्तर्गतको नवग्रन्थहरू श्रद्धाभक्तिपूर्वक पाठ, पूजा र अभ्यास हुन्छन् ।

प्रज्ञापारमिता नमामि सततं गण्डादिव्यूहं दश
भूमीराज समाधिराजसहितं लङ्कावताराभिधम् ।।
सद्धर्मस्य च पुण्डरीक सदृशं ताथागतं गुह्यकं
लालित्यस्य च विन्तरं हि मनसा सौवर्णभासाभिधम् ।।

अर्थात्, ती ग्रन्थहरू प्रज्ञापारमिता, गण्डव्यूह सूत्रम्, दशभूमिक सूत्र, सुवर्णप्रभास सूत्र, समाधिराज सूत्र, लङ्कावतारसूत्र, सद्धर्मपुण्डरीक, दशभूमिक र तथागत गुह्यक सूत्र हुन् । (दिव्य वज्र वज्राचार्य, नवसूत्र संग्रह)

नवग्रन्थ, नवव्याकरण, नवसूत्र आदि नामले पुकारिने यी शास्त्रहरूको पाठ प्रत्येक तीर्थमा शुभकर्म तथा अन्य पितृ कर्महरू गर्दा समेत गर्ने गरिएको प्राध्यापक गुरुजु बताउँछन् । ‘यी ग्रन्थहरूले सम्यक सम्बुद्ध बन्नका लागि नभई नहुने चर्या (मुद्रा) हरूको व्याख्या गर्छन् । यसमा बुद्धजीवनी, बुद्ध सोपानको व्याख्या, विज्ञानवादी योगाचार, माध्यमिकवादी शून्यतालगायतको व्याख्या र विश्लेषण गरिएको छ । यी ग्रन्थहरू बौद्ध वेदको रुपमा प्रख्यात छन् । गुँला अवधिभर यिनै ग्रन्थहरूको पूजा गरिन्छ‚’ उनले भने ।

नेपाल भाषामा गुँ–पुन्हि भनिने गुँला अवधिभित्रै पर्ने श्रावण शुक्लपूर्णिमामा बुद्धका गुणहरूको स्मरण गर्ने गरिन्छ भने सोही दिन बुद्ध धर्मको वेद मानिने ‘नवग्रन्थ’ को स्मरण स्वरुप नौवटा गेडागुडीको क्वाँति खाने‚ बौद्ध विहारहरू भ्रमण गर्ने‚ बौद्ध देवी–देवताहरू‚ दिपंकर बुद्ध, अवलोकितेश्वर, करुणामयहरूको दर्शन गर्ने गरिएको र श्रावणी पूर्णिमाकै दिन बुद्धधर्मानुयायीहरूले बुद्ध, बोधिसत्वहरूलाई यथाश्रद्धा पिण्डपात्र दान, भोजनदान, पञ्चदान गरी पञ्चोपचार विधिद्वारा पूजा गरिने प्राध्यापक गुरुजुले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्

मुटु अस्पताललाई महँगो नबनाइयोस्

सम्पादकीय

सार्वजनिक स्वास्थ्य प्रणाली अति कमजोर रहेको नेपालमा सीमित मात्र अस्पताल छन्, जसलाई साधारणजनले पनि आफ्नै ठान्न सक्छन् । तुलनात्मक रूपमा सुलभ र गुणस्तरीय विशेषज्ञ सेवा प्रदान गर्दै आएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई यस्तै अस्पतालको कोटिमा निःसन्देह राख्न सकिन्छ । पछिल्लो समय यसै अस्पतालको व्यवस्थापनमा पनि समस्या बढ्नु भने दुःखद छ । अझ, बहिरंग विभागको टिकटदेखि उपचार शुल्क २३३ प्रतिशतसम्म वृद्धि गरिएपछि अब यो अस्पताल पनि कतै विपन्नको पहुँचबाहिर त जाँदैन भन्ने चिन्ता पलाएको छ । सर्वसाधारणको उपचारका लागि चिनिएको अस्पतालमा त्यस्तो अवस्था कदापि निम्त्याउनु हुँदैन । यसका निम्ति अस्पताल व्यवस्थापन र सरकारले उपाय पहिल्याउनु अपरिहार्य छ ।

अहिले गरिएको शुल्क वृद्धिपछि गंगालालमा साधारणजनको पहुँचलाई लिएर प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । गंगालालको कायम गरेको शुल्क कति बढी हो भनेर तुलना गर्दा निजी नाफामुखी अस्पतालभन्दा पक्कै पनि कम हो । तर, सार्वजनिक सेवाको तुलना निजीसँग होइन, त्यस्तै सेवा दिने अर्को सार्वजनिक संस्थासँगै गर्न आवश्यक हुन्छ । गंगालाल अस्पतालले गरेको शुल्क वृद्धि सार्वजनिक रूपमा सञ्चालित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको दाँजोमा नै धेरै बढी छ । मनमोहनमा १३ सय तिरे पुग्ने आईसीयूको दैनिक शुल्क गंगालालमा ५ हजार अर्थात् झन्डै चार गुणा पुगेको छ । मनमोहनमा सीसीयूको दैनिक शय्याको १२ सय ५० रुपैयाँ मात्र हुँदा गंगालालमा ३ हजार रुपैयाँ पुगेको छ अर्थात् गंगालालमा यो शुल्क मनमोहनको तुलनामा करिब अढाई गुणा महँगो भएको छ । यस्तै, मनमोहनमा सबै प्रकारका इको परीक्षण शुल्क १२ सय रुपैयाँ तिरे पुग्नेमा गंगालालमा १५ सयदेखि २ हजार रुपैयाँसम्म लाग्छ । यस अतिरिक्त पनि गंगालालमा अरू कैयौं शुल्क मनमोहनको तुलनामा अधिक छ । पीडीए डिभाइस र सीएबीजी (कोरोनरी आट्री बाइपास सर्जरी) अपरेसनको शुल्क त सर्वसाधारणले धान्नै नसक्ने गरी अकासिएको छ । मनमोहनमा २२ हजारमा गरिने पीडीए डिभाइसका लागि गंगालालमा ५८ हजार रुपैयाँ लाग्छ । मनमोहनमा ७० हजारमै पाइने सीएबीजी अपरेसनका लागि गंगालालमा १ लाख २० हजार रुपैयाँ तिर्नॅपर्छ । पछिल्ला दुई सेवामा गंगालालमा बिरामीले मनमोहनको भन्दा क्रमशः ३६ हजार र ५० हजार रुपैयाँ बढी तिर्नुपर्छ । तुलानात्मक रूपमा सस्तो छ भन्दैमा सबै बिरामीको पहुँच र उपचार मनमोहनमा सम्भव छैन, त्यसैले फरक–फरक सार्वजनिक संस्था खोलिएका हुन् । तर, निजी अस्पतालहरूलाई समेत मनपर्दी रकम असुल्नबाट रोक लगाउनुपर्ने दायित्व भएको सरकारले नै सार्वजनिक अस्पतालकै शुल्क ह्वात्तै बढाउनु विडम्बनापूर्ण छ ।

निश्चय पनि कुनै पनि सेवा शुल्क सधैं एउटै रहन सक्दैन । तर, बढाइएको शुल्क तर्कसंगत हुन पनि जरुरी छ । सार्वजनिक अस्पतालका हकमा त स्रोत व्यवस्थापनका सबै विकल्प प्रयोग गरेपछि मात्र बिरामीसित लिइने पैसा बढाइनुपर्छ, त्यो पनि एकै पटक ठूलो भार नथपिने गरी । के गंगालालले पनि सम्पूर्ण रूपमा उपायहीन भएपछि मात्रै बिरामीका निम्ति शुल्क बढाएको हो त ? पक्कै होइन । सार्वजनिक संस्था भएकाले खर्चको अनुगमन गर्ने र अपुग बजेट व्यवस्थापन गरिदिने जिम्मेवारी सरकारको हो । यो सरकारबाट भिन्न अंग पनि होइन किनकि स्वास्थ्यमन्त्री नै सञ्चालक समितिका अध्यक्ष हुन्छन् । विरोध खतिवडा स्वास्थ्यमन्त्री भएका बखत अस्पताल सञ्चालक समितिले जेठ १६ देखि नयाँ शुल्क लागू गरेको हो । यसरी राजनीतिक प्रतिनिधिकै नेतृत्वबाटै अस्पतालको शुल्क भारी मात्रामा वृद्धि गरिनु जनस्वास्थ्यका हिसाबले टीठलाग्दो दृष्टान्त हो । उपचार महँगिएपछि विपन्न बिरामी मात्र प्रभावित हुनुपरेको छैन, स्वास्थ्य सेवाप्रति सरकारी सोच पनि संवेदनशील छैन भन्ने प्रस्ट भएको छ ।

गंगालालको मेसिन, घरलगायतको खर्च सरकारले बेहोर्छ । वर्षभरि गरिने निःशुल्क शल्यक्रिया तथा उपचारबापतै पनि यसले सामान्य शुल्कका तुलनामा १५–२० प्रतिशत बढी तोकेर सरकारबाट सोधभर्ना लिन्छ, जसबाट आम्दानी भइरहेको छ । सरकारले दिने अनुदान पनि अन्त कहीँबाट बर्सिने होइन, सर्वसाधारणले नुनदेखि सुन किन्दा तिरेको करबाट संकलित रकम नै हो । सार्वजनिक बजेटसमेत खर्च गर्ने अस्पतालले परीक्षण शुल्कका नाममा बिरामीबाट पनि अचाक्ली रकम उठाउनुलाई कसैगरी न्यायोचित मान्न सकिन्न । त्यसैले, अस्पताल सञ्चालक समितिले बढाएको शुल्कउपर पुनर्विचार गर्नैपर्छ । अस्पताललाई अतिरिक्त स्रोतको खाँचो छ कि छैन भनेर अध्ययन हुनुपर्छ, छ भने पनि सरकारले हेर्नुपर्छ, बेमुनासिब भार बिरामीमाथि थोपर्न पाइँदैन ।

शुल्क वृद्धि गर्ने असंवेदनशील निर्णय मात्र होइन, व्यवस्थापनमा पनि गंगालालले गम्भीर त्रुटि गरिरहेको छ । मुटुको भल्भ फेर्न भर्ना गरिएका बिरामीलाई पनि अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ सकियो भनेर घर पठाएका तस्बिर सञ्चारमाध्यममा आएका छन् । आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि अल्पकालीन औषधि दिएर घर फर्काउने गरिएको छ । अत्यावश्यक स्वास्थ्य सामग्री आयातमा खेलाँची गर्दा जनस्वास्थ्यमा गम्भीर धोका भएको छ । अहिले केही ‘अक्सिजेनेटर’ ल्याइए पनि शल्यक्रिया सुसञ्चालन कहिले हुने हो भन्ने ठेगान छैन । सर्वसाधारणको मुटुसँग यस्तो खेलबाड गर्ने अस्पतालले एक चिकित्सकको स्वार्थका लागि भने अवकाशको उमेरहद ६० बाट ६३ वर्ष पुर्‍याएको छ । अव्यवस्था र अक्षमता कायम रहेमा गंगालाल अस्पतालको सुनाम दीर्घजीवी बन्न सक्दैन, यसबारे सम्बन्धित सबै गम्भीर बनी सुधारका सार्थक पहल थाल्नु अति जरुरी छ ।

प्रकाशित : श्रावण २७, २०७९ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×