दिनरात भिजेका परेली- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फिल्म

दिनरात भिजेका परेली

‘द्वन्द्वमा बेपत्ता पारिएको छ एउटा छोरो । त्यो छोरोका बाबुआमाको हरक्षणको मनोदशा के होला ? आमाको पीडा बाहिर सजिलै देखिन्छ, बाबु भने पीडा लुकाएर र गुम्सिएर झनै निसासमा बाँचिरहेको हुन्छ ।’ 
आज जे–जसरी सत्यनिरुपण वा मेलमिलापका नाममा सबै प्रकारका घटनाका पीडकलाई ‘आममाफी’ दिने जुन प्रपञ्च हुँदैछ, यो गैर–न्यायिक त छ नै, अमानवीय समेत छ । ‘पानीफोटो’ले जानीनजानी राजनीतिक तहलाई सम्झाउन–बुझाउन खोजेको यथार्थ यो समेत हो ।
देवेन्द्र भट्टराई

काठमाडौँ — एक महिनाअघि हेरेको फिल्म ‘चिसो मान्छे’ कतारको कथाबाट सुरु भएको थियो, बुधबार हेरेको ‘पानीफोटो’ भने रोजगारीमा कतार पुगेको एक पात्रलाई फोन लगाएपछिको ‘सम्पर्क हुन सकेन’(अरबी: गैर मजुत हालियान)को टोनबाट टुंगिन्छ । 

संयोग छ‒ पहिलो कथामा आँखैसामु देखिने एउटा चिसो मान्छे (शव) छ, दोस्रोमा नदेखिने तर बोध हुने शव सरहकै मृतप्राय संवेदनाको कथा छ ।

वर्षौंअघि बेपत्ता बनेको छोराको एकप्रति श्यामश्वेत फोटो सन्दुकमा लुकाएर बसेका बुबाआमासँग अब फोटाको नेगेटिभ (रिल) समेत छैन । यो गतिलो बिम्बले भन्छ‒ सम्झना र भोगाइमा फोटोको नेगेटिभ अवस्था(पानीफोटो) समेत नरहेका आफन्तजन कति होलान् ? यो मानवीय संवेदनाको कुनै मूल्य होला र ? १० वर्षे माओवादी द्वन्द्व र यसले समाज, परिवार वा व्यक्तिमा छाडेका देखिने‐नदेखिने चोटलाई के सत्य निरुपण वा मेलमिलाप आयोगका कागजी कामकुराले ‘निरुपण’ गर्न सक्ला ? मुस्किल छ ।

यही मुस्किलको कथा हो‒ पानीफोटो । युवा नाट्यकर्मी खगेन्द्र लामिछानेले देखेको वा अनुभूत गरेको द्वन्द्वोत्तर र ‘पोष्ट‐ट्रमा’को कथा हो यो । जहाँ फिल्म–मेकिङ, फ्रेमिङ वा अन्य प्राविधिक पक्षतिर प्रवेश गर्दै अनेक कमजोरी देखाइरहनुको तुक छैन । यो कुनै व्यापार र बजारको विषय होइन, माओवादी सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार र बेपत्ता १३ सयभन्दा बढी व्यक्तिको घर–परिवार र आफन्तजनले बेहोर्दै आएको हरक्षणको कथा हो । बुधबार दिउँसो सुन्धाराको सिभिल मलमा ‘पानीफोटो’ हेर्न जाँदा मुस्किलले दुई दर्जनजति दर्शक देखिए । हलमा लागेको ७ दिनमै उठिबास लाग्दै गरेको फिल्म रहेछ ‘पानीफोटो’ । तर, द्वन्द्वका कारण पीडित, उद्वेलित र बिचलित कोही कुनै व्यक्ति, परिवार र समाजको मन–मष्तिष्कबाट कहिल्यै हराइजाने कथा होइन ‘पानीफोटो’ ।

...

“उक्लँदाउक्लँदै उकालोमा

उक्लेको बाटो नै ओर्लिएपछि

उक्लनेको पनि केही लाग्दो रहेनछ...”

कवि तुलसी दिवसको एउटा कविताको अंशले भन्छ । जीवन जगत्‌लाई लिएर गरिएको यो स्वैरकल्पना र ‘पानीफोटो’को कथानकमा भावभूमि मिल्दो देखिन्छ । औसत सपना लिएर जीवन गुजारा गरिरहेको परिवारमा अनावश्यक सर्त र बाध्यतामा थोपरिएको द्वन्द्वले छोरो तानेर लैजान्छ, अनि परिवार बिथोलिन्छ । क्रमशः समाज पनि रित्तिँदै जान्छ‒सुरक्षा र जीवनप्रतिको मोहका कारण । द्वन्द्वको भुंग्रोबाट उम्केर घर फर्केका/फर्काइएका छोराहरु पनि कि त एकोहोरा बन्छन्, वा कि सुस्त मनस्थिति निस्किएका छन् । हरेक समाजमा खिल बनेर गढेको यो यथार्थलाई ढाकछोप गर्न आज जेजसरी सत्यनिरुपण वा मेलमिलापका नाममा सबै प्रकारका घटनाका पीडकलाई ‘आममाफी’ दिने जुन प्रपञ्च हुँदैछ, यो गैर–न्यायिक त छ नै, अमानवीय समेत छ । ‘पानीफोटो’ले जानीनजानी राजनीतिक तहलाई सम्झाउन–बुझाउन खोजेको यथार्थ योसमेत हो ।

‘पानीफोटो’ मा निन्द्राबाट ब्युँझेको, तन्द्रा हो कि निन्द्रा थाहै नभएको र ऐंठनसरीको क्षण दोहोरिँदै आएको दृश्य खुबै देखिन्छ । बेपत्ता छोराकी आमा (मैंया–मेनुका प्रधान) भने आफ्नो ऐंठनपछिको झल्कोमा आएको छोरो पछ्याउँदै पाखाभित्ता कुदिरहन्छे, बेपत्ता छोराको बाबु(चन्दन–अनुप बराल) भने सधैं ओसिएका र सधैं भिजेका आँखा–परेली लिएर आफूमा जमेको औडाहा पोख्न नपाएरै छटपटीमा परेको देखिन्छ । लोग्ने–स्वास्नीबीचमा झगडा हुन्छ, मनमुटाव हुन्छ । अन्तत त्यही सन्दुकभित्रको एल्बममा अड्केको छोराले ती बाबुआमालाई एकाकार गराउँछ‒ पीडाजन्य एकाकार ।

विद्यालय गएको छोरो कहिल्यै नफर्केको र द्वन्द्वमा दिनहुँ मान्छे मरिरहेको दुःखान्त दैनिकी बेहोर्दै बाँचिरहेको परिवारमा टाढा गाउँमा ‘कसैको बेपत्ता छोरो फर्कियो रे’ भन्ने खबर सुन्नु मात्रै पनि आशा र भरोसाको बिम्ब बन्थ्यो । टाढा जंगलबाट कसैले पिपिरी धुन सुनाएजस्तो !

गत मंगलबार साँझ शिल्पी सम्बद्ध कलाकार पवित्रा खड्काको एउटा सानो भिडियो क्लिप आयो‒ ‘पानीफोटो’ बारे । उनले यो फिल्म हलमै गएर हेर्न चाहेको, सहरका कुनै हलमा फिल्म फेला नपरेको र मध्य बानेश्वरको एउटा हलमा पुगेर पनि दर्शक संख्या थोरै (आफूसहित ३ जना मात्रै) भएकाले फिल्म हेर्न नपाएको दुःखेसो सुनाएकी छन् । योभन्दा महत्त्वपूर्ण कुरा, पवित्राले ‘नेपाली फिल्म किन चल्दैनन् ? राम्रा भनिएका फिल्म पनि किन चल्दैनन् ?’ भनेर प्रश्न उठाएकी छन् ।

आश्चर्य यो छ कि सिभिल मलमा बुधबार दिउँसो ‘पानीफोटो’ हेर्न पुग्दा २२/२५ जति दर्शक थिए । पवित्राले प्रश्न गरेझैं चोक–दोबाटा र चियापसलमा बसेर ‘नेपाली फिल्ममा दम छैन, कथा छैन, प्लट छैन, तान्दै–तान्दैन’ भनेर गफास्ट हुनेहरु धेरै भेटिन्छन् । अलग विषय, अलग कथा र सनतानीभन्दा अलग खुराक चाहियो भन्नेहरु उत्तिकै हुन्छन् । तर, यिनै भन्नेहरु र अलग खोजिरहने महोदयहरु फिल्म हलसम्म पुगेर ‘चिसो मान्छे’ वा ‘पानीफोटो’ हेर्ने समय निकाल्दैनन् । यसरी अलग खुराक खोज्नेले यस्ता अलग खालका फिल्महरु हेर्न नजाने हो भने हलसम्म गइदिने को ? प्रेम वा रोमान्सका नाममा तोरीबारी माड्दै नाच्ने गीत–संवाद र वियोग वा दुःखान्तका निम्ति रोइलो मात्रै भैरहने कथानक रुचाउनेका निम्ति ‘पानीफोटो’ कुनै फिल्म नै होइन । धेरैलाई लाग्न सक्छ— यो त फगत कथाकार/निर्देशक खगेन्द्रले फिल्मी डेब्युका नाममा बनाएको अर्को काम मात्रै हो—बायोडाटा सुधार्ने काम ।

...

‘कुल्ची हिँड हाँसीहाँसी, यो छाती तिम्रै बाटो हो

मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो

गालाको पाटोको लामो धर्सो— त्यो घाउ होइन

त्यो त झरीसुकेको एकथोपा आँसुको टाटो हो’

धेरैजसो मेहफिल र माहोलमा कवि रत्नशमशेर थापाले सुनाइहिँड्ने यो मुक्तकले ‘पानीफोटो’का बुबा चन्दनका सधैंका भिजेका परेली र आँखाका डिल सम्झाइरहन्छ । फिल्म हेरिसकेपछि पनि ती ओसिला आँखा म सम्झिरहेको छु । रंगमंच उम्दा लाग्ने अनुप यसपटक ‘पानीफोटो’मा झनै यथार्थ देखिएका छन्, ‘चिसो मान्छे’का अर्पण थापाझैं लामो समयसम्म सम्झनामा आइरहने पात्र ।

‘पानीफोटो’ एउटा प्रतीक मात्रै हो । यो फिल्मभन्दा बढी जीवन्त वृत्तचित्र हो, तपाईं–हाम्रा घर वरपरबाट बेपत्ता बनेकाहरुको स्मृतिमा बनेको एउटा डकुमेन्ट्री । ‘पानीफोटो’ हेरिसकेपछि सम्झना भयो— माओवादी द्वन्द्वको अतिवादका माझ हाम्रो घर छिमेकबाट बेपत्ता पारिएका हेमलाल सुवेदी (बेपता मिति २०६० माघ २०) दाजु पनि अहिलेसम्म घर फिरेका छैनन् । उनको नाम पनि बेपत्ता, छानबिन, मानवअधिकार, मेलमिलाप सबैतिर पुगेको छ । सुवेदी दाजुका आफन्तजनमा अब तिनको ‘पानीफोटो’ पनि रहेको होला कि नहोला ?

युगौंसम्म बल्झिरहनेछ यो प्रश्न ।

प्रकाशित : श्रावण २६, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

नगद लाभांश वितरण नगर्न सहकारी संस्थालाई आग्रह

जम्मा गरेको बचतमा बचतकर्तालाई दैनिक बढीमा ५ प्रतिशत मात्र दिन आग्रह
कान्तिपुर संवाददाता

काठमाडौँ — सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न गठित ‘सहकारी सहजीकरण संयन्त्र’ ले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण नगर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । तरलता अभावसँगै सहकारी संघसंस्थामा बचत झिक्नेको भीड बढेपछि संस्थाको पुँजीगत आधार कमजोर हुन नदिन केही समयका लागि नगद लाभांश वितरण नगर्न आग्रह गरिएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बताए ।  

पछिल्लो समय केही सहकारी संस्था समस्यामा परेपछि बचत झिक्नेको ओइरो लाग्ने गरेको छ । एकै पटक सबैजसो बचतकर्ता आउँदा सहकारी संस्थाहरूले पैसा दिन सक्दैनन् । काठमाडौंमा गौतमश्री र ललितपुरमा देउराली बहुउद्देश्यीय सहकारी समस्यामा परेपछि अरू सहकारीमा पनि निक्षेप झिक्ने क्रम बढेको महासंघका अध्यक्ष कँडेलको भनाइ छ । ‘हामीले एक दिनमा सदस्यले जम्मा गरेको बचतको बढीमा ५ प्रतिशत मात्र भुक्तानी दिन आग्रह गरेका छौं,’ उनले भने, ‘आवधिक बचतकाे अवधि नपुगी भुक्तानी नदिन र बचतकर्तालाई राम्रोसँग परामर्श गरी निक्षेप नझिक्न प्रेरित गर्न पनि भनेका छौं ।’

‘सदस्यहरूसँगको परामर्शमा नगद लाभांश वितरण नगर्ने, कारोबारलाई सकेसम्म डिजिटल प्रणालीमा लैजाने, वित्तीय मापदण्ड (पर्ल्स) लागू गर्न र महासंघ, सहकारी बैंक, केन्द्रीय संघ, प्रदेश वा जिल्ला संघहरूले संचालन गरेका स्तरीकरण कार्यक्रममा संस्थालाई सहभागी गराउने र उद्देश्य मिल्ने अन्य सहकारी संस्थासँग एकीकरण गर्ने,’ संयन्त्रले सिफारिस गरेको सुझावमा भनिएको छ ।

तरलता अभावसँगै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासंघले दुई साताअघि ३८ संघसंस्था आबद्ध रहेको ‘सहकारी सहजीकरण संयन्त्र’ गठन गरेको थियो । संयन्त्रले वस्तुस्थिति अध्ययन गरी दिइएको विभिन्न सुझावमध्ये नगद लाभांश वितरण रोक्नुपर्ने उल्लेख छ । ‘वित्तीय कारोबारबाहेकका क्षेत्रमा समेत मन्दी देखिएका कारण सदस्यहरूले लिएको ऋण संस्थामा समयभित्रै फिर्ता नभई त्यस्ता ऋण क्रमश: भाखा नाघेका ऋणमा गणना भई तुलनात्मक रूपमा एकातिर भाखा नाघेको ऋण बढिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै, बचत फिर्ताको चाप बढिरहेको छ । अत: विद्यमान सहकारी ऐन नियममा भएका ऋण असुलीसम्बन्धी व्यवस्थाहरूको तत्काल कार्यान्वयन गरी भाखा नाघेको ऋण छिटो असुली गर्न पनि संयन्त्रले सुझाएको छ ।

प्रकाशित : श्रावण २६, २०७९ १४:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×