१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विद्यालय शिक्षाका अन्तर्वस्तु

शिक्षाका नाममा विकृति भित्र्याउने वैदेशिक सहायतालाई निस्तेज गरी स्थानीय ज्ञान, सीप, कला, संस्कृति र प्रविधिको संरक्षण, संवर्द्धन, विकास हुने गरी पाठ्यक्रम निर्माणबाट स्थानीय, राष्ट्रिय, विश्वव्यापी ज्ञान, सीप, धारणा, प्रविधिले संयोजित विद्यालय शिक्षा हुनुपर्दछ ।
धनबहादुर ओली

समुदाय र राज्यका आवश्यकताअनुरूप नागरिकलाई शिक्षा प्रदान गर्न औपचारिक र अनौपचारिक शिक्षा प्रणालीको व्यवस्था गरिएको हुन्छ भने व्यक्तिगत रुपमा नागरिकले अतिरिक्त तरिकाबाट पनि शिक्षा प्राप्त गर्दछन् । अघिल्ला दुई प्रणाली राज्यबाट व्यवस्थित हुन्छन् भने अतिरिक्त शिक्षा स्वयं व्यक्तिको जीवनकालमा जानी-नजानी एवं अनुभूतिजन्य कार्य प्रक्रियाबाट प्राप्त हुन्छ ।

विद्यालय शिक्षाका अन्तर्वस्तु

नागरिकका लागि अनुशासन, सामाजिक चालचलन, शिष्टता एवम् विनयशीलता, मर्यादित एवं परिष्कृत जीवन, सम्मानित रोजगारी तथा उद्यम विकासको आधार औपचारिक शिक्षा प्रणालीभित्रको विद्यालय शिक्षा भएकाले यस तहको शिक्षा राज्यका नागरिकको सर्वाङ्गिण विकासको आधारस्तम्भ मानिन्छ । देशको सर्वपक्षीय विकासको आधार समेत शिक्षा नै भएकाले विद्यालय शिक्षालाई राष्ट्र विकासको आधारशीला समेत मानिन्छ । नागरिकको जीवनकालमा लामो समय शिक्षा आर्जनका लागि व्यतित हुने ठाउँ विद्यालय भएकाले विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन र दायित्व वहनका लागि विगत्‌का विभिन्न कालखण्डमा विभिन्न ढाँचाका अभ्यासहरू भएका पाइन्छन् ।

प्राचीनकालमा विद्यालयको अर्धप्रौढहरू कामबाट विश्राम लिनु; फुर्सदको समयमा सिकाइप्रति समर्पित हुनु; विद्वत्‌वर्ग जम्मा भएर विभिन्न विषयमा छलफल गरिने स्थानका रुपमा बुझिन्थ्यो । मध्यकालमा विद्यालयलाई विद्यार्थीको समूह जम्मा भएर सिक्ने; साझा उद्देश्य प्राप्त गर्ने र साझा दृष्टिकोण बनाउने अर्थका रुपमा पहिचान गरियो । पुनर्जागरण कालमा विद्यालयलाई भौतिक भवनसहितको सिकाइ केन्द्र र अर्को अर्थमा दण्ड, सजायका माध्यमबाट अनुशासनतर्फ अग्रसर गराउने अर्थका रुपमा ग्रहण गरियो ।

नवौं शताब्दीसम्म पश्चिमा र पूर्वीय सभ्यतामा युवाहरूका लागि सैनिक शिक्षा, धार्मिक संस्थाबाट प्रायोजित धार्मिक शिक्षा, स्वास्थ्य, सरसफाई, खानालगायत अत्यावश्यक सामग्रीको बन्दोबस्तका लागि सामाजिक शिक्षा प्रदान गरिने संस्थाका रुपमा विद्यालयको पहिचान कायम रहेको थियो । आधुनिककालमा विद्यालयलाई मानव जीवनको प्रारम्भिक चरण व्यतित हुने स्थलका रुपमा लिइन्छ । भौतिक पूर्वाधार, सामग्री, प्रविधि, वित्तीय र भौतिक स्रोतसहित पाठ्यक्रम, शैक्षिक सामग्री, शिक्षक-विद्यार्थीबीचको अन्तरक्रिया हुने र विद्यालय व्यवस्थापन समिति, अभिभावकको रेखदेखमा मानवीय विचार र खुसी नि:शुल्क रुपमा उत्पादन, प्रसार र सम्प्रेषण गर्ने एक प्राज्ञिक थलोका रुपमा लिइन्छ । विश्व परिवेशमा प्रौढहरूबाट सुरुवात भएको विद्यालय शिक्षा हाल न्यूनतम उमेर समूहका बालबालिकाको सिकाइस्थल बनेको छ । विद्यालय शिक्षा नेपालमा पहिलोपल्ट औपचारिक रुपमा विसं. १९१० मा स्थापना भएको दरबार स्कुलबाट सुरुआत भई हाल ३४ हजार ३ सयभन्दा बढी विद्यालयहरूबाट प्रवाह भइरहेको छ ।

नीतिगत व्यवस्था

नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्दै राज्यका निर्देशक सैद्धान्तिक शिक्षालाई नागरिकका आधारभूत आवश्यकता भएको कुरा बोध गरेको छ । शिक्षासम्बन्धी हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरी आधारभूत तहसम्मको शिक्षामा पहुँच, अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको निःशुल्क शिक्षा पाउने हक प्रत्याभूत गरेको छ । अपांगता भएका र आर्थिक रुपले विपन्न नागरिकहरूलाई कानुनबमोजिम उच्च शिक्षा पाउने; प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय, शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक प्रत्याभूत गरेको छ ।

शिक्षा ऐन २०२८ को पछिल्लो संशोधनअनुसार ‘विद्यालय शिक्षा भन्नाले सामुदायिक विद्यालय वा संस्थागत विद्यालयबाट प्रदान गरिने शिक्षा सम्झनुपर्छ’ भनिएको छ । साधारण विद्यालय शिक्षालाई सामुदायिक र संस्थागत २ प्रकारमा विभाजन गरिएको छ । विद्यालय तहको शिक्षा साधारण, संस्कृत, प्राविधिक तथा व्यावसायिक, खुला एवम् वैकल्पिक, परम्परागत, धार्मिक र विशेष शिक्षामार्फत प्रदान गरिने नीतिगत प्रावधान गरिएको छ ।

शिक्षा प्रणालीको तहगत संरचनाअनुसार विद्यालय शिक्षा ८ कक्षासम्म आधारभूत शिक्षा, ९ देखि १२ कक्षासम्म माध्यमिक शिक्षाको संरचना तय गरिएको छ । विद्यालय शिक्षालाई सबै वर्ग, क्षेत्र, लिङ्ग र सिकाइ क्षमताका आधारमा सीपमूलक र व्यवहार रुपान्तरणको प्रमुख साधनका रूपमा ग्रहण गर्न सकेमा सबैको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित हुन सक्छ ।

विद्यालय शिक्षाका मुख्य तीन क्रियाकलाप

आधारभूत सीपहरू सिकाउनु : वर्ण पहिचान, अक्षर वाचन, सस्वर वाचन, लेखाइ, हिसाब, अनुसन्धान र सोचाइजस्ता महत्त्वपूर्ण सीपहरू विकास गराउने क्रियाकलाप हुन्छन् ।

प्रतिभा प्रस्फुटन, प्रसार : अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीमा रहेका अन्तर्निहीत प्रतिभा, आर्जित क्षमता, विषयवस्तु, सूचना, ज्ञान र सीपको शीघ्रताका साथ प्रस्फुटन र प्रसार गराउनु ।

सीप र व्यवहार रुपान्तरण : सहपाठी अन्तर्क्रियाका माध्यमबाट सिकाइने एवं राम्रा र खराब पक्षका लागि विद्यार्थीहरूलाई एकअर्कामा घुलमिल र सम्बन्ध स्थापित गराई कार्य गर्न प्रेरित गराउनेजस्ता क्रियाकलाप पर्दछन् ।

विद्यालय शिक्षाका अन्तर्निहीत अवयवहरू

लक्ष्य : प्रत्येक विद्यालयले आफ्नो लक्ष्य किटान गरी राष्ट्रिय शिक्षाको उद्देश्य प्राप्त गर्नमा सहयोग पुग्नेगरी लक्ष्य र भूमिका स्पष्ट पारी सोअनुसारका क्रियाकलापमा विद्यालय अग्रसर भएको हुन्छ ।

शासन : विद्यालय सञ्चालनका लागि आवश्यक नीतिगत कुन निर्णय कसले गर्ने ? समुदाय, गैरसरकारी संस्था, स्थानीय, प्रदेश, केन्द्रीय सरकार कसले कति नीति, निर्देश र नियन्त्रण गर्ने, विद्यालय कोप्रति उत्तरदायी हुनेलगायत विषयले विद्यालयलाई प्रभाव पार्दछ ।

अभिभावकको संलग्नता : राम्रो र हाम्रो विद्यालय भनी अपनत्वभावका लागि अभिभावकको भूमिका, दायित्व, जिम्मेवारी र संलग्नता अनिवार्य हुने हुँदा सोअनुसार किटान गरी विद्यालयप्रति अभिभावकको चासोमा अभिवृद्धि गरिएको हुनुपर्दछ ।

विद्यार्थी र विद्यालयको भौतिक पक्ष : सिकारुको सिकाइ क्षमता र शारीरिक उपस्थिति वा अवस्थाअनुसारको छुट्टै विशेष वा साधारण सिकाइ वातावरणसहितको मूर्त विद्यालयको व्यवस्था हुन्छ ।

विद्यार्थी आचरण: विद्यार्थी आचारण विद्यालयको साझा लक्ष्य प्राप्ति हेतु सबैका लागि स्वीकारयोग्य मापदण्ड अनुसारको अपेक्षा गरिएको हुन्छ ।

पाठ्यक्रम : भौगोलिक विविधा, भाषिक, सांस्कृतिक, धार्मिक, जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक समतामुखी, सिकारुको सिकाइस्तर सम्बोधनयुक्त पाठ्यक्रमको कार्यान्वयन, परिमार्जन र पुनर्लेखनका लागि आधारस्थल विद्यालय भएकाले सबैका लागि परिपूरकयुक्त पाठ्यक्रम हुनुपर्दछ ।

शिक्षक : शिक्षकको भूमिका सूचना प्रवाहकर्ता, सहजकर्ता, उत्प्रेरक, नवीन प्रविधिमैत्री हुनुपर्दछ र काममा शीघ्रता, समयको पालक, शारीरिक र मानसिक रुपले कुशल हुनपर्दछ ।

प्रधानाध्यापक : जस्तो प्रधानाध्यापक उस्तै विद्यालय भनेजस्तै अन्तरवैयक्तिक, समस्या समाधानकर्ता‚ अरुका कुरा बुझ्ने र सहभागितामूलक निर्णयकर्ता सोचनीयभन्दा कार्यमुखी हुनुपर्दछ ।

शैक्षिक सामग्री : पाठ्यक्रम, पाठ्यपुस्तक शिक्षक निर्देशिकालगायत विषयवस्तु सिकारु समक्ष पस्किने उपयुक्त औजार माध्यम शैक्षिक सामग्रीका रुपमा प्रयोग गरिन्छन् । अन्य शैक्षिक सामग्रीहरू विद्यालयको पहुँच, शिक्षकको क्षमता, विद्यार्थीको स्तर, विषय र पाठ्यवस्तुअनुसार स्थानीय, स्वनिर्मित र सुलभ खालका हुनुपर्दछ ।

शिक्षण विधि र रणनीति

शिक्षण सम्बन्धी विभिन्न विधि, तरिका र प्रक्रिया विकास गरिएका छन् । निर्धारित लक्ष्य र उद्देश्यहरू पूरा गर्न कक्षाकोठाभित्र र बाहिर विद्यार्थीलाई ज्ञान, सीप तथा अभिवृत्ति विकास गराउन प्रयोग गरिने माध्यम, तरिका, ढाँचा, उपाय, बाटो वा क्रियाकलापहरु नै शिक्षण विधि, रणनीतिहरू हुन् । विषयवस्तुलाई प्रभावकारी र उद्देश्यपूर्ण ढङ्गबाट सिकारु समक्ष पुर्‍याउन अपनाइने बृहत् पद्धतिलाई शिक्षण रणनीति र सो पद्धतिअन्तर्गत रही गरिने विशिष्टीकृत क्रियाकलाप वा प्रक्रिया विधि हुन् । विषयवस्तुलाई विद्यार्थी समक्ष पुर्‍याउन विशेष प्रक्रिया र साधनहरूको प्रयोग गरिन्छ । विद्यार्थीको लिंग, उमेर, रुचि, क्षमता अनुसार तोकिएको विषयगत ज्ञान र सीप प्रदान गर्न विभिन्न विधि, क्रियाकलाप र उपयुक्त सामग्रीको प्रयोग गर्नुपर्दछ ।

विद्यायलय शिक्षालाई प्रभाव पार्ने तत्त्वहरू

शिक्षाका राष्ट्रिय उद्देश्य, विद्यालयको भौतिक स्वरुप, लक्ष्य, वैदेशिक दृष्टिकोण (वित्तीय सहयोगदेखि पाठ्यक्रम निर्माणमा चासो, सर्त), समुदाय, अभिभावकको संलग्नता, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीका विविध सिकाइ क्षमता आचरण, पाठ्यक्रम, सहयोगी पुस्तक, शिक्षक निर्देशिका, पुस्तकालय, शैक्षिक सामग्री, विद्यालय व्यवस्थापन समिति, समुदाय, राजनीतिक प्रणाली, सुशासन, शासकीय स्वरुप, प्रतिव्यक्ति आम्दानी, चेतनाको स्तर, स्वास्थ्य अवस्था, भौगोलिक, भाषिक, धार्मिक, सांस्कृतिक, जातीय अवस्था, बदलिँदो सूचना प्रविधि, शिक्षकको क्षमता विकास सम्बन्धी तालिम आदि कुराहरूले विद्यालय तहको शिक्षालाई प्रभाव पारिरहेका हुन्छन् ।

विद्यालय शिक्षामा उजागर गनुपर्ने पक्षहरू

विद्यालय शिक्षा विज्ञताभन्दा बहुविषयक सीपमूलक सामान्य व्यावहारिक समस्या समाधानमुखी भई उच्चशिक्षा प्रवेशका लागि सक्षम जनशक्ति उत्पादनमुखी हुनुपर्दछ । नेपालको शासकीय स्वरुपअनुरुप सरोकारवालाले निम्न विषयवस्तुलाई मनन गर्नु आवश्यक देखिन्छ ।

शिक्षा सबैका लागि पहुँचयोग्य, सर्वसुलभ, आवश्यकता, मूल्यमा आधारित र सीपयुक्त हुनुपर्छ । वैदिक शिक्षा प्रणालीअनुसार नागरिकको स्वास्थ्य उपचारसम्बन्धी स्थानीय जडिबुटी, आयुर्वेदिक र एलोपेथिक औषधि प्रणालीको प्रयोग सम्बन्धी आधारभूत सीप विकास, पूर्वसावधानी र प्रारम्भिक उपचार आफ्नो स्वास्थ्यको हेरचाह आफैं गर्न सक्ने गरी स्वास्थ्य साक्षरोत्तरसम्बन्धी विषयवस्तुको समावेश गरिनु पर्दछ ।

पृथ्वीका जड र चेतनमा प्रभाव पार्ने प्रकाशयुक्त नवग्रहलगायत तारापुञ्जको गति, राशी, नक्षत्र, पक्ष, मास, ऋतु र अयनादिको ज्ञात विधि, समय मापनलगायत खगोल विज्ञानसँग सम्बन्धित वैदिक विज्ञानका विषयवस्तु समावेश गरी जीवन र जगत्‌लाई उजागर गर्ने विषयवस्तु समावेश गरिनु पर्दछ ।

पाठ्यक्रमको प्रयोगलाई जोड दिँदै पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत अन्य सहयोगी सामग्रीको स्वअध्ययन, तालिम, सहभागी अन्तर्क्रियाबाट क्षमता विकास गरी शिक्षकले पुस्तकरहित विज्ञ शिक्षणमा जोड दिने र शिक्षक विद्यालय समयमा व्यावहारिक समस्यामा रुमल्लिने प्रवृत्ति निस्तेज हुने बानीको विकास गर्नुपर्दछ । विद्यार्थीबीच जाति, क्षेत्र, वर्ग, लिंग, उत्पत्ति, भाषा, धर्म, शारीरिक, मानसिक अवस्था, सिकाइ क्षमताका आधारमा समतापूर्ण, बालमैत्रीपूर्ण आचरणबाट समान सिकाइ अधिकारको सुनिश्चितता गर्नुपर्दछ । सिकारुको स्तर र क्षमताअनुसार शैक्षिक क्रियाकलापको चयन, मूल्यांकन, सुलभ स्थानीय शैक्षिक सामग्रीको प्रयोग, शिक्षणमा बहुविधि, बहुरणनीतिको प्रयोग गर्दै विद्यार्थी स्वयंले गरेर सिक्ने, प्रयोगात्मक सीप आर्जनका तरिकामा बढावा दिनुपर्छ । विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी डिजिटल विद्यालय बनाउनु पर्दछ ।

नैतिकता, सदाचार, सत्चरित्र, इमान्दारिता, विनयशीलता, मिलनसारजस्ता सामाजिक पक्ष, मानवीय गुण र मूल्यहरूको विकासका लागि विद्यार्थीमा प्राविधिक सीपका साथै व्यवहार कुशल सीप विकासमा जोड दिई विद्यालयमा नैतिक शिक्षा, योग विद्या, आत्मिक शिक्षा, ध्यान, प्राणायाम सम्बन्धी अभ्यास गराउनु पर्दछ ।

फरक सिकाइ क्षमताका विद्यार्थीको पहिचान गरी उपचारात्मक शिक्षण विधि अवलम्बन गरी विद्यार्थीको सिक्न पाउने अधिकार सुनिश्चित गरी कक्षागत अभिभावक भेलाबाट अभिभावकलाई विद्यार्थीको अवस्थाबारे जानकारी गराई विद्यार्थीको सिकाइ सुधारमा सहयोग प्राप्त गर्ने प्रतिबद्धता गराउनु पर्दछ ।

तालिम, गोष्ठीलाई सहुलियतको रुपमा नलिई विषयवस्तु र क्रियाकलापमा ध्यान केन्द्रित गरी तालिमका सीपहरूको कक्षाकोठामा प्रयोग र विषयगतरूपमा शिक्षकहरूको पालिका स्तरीय भेलाबाट विषयगत कठिनाइहरू समाधान गर्ने व्यवस्था गर्नुपर्दछ ।

शिक्षाका नाममा विकृति भित्र्याउने वैदेशिक सहायतालाई निस्तेज गरी स्थानीय ज्ञान, सीप, कला, संस्कृति र प्रविधिको संरक्षण, संर्वद्धन, विकास हुने गरी पाठ्यक्रम निर्माणबाट स्थानीय, राष्ट्रिय, विश्वव्यापी ज्ञान, सीप, धारणा, प्रविधिले संयोजित विद्यालय शिक्षा हुनुपर्दछ ।

निष्कर्ष

विश्व परिवेशमा वयस्क उमेर समूहबाट सुरु भएको विद्यालय शिक्षा हाल न्यूनतम उमेर समूहका बालबालिकाको सिकाइ स्थल बनेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जनसंख्या, प्रविधि, समाजको चाप र आवश्यकतासँगै यस तहको शिक्षाको क्षेत्र फराकिलो एवं पेचिलो बन्दै गइरहेको छ । नेपालको परिवेशमा बहुधार्मिक, बहुजातीय, बहुभाषिक संवेदनशीलता, भौगोलिक विविधताअनुरुपको जीवनशैली, स्वभाव, गरिबी, अभावजस्ता पक्षअनुसारको भौतिक संरचना, पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्याङ्कनजस्ता पक्षहरूलाई समन्वयात्मक, सन्तुलित र दिगो हुनेगरी उपयुक्त नीति, रणनीति, कार्ययोजना र प्राथमिकीकरण गर्न सक्ने कुशल दिशानिर्देशयुक्त राजनीतिक नेतृत्व, प्रतिबद्ध, कटिबद्ध, विषयगत विज्ञतासहितको प्राविधिक नेतृत्व एवं पक्षपातरहित प्रशासनिक नेतृत्वसहितको शैक्षिक व्यवस्थापकबाट संघीय, प्रादेशिक स्थानीय तह र विद्यालयसम्मको संस्थागत चुस्तता, छरितोपना र कामकर्तव्यप्रतिको दायित्वबोधबाट विद्यालय शिक्षाका अपेक्षित राष्ट्रिय उद्देश्य प्राप्त गर्न सहज हुन्छ । विद्यालयसँग सम्बद्ध सबै तहका राजनीतिकर्मी, पेसाकर्मीलगायत सरोकारवाला सहयोगी, सहजकर्ता एवं सेवाभाव उन्मुख र राज्यबाट विद्यालय शिक्षामा प्राथमिकता बढाई उच्च अपनत्वभावको प्रत्याभूति दिनुपर्दछ ।

(लेखक शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत हुन् ।)

प्रकाशित : श्रावण ९, २०७९ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?