‘चुरेको दोहन नरोकिए मधेस मरुभूमि बन्छ’


यहाँ (जनकपुर बजार) देखि १० किलोमिटर पर एउटा गाउँमा मेरो जन्म भएको हो । यहींको स्कुलमा शिक्षा लिएँ । म राणाकालमा जन्में । यसकारण पछिल्लो करिब ७ दशकदेखिका सबै घटनाक्रमको म साक्षी छु । २००७ सालको क्रान्ति मलाई अलिअलि मात्र याद छ । तर, २०१७ सालको घटना मेरो सामुन्ने छ । त्यतिबेला पनि १२ बिघाको बगैंचा थियो ।

अस्पतालदेखि सबैतिर आँपका रूख थिए । २०१७ सालको घटना हुँदै २०६२/६३ को आन्दोलनको साक्षी हुँदै यहाँसम्म आएको छु । यही बीचमा तपाईंहरूले मुलुकको पहिलो राष्ट्रपति बन्ने अवसर दिनुभयो । मैले सक्दो योगदान गर्दै आएको छु ।
जनकपुरको भूमिमा उभिँदा गर्व लाग्छ । यहाँको छुट्टै गरिमा र ऐतिहासिक पृष्ठभूमि छ । जनकपुर सुन्दर सहर, तीर्थालुका लागि पनि पवित्र स्थल हो । यहाँ हरेक वर्ष मेला लाग्छ । मेलामा सबै समुदायका मानिसहरू आउनुहुन्छ । विगतमा एक/एक महिना मेला लाग्थ्यो । उत्तर भारतबाट यहाँ महिनौंसम्म मेला भरेर जाने गर्थे । त्यो सम्झिँदा न्यास्रो लाग्छ ।
राष्ट्रिय रूपमा पनि जनकपुर खास गरी तराईवासीको राम्रो ख्याति थियो । सीमा संरक्षणमा होस् चाहे शैक्षिकस्तर र बौद्धिकतामा, धेरै चर्चामा रहन्थ्यो । अहिले त्यसमा केही ह्रास आएजस्तो देखिन्छ । अब फेरि पुरानै अवस्थामा पुग्नुपर्नेछ । पछिल्लो ५/७ वर्षमा मैले निरन्तर रूपमा मुलुकको अभ्यास हेर्दै आएको छु । विगतभन्दा थोरै भए पनि राम्रो भएको देख्दा हाम्रो भविष्य उज्ज्वल छ भन्ने लागेको छ । निराश हुने कम र आशा गर्ने ठाउँ धेरै छन् । आजको दिनमा मुलुकमा दुई/दुई पटक सदन विघटन भएको छ । दुई/दुई महिना अदालत बन्द हुन्छ भने ६/६ महिना संसद् बन्द हुन्छ । ती सबै हेर्दा तनाव हुन्छ, कहीं न कहीं दुख्छ, घोच्छ । धेरैको बलिदानले अहिलेको उपलब्धि हात परेको हो ।
विगतमा मधेस स्वर्ग थियो । किनकि यहाँ पानीको कमी थिएन । सारा पोखरी, नदी, तालतलैयाहरू भरिभराउ हुन्थे । गरिबले ६ महिनासम्म माछा मारेरै आफ्नो खाना जुटाउँथे । चामल, तेलहन, दालहनलगायतको कमी थिएन । घर बनाउने सारा सामग्री उपलब्ध थियो । अहिले ७/८ महिनामै हामीले ४७ अर्ब रुपैयाँबराबरको चामल आयात गर्न थालेका छौं । धेरै खाद्यान्न बाहिरबाटै ल्याउन थालेका छौं । आयात बढिरहेकाले विदेशी मुद्रा सञ्चिति घटेको छ । राष्ट्र बैंकले ६ महिनालाई मात्र वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा छ भन्दै आएको छ । श्रीलंका, अफगानिस्तानलगायत राष्ट्र आर्थिक अवस्था कमजोर हुँदै गएको दिनहुँ सुन्न र पढ्न पाइन्छ । हाम्रो मुलुक पनि ती राष्ट्रकै बाटोमा लागेको हो कि भन्ने लागेर आउँछ ।
मैले देखेको समाज अहिलेभन्दा धेरै पृथक् थियो । तराईमा सडक थिएन । पैदल र घोडामा यात्रा गर्ने गरिन्थ्यो । म जन्मिँदा साइकल पनि थिएन । २०२० सालमा म काठमाडौं पढ्न जाँदा मेरो गाउँमै एउटा मात्र साइकल थियो, एक जनाले मात्र हातमा घडी लगाउनुभएको थियो । आज धेरै सडक राजमार्ग बनेका छन् । तर, पानीको स्रोत सुकेको छ । किनकि यहाँको चारकोसे झाडी नष्ट भएको छ । चुरे दोहन भइरहेको छ । यहाँ पाँचवटा मुख्य सडक छन् । हुलाकी राजमार्ग पनि निर्माणको क्रममा छ । पूर्वपश्चिम राजमार्ग पनि सञ्चालनमा छन् । राजमार्ग निर्माणका लागि भन्दै वन विनाश भएको छ ।
सडक बनेपछि सबैतिरबाट तराईमा मानिसहरूको बसोबास बढेको छ । तर, राजमार्ग निर्माण र बसाइँसराइ गर्दा सडकमार्गभन्दा २/४ किलोमिटर तल भएको भए वन बचाउन सकिन्थ्यो । पथलैया–ढल्केबरमा ठूलै बजार बसेको छ । सहरीकरणको नाममा प्राकृतिक स्रोतको विनाश भइरहेको छ । चुरेको दोहनले तराईमा मुहान सुक्दै गएकाले भविष्यमा पानीको हाहाकार हुने वैज्ञानिकहरूले बताउँदै आएका छन् । २०२६ सालमा जनकपुरमा मेरो आँगनमा ५० फिटमा पानी आउँथ्यो, अहिले साढे ४ सयदेखि ५ सय फिटसम्ममा मात्र आउँछ । सिरहादेखि रौतहटसम्मका जिल्लामा गर्मी मौसममा पानी अभाव हुन थालेको छ । कुनै समयमा मन्दिर, मठ, तालतलैया पानीले भरिभराउ हुने जनकपुर अहिले फोहोर र नालाले भरिएको छ ।
अहिले चार लेनको पूर्वपश्चिम राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, यहाँभन्दा २०/२५ किलोमिटरमाथि मध्यपहाडी राजमार्ग र नजिकै हुलाकी राजमार्ग बनिरहेको छ । यस्तै, चुरे भएर अर्को राजमार्ग पनि निर्माणाधीन अवस्थामा छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलको पालामा आएको बजेटमा महाभारतबाट गिट्टी निकाल्ने र विदेश पठाउने भन्ने व्यवस्था घोषणा भएको थियो । विवादित भएकाले उक्त विषय सर्वोच्च अदालत पुग्यो । सर्वोच्चबाट पनि वातावरण, मुलुक र स्थानीयवासी सबै पक्षलाई हानि नहुने गरी नीति बनाएर मात्र कार्यान्वयनमा ल्याउन आदेश भएको छ । तर, अदालतको आदेशलाई बेवास्ता गर्दै आगामी आर्थिक वर्षको बजेटमा फेरि पनि त्यही विषय बजेटमा समावेश भएको छ ।
वातावरणको मलाई धेरै माया छ । सोही कारण म राष्ट्रपति हुँदा पनि चुरे संरक्षणका लागि एक समिति बनाएर काम अघि बढाएको थिएँ । त्यो समितिले अहिले पनि काम गरिरहेको छ । तर, त्यसको ‘मास्टर प्लान’ अझै बन्न सकेको छैन । हरेक सरकारलाई एउटा ‘मास्टर प्लान’ बनाएर चुरे संरक्षण गर्न आग्रह गरिरहेका छौं ।
नेपालमा हिमाल छ, महाभारत छ र अर्को शिवालिक छ त्यसलाई नेपालीमा चुरे भनिन्छ । हामी मधेसीहरू चुरियामाई भन्छौं । चुरियालाई देवता मानेर पूजा गर्छौं । यो क्षेत्रको १७ प्रतिशत भूमि तराई र १३ प्रतिशत भूमि चुरेमा छ । यसरी लगभग ३० प्रतिशत भूमिमा नेपालको कुल जनसंख्याको ५५ प्रतिशतभन्दा बढी बसोबास गर्दै आएका छौं । त्यहाँ सबै जातजाति, वर्ग र समुदायका मानिसहरू बसोबास गरिरहेका छन् । यो क्षेत्रको संरक्षण गरिएन भने नेपालको जनसंख्याको ठूलो हिस्सा प्रभावित हुनेछ ।
यस्तै, तराई अन्नको भण्डार हो । २०२४/२५ सालसम्म नेपाल धान निर्यात गर्ने मुलुकमध्ये पाँचौं स्थानमा थियो । आज चीन, भियतनाम, भारतमा धेरै धान उत्पादन हुन्छ र उनीहरू नै निर्यात गर्ने प्रमुख मुलुक बनेका छन् । करिब ४० वर्षको यात्रामा हामीले अन्नको भण्डार झन् बढाउनुपर्नेमा त्यसलाई नष्ट गरेर विदेशबाट ठूलो परिमाणमा आयात गरिरहेका छौं । अहिले प्रदेश सरकारले चुरे संरक्षणका लागि नीति ल्याएको छ । मैले धेरै पहिलेदेखि भनिरहेको थिएँ । जेहोस् ढिलै भए पनि चुरे संरक्षणमा प्रदेश सरकारले पनि चासो देखाएको छ । यो राम्रो पक्ष हो ।
यो क्षेत्रमा रहेका वनजंगलमा पाँच सय प्रजातिका चराचुरुङ्गी छन् । विभिन्न प्रकारका जनावर छन् । यसरी हेर्दा चुरे जैविक विविधताको करिडोर हो । यो पानी र प्राकृतिक साधनस्रोतको भकारी पनि हो । यसकारण चुरेलाई नष्ट गरेपछि मधेस सोझै मरुभूमि भइहाल्छ । राष्ट्रिय महत्त्वका आयोजनाका रूपमा रहेको निजगढ विमानस्थलको विषय पनि चर्चामा छ । त्यहाँको वातावरणमा असर नपुग्ने र कमभन्दा कम प्राकृतिक साधनस्रोतको क्षति हुने गरी विमानस्थल निर्माण गर्नु भन्ने आदेश सर्वोच्चको छ । तर, अदालतको आदेश परवाह नगरी केन्द्रीय सरकारले यही स्थानमा विमानस्थल बनाउने कुरा अघि बढाएको छ । यस्तो निर्णय गरिरहँदा हामीले अदालतको आदर गरेका छौं कि अनादर भन्ने कुरा पनि विचार गरिनुपर्छ ।
यही प्रकारले निरन्तर रूपमा चुरेको दोहन हुँदै गएमा आगामी ३० वर्षमा सम्पूर्ण मधेस मरुभूमि हुन्छ भनेर वैज्ञानिकहरूले भनिरहेका छन् । चुरे क्षेत्रबाट मात्र १ सय ६४ वटा नदी निस्किरहेका छन् । चुरेको दोहन भइरहेकाले ती क्षेत्रबाट बग्ने नदीहरूले हरेक वर्ष तराईमा डुबान पार्नुका साथै खेतीयोग्य जग्गाको कटान भइरहेको छ । यसले तराईमा उत्पादन घटाएको छ भने गरिबी बढाएको छ । यसकारण पनि राष्ट्रले चुरे, महाभारत र भावरको संरक्षण गर्नैपर्छ । यसका लागि पहाडी र मधेसी दुवै समुदाय मिलेर चुरे भावरको शिवालिकलाई बचाउनैपर्छ ।
अहिलेको अवस्थामा सामाजिक रूपान्तरणको कुरा मधेसको गहन विषय हो । जनकपुर, लुम्बिनी, सिम्रौनगढलगायत पर्यटकीय स्थलहरू छन् । संरक्षण, संवर्द्धन गर्न सकेमा पर्यटक भित्र्याउन सकिन्छ । समाज परिवर्तनको महत्त्वपूर्ण आधार शिक्षा हो । तर, यहाँ शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, शिक्षक पठाउने, पुस्तक पठाउने, पाठ्यक्रम तयार पार्नेलगायत सबै काम केन्द्रबाट हुँदै आएका छन् । मधेसको शिक्षा झनै कमजोर छ । किनकि केन्द्रबाट बन्ने पाठ्यक्रम र सिकाइ प्रणालीले मधेसको प्रतिनिधित्व गर्न सक्दैन । यसकारण शिक्षाको गुणस्तरमा सुधार हुन सकेको छैन । शिक्षा राम्रो नभए समाज बर्बाद भएर जान्छ ।
मधेसको समाज पहाडी समाजभन्दा थोरै फरक छ । उच्च वर्ग र निम्नस्तरका किसान छन् । उनीहरूमध्ये धेरैको शिक्षा र स्वास्थ्यको अवस्था कमजोर छ । मधेसमा पनि करिब ०.५ प्रतिशत जनसंख्या निकै सम्भ्रान्त छन् । बहुसंख्यक नागरिक कृषि पेसामा आबद्ध छन् । पछिल्ला वर्षमा किसानहरू खेत बेचेर खाडीमा ऊँट चराउन गएका छन् । तर, यहाँ बसेर भैंसीपालन, खेतीपाती गर्दैनन् । यहाँ खेती गर्दा मल, पानी, बीउ, प्राविधिक सहयोग केही पाइँदैन भन्ने उनीहरूको गुनासो छ । कृषिको अवस्था झन् नाजुक छ ।
स्वास्थ्यको अवस्था पनि निकै नाजुक छ । जबसम्म शिक्षा र स्वास्थ्यमा सुधार आउँदैन तबसम्म समाज परिवर्तनको कल्पना पनि गर्न सकिँदैन । स्वास्थ्य क्षेत्रमा केही काम भएको देखिन्छ । प्रदेश, अञ्चल, जिल्ला, गाउँपालिका, स्थानीय निकाय सबैमा स्वास्थ्य संरचनाहरू बनेका छन् । तर, तीनमा न औषधि न त गुणस्तरीय चिकित्सक सेवा नै पाइन्छ । सरकारी स्वास्थ्य केन्द्रबाट सेवा नपाइने भएपछि नागरिकहरू निजी अस्पतालमा धाउन बाध्य छन् । यही कारण जनकपुरमा निजी अस्पताल खुलेका छन् । तर, सामुदायिक स्वास्थ्य संस्थाको हालत बर्बाद छ । बेलायतमा नेसनल हेल्थ सर्भिसले स्थानीयस्तरमा सेवा दिन्छ । हामीकहाँ पनि संरचना छ । जुन पार्टी आउँछ अस्पताल खोल्छ । तर, त्यहाँ सेवा हुँदैन । त्यसैले मानिस निजी अस्पतालतिर जान्छन् । यसरी शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु ‘फलामको चिउरा चपाउनु सरह’ काम हो । यद्यपि त्यो नगरी मधेसमा सामाजिक रूपान्तरण गर्न सम्भव छैन । यस्तै, मधेसमा दलित र जनजाति पनि ठूलो तप्कामा छन् । त्यसलाई मूल प्रवाहमा ल्याउन सकिएको छैन । त्यो समुदायलाई पनि विकासको मूल प्रवाहमा ल्याएर समाजको रूपान्तरणमा समावेश गराउन जरुरी छ ।
(जनकपुरमा शनिबार आयोजित ‘मधेश मन्थन’ मा पूर्वराष्ट्रपति यादवको प्रवचनको सम्पादित अंश)
प्रकाशित : असार २६, २०७९ ०८:२७
७.१२°C काठमाडौं














