२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालबालिकालाई स्कुल ब्याग: साथी कि सास्ती ? 

स-साना बालबालिकालाई स्तरीय शिक्षाका नाममा धेरै किताब भिडाउने अनि विद्यालयमा आधारभूत आवश्यकताको समेत व्यवस्था नगरी घरैबाट पानी बोक्न बाध्य पार्ने प्रवृत्तिले झोलाको वजन झनै बढाएको छ ।
पाठ्यक्रमले राखेको उद्देश्य पूरा गर्ने दिशामा भन्दा अनावश्यक रूपमा सूचना थोपर्ने प्रयास हुँदा किताबहरू बालमनोविज्ञान र बालविकास सिद्धान्तविपरीत नीरस र त्रुटिपूर्ण बनेका छन् ।
प्रेमनारायण भुसाल

काठमाडौँ — समाज संयुक्तबाट एकल पारिवारिक ढाँचामा रूपान्तरित हुँदै जाँदा यसको प्रत्यक्ष प्रभाव बालबालिकाको जीवनशैलीमा परेको छ । घरमा खेलेर बस्ने उमेरका कलिला बालबालिका आफूभन्दा ठूलो स्कुल ब्याग बोकेर विद्यालय जान थालेका छन् । डेढदुई वर्षमै विद्यालय भर्ना गरिदिने प्रवृत्ति बढ्न थालेपछि बालबालिकाको सिकाइ स्तर, सामाजिकीकरण र मनोसंवेगात्मक विकासमा अवरोध सिर्जना भएको विज्ञहरूले बताउँदै आएका छन् ।

बालबालिकालाई स्कुल ब्याग: साथी कि सास्ती ? 

उच्चस्तरको शैक्षिक उपलब्धि मापन भएका देशमा ७–८ वर्षसम्मका बालबालिकालाई घरमै राख्नुपर्ने व्यवस्था छ । नेपालका सन्दर्भमा भने सानै उमेरमा विद्यालय भर्ना गरी बालबालिकालाई घरेलु वातावरणबाट टाढा राख्ने कामले प्रश्रय पाउने गरेको छ ।

शिक्षामा निजी क्षेत्रको प्रभाव बढेपछि नाफा आर्जनका लागि व्यावसायिक र गैरव्यावसायिक दुवै थरी प्रयास हुने गरेका छन् । ससाना बालबालिकालाई स्तरीय शिक्षाका नाममा धेरै किताब भिडाउने अनि विद्यालयमा आधारभूत कुराको समेत व्यवस्था नगरी बालबालिकालाई घरैबाट पानी बोक्न बाध्य पार्ने प्रवृत्तिले झोलाको वजन झनै बढाएको छ । पछिल्लो समय गह्रौं झोलाका कारण बालबालिकामा ढाड, मांसपेसी र नसासम्बन्धी समस्या देखिनुका साथै उनीहरूको वृद्धि र विकासमा समेत प्रतिकूल प्रभाव परेको पाइएको छ ।

धेरै पाठ्यपुस्तक राखेमा विद्यालयको स्तर राम्रो मानिने मानसिकताका कारण हिजोआज तहअनुरूपका पाठ्यपुस्तकका अतिरिक्त सन्दर्भ सामग्रीका रूपमा धेरै किताब राख्ने चलन बढेको छ । आधारभूत तहका विद्यार्थीलाई समेत १०–११ ओटा किताब किन्न बाध्य पार्ने निजी विद्यालयको गलत कार्यलाई उल्टै स्कुलको स्तरसँग जोडेका कारण सामुदायिक विद्यालयहरूले समेत अतिरिक्त किताब प्रचलनमा ल्याएका छन् ।

सन्दर्भ सामग्रीको व्यवस्था गरी विद्यार्थीलाई पढ्न उत्प्रेरित गर्ने काम उपयुक्त भए पनि अनावश्यक रूपमा धेरै किताबलाई अनिवार्य पाठ्यवस्तु बनाई हरेक दिन विद्यालय ल्याउनैपर्ने व्यवस्था गर्नु व्यावहारिक र राम्रो काम होइन । यसले आफ्नो स्तरभन्दा माथिका धेरै किताब पढ्नुपर्ने भएकाले बालबालिकाको मानसिकतामा नकारात्मक प्रभाव पार्छ । स्कुल ब्यागको वजन बढ्न गई बालबालिकाहरू मानसिक र शारीरिक रूपमा गह्रौं भारी बोकिरहनुपर्ने अवस्थामा पुग्छन् ।

पछिल्लो समय सरकारी तबरबाट पृष्ठ र रङअनुसार पुस्तकको मूल्य कायम गर्न पाउने व्यवस्था भएबाट पुस्तक प्रकाशकहरू गुणस्तरलाई वास्तै नगरी धेरै पृष्ठका किताब प्रकाशन गर्न हौसिएका छन् । उनीहरू पाठ्यपुस्तक लेखकलाई विषयवस्तुगत गहनता, सान्दर्भिकता र विशिष्टताभन्दा पृष्ठगत आयाम विस्तारलाई जोड दिन दबाब दिने गर्छन् । परिणामतः पछिल्लो समय बजारमा उपलब्ध धेरैजसो किताब अनावश्यक रूपमा मोटाएका छन् । यसले पुस्तकको तौल वृद्धि हुने, पृष्ठअनुसार बढी मूल्य लिन सकिने साथै विद्यालयले समेत पुस्तकको मूल्यमा कमिसन प्राप्त गर्ने भएकाले पुस्तक प्रकाशक र विद्यालयको गलत कामको सिकार अभिभावक र विद्यार्थी हुँदै आएका छन् । पाठ्यक्रमले राखेको उद्देश्य पूरा गर्ने दिशामा भन्दा अनावश्यक रूपमा सूचना थोपर्ने प्रयास हुँदा किताबहरू बालमनोविज्ञान र बालविकास सिद्धान्तविपरीत नीरस र त्रुटिपूर्ण बनेका छन् ।

सहरबजारमा बिहानै ठूला झोला बोकेर बालबालिकाहरू बसको प्रतीक्षा गरिरहेका भेटिन्छन् । यसरी गह्रौं झोला बोकेर बस प्रतीक्षा गर्ने धेरै विद्यार्थीहरू बसको सिटमा सहज रूपमा बस्नसमेत पाउँदैनन् । राम्रो सुविधा दिने विज्ञापन गर्ने विद्यालयहरूले समेत सिटभन्दा बढी बालबालिका कोचेकाले विद्यार्थीहरू झोलासहित उभिएरै यात्रा गर्न विवश हुन्छन् । विद्यालयका अग्ला भवन बालबालिकाका लागि अर्को समस्या बनेका छन् । खेल्न पर्याप्त चौरको व्यवस्था नभएका यस्ता विद्यालयमा झोला बोकेर ५–६ तला उक्लने र ओर्लने गर्दा बालबालिकाको थकान मात्र बढ्ने होइन, उनीहरूको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव बढ्दै गएको छ । एकातिर गह्रौं र धेरै किताब बोक्नुपर्ने अनि अर्कोतिर विद्यालयले स्वस्थ खानेपानीको समेत व्यवस्था गर्न नसकेकाले घरैबाट पानी बोकेर विद्यालय जान बालबालिकाहरू बाध्य हुने गरेका छन् । बजारिया पत्रु खाना खाने बानी परेका बालबालिका घरबाट बोकेर लगेको करिब आधा लिटर पानीका भरमा दिनभर विद्यालयमा बस्दा उनीहरूको शारीरिक स्वास्थ्य प्रणालीमा अनेकौँ समस्या सिर्जना हुने गरेका छन् । पछिल्लो समय बालबालिकामा देखिएको कब्जियतजन्य र छटपटी, बेचैनी, स्मृतिलोप र एकाग्रतामा कमी जस्ता समस्या पर्याप्त पानीको अभावका कारण सिर्जना भएको चिकित्सकहरू बताउँछन् ।

गृहकार्य बालबालिकाका लागि अर्को समस्याका रूपमा तेर्सिने गरेको छ । दिनभर विद्यालयमा बस्ने बालबालिकालाई घरका काम र सामाजिक सम्बन्ध सुधार गर्ने किसिमका व्यावहारिक गृहकार्य दिनु राम्रो हो । यसले उनीहरूको आत्मबल बढ्ने, समायोजन क्षमतामा वृद्धि हुने तथा जीवनोपयोगी सीप सिक्ने अवसर सिर्जना गर्छ । तर दुःखलाग्दो कुरा, हाम्रा विद्यालयहरूमा यस किसिमका जीवनोपयोगी सीप विकास गर्ने किसिमका गृहकार्य दिने गरेको पाइँदैन । विद्यालयमा बालबालिकालाई धेरैभन्दा धेरै सूचना घोकाउने कामलाई नै प्राथमिकता दिइन्छ ।

भौतिक संरचनाको अभावका कारण विद्यालयमा खेल्ने अवसर नपाएका बालबालिका घर पुगेपछि शारीरिक व्यायाम त के, सामाजिक अन्तक्र्रिया गर्ने समयसमेत पाउँदैनन् । विद्यालयको झोला बिसाउँदा नबिसाउँदै उनीहरूमा गृहकार्यले सिर्जना गरेको तनावले बेचैनी ल्याउँछ । पूर्वप्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई समेत गृहकार्यको भारी बोकाउने हाम्रा विद्यालयहरूले बालमनोविज्ञान र बालविकासलाई सर्वथा उपेक्षा गरेको देखिन्छ ।

पाठ्यवस्तु घोकाउनुलाई गुणस्तरीय शिक्षा मान्ने मनोवृत्तिका कारण विद्यालयमा बालबालिकालाई पढाइका नाममा घोकाउने र घरमा गृहकार्यका नाममा लदाउने काम मात्र भएको छ । उनीहरूमा रहेको सीपलाई विकास गर्ने र आवश्यक सीप सिकाउने काम प्राथमिकतामा पर्न सकेको छैन । बालबालिकाको वृद्धि र विकासमा प्रतिकूल प्रभाव पार्ने यस किसिमका क्रियाकलापलाई समयमै निरुत्साहन नगर्ने हो भने समस्याले अझ गम्भीर रूप लिनेछ ।

नेपालका सहरी क्षेत्रमा हालै मौलाउँदै गएका शैक्षिक क्षेत्रका यस्तै प्रकृतिका विकृति छिमेकी मुलुक भारतमा केही वर्षअघिदेखि नै देखिँदै आएका छन् । विद्यार्थी र विद्यालय व्यापारीका आयआर्जनका स्रोत मात्र बन्न थालेपछि दिल्ली सरकारले ‘पोलिसी अन स्कुल ब्याग २०२०’ जारी गरी विकृति नियन्त्रण गर्ने प्रयास गरेको छ ।

यस निर्देशिकाले पूर्वप्राथमिक विद्यालयमा स्कुल ब्याग र किताब निषेध गरेको छ । कक्षा एकदेखि १२ सम्मका विद्यार्थीका लागि उनीहरूको औसत तौल निर्धारण गरी यसैका आधारमा बढीमा विद्यार्थीको तौलको १० प्रतिशतसम्म वजन भएको स्कुल ब्याग प्रयोगमा ल्याउन निर्देश गरेको छ । यस आधारमा कक्षा १–२ का बालबालिकाको ब्याग एक किलो छ सय ग्रामदेखि दुई किलो दुई सय ग्रामसम्म र आठ कक्षाका विद्यार्थीको ब्याग साढे दुईदेखि चार किलोसम्म हुन सक्ने नियम लगाएको छ । अनावश्यक पुस्तक थोपरेर गह्रौं भारी बनाउने विद्यालयलाई निरुत्साहित गर्न विद्यालयले तोकिएका पाठ्यपुस्तक मात्र प्रयोग गर्ने र प्रकाशकले पाठ्यपुस्तकमा पुस्तकको तौलसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

विद्यालयको झोलालाई छरितो बनाउन दिल्ली सरकारले विद्यालयमै स्वस्थकर खानेपानीको व्यवस्था गर्नु विद्यालय व्यवस्थापनको कर्तव्य र जिम्मेवारी मानेर सोहीअनुरूप गर्नसमेत निर्देश गरेको छ । विद्यालय शिक्षामा देखापरेका विकृति अन्त्य गर्ने प्रयासस्वरूप जारी भएको यस निर्देशनले विद्यार्थीलाई दिने गृहकार्यलाई समेत व्यवस्थित गर्ने प्रयास गरेको छ । दुई कक्षासम्मका विद्यार्थीलाई कुनै पनि गृहकार्य दिन नपाइने तथा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीलाई प्रतिसाता दुई घण्टामा गरि सक्ने जति मात्र गृहकार्य दिन पाउने भनेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई भने प्रतिदिन बढीमा एक घण्टामा गर्न सक्ने जति गृहकार्य दिने र ९ भन्दा माथिका विद्यार्थीलाई प्रतिदिन दुई घण्टामा सक्ने जति गृहकार्य दिन सकिने व्यवस्था निर्देशनमा गरिएको छ ।

कक्षा एक र दुई कक्षाका विद्यार्थीलाई एउटा मात्र कापीको व्यवस्था गर्नुपर्ने नियम बनाएको दिल्ली सरकारले उक्त प्रावधानहरूलाई कडाइका साथ लागू गर्न नियमनका कार्यक्रमसमेत जारी राखेको छ । विद्यार्थीलाई दुइटा फिता भएको झोला बोक्न र आवश्यकभन्दा बढी किताब कापी नबोक्न सघाउने उद्देश्यले विद्यालयमा पुस्तक राख्न मिल्ने दराजको व्यवस्था गर्नसमेत निर्देश गरेको छ । यस किसिमको व्यवस्थाका कारण राजधानी दिल्लीका विद्यार्थी लाभान्वित भएका मात्र छैनन्, त्यहाँको शैक्षिक स्तरमा समेत राम्रो सुधार देखिएको छ ।

नेपालका सहरी र नगरोन्मुख क्षेत्रमा बढ्दै गएको धेरै किताब राख्ने प्रवृत्ति निरुत्साहित गर्न नेपाल सरकारले उपयुक्त कदम चाल्नु आवश्यक छ । बालमनोविज्ञानको बेवास्ता गरिएका गुणस्तरहीन पाठ्यपुस्तकमा रोक लगाउने तथा बेलगाम छाडिएका निजी प्रकाशकलाई नियमनमा ल्याउने कामलाई समेत प्राथमिकता दिनुपर्छ ।

कमिसनको लोभमा स्तरहीन पुस्तक लगाउने विद्यालय तथा ठूला किताब बनाएर धेरै मूल्य असुल्ने प्रकाशकको अर्थलोलुप प्रवृत्तिलाई समयमै नियन्त्रण गर्नुपर्छ । पानीसमेत घरबाटै बोक्न बाध्य बार्ने विद्यालयलाई स्वस्थ र पर्याप्त पानीको व्यवस्था अनिवार्य रूपमा विद्यालयमै मिलाउनुपर्ने विषयलाई कडाइसाथ लागु गर्न सके विद्यार्थीका झोलाको वजन घट्छ, उनीहरूले पर्याप्त र स्वस्थ पानी पिउने अवसर पनि पाउँछन् । समग्र शैक्षिक विकासका लागि उपयुक्त किसिमका नीति र योजना आवश्यक भए पनि शिक्षा क्षेत्रमा झाँङ्गिँदै गएका विकृति नियन्त्रण गर्न पुस्तक, बालबालिकाका झोला, खानेपानी र गृहकार्य जस्ता ससाना तर बहुप्रभावी विषयमा तुरुन्तै सुधार गर्नु आवश्यक छ ।

प्रकाशित : असार २०, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?