कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘३० प्रतिशत आयात घटाउन सजिलो छैन’

आयात घटाउने, अपार्टमेन्ट व्यवसाय चलायमान बनाउने र वैदैशिक रोजगारमा रहेकाहरू लक्षित कार्यक्रम सकारात्मक
शेखर गोल्छा

चालु आर्थिक वर्षका लागि अध्यादेशबाट ल्याइएको बजेट पूरै खर्च गर्न नसकेर तीन पटकसम्म संशोधन भइसकेको छ । चालु वर्षको घटाइएको बजेटको आकार १४ खर्ब ४७ अर्ब रुपैयाँ मात्र हो, जुन रकम आगामी असार मसान्तसम्म खर्च हुने छाँट छैन तर अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटभन्दा झन्डै साढे ३ खर्बले आकार बढाउँदै आगामी वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । बजेटको आकार तथा कार्यक्रममाथि पक्ष–विपक्षमा बहस भइरहेको छ । समग्रमा बजेट कस्तो छ, यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला, के गरिनुपर्थ्यो वा के गरिनु हुँदैन थियो लगायत विषयमा केन्द्रित रहेर कान्तिपुर दैनिकले आयोजना गरेको बजेट समीक्षामा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राखेको विचारको सम्पादित अंश :

‘३० प्रतिशत आयात घटाउन सजिलो छैन’

हरेक वर्षजस्तै आगामी वर्षको बजेटमा पनि निजी क्षेत्रको चासो राखेका थिए । यसवर्ष वस्तुस्थिति एकातिर छ, अर्कोतिर सरकारले ५.८ प्रतिशत आर्थिक वृद्धि देखाएको छ । तर, पछिल्लो ६ महिनामा अर्थतन्त्रमा चिन्तालाग्दो स्थिति छ । बैंकको ब्याजदर शतप्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कुनै पनि अर्थतन्त्रका लागि यो सकारात्मक सन्देश होइन ।

नेपालमा उद्योगीहरूले यस्तो कठिन समय पहिला कहिल्यै देखेका थिएनन् । यसबाहेक अन्तर्राष्ट्रियस्तरमा वस्तुको मूल्य हेर्ने हो आयात हुने मुख्य २ वस्तु पेट्रोलियम पदार्थ र खाद्यान्न नै हुन् । जसको मूल्य अन्तर्राष्ट्रियस्तरमै औसतमा ५० प्रतिशतभन्दा बढीले अकासिएको छ । यसबाट शोधान्तर स्थितिमा पनि दबाब छ । मुद्रास्फीति बढ्दो छ । त्यसकारण पनि अन्य समयको तुलनामा यो पटक बजेटमाथि बढी चासो थियो ।

यस वर्षको बजेटमा पनि केही सकारात्मक र केही नकारात्मक कुरा छन् । सकारात्मक कुरामा आधारभूत कृषि उत्पादन आयात ३० प्रतिशतले घटाउने भन्ने पर्छ । यो सजिलो पक्कै छैन । नेपालमा उत्पादन महँगो भएर त विदेशबाट आयात भएको छ । स्वदेशी कृषि उत्पादनको प्रयोग वा प्रोत्साहन गर्ने हो भने पनि विदेशको भन्दा सस्तो मूल्यमा पाउन सकिँदैन । त्यसका लागि पूर्वाधार, उन्नत जातको बीउबिजन चाहिन्छ । बजारीकरण र भण्डारणको समस्या त छँदै छ ।

आगामी आवमा निर्यात दोब्बर गर्ने कुरा आएको छ, यो सम्भव नै छ जस्तो लाग्छ । हामी कमजोर स्थितिमा छौं । तर, ३/४ वस्तुमा आएको अनुदानको कुराले पक्कै निर्यात बढ्ने देखिन्छ । बजेटमा सिमेन्ट, फलाम, क्लिंकरलगायतको निर्यातमा दिइएको छुटले यसलाई सम्भव बनाउने देखिन्छ । हामी परम्परागत निर्यात छोडेर मूलधारको निर्यातमा गएको छौं जस्तो लाग्छ ।

भारतले नेपालको सिमेन्टबारे बाटो कसरी खोल्छ भनेर हेर्नै बाँकी नै छ । त्यसले चुनौती पनि ल्याउँछ । भारतको सिमेन्ट पनि नेपाल आउन सक्ने सभावना रहन्छ । तर हाम्रो क्षमता उनीहरूको भन्दा तुलनात्मक रूपमा राम्रो हुनुपर्छ ।

सधैं साना, मझौला र स्टार्टअपलाई प्रोत्साहन गर्नुपर्छ भनेर हामीले कुराहरू राखेका छौं । यसपालि बजेटमा दोहोरिएको छ । तर लागू गर्न स्टार्टअपको अहिलसम्म नियमावली नै बनेको छैन । जसले गर्दा यसको प्रयोग पनि भएको छैन । बिनाधितो कर्जा कसरी दिने, जोखिम कसरी लिने भन्नेमा नियमावली बन्नुपर्छ, कार्यान्वयन हुनुपर्छ । वैदशिक रोजगारीमा गएकाहरूलाई यसरी नै रेमिट्यान्स पठाउनुपर्छ भनेर बाध्य बनाउन सक्दैनौं । तैपनि उनीहरूलाई लक्षित गरी यसपालिको बजेटमा २ वटा कुरा राम्रो आएको छ । आईपीओमा लगानी गर्न पाइने र उद्योग व्यवसायमा लगानी गर्न ऋण र सहुलियत दिइने । यो पनि कस्तो नियमावली बनाएर कार्यान्वयन गरिन्छ हेर्न बाँकी भने छ ।

हामीले पटक–पटक उठाउने गरेको जडीबुटी प्रशोधनको विषय पनि बजेटमा समेटिएको छ । सेजबाट सफलता हासिल गर्न सकेका छैनौं । तर, किटान गरेरै सेजलाई कसरी प्रभावकारी बनाउनुपर्छ भन्ने विषय सकारात्मक छ । विदेशी लगानीको सीमा पनि घटाइएको छ । यो पनि सकारात्मक नै लिएका छौं । उद्योग वाणिज्य महासंघले सधैं उठाउँदै आएको अपार्टमेन्ट व्यवसाय चलायमान बनाउनुपर्ने विषय पनि बजेटमा छ । विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न सक्ने गरी नियमावली बनाइदिनुपर्‍यो भनेर भनेका थियौं । हामीले २० प्रतिशतको कुरा राखेका थिएनौं । त्यो समेटिएको छ ।

उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा लिजमा दिने व्यवस्था पनि बजेटमा उल्लेख छ । निजी क्षेत्रका लागि उद्योग सञ्चालन गर्न जग्गा प्राप्ति गर्नु निकै ठूलो चुनौती थियो । यसको नियमावली आउन बाँकी छ । यसअघि विद्युत् लाइन उद्योगसम्म जोड्ने हो भने महसुलमा ७५ प्रतिशत छुट गर्ने कुरा उल्लेख थियो । यो विषय सधैं उठाइरहे पनि काम अघि बढेको छैन । विद्युत् प्राधिकरणलाई सीमारहित गर्ने विषय पनि महत्त्वपूर्ण छ । यसको प्राधिकरणको कार्यक्षमता बढाउँछ र हाम्रो बजारलाई चलायमान पनि बनाउँछ । सुन्दा राम्रो सुनिए पनि यसमा काम भएको छैन ।

नेपालमा कार्यान्वयनको कुरा दीर्घकालीन समस्या हो । निजी क्षेत्रको क्षमता विकास, सार्वजनिक खरिद ऐन परिमार्जित गर्ने विषय पनि समेटिनुपथ्र्यो । हरेक वर्ष त्यसबेलाको सरकारलाई टीकाटिप्पणी गर्ने, विकास बजेट खर्च भएन भन्नु सामान्य हो । तर, विकास बजेट खर्च हुन नसक्नुको कारण भित्रैदेखि अध्ययन गर्न जरुरी छ । विदेशी ठेकेदारलाई पनि लिएर आयौं । उनीहरूले बनाएका योजनाहरूमा पनि समस्या उस्तै छ । कुनै पनि आयोजना नेपालमा समयमै सम्पन्न नहुने समस्या छ । यसमा कसरी सुधार गर्ने भनेर हेर्न जरुरी छ । जबसम्म विकास खर्च हुँदैन, कर तिर्नेले पनि किन तिर्ने भनेर हिनताबोध हुँदै जान्छ । उनीहरूलाई उत्साहित गर्न, करको दायरा बढाउन विकास खर्च बढाउनुपर्छ । त्यसैले क्षमता विकास र नीति नियम परिवर्तन गर्नु नै ठूलो कुरा हो ।

प्रकाशित : जेष्ठ १९, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?