१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मिथिला परिक्रमाको अर्थ-राजनीति

नित्यानन्द मण्डल

काठमाडौँ — टाउकामा खानपिन सामग्री, एक हातमा ओढ्ने ओछ्याउने र लत्ताकपडाको पोका र अर्को हातमा पाल बनाउन काम लाग्ने बाासका भाटा अनि मुखमा ‘माथा पर मोटरी जय सियाराम’को भजन गाउादै नेपाल र भारतका हजारौं तिर्थालु मिथिलाको प्राचीन १५ दिने माध्यमिकी परिक्रमामा सहभागी हुन्छन् ।

मिथिला परिक्रमाको अर्थ-राजनीति

परिक्रमाकै कारण फागुन औंसीदेखि पूर्णिमासम्म सन्तको सहरका रुपमा ख्याति कमाएको जनकपुरधाम र यस वरिपरिका क्षेत्र उत्सवमय नै बन्ने गर्छ ।

केही वर्षयता मिथिला परिक्रमाको राजनीतिकरण प्रारम्भ भयो । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय नेता तथा जनप्रतिनिधिले परिक्रमामा आफ्ना सहभागिता, सक्रियता तथा सद्भाव देखाएर कार्यकर्ता र मतदातालाई रिझाउन थालेका छन् ।

गत वर्ष तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले परिक्रमाको पहिलो बिसौनी (पडावस्थल) धनुषाको कचुरीबाट नै यसको सुरूआत गरे । त्यस अवसरमा उनी राजस्थानी पगरी र धार्मिक पहिरनमा सजिए ।

यस्तै, गत वर्ष नै जति पाइला हिँड्यो, त्यति नै पुण्य प्राप्त हुने मिथिला परिक्रमाको ८ औं दिन महोत्तरीको कञ्चनवनमा आयोजित फागु समारोहमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि सहभागी भए । उनले परिक्रमा रुटको विकास, विस्तार र स्तरोन्नतिको आश्वासन बाँडे ।

यस वर्ष भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले परिक्रमा समापन हुने दिनमा जनकपुर आउने भएका छन् । उनले पनि परिक्रमालाई थप व्यवस्थित र प्रभााकारी बनाउन भरोसा दिलाउनेछन् ।

२०४९ सालतिर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा परिक्रमा सडक निर्माण गर्ने दुई देशबीच सहमति भयो ।

माध्यमिकी परिक्रमा सडक निर्माणबारे वृहत्तर जनकपुरक्षेत्र विकास परिषद्ले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीलाई ८५ करोड लागतको प्रस्ताव पेश गर्‍यो । यी त भए, नेपालका प्रधानमन्त्री, मन्त्री तथा नेताका कहानी ।

रहृयो कुरा भारतको । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले ६ वर्षअघि जनकपुरधाम आएका बेला परिक्रमा क्षेत्रमा चारवटा सुविधासम्पन्न धर्मशाला निर्माणमा सहयोग गर्ने वाचा गरे । तर, त्यो प्रतिबद्धताअनुसार काम अघि बढ्ने सुरसार नेपालबाटै भएन ।

मधेस प्रदेशले जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि स्वागत तथा सम्मान गर्‍यो । मोदीले जनकपुरधाम विकासका लागि एक अर्ब भारतीय रुपैयाँ दिने घोषणा गरे ।

यसरी नेपाल–भारत सम्झौताका बेला गरिएका कैयन् सपनाका पोका–पुलिन्दा पूरा हुन सकेका छैनन् ।

सीमासँग जोडिएका क्षेत्रमा विकासका पूर्वाधार निर्माण गरिए मात्र दुई देशका सीमावर्ती क्षेत्रमा विकास र समृद्धि हुनेछ । परिक्रमा यात्रीसँगै दुई देशका जनता लाभावन्ति हुनेछन् । यसले आन्तरिक पर्यटन व्यवसाय तथा बजार प्रवर्द्धनमा मद्दत पुग्नेछ ।

मुलुकका सातवटै प्रदेशमध्ये मधेस प्रदेशसँग नेपाल र भारत जोड्ने सांस्कृतिक सिम्बल छ । यसअर्थमा अन्य प्रदेश त्यतिसारो भाग्यमानी छैनन् । मधेस प्रदेशमा विभिन्न धार्मिक तथा साँस्कृतिक उत्सवका नाममा दुई देशका जनता “पवित्र भूमि”लाई पदमार्गका रुपमा प्रयोग गर्ने परम्परा छ ।

महामहोपध्याय परमेश्वर झा कृत मिथिलातत्व विमर्श पुस्तकमा उल्लेख गरिए अनुसार १६ औं शताब्दितिर मुगल बादशाह अकबरका प्रधानमन्त्री टोडर मल्लले नै मिथिलाको सिमांकन गरे । यससँगै सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभक्त गर्‍यो । जो मिथिलावासीका छातीमा किल्लासरह बिझ्दैछ । तर, नेपाल र भारतको मैत्रीपूर्ण साँस्कृतिक सेतुका रुपमा रहेको सनातन मिथिला परिक्रमाको आस्थामा भने कुनै आँच आएन । नाकाबन्दीका बेला पनि परिक्रमा परम्पराको अविछिन्नता कायम रहृयो ।

मिथिला परिक्रमामा सबैभन्दा बढी गुन्जिने नारा होः ‘मोटा पर मोटरी जय सियाराम, जयजय हो किशोरीजी’ किशोरीजी अर्थात् मिथिलाकी छोरी – सीता (जानकी) । राजर्षि जनककी राजकुमारी भएर जनकपुरधाम दरबारमा हुर्केकी सीता जनकपुरधाम र समग्र मिथिलावासीकै छोरी हुन् ।

मिथिलाका लोकगीतमा छोरीलाई सीतासँग तुलना गरिन्छ । राजा जनकले हलेष्टि यज्ञ गर्ने बेला खेतमा हलो जोत्दा सीता भेटिएकी मिथक छ । राजा स्वयं किसान भएर हलो जोतेको प्रसङ्गले सीताजन्मको महत्ता झनै महान् बनेको छ । शासकलाई माटोसँग जोड्ने यस कथामा अन्तर्निहित अर्थ–राजनीतिक सन्देशले शासन र भूमिपुत्र बीचको अन्तरंग कर्तव्य स्मरण गराउँछ । यस सन्देशलाई बिर्सनेहरू बिस्तारै इतिहासका पानामा सीमित हुँदै जान्छन् ।

समयको परिवर्तनसँगै संस्कृति पनि प्रभावित हुनेगर्छ । यसबाट गौरवमय मिथिला पनि अछुतो रहेन । यो प्राचीन राज्यको राजनीतिक शक्ति धेरै पहिले नै हरायो, तर साँस्कृतिक दिव्यता खण्डित भएन ।

इतिहासको एउटा खण्डमा मिथिला धनुषाका विन्धीकी छोरी नेपाल अधिराज्यकी महारानीसमेत भइन् । तर काठमाडौंमा राणाहरूको उदय भएसँगै जनकपुरक्षेत्र शाह र राणा शासकहरूका कोपभाजनमा पर्‍यो । यस्तो राजकीय बक्रदृष्टिलाई अर्थ राजनीतिसँग तुलना गर्ने हो भने मुलुकका अन्य ठाउँभन्दा अत्यधिक न्यून सार्वजनिक लगानी जनकपुरधामले पाएको यथार्थ छ ।

केही सामरिक स्वार्थबाहेक भारतका लागि मिथिलाक्षेत्र कहिल्यै महत्वपूर्ण रहेन बरु यो ठाउँ भारतीय राजनीतिक संस्थापनका लागि उपयोग गर्ने थलोचाहिँ बन्दै आयो । सत्ताले संस्कृतिभन्दा शक्तिलाई बढी महत्व दिन्छ । रामसँगको विवाहपछि जानकी (सीता) अयोध्या गएदेखि उनको माइत जनकपुरधामको सर्वस्व नै हरायो ।

नेपालको केन्द्रीय सत्ता त जनकपुरधामप्रति अनुदार छ नै । तर, रोटीबेटीको कुरा गर्ने भारतीय संस्थापनको जनकपुरप्रतिको बेवास्ता उदेकलाग्दो छ । त्यसैले पनि नेपाल–भारत सहयोगको एउटा नयाँ आयाम हुनबाट वञ्चित हुँदैछ यो परिक्रमा । परिक्रमाक्षेत्र विकासका मुद्दालाई भने सबै पक्षले गम्भीर रुपमा उठान गर्नुपर्ने हुन्छ ।

नेपालको एउटा समथर भूगोल मधेस प्रदेश नामकरण भएपछि मिथिलाको गौरव र गरिमाप्रति आस्थावान्हरु यहाँका सांस्कृतिक सम्पदा, धरोहर र तत्वहरुले राजकीय प्रयासबाट पुनर्जीवन पाउने कुरामा ढुक्क हुन सकेका छैनन् ।

नेपाल–भारतको सांस्कृतिक सेतु हो –माध्यमिकी मिथिला परिक्रमा । नेपालको धनुषा, महोत्तरी र भारतको उत्तरी बिहारका धार्मिक, ऐतिहासिक स्थानहरू समेट्ने ‘मिथिला परिक्रमा’ एउटा महत्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा स्थापित भए पनि पर्यटकीय गन्तव्य बन्न सकेको छैन ।

पक्की बाटो, खानेपानी, चर्पी अभाव, उचित व्यवस्थापन तथा सांस्कृतिक सम्पदा संरक्षण र साँस्कृतिक निधिको प्रचारप्रसार अभाव परिक्रमाक्षेत्रको विकासका चुनौती छन् । यद्यपि नेपाल सरकारका तर्फबाट परिक्रमा सडक निर्माण कार्य थालनी भएसँगै कार्य पूरा नहुँदै कालोपत्र भत्किन, उप्किन थालेको छ ।

नेपालका १०८ तथा भारतको २७ गरी करीब १३५ किलोमिटर भूमिको पैदलयात्रा गर्ने हजारौं साधुसन्त, गृहस्थ तथा श्रद्धालुभक्तजनको सहभागिता रहने परिक्रमाका यात्रीले कच्ची सडक, नदीमा क्षतिग्रस्त पुलपुलेसा तथा बिग्रेभत्केका बाटोका कारण बर्सेनि जोखिमपूर्ण, कष्टप्रद यात्रा गर्न बाध्य छन् । यसरी सांस्कृतिक महत्व बोकेको परिक्रमा सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।

सडक निर्माण भएमा धनुषा र महोत्तरीको तत्कालीन ८८ वटा गाविसका साथै भारतीय मधुबनी जिल्ला जोडिनेछन् र दुवै देशका सांस्कृतिक र आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।

परिक्रमामा सहभागी हुन मिथिलावासीका साथै नेपालका अरू जिल्ला र भारतका विभिन्न प्रान्तबाट पनि भक्तजन आउँछन् । यो उत्सवलाई मिथिलावासीहरू खेतीपाती र धानबाली भित्र्याउने काम सकेर रमाइलो, धर्म–कर्म तथा भ्रमण गर्ने मौकाका रूपमा पनि लिन्छन् । प्रत्येक पडावस्थलमा नाताकुटुम्बसँग भेटघाट गर्ने, हाँसो र खुसी साट्ने, एकले अर्काका लागि खानपिनका बन्दोवस्त गर्ने, कोसेलीमा महिलाहरुले साडी आदानप्रदान गर्ने, ग्रामीण हाट, बजारमेला, झाँकी, र फागुका गीतहरुले ग्रामीण आन्तरिक पर्यटनका अवयवहरुलाई उजिल्याएको मात्रै होइन एकीकृत बजारलाई पनि समेटेको छ । यसरी यसले भूराजनीतिलाई प्रत्यक्ष रुपमा प्रभावित नगरे पनि अर्थ राजनीतिमा भने महत्वपूर्ण अर्थ राख्दछ । भारत र नेपालका तीनै तहका सरकारले एकीकृत परिक्रमासम्बन्धी वृहत् प्याकेज ल्याउनु नै आजको आवश्यकता हो ।

यसरी परिक्रमाको अध्यात्मिक पक्ष सुखको क्षणिकता प्रदर्शन गर्नु पनि हो । सृष्टिमा समाहित नभएसम्म तृष्णा हो सुख, माया हो मिलन र बिछोड एवं यात्रा हो जीवन । यो चलिरहन्छ, मिथिला परिक्रमाको प्रचलनजस्तै । परिक्रमा भन्नु नै यात्रा आफैंमा एउटा गन्तव्य हो भन्ने कुरा स्वीकार गर्नु हो । त्यसैले भक्तको मनोकामना पूरा हुने जनविश्वासले अझै पनि हजारौं श्रद्धालुलाई जनकपुरधामले आकर्षित गर्दछ ।



प्रकाशित : चैत्र ३, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?