जलवायु परिवर्तन विशेष

भुइँमान्छेका भोगाइ

महाभारत क्षेत्रमा हुने वर्षा हिमालतर्फ सर्दै छ, यसले हिमाली क्षेत्र र त्योभन्दा तल बसोबास गर्ने समुदायको जीविकोपार्जनमा चुनौती थपिएको छ
हिमाली भेगका मानिसलाई हिउँले जीवन जिउने कला दिएको छ । उनीहरूका अनुभवलाई कथा वा सिद्धान्तमा होइन, प्रमाणका रूपमा हेर्नुपर्छ ।
जीवनमणि पौडेल

साउनको अन्त्यतिर । आकाशमा कालो बादल मडारिएको थियो । मनाङको नासों उपत्यकामा जलवायु परिवर्तनसम्बन्धी भुइँमान्छेका अनुभवजन्य ज्ञान, बुझाइ र अनुकूलन शीर्षकमा विद्यावारिधिका लागि सूचना संकलन गर्दै थिएँ । यो २०६९ सालको कुरा हो ।

भुइँमान्छेका भोगाइ

पानी पर्छ होला भन्दै थिए, मनाङमै जन्मेर हुर्केका सोलबहादुर । नभन्दै एक्कासि मुसलधारे पानी पर्न थाल्यो । म तराईमा जन्मे–हुर्केकाले होला मुसलधारे पानी मेरा लागि आश्चर्यजनक घटना नै थिएन । उनले पानी दर्कनासाथ एक्कासि ठूलो स्वरमा चिच्याए, ‘ओहो ! कस्तो लमजुङे पानी पो पर्‍यो ? यस्तो पानी त गाउँमा पहिला कहिल्यै परेको थाहा छैन ।’

सोलबहादुरले किन मनाङे पानी भनेनन् त ! म सोच्न थालें । ‘नासों उपत्यकामा पहिले पनि मुसलधारे पानी पर्ने गरेको भए यसलाई स्थानीय नाम दिन्थे होलान् नि ?’ मैले उनलाई प्रश्न गरें ।

सोलबहादुरले भने, ‘पानीको नाम राख्न नजानेर होइन सर । हामीलाई नामको आवश्यकता नै नभएर हो । पहिले यस्तो वर्षा हुन्थ्यो भने हाम्रा पुर्खा पनि असार प्यांगी जस्तै नाम राख्थे होला नि ।’

उनको उत्तरले जलवायु परिवर्तनसँगै आकाशे पानीले आफ्नो पानी पर्ने संयन्त्र र स्वरूपमा परिवर्तन गरेको संकेत गर्थ्यो । नामै नहुनु र अहिले नाम नभएको पानी पर्न थाल्नुले पनि आकाशे पानीले आफ्नो संयन्त्रमा परिवर्तन गरेको बलियो गुणात्मक प्रमाण दिइरहेको देखिन्थ्यो ।

विश्वको तापक्रम बढ्ने क्रम सँगसँगै सोलबहादुरले भनेझैं जल तथा मौसम विज्ञहरू पनि आकाशे पानीको संयन्त्र परिवर्तन गरेको कुरालाई नकार्दैनन् । परिवर्तित पानीको संयन्त्रले बाढीपहिरो, खडेरी, खण्डवृष्टि डुबानजस्ता समस्या बढ्दै गएको छ । स्थानीय कृषि प्रणाली, घाँसपातको उपलब्धता, पानीका स्रोतको उपलब्धतामा पनि असर पर्न थालेको छ । यसरी नेपालको महाभारत क्षेत्रमा हुने वर्षा हिमाली क्षेत्रतर्फ सर्दै जाँदै छ । यसले कमजोर र भिरालो भू–धरातल भएको हिमाली क्षेत्र र त्योभन्दा तल बसोबास गर्ने समुदायको जीवन र जीविकोपार्जनमा आउँदा दिनमा ठूलै चुनौती थपिने देखिन्छ । जुन २०७८ असारमा आएको बाढी र पहिरो नासों उपत्यकाले एक पटक भोगिसकेको छ ।

सोही वर्षको असोज महिनामा माथिल्लो मनाङको यात्रा गरेर तल्लो मनाङको ताचे गाउँमा फर्किएपछि नासों उपत्यकता केन्द्रित भएर अध्ययन गर्न थालें । माथिल्लो मनाङबाट फर्कंदा आफ्नो क्यामरामा त्यस भेगका खेतीपाती र फलफूलका केही फोटा खिचेर ल्याएको थिएँ । म स्थानीय गाउँलेलाई आफूले देखेका कुरा सुनाउँथें । उहाँहरू पनि मेरा कुरा सुन्दै आफ्ना कुरा थप्नु हुन्थ्यो । भुइँमान्छेको ठाउँबाट उभिएर जलवायु परिवर्तनलाई सांस्कृतिक सन्दर्भमा बुझ्ने एक आधार थियो । यसै क्रममा मैले एक दिन ल्यापटपको स्क्रिनमा समुद्री सतहदेखि ३,२४० मिटरको उचाइमा अवस्थित ढिकुरपोखरीको मकै खेती र ३,२५० मिटर उचाइमा अवस्थित पिसाङमा फलेको स्याउका तस्बिर देखाएको थिएँ । ८१ वर्षका रतन घलेले ती तस्बिर हेर्दै भने, ‘म युवक हुँदा थान्चोक (२,६८२ मिटर) भन्दा माथि मकै फलेको थाहा थिएन । पछि चामे र तलेखु (२,७००–२,८०० मिटर) सम्म मकै फल्न थाल्यो । अहिले त ढिकुरपोखरी पो पुगेछ । स्याउ पनि पिसाङ पुगेछ । पहिला भ्राताङसम्म मात्र थिए । तर त्यहाँ फलेका स्याउका दाना साना, अमिला र फुस्रा हुन्थे ।’

रतनले भनेझैं हिमाली भेगमा फल्ने खाद्यान्न र फलफूलका बोटबिरुवा आफ्नो परम्परागत धरातलीय दायरा छाड्दै क्रमशः उच्च भेगतर्फ सर्न थालेका छन् । यसले हिमाली भेगका मानिसलाई अवसर र चुनौती ल्याएको छ । ती बोटबिरुवासँग अन्तरनिहित पर्यावरणसम्बन्धी व्यावहारिक ज्ञानलाई जलवायु परिवर्तनले क्रमिक रूपमा विस्थापित गर्दै छ भने मानिस र प्रकृतिबीच बनिरहेका सम्बन्धलाई पनि भत्काउँदै छ ।

हिमाली भेगमा बढेको तापक्रमले घरपालुवा जनावरको आनीबानीमा पनि असर पारेको देखिन्छ । नासों उपत्यकाको मौसम चौंरी गाई उत्पादन गर्न उपयुक्त रहेको छ । तर बढ्दै गएको तापक्रमले चौंरी उत्पादन गर्न चुनौती छ । हिमाली भेगमा चौंरी गाई उत्पादनमा स्थानीय पर्यावरणीय प्रणाली (तापक्रम, भौगोलिक स्थान, खर्कहरूमा घाँस र पानीको उपलब्धता आदि) का बारेमा मिहिन र राम्रो ज्ञान, जनावरहरूको प्रजननसम्बन्धी ज्ञान र घरपरिवारमा मानव स्रोत साधनको उपलब्धताले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । तर बढ्दो तापक्रमले सामाजिक तथा पर्यावरणीय प्रणालीबीचको लयबद्ध सम्बन्धलाई भत्काउँदै गरेको छ । उदाहरणका लागि नासों उपत्यकाको क्रोम्चे (३,१०० मिटर) मा रहेको चरन क्षेत्र र त्यहाँ गरिँदै आएको चौंरी उत्पादनको क्रियाकलापलाई लिन सकिन्छ । वैशाखको सुरुदेखि बिस्तारै लेकतिर लागेका गाई जेठ लाग्दा क्रोम्चे पुग्थे । यहाँ याकहरू राखिएका हुन्थे । जेठदेखि असारसम्म याक र गाईलाई एकै ठाउँमा राखिन्थ्यो । याकबाट गाईहरू गर्भिणी हुन्थे । यसपछि याकलाई बिस्तारै लेकतिर लगिन्थ्यो । तर अहिले यो चरन क्षेत्र याक राख्न उपयुक्त नरहेको अनुभव स्थानीय पशुपालकको छ । पछिल्लो सयम यहाँ गर्मीकै कारण याकहरू मरेका घटना पनि गाउँलेसँग ताजै छन् ।

एक दिन म र मेघलाल गुरुङ डोना तालतिर जाँदै थियौं । मेरो उद्देश्य डोना तालको अवलोकन गर्नु थियो । केही समयको हिँडाइपछि क्रोम्चे खर्कमा पुग्यौं । त्यहाँ एउटा गोठ थियो । त्यहाँ मेघलालले ठूलो हिमपात र त्यसका कारण खान नपाएर साँढे याक मरेको कथा सुनाए । अहिले त्यो घटना एकादेशको कथा जस्तै भएको छ । जुन ठाउँमा विगतमा धेरै हिउँ परेर याक मरेका थिए, त्यहीँ अहिले गर्मीका कारण याक मर्ने अवस्था बनेको छ । २०५६ सालयता मात्र यस ठाउँमा छ वटा याक गर्मीका कारण मरेका रहेछन् । त्यसैले अहिले गाउँलेहरू यस ठाउँमा याक राख्न डराउँछन् । याकका गोठहरू ग्रेचे (३,६०० मिटर) मा सारिएको छ ।

मेघलालले सुनाएको कथाले जलवायु परिवर्तनले हिमाली भेगको पशुपालन र जीविकोपार्जनमा परेको असर बुझाउँछ । तापक्रम बढ्दै जाँदा हिउँ पर्ने तरिका फेरिएको छ । चरन खर्काक घाँसको कमी हुन थालेको र चरन क्षेत्र खुम्चँदै गएको गोठालाहरूको अनुभव छ ।

कात्तिक महिनाको एक दिन म र मंगलबहादुर गुरुङ उनको घरमा बसेर कुराकानी गरिरहेका थियौं । गुरुङका अनुसार क्रोम्चेलाई नाचे गाउँका गोठालाहरूले पहिलादेखि नै चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए । यहाँ केही वर्षअघिसम्म केही गुराँस प्रजाति र कम मात्रामा काँडे प्रजातिका वनस्पति थिए । अधिकांश जमिन घाँसे मैदानले ढाकेको थियो । हिउँदमा लामो समय हिमपात हुन्थ्यो । अहिले त पहिला जस्तो हिमपात पर्दैन, परे पनि लामो समयसम्म रहँदैन । त्यसैले होला पहिलेका घाँसे क्षेत्र अहिले काँडे वनस्पतिले ढाक्न थालेको छ । चरन क्षेत्र पनि साँघुरिँदै गएको छ । समयमा घाँस पलाउँदैन ।

हिमाली भेगमा पशुपालकले परम्परागत चरन क्षेत्र क्रमिक रूपमा साँघुरिँदै गएको महसुस गर्न थालेका छन् । हिमाली भेगमा भएका अध्ययनले पनि यस भेगमा पाइने वनस्पतिको मौसमी जीवनचक्र, जैविक पर्यावरणीय प्रणाली, जैविक विविधता, बोटबिरुवाले दायरा परिवर्तन गरेका छन् । मिचाहा प्रजातिका वनस्पतिले रैथाने प्रजातिका बोटबिरुवा लोप हुन थालेका छन् । यो क्रम नरोकिए सन् २०५० सम्म १६ प्रतिशत हिमाली रैथाने बोटबिरुवाले आफ्नो बासस्थान गुमाउन सक्ने आकलन वैज्ञानिकहरूको छ । घरपालुवा जनावर र जंगली जनावरबीच आहाराका लागि प्रतिस्पर्धा बढ्ने तथा मानव र हिमाली भेगमा पाइने जंगली जीवजन्तुबीच द्वन्द्व अझ बढ्न सक्ने देखिन्छ ।

२० कात्तिक २०६९ मा म उनास (ओडार गाउँ) मा पुग्दा गाउँलेले गहुँ, करु (हिमाली भेगमा उत्पादन हुने गहुँ र जौ प्रजातिको अन्न), आलुलगायत हिउँदे बाली खेतमा भर्खरै लगाएका थिए । गाईबस्तु आफ्ना खेतबारीमा नपसून् भनेर टेकबहादुर गुरुङ काठका बेरा लगाइरहेका थिए । खाजा खाँदै मैले टेकबहादुरसँग उनका अनुभव खोतल्न थालें । उनले जलवायु परिवर्तन र त्यसको प्रभावसम्बन्धी आफ्नो जीवन्त भोगाइको कथा यसरी सुरु गरे ।

२०११ सालतिर टेकबहादुर लगभग १६ वर्षका थिए । बुबाले उनलाई आफूसँगै गोठमा लगे । त्यसताका गुरुङ समुदायमा भेडा पाल्नु, ऊन कात्नु, राडीपाखी बन्नु जातीय संस्कृति, पहिचान मात्र होइन, आवश्यकता पनि थियो । वर्षामा भेडीगोठ डोना खोलाको शिरमा राखिन्थ्यो । समयक्रममा भेडीगोठ पनि बिस्तारै तल्लो भेगबाट माथिल्लो भेगमा सर्दै डोना खोलाको शिरमा पुग्यो । डोनाको शिरमा सानो पोखरी थियो । त्यो पोखरी यही घरजत्रो मात्र थियो ।

‘करिब २२ वर्षजति भारतीय लाहुरेको जागिर खाएपछि म पुनः आफ्नै गाउँ फर्किएँ । बाउबाजेदेखि अपनाउँदै आएको पेसालाई चलाउन एउटा भेडीगोठ किनें,’ उनले भने, ‘हरेक वर्ष गाउँका गोठ डोना खोलातिर लगिन्थ्यो । वसन्त ऋतु लागेपछि भेडीगोठ डोना खोलाको किनारका चरनखर्कतिर लिएर लैजान्थे ।’ असारको अन्तिमतिर भेडीगोठ डोनाको शिरमा लाने गरिएको उनले सुनाए । तर, पहिलेको सानो पोखरी ठूलो ताल बनिसकेको थियो । ‘१६ वर्षको उमेरमा देखेको पोखरी त त्यस बेला ताल पो भइसकेछ,’ उनले भने ।

उनको भोगाइले २०/२५ वर्षको अन्तरालमा हिमाली भेगका हिमचट्टान विश्वको बढ्दो तापक्रमका कारण कसरी पातलिँदै गइरहेका छन् भन्नेबारेमा वर्णन गरेको थियो । प्रयोग गरेका ‘पोखरी’ र ‘ताल’ का शाब्दिक अर्थ केलाउने हो भने जलवायु परिवर्तनको असर हिमाली भेगमा कसरी परेको छ भन्ने बुझ्न गाह्रो छैन । टेकबहादुरको गवाही प्राकृतिक विज्ञानले दिने तथ्यांकभन्दा कम छैन । किनकि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रकोे सन् २०११ को अभिलेखमा सन् १९६२ मा ०.२२ वर्ग किलोमिटर रहेको डोना ताल सन् २००९ मा आइपुग्दा ०.९४ वर्ग किलोमिटर भएको उल्लेख छ ।

जब प्रकृतिसँग बाँचेका भुइँमान्छेको ठाउँबाट हामी संसारलाई हेर्ने प्रयास गर्छौं तब त्यसलाई उनीहरूको आँखाबाट हेर्न सक्छौं । हिमाली भेगका मानिसलाई हिउँले जीवन जिउने कला दिएको थियो र छ पनि । तर बढ्दो तापक्रमसँगै हिउँ पर्ने तरिका फेरिएको छ, हिमालमा हिउँ हराउँदै गएका छन् ।

उनीहरूका अनुभवलाई कथा वा सिद्धान्तमा होइन, प्रमाणका रूपमा हेर्नुपर्छ । संकुचित सोचबाट होइन, फराकिलो सोचबाट हेर्नु जरुरी छ । किनकि यसले स्थानीय क्षेत्रमा भइरहेको जलवायु परिवर्तन र त्यसको असरलाई उनीहरूको ठाउँबाट बुझ्न मद्दत गर्छ । यसले ज्ञानलाई खार्न, बलियो बनाउन र पूर्णता दिन सहयोग गर्दछ । यी भोगाइ र अनुभवलाई नेपालका तीनै तहका सरकार र अन्तर्राष्ट्रिय क्षेत्रले पनि अभिलेखीकरण गर्दै व्यवहारमा उतार्न सके नीति निर्माण र योजना तर्जुमामा पक्कै पनि महत्त्वपूर्ण योगदान दिनेछ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?