२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सहरीकरण वृद्धिसँगै विद्युत्‌जन्य आगलागी तथा दुर्घटनाको जोखिम

काठमाडौँ — गत श्रावण २३ गते बालाजु औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा, भदौ २४ गते टेकुको एक गोदाम भवनमा र पुस ५ मा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा भीषण आगलागी भई करोडौँ रुपैयाँ बराबरको क्षति भए‚ जसको कारक विद्युतीय गडबडी हो ।

सहरीकरण वृद्धिसँगै विद्युत्‌जन्य आगलागी तथा दुर्घटनाको जोखिम

‍आगलागीका घटनाबाहेक विद्युतीय उपकरणहरूमा हुने क्षति दैनिकजसो भएता पनि ती घटनाले समाचार माध्यममा स्थान पाउँदैनन् ।

उदाहरणका लागि, हालै धुलिखेलस्थित नाम चलेको एउटा ठूलो लज तथा रिसोर्टमा विद्युतीय गडबडीका कारण त्यहाँ जडित सबैजसो एयरकन्डिसनका उपकरणहरू क्षतिग्रस्त भए र लाखौँको नोक्सानी व्यहोर्नुपर्‍यो । समाचारमा नसुनिने वा नदेखिने यस्ता दुर्घटनाहरूलाई सामान्य रुपमा लिने हाम्रो बानी नै भइसकेको छ र यस्ता क्षती न्यूनीकरणतर्फ हाम्रो ध्यान पुगेको छैन ।

माथि उल्लेखित घटनाहरू त केवल प्रतिनिधि घटना हुन् । विद्युत्‌जन्य घटनाहरू फरकफरक परिमाणमा प्राय: हरेक घरमा अनुभूति गरिएको हुन्छ र तिनलाई नियतिका रुपमा स्वीकार गरिन्छ । यस्ता दुर्घटनाहरू न्यूनीकरणका लागि न प्राविधिकहरूको ध्यान पुगेको देखिन्छ न त भवन विभाग वा अन्य सरोकारवाला निकायको नै ।

सहरीकरण वृद्धिसँगै विद्युतीय गडबडीका कारण हुने दुर्घटना वा आगलागीको जोखिम पनि बढ्दै गएको तथ्य काठमाडौँ महानगरपालिका वारुणयन्त्रशालाको तथ्यांकले पनि देखाउँछ‚ जसअनुसार गत आर्थिक वर्षमा काठमाडौँमा भएका ३०५ आगलागीका घटनामध्ये १७८ घटना विद्युत सर्टका कारण, २१ घटना ग्यास लिक र बाँकी अन्य कारणबाट छन् । समग्रमा, नेपालका शहरी क्षेत्रमा करिब ८० प्रतिशत आगलागीका घटना विद्युतीय गडबडीका कारण हुने सहज अनुमान गर्न सकिन्छ ।

जाडोयाममा विद्युत्‌जन्य दुर्घटना बढ्ने तथ्यको पुष्टि एक अमेरिकी अध्ययनले देखाएको छ, जसअनुसार लगभग ४० प्रतिशत दुर्घटनाहरू जाडोयाममा हुने गर्दछन् र अधिकांश (६०%) मानवीय क्षति रातिको समयमा (साँझ ८ बजेदेखि मध्य रातसम्म) हुने गरेको उक्त अनुसन्धानले देखाउँछ । अमेरिकी राष्ट्रिय आगलागी नियन्त्रण संस्था (एनएफपीए)का अनुसार, यी दुर्घटनाका प्रमुख कारक तत्त्व खाना पकाउने उपकरण र तताउने उपकरणहरू (हिटर) हुन् ।

विद्युत्‌जन्य आगलागी वा दुर्घटनाका कारणहरू

सामान्यतया विद्युत्‌जन्य आगलागीको चर्चा गर्दा ‘विद्युत सर्ट भएर’ भन्ने गरिएता पनि विद्युत् सर्ट भएर आगलागी विरलै हुने गर्छ । विद्युत् सर्ट हुनु भनेको विद्युतीय करेन्ट बग्ने दुई तारहरू कुनै अवरोधबिना एक आपसमा जोडिन पुगेमा हुने अत्यधिक करेन्टको प्रवाह हो । यसले ठूलो मात्रामा ताप उत्पन्न भएर आगलागी हुछ । तर‚ यसरी दुई तारहरू एक आपसमा जोडिने घटना अपवादमा मात्र हुन्छ । विद्युत्‌जन्य आगलागीका लागि सामान्यतया दुई कुराहरू अपरिहार्य छन्- विद्युतीय करेन्ट प्रवाह हुने तार अत्यधिक तात्नु र त्यसको नजिक प्रज्ज्वलनशील सामग्री हुनु । कुनै सुचालक अत्यधिक तात्नका लागि कि अधिक करेन्टको प्रवाह हुनुपर्दछ या सुचालकको अवरोधात्मक क्षमता बढी हुनुपर्दछ ।

अधिक करेन्ट प्रवाहका कारण हुन सक्ने दुर्घटना कम गर्न एमसीबी, एमसीसीबीजस्ता ओसीपीडी (ओभर करेन्ट प्रोटेक्टिभ डिभाइस)हरू अनिवार्य जडान गरिन्छ । तर कतिपय अवस्थामा ती उपकरणहरूले पनि काम गर्दैनन् र आगलागी वा अन्य दुर्घटना हुने गर्दछन् ।

विद्युत्‌जन्य आगलागी तथा दुर्घटनाका कारणहरू केलाएर हेर्ने हो भने एघारवटा प्रमुख रूपमा देखिएका छन् । पुराना तथा लामो समयसम्म प्रयोग नगरी राखिएका उपकरणहरू प्रयोग गर्दा विद्युतीय सम्पर्क बिन्दुहरू खुकुलो भई झिल्का निस्किएर वा तातेर आगलागी हुने एउटा कारण हो भने हिटरहरू लामो समयसम्म बालिराख्दा बाहिरी भागमा भएको कुचालक तातेर वा लापरवाहीले नजिकै कपडा वा अन्य ज्वलनशील सामग्री राख्दा तिनमा आगलागी हुने अर्को कारण हो ।

त्यसैगरी आगलागीका अरू कारणहरू हुन्- कुनै सुचालक/उपकरणको विद्युत् प्रवाह गर्ने अधिकतम क्षमताभन्दा बढी करेन्ट प्रवाह भई त्यसमा ताप उत्पन्न हुनु, पुराना वायरिङमा प्रयोग भएका सुचालक तथा सुरक्षार्थ राखिएका कुचालकहरूको गुणस्तर घट्दै गएर तिनको करेन्ट वहन वा ताप सहन गर्ने क्षमतामा ह्रास हुनु, विद्युतीय प्लगमा उपकरण जोड्दा वा अन-अफ गर्दा आगोको झिल्का निस्किएर नजिकै भण्डारण गरिराखेको ज्वलनशील पदार्थलाई भेट्नु, धेरैवटा विद्युतीय उपकरणहरूलाई सजिलोका लागि एकै स्थानबाट विद्युतीय एक्स्टेन्सन वा मल्टीप्लगको सहायताले जोड्दा तिनीहरूको धान्न सक्ने अधिकतम करेन्टको क्षमताभन्दा अधिक भारका कारण मल्टिप्लगहरू अधिक तात्नु र अन्तर्राष्ट्रिय मापदण्डले करेन्टको मात्राअनुसार विभिन्न सुचालक (तामा वा एल्युमिनियम)का तारको मोटाइ निर्धारण गरेकोमा कम मोटाइका तार वा मापदण्ड नपुगेका उपकरणहरूको प्रयोग हुनु ।

माथि उल्लेखित सात कारणहरूले हुने विद्युतीय दुर्घटना वा आगलागी घटाउन सामान्य सावधानी मात्र अपनाउँदा पनि हुन्छ । कुनै विशेष विज्ञता चाहिँदैन । तर‚ यिनै सामान्य होस नपुर्‍याउँदा ठूला क्षतिहरू भएका छन् । विशेषगरी जाडोयाममा लामो समयसम्म बत्ति बाल्ने वा कोठा तताउन लामो समयसम्म हिटर बाल्ने, खाना पकाउन हिटर बाल्ने तथा अन्य विभिन्न विद्युतीय उपकरणहरू एक साथ प्रयोग गर्ने हुँदा आगलागीका सम्भावना अझ बढी हुन्छ ।

अब कुरा गरौं विद्युतीय दुर्घटनाका बाँकी चार कारणहरूको जुन न्यूनीकरण गर्न विज्ञ प्राविधिकको आवश्यकता पर्दछ । धेरैजसो आगलागी वा अन्य विद्युतीय दुर्घटनाका जिम्मेवार यिनै कारणहरू हुन् । विकसित मुलुकहरूमा पनि आगलागीको प्रमुख कारक तत्त्व यिनै रहेको अनुसन्धानले देखाउँछ । अमेरिकी विद्युत् मापदण्ड निर्धारण गर्ने संस्था नेसनल फाएर प्रोटेक्सन एसोसिएसनले हालै गरेको अनुसन्धानअनुसार अमेरकी घरहरूमा हुने आगलागीमध्ये ५० प्रतिशतभन्दा बढी विद्युतीय गडबडीका कारण हुने गर्दछन्‚ जसमध्ये ६७% आगलागी वाएरिङ तथा उपकरणसम्बन्धी कारणले हुने गर्दछन् । यसका मुख्य कारण पनि यिनै चार हुन् ।

तीमध्ये एउटा हो‚ अर्थिङ । सामान्यतया न्यून भोल्टेज प्रणालीमा अर्थिङको भूमिका अचानक हुने विद्युतीय करेन्ट वा भोल्टेजको वृद्धि तथा विद्युत् चुहावट हुँदा त्यसलाई सजिलो न्यून अवरोधात्मक बाटो प्रदान गरी त्यसले गर्ने क्षतिबाट जोगाउनु हो । त्यसैले अर्थिङ नगर्दा दुर्घटना हुनु स्वभाविक हो । तर‚ अर्थिङ गरेको छ भने पनि अवैज्ञानिक वा गलत अभ्यासका अर्थिङ वा गैरमापदण्डका अर्थिङ सामग्री प्रयोग गरेको अवस्थामा अर्थिङ प्रभावकारी नहुँदा दुर्घटना हुने गर्दछन् ।

फल्ट लूप अवरोध कम चर्चामा आउने तर महत्त्वपूर्ण विषय हो‚ जसका कारण हुने दुर्घटना वा आगलागी निकै धेरै छन् । यसबारे प्राविधिकहरूलाई समेत न्यून ज्ञान रहेको पाइएको छ भने सर्वसाधारणमा त हुने कुरै भएन । अर्थिङको अवरोध ज्यादा हुँदा चुहावट भएको करेन्टले पूरा गर्नुपर्ने विद्युतीय बाटोलाई फल्ट लूप भनिन्छ । त्यस्तो मार्गको अवरोध बढी भएका कारणले एमसीबीजस्ता अधिक करेन्ट उपकरणहरूले ट्रीप गर्दैनन् र आगलागी हुने गर्दछ ।

विद्युतीय सर्जका बारेमा पनि नेपालमा निकै कम चर्चा भएको पाइन्छ । कतिपय इलेक्ट्रिकल ईन्जिनियरहरूसमेत यसबारे अनभिज्ञ छन् । अचानक र क्षणिकरुपमा बढ्ने विद्युतीय करेन्ट वा भोल्टेज नै विद्युतीय सर्ज हो । यसको प्रमुख स्रोत चट्याङ हो । स्विचहरू अन-अफ गर्दा पनि यस्ता सर्ज निस्किने गर्छन् । सामान्यतया सर्जको अवधि अत्यन्त छोटो, केहि नानोसेकेन्ड (एक सेकेन्डको एक अरबौँ भाग)देखि केहि सय माइक्रोसेकेन्ड (एक सेकेन्डको दस लाखौँ भाग)सम्मको हुने गर्दछ । एमसीबीजस्ता उपकरणले अधिक करेन्ट प्रवाह हुँदा प्रतिक्रिया जनाउन केहि मिलिसकेन्ड (एक सेकेन्डको एक हजारौं भाग) बढी समय लिने गर्छन्‚ जसले गर्दा यिनले सर्जलाई रोक्न सक्दैनन् । सर्जले हाम्रा उपकरणहरूमा क्षति पुर्‍याइसक्दासम्म एमसीबीले थाहै पाउँदैन । यी सर्जबाट बचाउन सर्ज प्रतिरक्षी उपकरणको प्रयोग गर्नुपर्दछ‚ जसको अभ्यास नेपालमा न्यून भएको पाइन्छ ।

कुनै सुचालकमा विद्युतीय करेन्ट प्रवाह हुनका लागि त्यसको दुई भागको बिचमा असमान भोल्टेज हुनुपर्दछ, समान भोल्टेज छ भने करेन्ट प्रवाह हुँदैन । सामान्य अवस्थामा विद्युतीय उपकरणहरूले दुई तार (फेज र न्युट्रल)का मद्दतले राम्रोसँग काम गर्छन्त र विद्युतीय गडबडीको अवस्थामा कुनै भाग वा उपकरणको भोल्टेज उच्च हुन जान्छ र अन्य भागको न्यून । यस्तो अवस्थामा एक भाग वा उपकरणबाट करेन्ट अर्कोमा प्रवाह भई, दुर्घटना अथवा आगलागी हुने गर्दछ । यसरी हुने दुर्घटना न्यूनीकरणका लागि समान भोल्टेज बन्धनीकरण गर्नुपर्ने हुन्छ । यस्तो बन्धनीकरणको अभ्यास नेपालमा भएको पाइँदैन, परिणाम स्वरूप विद्युतीय दुर्घटनाहरू निकै बढी भएको पाइन्छ ।

जनस्वास्थ्यमा हुने क्षति कहालीलाग्दो हुन सक्ने

विद्युत्‌का कारणले आगलागी बाहेक अन्य अनेक दुर्घटना पनि थुप्रै हुने गर्दछन्‚ जसको लेखाजोखा कमै भएको पाइन्छ । विद्युतीय गडबडीका कारण विद्युतीय उपकरणहरूमा क्षति हुने, पूर्णरुपले नष्ट हुने, खराबी आउने र विद्युतीय झट्काका कारण मानिसहरूको अङ्गभङ्ग तथा मृत्युसमेत हुने गरेका घटना हाम्रा लागि नौलो कुरा होइन । तर‚ विद्युतीय गडबडीका कारण स्वास्थ्य परीक्षणमा प्रयोग गरिने उपकरणहरूले मापदण्डअनुरूपको नतिजा दिन नसकी निस्किएको गलत प्रतिवेदनले जनस्वास्थ्यमा पार्ने अकल्पनीय खराब प्रभावबारे प्रायजसो व्यक्ति तथा निकायहरू अनभिज्ञ छन् ।

विशेषगरी एमआरआई, सीटीस्क्यान लगायत स्वास्थ्य परीक्षणका संवेदनशील उपकरणहरूमा फल्ट लूप अवरोधका कारण विद्युतीय सर्जका कारण वा असमान भोल्टेजका कारण गडबडी उत्पन्न हुने गर्दछ, र स्वास्थ्य परीक्षणका गलत प्रतिवेदन निस्कन्छन् । यसरी विद्युतीय गडबडीका कारण कुनै एमआरआई वा सिटी स्क्यान मेसिनले स्वस्थ अंगहरुमा घातक रोगको लक्षण देखाउने हुन्छ । फलस्वरूप उक्त परीक्षणका आधारमा गरिने शल्यक्रिया वा अन्य उपचार पद्धति गलत भई बिमार झन् जटिल बन्ने गर्दछ, साथै चिकित्सक तथा अस्पतालले अनाहकमा विश्वास गुमाउनुपर्दछ र आर्थिक क्षति पनि व्यहोर्नु पर्ने हुन्छ ।

न्यूनीकरणका उपाय
विद्युतीय गडबडीबाट हुने क्षति न्यूनीकरणका लागि जनमानस तथा सरोकारवालाहरूमा सचेतना फैलाई विज्ञ प्राविधिकहरू प्रयोग गरेर माथि उल्लेखित कारणहरू पहिल्याई प्राथमिकताका साथ निराकरण गर्ने नै प्रमुख उपाय हो । यसका लागि प्रमुख रूपमा गर्नुपर्ने दुईवटा कुराहरू छन् । एउटा, भवनहरूमा विद्युत् जडान गर्दा अनिवार्य रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप गर्ने र गराउने ।

अर्को, जसरी कुनै मानिसको स्वास्थ्य स्थिति थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गरिन्छ र कुनै संस्थाको आर्थिक व्यवस्थापनबारे थाहा पाउन आर्थिक लेखा परीक्षण गरिन्छ, ठीक त्यसैगरी कुनै पनि भवनमा भएका विद्युतीय जडानहरूको अवस्था कस्तो छ भनेर थाहा पाउन अनिवार्य विद्युतीय लेखा परीक्षण गराउने व्यवस्था गर्ने । यसो नगर्दा हामीले अञ्जानमै हाम्रा निजी तथा सार्वजनिक भवनहरू र सार्वजनिक सेवा प्रदायी स्थानहरूलाई विद्युतीय धराप बनाएर राखेको हुनसक्छ ।

डा. श्रीराम शर्मा र डा. प्रेम राज ढुंगेल दक्षिण एसियाली चट्याङ संजालका अध्यक्ष तथा सदस्य हुन् भने शुसान्त शर्मा प्रकोप व्यवस्थापन विज्ञका रुपमा यूएनडीपीमा कार्यरत छन् ।

प्रकाशित : माघ १८, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?