नर्स: महामारीमा पनि अग्रपंक्तिमा- विविधा - कान्तिपुर समाचार

नर्स: महामारीमा पनि अग्रपंक्तिमा

देशमा शैक्षिक योग्यता र अनुभव अनुसारको काम गर्ने व्यवस्था नहुनु, सेवाभित्रको शिक्षा, स्थायित्व नहुनु, कम पारिश्रमिक, उचित कार्य मूल्यांकनको अभाव, अत्यधिक कामको बोझ, कार्यस्थलमा हिंसाको खतरा जस्ता कारणहरुले आज देशबाट धेरै नर्सहरु पलायन भइरहेका छन् ।
ज्वाला ढकाल

आज नर्सिङ दिवस । नर्सिङलाई कला र विज्ञान दुवैको रुपमा वर्णन गर्न सकिन्छ । यसको हृदयमा मानव प्रतिष्ठाको लागि आधारभूत सम्मान र बिरामीहरूको आवश्यकताहरु थाहा पाउने एउटा अदभूत क्षमता रहन्छ र जुन कडा परिश्रम र कठोर सिकाइको परिणाम पनि हो ।

नर्सिङ पेसामा विशेषज्ञता र सीपहरुको फराकिलो दायरा भएको कारणले गर्दा प्रत्येक नर्ससँग विशेष किसिमको जोश जाँगर र विशेषज्ञता हुन्छ । आजको अवस्थामा नर्सहरुको भूमिका प्रत्यक्ष बिरामीहरुको हेरचाहमा मात्र सिमित नरही केस व्यवस्थापनदेखि नर्सिङ प्राटिक्सका मापदण्डहरु स्थापना गरी गुणस्तर मापनका प्रक्रियाहरु विकास गर्ने र कृटिकल नर्सिङ कियर प्रणालीहरु निर्देशित गर्ने नर्सिङको आफ्नै एउटा दायरा छ ।

नर्सिङ पेसा कुनै एउटा वर्गका लागि मात्र नभई सबै उमेर समूहका लागि स्वास्थ्य संरक्षण प्रवर्द्धन र सुधार गर्नको लागि स्थापना गरिएको हो । नर्सिङ व्यक्ति, परिवार र समुदायको स्वास्थ्य प्रवर्द्धन र सुधार र प्रोत्साहनका लागि पनि जिम्मेवार छ । नर्सिङ पेसा बिरामी, घाइते, अशक्त र जीवन–मृत्युसँग लड्दै गरेकाहरुको हेरचाहमा विशेष भूमिका राख्दछ । नर्सहरुले सक्रिय रुपमा हेरचाह, अनुसन्धान, व्यवस्थापन, नीति, विचार विमर्श र बिरामीको पक्षमा आवाज उठाउँछन् ।

जसले चुनौतिहरुसँग जुध्ने सामर्थ्य राख्दछ र हरेकका रोदनहरु बिना वर्णन नै सुन्न सक्दछ उसैलाई व्याख्या गर्ने शब्द हो नर्स । स्वास्थ्यलाई प्रवर्द्धन गर्ने, रोगलाई रोकथाम र दुखाइ तथा पीडाहरुलाई कम गर्ने हाम्रो उद्देश्य हो । हामी आफ्ना ज्ञान र सीप इमान्दारिताका साथ कसैको जीवन छुने वा कसैको जीवनमा केहि फरकपन ल्याउने उद्देश्यका साथ प्रयोगमा ल्याउछौं ।

नर्सिङ एउटा यस्तो पेसा हो जसमा बुद्धि, ज्ञान, सीप, संयममता, दृढता अनि सेवाभावले प्रेरित हुनु पर्दछ । प्रत्येक नर्सहरु हरेकपल चुनौतीहरुले घेरिएका हुन्छन् र तिनलाई सामना गर्ने सामर्थ्य सदैव राखेका हुन्छन् । जतिपनि मानिसहरु नर्सिङ पेशामा लागेका छन्, सेवाभाव नै नर्सिङ पेसा प्रतिको आकर्षण हो । त्यसैले सेवा नै नर्सिङ पेसाको मुख्य सार हो भन्दा फरक पर्दैन । नर्सहरुमा हरेक अनुहार पढेर उसको मनको अवस्था बुझि त्यहि अनुसार सेवा प्रवाह गर्ने क्षमता रहन्छ । अथाह माया,त्याग, समर्पणले भरिएको एउटा विशाल हृदयशालिन व्यक्तित्व, मन्द मुस्कानसहित बचाउने उद्देश्य बोकेर संसार मस्त निद्रामा निदाइ रहँदा पनि खटिरहने, डटिरहने र जीवन र मृत्युको बिचमा युद्धरतहरुलाई जिताउनका लागि निरन्तर लडिरहनेहरु नर्स हुन् ।

आफ्नो भोक, प्यास, निन्द्रा र कैयौं वेदनाको पोकाहरुलाई कतै थाती राखेर डुब्नै लागेको एउटा युगलाई पुनर्जन्म दिनका लागि घण्टौं घण्टा उभिएर शतप्रतिशत सेवामा आफूलाई समर्पित गर्नेहरु कसैलाई रोगबाट मुक्त बनाउन, कसैको स्वास्थ्य प्रवर्द्धन गर्न र कसैका चोटमा मलम लगाउन प्रेम, दया र करुणा भाव आत्मसात गरी लागिरहन्छन् ।

आफ्ना सोह्र श्रृंगारलाई चटक्क बिर्सिएर रंगहिन सेता वस्त्रमा अशक्तहरुको जीवनमा रंग भर्नका लागि दुःखको हाासोमा चित्त बुझाउँदै आफ्ना खुशी, रहर, घर, परिवारसमेत बिर्सेर कसैको जीवनमा एउटा परिवर्तन ल्याउनका लागि तल्लिन छन् ।

बेलाबखत आउने महामारी अनि बस्ती नै ध्वस्त पार्ने मानवनिर्मित जघन्य घाउहरु जस्तै अप्ठ्याराहरुसँग पनि आफूलाई मृत्युको मुखैनेर राखेर जुध्नेहरुले कयौं तिता र पिरा वचनहरु सहँदै अरुका दुखका कथा सुन्दै रोग मुक्त बनाउन रातभर कैयौं बिरामीहरु बिचको दुरी पैतालाले हजारौं पल्ट नापि रहन्छन् । जटिल परिस्थितिमा पनि स्थिर रहि अरुलाई पनि संयमित हुन सिकाउँछन् । कहिले नजिकैबाट जीवनलाई देखेको हुन्छन् त कहिले मृत्युको साक्षी बनेका हुन्छन् । आफ्नै माता, पिता, बालबच्चाहरु सबै बिर्सेर मातृ स्नेहले भरिपूर्ण हातहरुले सेवादिने खास मनहरु केबल नर्सहरुमा भेटिन्छन् ।

नर्सिङ जस्तो स्वच्छ पेसा सायदै होला । कैयौंपल्ट दुर्व्यवहार र अपमान सहेर पनि आफ्नो कुनै प्रवाह नगरी फेरी सेवामा नै लागि रहने नर्सहरुको यो सेवा भावलाई केहिसँग पनि तुलना गर्न मिल्दैन ।

चिकित्सा क्षेत्रमा विज्ञान र प्रविधिको विकास भएसँगै आज विश्वभर नै नर्सिङको माग उच्च रहेको छ र विभिन्न अनुमानहरुका आधारमा पनि यो माग बढ्ने छ भन्ने कुरामा दुई मत नहोला । स्वास्थ्य सेवा र प्रविधिमा भएको विकासले स्वास्थ्य सेवाप्रति मानिसहरुको बढ्दो अपेक्षा र स्वास्थ्य सेवा प्रणालीको प्रवर्द्धनका लागि पनि नर्सिङ पेशाको महत्पूर्ण भूमिका छ । आज नर्सहरु प्राविधिक रुपमा परिस्कृत क्रिटिकल केयर युनिटहरुमा जस्तै, सघन उपचार कक्ष, कार्डियककियर युनिट जस्ता विभागहरुमा विशेषज्ञका रुपमा सेवा प्रवाह गर्दछन् । यति मात्र नभई आपतकालीन विभाग, अप्रेशन, ओपीडी, डाइलाइसिस, अंकोलोजी, इन्फेक्सन कन्ट्रोल जस्ता विभिन्न क्षेत्रका विशेषज्ञका रुपमा कार्य सम्पादन गरी रहेका छन् ।

नर्सिङ आफैंमा चूनौतीपूर्ण र संवेदनशील पेसा हो । आज चिकित्सा क्षेत्रमा विज्ञानले ठूलै फड्को मारे पनि हाम्रो देशमा नर्सिङ पेसागत रुपमा हेर्दा त्यति फड्को मारेको देखिँदैन । धेरै संख्यामा नर्सहरु विदेश पलायन भइरहेका छन् । हाम्रो देशमा न नर्सिङहरुको कामको उचित मूल्यांकन छ न त जागिरको स्थायित्व र श्रम अनुसारको पारिश्रमिक । त्यसैले पनि आज देशभरका नर्स दिदिबहिनीहरु विदेश पलायन हुनु परेको छ । यसरी देशबाट उच्च प्रशिक्षित तथा जनशक्ति बाहिरिने क्रम बढी रहेकोले कुनै दिन दक्ष जनशक्तिको अभाव नहोला भन्न सकिन्न । देशमा शैक्षिक योग्यता र अनुभव अनुसारको काम गर्ने व्यवस्था नहुनु, सेवाभित्रको शिक्षा, स्थायित्व नहुनु, कम पारिश्रमिक, उचित कार्य मूल्यांकनको अभाव, अत्यधिक कामको बोझ, कार्यस्थलमा हिंसाको खतरा जस्ता कारणहरुले आज देशबाट धेरै नर्सहरु पलायन भइरहेका छन् । यस प्रति राज्यको गम्भिर ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

प्रकाशित : माघ १५, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

'विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म' सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — 'विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म' पुस्तक सार्वजनिक भएको छ । पुस्तक आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेका हुन् ।

पुस्तकमा 'मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजिव चित्र यस पुस्तकमा उतारिएको' प्रकाशक बुकहिलले जनाएको छ ।

पुस्तकमा ढुंगे युगदेखि विद्युतीय चमत्कारसम्मका मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तर्कथाहरूसहित उसले समना गरेका चुनौती, विपत्ति र असफलताका गाथा रहेको बताइएको छ । लेखक पौडेलले भने, 'यस पुस्तकमा मूलत: सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु, साथै युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचिनता एवम् नवीन चेतनाका किरणहरूले प्रकाशमय आधुनिकताका सन्दर्भहरू पनि यस पुस्तकमा छन् ।'

डेनमार्कमा बस्दै आएका कृष्ण पौडेलले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र लुन्ड विश्वविधालय स्वीडेनबाट 'इकोनोमिक हिस्ट्री'मा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित : माघ १५, २०७८ १३:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×