कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दुर्व्यसनीहरूको कुदृष्टि विद्यालयतिर !

अभिभावकको अप्रत्यक्ष नियन्त्रण, मित्रवत् व्यवहार तथा रमाइलो पारिवारिक वातावरण पाउने हो भने बालबालिका गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।

विद्यालयनजिकैको झाडीमा केही किशोर बसिरहेका थिए । उनीहरूको व्यग्रताले बताइरहेको थियो, कसैको पर्खाइमा छन् । केही बेरमा विद्यालयतिरबाट सोही उमेरको किशोर आएर हतारहतार त्यस समूहमा मिसियो । आपसमा कानेखुसी गर्दै उनीहरूले केही साटासाट गरे ।

दुर्व्यसनीहरूको कुदृष्टि विद्यालयतिर !

त्यसपछि चुरोट सल्काएर पालैपालो तान्न थाले । केही बेरमा उनीहरू जसरी बेतोडमा मोटरसाइकल दौडाएर आएका थिए, त्यसरी नै बेतोडले त्यहाँबाट अलप भए । म यस्तो दृश्य प्रायः देखिरहन्छु किनकि मेरो हिँड्ने बाटो त्यतै पर्छ । कहिलेकाहीँ संयोगले त्यस्ता किशोर/युवाको नजिकैबाट हिँड्दा उनीहरूले फालेको चुरोटको धूवाँमा अनौठो गन्ध अनुभव हुन्छ ।

भोलिको देशका खम्बाहरूले यसरी आफ्नो भविष्यलाई धूवाँ बनाएर उडाएको देख्दा मलाई असाध्यै दुःख लाग्छ । यही दुखाइले मलाई सोही विद्यालयको माध्यमिक तहकी एउटी छात्रासँगको संवादको स्मरण गराउँछ । उनले भनेकी थिइन्, ‘हाम्रो कक्षाका केही केटाहरू गाँजा खाएर आउँछन् । खैनी, सुर्ती त उनीहरूले कक्षामै लिएर आउँछन् । तिनीहरूका आँखा कस्ता राता हुन्छन् !’ मैले पहिला त उनको कुरामा विश्वास गर्न सकिनँ तर उनले मलाई विश्वास गर्ने प्रशस्त आधारहरू प्रस्तुत गरिन् । उनका अनुसार त्यो कक्षामा केटाहरूको एउटा समूह रहेछ । तिनीहरू प्रायः गाँजा खाँदा रहेछन् । साथै तिनीहरूले अन्य लागूपदार्थ पनि लिएर आउने र आफ्नो नजिकका साथीहरूलाई खान प्रेरित गर्ने गर्दा रहेछन् । उनीहरूको गतिविधि मन नपर्ने विद्यार्थीहरू त्यसबारे शिक्षक तथा विद्यालय प्रशासनलाई जानकारी गराउन डराउने रहेछन् किनभने उनीहरूले सबैलाई त्रासमा राखेका रहेछन् ।

ती छात्रालाई फकाएर सोध्दा उनले आफ्नी एउटी साथी पनि लागूपदार्थमा नराम्ररी फसेको सुनाइन् । उनले आफ्नी साथीलाई नराम्रो लत छोड्न सम्झाएकी पनि रहिछन् तर साथीले आफूले जति गरे पनि छोड्न नसक्ने बताइछन् । उनलाई त्यो लत कसरी लागेछ भन्दा उनको प्रेमीले कर गरेर सुरुमा गाँजा तान्न लगाएको र त्यसपछि अन्य लागूपदार्थ पनि प्रयोग गर्न सिकाएको रहेछ । अल्लारे उमेरको प्रेम अनि लागूपदार्थले दिने क्षणिक आनन्दमा आफ्नो

भविष्य बिर्सेकी उनलाई यदाकदा पश्चात्ताप भए पनि आफूले प्रेमी र नशा दुवै छाड्न नसक्ने विवशता पनि साथीलाई सुनाएकी रहिछन् । घरको वातावरणले पनि उनलाई त्यस्तो बाटोमा लाग्न सहज बनाएको रहेछ । घरमा प्रायः पार्टी भइरहने अनि धूमपान र मद्यपान गर्नुलाई सामान्य रूपमा लिइने हुनाले पहिला उनी सानैदेखि चुरोट र मदिराजन्य नशामा लागेकी रहिछन् । त्यसपछि प्रेमीको संगतले अन्य नशामा डुब्न पुगिछन् ।

उपर्युक्त छात्रछात्राहरू केवल प्रतिनिधि पात्र हुन् । आज हाम्रो समाजमा असंख्य युवायुवतीले दुर्व्यसनको सिकार भएर आफ्नो भविष्यलाई अन्धकारतर्फ धकेलिरहेका छन् । अहिले संसारभरि ठूलो सञ्जाल बनाइरहेका लागूऔषधका व्यापारी तथा दुर्व्यसनीहरूले किशोर/युवालाई आफ्नो जालमा पारिरहेका छन् । विद्यार्थीहरूलाई दुर्व्यसनमा फसाउन सकेमा दीर्घकालीन ग्राहक बढ्ने हुनाले उनीहरूले यसको उपयुक्त माध्यमका रूपमा विद्यालयलाई लिएको देखिन्छ । अपरिपक्व अवस्थाका विद्यार्थीहरूलाई पढाइको बोझ र तनाव बिर्साउन भन्दै गाँजा आदिको नशामा डुबाउने गरेपछि उनीहरूमा त्यसको बानी पर्दै जान्छ । त्यसपछि उनीहरू खोजीखोजी नशा लिन थाल्छन् । यसका लागि विद्यालयका छात्रावासहरू पनि प्रयोग हुने गरेको पाइन्छ । छात्रावासमा बस्ने एक–दुई विद्यार्थीलाई हातमा लिएर दुर्व्यसनीहरू छात्रावास तथा विद्यालय दुवैतिर सञ्जाल विस्तार गर्न सफल भएका देखिन्छन् ।

छात्रावासहरू दुर्व्यसनीका अखडा बन्नुको कारण त्यहाँ बस्ने विद्यार्थीहरूको मानसिक अवस्था पनि हो । सामान्यतया विद्यार्थीहरू परिवारमै बसेर पढ्ने गर्छन् । छात्रावास भनेको विशेष परिस्थितिका विद्यार्थीका लागि हो । घरमा आमाबाबुले नियन्त्रण गर्न नसकेका तथा पढाइमा कमजोर भएका विद्यार्थीहरू छात्रावासमा जाने गर्छन् । अभिभावकले समय दिन नसक्दा, घरबाट विद्यालय टाढा पर्दा, घरमा पढ्ने वातावरण नहुँदा पनि बालबालिका छात्रावास पुग्ने गर्छन् । यसरी छात्रावासमा विभिन्न परिवेश तथा मानसिकताका विद्यार्थी हुने गर्छन् । यसबारे जानकार दुर्व्यसनीहरू त्यस्ता विद्यार्थीलाई जालमा पार्न सफल हुन्छन् । घरपरिवारको माया तथा नियन्त्रणबाट टाढा रहेका, पढाइको तनावले पिरोलिएका विद्यार्थीहरूलाई सो तनावबाट मुक्त गराउने भन्दै आरम्भमा चुरोट र गाँजाको बानी पार्न अनि लागूपदार्थको दुर्व्यसनी नै बनाउन उनीहरू सफल हुन्छन् ।

अहिले हाम्रो समाज पाश्चात्य प्रभाव ग्रहण गर्दै आधुनिकतातर्फ उन्मुख भइरहेको छ । अल्लारे अवस्थाका केटाकेटीहरू आफूलाई स्वतन्त्र ठान्दै कर्तव्य भुलेर अधिकारको खोजीमा केन्द्रित देखिएका छन् । स्कुले जीवनमै प्रेम नगर्नेलाई उपहासको पात्र बन्नुपर्ने अवस्था पनि आइसकेको छ । यस्तै प्रेमका कारण छात्राहरू पनि यस्तो लतमा लागेको देखिन्छ । अल्लारे अवस्थाको प्रेम सम्बन्धले भविष्य हेर्दैन, केवल सुखानुभूति खोज्छ, चाहे त्यो शारीरिक सम्बन्धको होस् या दुर्व्यसनको । यथार्थमा यी दुवै कुरा उनीहरूका लागि घातक हुन्छन् । कुलतको क्षणिक सुखले आफ्नो भविष्य कतातिर जाँदै छ भन्ने हेक्का उनीहरूलाई हुँदैन । अल्लारेहरूको यस्तो प्रेमसम्बन्ध पनि लागूपदार्थका व्यापारीहरूको राम्रो बजार बन्न जान्छ । एकातिर इन्टरनेटमा खुला रूपमा उपलब्ध हुने अश्लील सामग्री, अर्कातिर दुर्व्यसनीको सञ्जालका कारण अहिले कतिपय विद्यार्थी गलत बाटोमा लागिरहेका छन् ।

बालबालिका सही या गलत कुन बाटोमा लाग्ने भन्ने कुरा उनीहरूको पारिवारिक वातावरणमा पनि निर्भर हुने गर्छ । बालबालिकालाई समय नदिने वा दिन नसक्ने परिवारका बालबालिका गलत बाटोमा लाग्ने सम्भावना बढी देखिन्छ । एकल परिवारको अवधारणा, आर्थिक उपार्जनका लागि गर्नुपर्ने दौडधुप, आमाबाबुबीचको तनावपूर्ण सम्बन्ध तथा अत्याधुनिक जीवनशैलीका कारण अहिले परिवारभित्र अभिभावक तथा बालबालिकाको सम्बन्ध टाढिएको देखिन्छ । विद्यालय जाने–आउने र त्यसबाहेक एक्लै रहनुपर्ने अवस्थामा बालबालिकामा नकारात्मक कुराको प्रभाव बढी पर्न जान्छ । दुर्व्यसनीहरूले यस्तै अवस्थाका बालबालिकालाई जालमा पार्ने गर्छन् । त्यसैले अभिभावकहरू यसतर्फ सचेत हुनुपर्छ ।

आफ्ना नानीहरूको हरेक क्रियाकलापबारे ध्यान दिनुका साथै उनीहरूलाई एक्लोपन अनुभव हुन नदिनेतर्फ पनि अभिभावकको सचेतता आवश्यक देखिन्छ । अभिभावकको अप्रत्यक्ष नियन्त्रण, मित्रवत् व्यवहार तथा रमाइलो पारिवारिक वातावरण पाउने हो भने बालबालिका गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।

विद्यार्थीहरूलाई दुर्व्यसनीको पन्जाबाट उम्काउन विद्यालय प्रशासन तथा शिक्षकहरूको अहम् भूमिका हुन्छ । विद्यालयहरूले जसरी पनि बढी विद्यार्थी भर्ना गर्नु र मुनाफा कमाउनुलाई मात्र आफ्नो उद्देश्य नबनाएर गुणस्तरीय शिक्षा तथा सुयोग्य नागरिक उत्पादन गर्नपट्टि ध्यान दिने हो भने विद्यार्थीका रूपमा विद्यालय प्रवेश गर्ने दुर्व्यसनीको योजना असफल हुन जान्छ । त्यसैले विद्यालय प्रशासनले आफ्नो विद्यालय, छात्रावास तथा वरिपरि हुने गतिविधिमा ध्यान दिनुपर्छ । छात्रावासलाई अनुशासित र मर्यादित बनाउनुपर्छ । कुनै पनि विद्यार्थी नकारात्मक गतिविधिमा लागेको थाहा पाउने संयन्त्र बनाउनुपर्छ । बेलाबेलामा विभिन्न मनोपरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षकहरूले पनि पढाउनुलाई मात्र आफ्नो दायित्व नठानी विद्यार्थीहरूको हरेक गतिविधिमा ध्यान दिनुपर्छ । शंकास्पद गतिविधि थाहा हुनासाथै त्यसको निराकरणलाई प्राथमिकतामा राख्नुपर्छ किनभने सही आचरण पनि शिक्षाको उद्देश्य हो ।

विद्यालयजस्तो शिक्षाको मन्दिर एवम् असंख्य बालबालिकाको भविष्य निर्माण गर्ने स्थलमा दुर्व्यसनीको कुदृष्टि पर्नु समाज तथा राष्ट्रकै भविष्यमाथिको प्रहार हो । एक पटक दुर्व्यसनमा फसेपछि निस्कन कठिन हुने हुँदा बालबालिकालाई त्यस्तो दुर्व्यसनतर्फ आकर्षित हुने मौकै नदिनु उपयुक्त हुन्छ । त्यसैले अभिभावक, शिक्षक तथा विद्यालय प्रशासन सबैले यसतर्फ सचेतता बढाउँदै बालबालिकाका गतिविधिमा ध्यान पुर्‍याउनुपर्छ ।

प्रकाशित : माघ ९, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?