दुर्व्यसनीहरूको कुदृष्टि विद्यालयतिर !- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्व्यसनीहरूको कुदृष्टि विद्यालयतिर !

अभिभावकको अप्रत्यक्ष नियन्त्रण, मित्रवत् व्यवहार तथा रमाइलो पारिवारिक वातावरण पाउने हो भने बालबालिका गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।
साधना प्रतीक्षा

विद्यालयनजिकैको झाडीमा केही किशोर बसिरहेका थिए । उनीहरूको व्यग्रताले बताइरहेको थियो, कसैको पर्खाइमा छन् । केही बेरमा विद्यालयतिरबाट सोही उमेरको किशोर आएर हतारहतार त्यस समूहमा मिसियो । आपसमा कानेखुसी गर्दै उनीहरूले केही साटासाट गरे ।

त्यसपछि चुरोट सल्काएर पालैपालो तान्न थाले । केही बेरमा उनीहरू जसरी बेतोडमा मोटरसाइकल दौडाएर आएका थिए, त्यसरी नै बेतोडले त्यहाँबाट अलप भए । म यस्तो दृश्य प्रायः देखिरहन्छु किनकि मेरो हिँड्ने बाटो त्यतै पर्छ । कहिलेकाहीँ संयोगले त्यस्ता किशोर/युवाको नजिकैबाट हिँड्दा उनीहरूले फालेको चुरोटको धूवाँमा अनौठो गन्ध अनुभव हुन्छ ।

भोलिको देशका खम्बाहरूले यसरी आफ्नो भविष्यलाई धूवाँ बनाएर उडाएको देख्दा मलाई असाध्यै दुःख लाग्छ । यही दुखाइले मलाई सोही विद्यालयको माध्यमिक तहकी एउटी छात्रासँगको संवादको स्मरण गराउँछ । उनले भनेकी थिइन्, ‘हाम्रो कक्षाका केही केटाहरू गाँजा खाएर आउँछन् । खैनी, सुर्ती त उनीहरूले कक्षामै लिएर आउँछन् । तिनीहरूका आँखा कस्ता राता हुन्छन् !’ मैले पहिला त उनको कुरामा विश्वास गर्न सकिनँ तर उनले मलाई विश्वास गर्ने प्रशस्त आधारहरू प्रस्तुत गरिन् । उनका अनुसार त्यो कक्षामा केटाहरूको एउटा समूह रहेछ । तिनीहरू प्रायः गाँजा खाँदा रहेछन् । साथै तिनीहरूले अन्य लागूपदार्थ पनि लिएर आउने र आफ्नो नजिकका साथीहरूलाई खान प्रेरित गर्ने गर्दा रहेछन् । उनीहरूको गतिविधि मन नपर्ने विद्यार्थीहरू त्यसबारे शिक्षक तथा विद्यालय प्रशासनलाई जानकारी गराउन डराउने रहेछन् किनभने उनीहरूले सबैलाई त्रासमा राखेका रहेछन् ।

ती छात्रालाई फकाएर सोध्दा उनले आफ्नी एउटी साथी पनि लागूपदार्थमा नराम्ररी फसेको सुनाइन् । उनले आफ्नी साथीलाई नराम्रो लत छोड्न सम्झाएकी पनि रहिछन् तर साथीले आफूले जति गरे पनि छोड्न नसक्ने बताइछन् । उनलाई त्यो लत कसरी लागेछ भन्दा उनको प्रेमीले कर गरेर सुरुमा गाँजा तान्न लगाएको र त्यसपछि अन्य लागूपदार्थ पनि प्रयोग गर्न सिकाएको रहेछ । अल्लारे उमेरको प्रेम अनि लागूपदार्थले दिने क्षणिक आनन्दमा आफ्नो

भविष्य बिर्सेकी उनलाई यदाकदा पश्चात्ताप भए पनि आफूले प्रेमी र नशा दुवै छाड्न नसक्ने विवशता पनि साथीलाई सुनाएकी रहिछन् । घरको वातावरणले पनि उनलाई त्यस्तो बाटोमा लाग्न सहज बनाएको रहेछ । घरमा प्रायः पार्टी भइरहने अनि धूमपान र मद्यपान गर्नुलाई सामान्य रूपमा लिइने हुनाले पहिला उनी सानैदेखि चुरोट र मदिराजन्य नशामा लागेकी रहिछन् । त्यसपछि प्रेमीको संगतले अन्य नशामा डुब्न पुगिछन् ।

उपर्युक्त छात्रछात्राहरू केवल प्रतिनिधि पात्र हुन् । आज हाम्रो समाजमा असंख्य युवायुवतीले दुर्व्यसनको सिकार भएर आफ्नो भविष्यलाई अन्धकारतर्फ धकेलिरहेका छन् । अहिले संसारभरि ठूलो सञ्जाल बनाइरहेका लागूऔषधका व्यापारी तथा दुर्व्यसनीहरूले किशोर/युवालाई आफ्नो जालमा पारिरहेका छन् । विद्यार्थीहरूलाई दुर्व्यसनमा फसाउन सकेमा दीर्घकालीन ग्राहक बढ्ने हुनाले उनीहरूले यसको उपयुक्त माध्यमका रूपमा विद्यालयलाई लिएको देखिन्छ । अपरिपक्व अवस्थाका विद्यार्थीहरूलाई पढाइको बोझ र तनाव बिर्साउन भन्दै गाँजा आदिको नशामा डुबाउने गरेपछि उनीहरूमा त्यसको बानी पर्दै जान्छ । त्यसपछि उनीहरू खोजीखोजी नशा लिन थाल्छन् । यसका लागि विद्यालयका छात्रावासहरू पनि प्रयोग हुने गरेको पाइन्छ । छात्रावासमा बस्ने एक–दुई विद्यार्थीलाई हातमा लिएर दुर्व्यसनीहरू छात्रावास तथा विद्यालय दुवैतिर सञ्जाल विस्तार गर्न सफल भएका देखिन्छन् ।

छात्रावासहरू दुर्व्यसनीका अखडा बन्नुको कारण त्यहाँ बस्ने विद्यार्थीहरूको मानसिक अवस्था पनि हो । सामान्यतया विद्यार्थीहरू परिवारमै बसेर पढ्ने गर्छन् । छात्रावास भनेको विशेष परिस्थितिका विद्यार्थीका लागि हो । घरमा आमाबाबुले नियन्त्रण गर्न नसकेका तथा पढाइमा कमजोर भएका विद्यार्थीहरू छात्रावासमा जाने गर्छन् । अभिभावकले समय दिन नसक्दा, घरबाट विद्यालय टाढा पर्दा, घरमा पढ्ने वातावरण नहुँदा पनि बालबालिका छात्रावास पुग्ने गर्छन् । यसरी छात्रावासमा विभिन्न परिवेश तथा मानसिकताका विद्यार्थी हुने गर्छन् । यसबारे जानकार दुर्व्यसनीहरू त्यस्ता विद्यार्थीलाई जालमा पार्न सफल हुन्छन् । घरपरिवारको माया तथा नियन्त्रणबाट टाढा रहेका, पढाइको तनावले पिरोलिएका विद्यार्थीहरूलाई सो तनावबाट मुक्त गराउने भन्दै आरम्भमा चुरोट र गाँजाको बानी पार्न अनि लागूपदार्थको दुर्व्यसनी नै बनाउन उनीहरू सफल हुन्छन् ।

अहिले हाम्रो समाज पाश्चात्य प्रभाव ग्रहण गर्दै आधुनिकतातर्फ उन्मुख भइरहेको छ । अल्लारे अवस्थाका केटाकेटीहरू आफूलाई स्वतन्त्र ठान्दै कर्तव्य भुलेर अधिकारको खोजीमा केन्द्रित देखिएका छन् । स्कुले जीवनमै प्रेम नगर्नेलाई उपहासको पात्र बन्नुपर्ने अवस्था पनि आइसकेको छ । यस्तै प्रेमका कारण छात्राहरू पनि यस्तो लतमा लागेको देखिन्छ । अल्लारे अवस्थाको प्रेम सम्बन्धले भविष्य हेर्दैन, केवल सुखानुभूति खोज्छ, चाहे त्यो शारीरिक सम्बन्धको होस् या दुर्व्यसनको । यथार्थमा यी दुवै कुरा उनीहरूका लागि घातक हुन्छन् । कुलतको क्षणिक सुखले आफ्नो भविष्य कतातिर जाँदै छ भन्ने हेक्का उनीहरूलाई हुँदैन । अल्लारेहरूको यस्तो प्रेमसम्बन्ध पनि लागूपदार्थका व्यापारीहरूको राम्रो बजार बन्न जान्छ । एकातिर इन्टरनेटमा खुला रूपमा उपलब्ध हुने अश्लील सामग्री, अर्कातिर दुर्व्यसनीको सञ्जालका कारण अहिले कतिपय विद्यार्थी गलत बाटोमा लागिरहेका छन् ।

बालबालिका सही या गलत कुन बाटोमा लाग्ने भन्ने कुरा उनीहरूको पारिवारिक वातावरणमा पनि निर्भर हुने गर्छ । बालबालिकालाई समय नदिने वा दिन नसक्ने परिवारका बालबालिका गलत बाटोमा लाग्ने सम्भावना बढी देखिन्छ । एकल परिवारको अवधारणा, आर्थिक उपार्जनका लागि गर्नुपर्ने दौडधुप, आमाबाबुबीचको तनावपूर्ण सम्बन्ध तथा अत्याधुनिक जीवनशैलीका कारण अहिले परिवारभित्र अभिभावक तथा बालबालिकाको सम्बन्ध टाढिएको देखिन्छ । विद्यालय जाने–आउने र त्यसबाहेक एक्लै रहनुपर्ने अवस्थामा बालबालिकामा नकारात्मक कुराको प्रभाव बढी पर्न जान्छ । दुर्व्यसनीहरूले यस्तै अवस्थाका बालबालिकालाई जालमा पार्ने गर्छन् । त्यसैले अभिभावकहरू यसतर्फ सचेत हुनुपर्छ ।

आफ्ना नानीहरूको हरेक क्रियाकलापबारे ध्यान दिनुका साथै उनीहरूलाई एक्लोपन अनुभव हुन नदिनेतर्फ पनि अभिभावकको सचेतता आवश्यक देखिन्छ । अभिभावकको अप्रत्यक्ष नियन्त्रण, मित्रवत् व्यवहार तथा रमाइलो पारिवारिक वातावरण पाउने हो भने बालबालिका गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ ।

विद्यार्थीहरूलाई दुर्व्यसनीको पन्जाबाट उम्काउन विद्यालय प्रशासन तथा शिक्षकहरूको अहम् भूमिका हुन्छ । विद्यालयहरूले जसरी पनि बढी विद्यार्थी भर्ना गर्नु र मुनाफा कमाउनुलाई मात्र आफ्नो उद्देश्य नबनाएर गुणस्तरीय शिक्षा तथा सुयोग्य नागरिक उत्पादन गर्नपट्टि ध्यान दिने हो भने विद्यार्थीका रूपमा विद्यालय प्रवेश गर्ने दुर्व्यसनीको योजना असफल हुन जान्छ । त्यसैले विद्यालय प्रशासनले आफ्नो विद्यालय, छात्रावास तथा वरिपरि हुने गतिविधिमा ध्यान दिनुपर्छ । छात्रावासलाई अनुशासित र मर्यादित बनाउनुपर्छ । कुनै पनि विद्यार्थी नकारात्मक गतिविधिमा लागेको थाहा पाउने संयन्त्र बनाउनुपर्छ । बेलाबेलामा विभिन्न मनोपरामर्शका कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षकहरूले पनि पढाउनुलाई मात्र आफ्नो दायित्व नठानी विद्यार्थीहरूको हरेक गतिविधिमा ध्यान दिनुपर्छ । शंकास्पद गतिविधि थाहा हुनासाथै त्यसको निराकरणलाई प्राथमिकतामा राख्नुपर्छ किनभने सही आचरण पनि शिक्षाको उद्देश्य हो ।

विद्यालयजस्तो शिक्षाको मन्दिर एवम् असंख्य बालबालिकाको भविष्य निर्माण गर्ने स्थलमा दुर्व्यसनीको कुदृष्टि पर्नु समाज तथा राष्ट्रकै भविष्यमाथिको प्रहार हो । एक पटक दुर्व्यसनमा फसेपछि निस्कन कठिन हुने हुँदा बालबालिकालाई त्यस्तो दुर्व्यसनतर्फ आकर्षित हुने मौकै नदिनु उपयुक्त हुन्छ । त्यसैले अभिभावक, शिक्षक तथा विद्यालय प्रशासन सबैले यसतर्फ सचेतता बढाउँदै बालबालिकाका गतिविधिमा ध्यान पुर्‍याउनुपर्छ ।

प्रकाशित : माघ ९, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

२० वर्षे कृषि विकास रणनीति

व्यवहारमा असफल भए पनि कागजमा दुरुस्त प्रगति देखाउँदै हाम्रो कृषिलाई अझ धराशायी बनाउने छुट अब कसैलाई दिन सकिँदैन ।
कृष्णप्रसाद पौडेल

झन्डै ७ वर्षपहिले एसियाली विकास बैंकको नेतृत्वमा नेपालका सबै ठूला दातृ समूहसम्बद्ध परामर्शदाताहरूले प्रत्यक्ष २० लाख अमेरिकी डलर र अप्रत्यक्ष रूपमा थप दसौं करोड रुपैयाँ लगाएर नेपाल सरकारका लागि २० वर्षे दीर्घकालीन कृषि विकास रणनीति तयार गरिदिए ।

२०६७ फागुनमा नेपाल सरकारसँग सम्झौता गरी सुरु भएको यो रणनीति बनाउने कार्य २०७२ साउन १० मा औपचारिक रूपमा पूरा भएको थियो । झन्डै ४ वर्ष ६ महिना लगाएर बनाइएको यो दस्तावेज दाताका परियोजनाको प्रस्तावना लेख्न र परियोजना भित्र्याउन, यी परियोजनाका केही थान परामर्शदाता, मन्त्रालयका केही हाकिम र कारिन्दाको जागिर पचाउन अनि किसान आयोग नामको पार्टीका कार्यकर्ता भर्तीकेन्द्र चलाउन मात्र सीमित भएको छ ।

विश्व बैंकले यसअघि तयार गरिदिएको २० वर्षे दीर्घकालीन कृषि नीतिको हदम्याद सकिएको भन्दै नीति दस्तावेजको खेती गर्न पल्केका स्वदेशी तथा विदेशी परामर्शदाता, निवर्तमान कर्मचारी र दाताको चाखमा यो दस्तावेज तयार गर्ने प्रस्ताव गरिएको थियो । खेतीपाती उन्नत बनाउन किसानी र किसान अधिकारका प्रश्नमा गम्भीर भएर यस्तो नीतिनिर्माणको प्रक्रियालाई किसानमैत्री बनाउन पहल र पक्षपोषण गर्नुपर्ने किसान सञ्जालका केही अगुवासमेत यिनैसँग चोचोमोचो मिलाउँदै नेपालको कृषि क्षेत्रलाई थप धराशायी बनाउन उद्यत भएर यो दस्तावेज बनाउन हौसिए । त्यसै पनि नीतिनिर्माणका मुख्य सरोकारवाला संविधानसभा सदस्य र अन्य जिम्मेवार राजनीतिक परिवर्तन संस्थागत गर्न नयाँ संविधान निर्माणमा जुटिरहेका बेला यस्तो दीर्घकालीन महत्त्वको नीति दस्तावेज बनाउनु आफैंमा सान्दर्भिक थिएन ।

त्यति बेलै खाद्यका लागि कृषि अभियानले यस्तो दस्तावेज हतारमा नबनाउन सबैसँग आग्रह गर्दै हाम्रो कृषि उन्नत बनाउन कुनै छेकबार भए ३ वा ५ वर्षको अन्तरिम नीति बनाउन सकिने सुझाएको थियो । ठेकेदारीको भरमा बनाइने यस्तो रणनीतिको प्रक्रियामा किसान समुदाय र अन्य सरोकारवालाले समेत व्यापक विरोध गरेका थिए । तर सबैलाई बेवास्ता गर्दै दस्ताबेज बनाइछाडियो । सहायताको रकम खर्च गर्नेबाहेक यसबाट नेपालको कृषि कति उन्नत भयो ? समीक्षा हुँदै गर्ला ।

खुला बजार अर्थतन्त्रको वकालत गर्ने अमूर्त अवधारणा कुल संसाधन उत्पादकत्वको ढाँचामा तयार गरिएको उक्त दस्तावेजले सुशासन, उत्पादकत्व, नाफामूलक व्यापार र प्रतिस्पर्धी कृषि बनाउने भन्दै कृषिमा आधारित समुदायलाई सेवा र उद्योग क्षेत्रबाट बढी आय आर्जन गर्न धकेल्ने योजना अघि सार्‍यो । यस्तो अवधारणाको वकालत गर्दै यसमा नेपाली कृषिको वस्तुगत वास्तविकतासँग कुनै साइनो नभएको सम्म मैदानी ढाँचाको परम्परागत उच्च लगानीको प्रतिस्पर्धी कृषि विकासको सोचको नक्कल गरिएको छ । यो रणनीति नेपालको कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि कुनै अर्थमा उपयुक्त थिएन; हाम्रो जस्तो कृषि संस्कृति, समाज, भूगोल र भूराजनीतिक परिवेशमा यो उपयुक्त हुने कुरै थिएन; अहिले पनि छैन र पनि यो किन बनाइयो ? यी र यस्ता नीति दस्तावेज बनाउने उद्यमको लेखाजोखासमेत होला ।

४ आयाम, ३५ क्षेत्र र २३२ गतिविधि समेटिएको ४६४ पृष्ठ लामो यो रणनीति कार्यान्वयनका लागि वार्षिक ५० अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । यसका लागि कृषि विकास कोष स्थापना गर्ने भनिए पनि खर्चको स्रोत कसले कसरी जुटाउँछ अनि त्यसका लागि सरकार र दाताहरूको प्राथमिकता र प्रतिबद्धता के हो भन्नेबारेमा दाता, तत्कालीन किसान सञ्जालका नेता र मन्त्रालयका वरिष्ठ कर्मचारी कोही बोलेनन् र अहिलेसम्म बोलेका छैनन् । किन ? यी सबैसँग जवाफ माग्नैपर्ने भएको छ ।

खानाका लागि खेतीपाती अभियानले यसको प्रस्तावनादेखि नै यसको ढाँचा नेपाली विशेषताका नभएको र यसको निर्माण प्रक्रिया हचुवा भएको बताउँदै यसलाई परिमार्जन गरेर मात्र रणनीति बनाउन सुझाएको थियो । अभियान लगायत अन्य सरोकार समूहका सुझावहरूको त कुरै छोडौं, तत्कालीन कृषि तथा जलस्रोत संसदीय समिति र राष्ट्रिय योजना आयोगका सुझावहरूसमेत यस दस्तावेजमा समेटिएनन् ।

यो रणनीति बनाएर कार्यान्वयन गर्न यसका मुख्य जिम्मेवार निकाय र आर्थिक–प्राविधिक सहायता दिने दाताले के गरे र यसबाट के परिणाम आयो ? निर्मम बहस र समीक्षा जरुरी छ । अन्यथा यही नियति दोहोरिँदैन भन्ने के छ ? खाना र खेतीपातीको समस्या र चुलिँदो आयातले यसको वास्तविकता देखाएकै छ । उदाहरणका लागि, ५ वर्षमै आयात शून्य बनाउने प्रक्षेपण गरिएको थियो तर सरकारी तथ्यांकलाई आधार मान्दा, यो रणनीति बनेयता कृषिउपज र खानेकुराको आयात तीन गुणा बढेर २४४ अर्ब पुगेको छ भने खाद्यान्नको मात्र आयात ३७ अर्बबाट ५७ अर्ब पुगेको छ । यस रणनीतिले प्रक्षेपण गरेका अन्य सूचक र अपेक्षित उपलब्धिको हालत यस्तै छ । । वर्षैभरि सिञ्चित भूभाग १८ प्रतिशतबाट ५ वर्षमा ३० प्रतिशत, १० वर्षमा ५० प्रतिशत र २० वर्षमा ८० प्रतिशत पुर्‍याउने लक्ष्य थियो; रणनीति लागू गर्ने भनिएको एकतिहाइ समयसीमा सकिँदै गर्दा कति प्रगति भएछ ? अन्य सूचकको अवस्था के छ ? कार्यान्वयनको जिम्मा लिएको मन्त्रालय र सहयोगीहरूले प्रगति विवरण बनाएकै होलान् ।

यसबाट नेपाली कृषिलाई सम्म मैदानी कृषि भएका मुलुकहरूकै ढाँचामा प्रतिस्पर्धी बनाउने कुरा आफैंमा ठूलो कपट हो भन्ने फेरि पुष्टि भएको छ । नेपालको भौगोलिक अवस्था, कृषि जमिनको उत्पादनशीलता र जैविक विविधताले अन्य समतल मैदानी कृषि प्रणालीसँग यसको उत्पादन प्रक्रिया, उत्पादकत्व र परिणाम (व्यावसायिक) कुनैमा प्रतिस्पर्धा हुनै सक्दैन भन्ने घामजस्तै छर्लंग छ । सँगै भूराजनीति र छिमेकीको कृषि अर्थतन्त्रसँगको प्रतिस्पर्धा परम्परागत कृषिका सदाबहार चुनौती हुन् । नेपालका यी सबै विशिष्टतालाई यथेष्ट सम्बोधन नगर्ने कृषिको विकासनीतिले अहिले हामीले भोगेका संकटको सामना गर्न दिशानिर्देश गर्नै सक्दैन ।

यी सबै पक्षको वस्तुनिष्ठ समीक्षा गर्न र सच्याउन त परै जाओस्, सदाझैं पुरानै ढर्रामा नीतिनिर्माण र परिमार्जन नाटक अहिले पनि जारी छ । उदाहरणका लागि, गत वर्ष कृषि नीति–२०६१ परिमार्जनको नाटक मञ्चन भएको थियो । त्यो सकिन नपाउँदै अहिले फेरि यो रणनीति परिमार्जन गर्न भन्दै मन्त्रालयका हाकिमहरू नयाँ फाइल खडा गरेर टिप्पणी उठाउन व्यस्त छन् । हुन त यस्ता नीति बनाउने शृंखला मन्त्रालयका केही सेवानिवृत्त र वर्तमान वरिष्ठ कर्मचारीको जागिर पचाउने मुख्य गतिविधि हो भन्दा फरक पर्दैन ।

यसरी हेर्दा, यो रणनीति बनाउन उक्साउने र यस्तो रणनीति बनाएर कृषि सपार्ने भाषण गर्ने सबै ढोंगी हुन् । यही रणनीतिका प्रस्तावना पछ्याउँदै आयातित हरित क्रान्तिमा आधारित उच्च लगानीको कृषि ढांँचा अपनाउने अनि अहिलेजस्तै व्यवहारमा असफल भए पनि कागजमा दुरुस्त प्रगति देखाउँदै हाम्रो कृषिलाई अझ धराशायी बनाउने छुट अब कसैलाई दिन सकिँदैन । तसर्थ, आफ्नै विशेषताको कृषि प्रणाली अपनाई प्रकृतिमैत्री कृषि प्रणाली उन्नत बनाउनुको विकल्प छैन । किसानसहित सबै तहमा गरिने यस्तो कृषि प्रणालीको बहसले मात्र उपयुक्त कृषि ढांँचासहितको दीर्घकालीन कृषि योजना बनाउने प्रक्रिया सुरु गर्न सक्छ ।

प्रकाशित : माघ ९, २०७८ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×