मिथिला राजनीति होइन, सभ्यता र संस्कृति हो 

२०७८ साल माघ महिनाको पहिलो सोमबार, मिथिलानगरी जनकपुरको इतिहासमा स्वर्ण अक्षरले लेखिने छ । झन्डै साढे पाँच हजार वर्षपछि पुनः जनकपुरधाम राजधानी घोषित भयो । अनि चार वर्षदेखि थाती रहेको प्रदेश नामाकरणको विषय टुंगिएर प्रदेश २ ले आफ्नो नयाँ नाम जुरायो -  मधेस प्रदेश ।

मिथिला राजनीति होइन, सभ्यता र संस्कृति हो 

यसको खुसियालीमा अर्को दिन प्रदेशभरि सार्वजनिक बिदा घोषणा गरियो । दीपावली मनाइयो । भोजभतेरको आयोजना भयो । तर खुसीयालीको माहोलमा विरोधका स्वरहरू पनि नसुनिएको भने होइन । अझै सुनिँदै पनि छन् । विरोधका अनेकौं कारणमध्ये प्रमुख कारण हो- २२ जिल्लाको मधेसलाई ८ जिल्लामा सीमित पार्नु; साढे पाँच हजार वर्षको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मिथिला सभ्यतालाई बेवास्ता गरिनु । बृहद् विष्णु पुराणमा समेत २४ योजनमा फैलिएको मिथिला नामको देश रहेको र त्यसको सीमा कोशी र गण्डकीको बिचमा पर्ने भनी वर्णन गरिएको छ ।

अहिले मधेस नामाकरण गरिएको प्रदेश बृहद् विष्णु पुराणको मिथिला महात्म्यमा वर्णित सीमा रेखासँग ठ्याक्कै मेल खान्छ । कोसी र गण्डकीको बीचमा अवस्थित मिथिला संस्कृति र मैथिली भाषाभाषीहरूको बाहुल्यता रहेकाले प्रदेशको नामाकरण मिथिला प्रदेश हुनुपर्ने विचार प्रवल थियो र अझै पनि छ । यही विचार प्रदेश नामाकरणको विरोधमा मुखर भएको छ ।

मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास स्वर्णिम छ । जहाँ पूर्वीय षड्दर्शन (६ दर्शन) मध्ये ४ दर्शनको उद्गम स्थल भएको थियो । न्याय, वैशेषिक, सांख्य, पूर्व-मिमांशा, योग र वेदान्त दर्शनमध्ये आचार्य महर्षि गौतम न्याय दर्शन र महर्षि कणाद वैशेषिक दर्शनका प्रणेता हुन् । महर्षि कपील सांख्य दर्शन तथा महर्षि जैमिनी मिमांशा दर्शनका प्रणेता हुन् । यी चारवटै महर्षिको जन्म मिथिलामै भएको किंवदन्तीहरू पाइन्छन् । उनीहरूको साधनास्थल जनकपुरधाम र यसकै वरिपरि थिए भन्ने लेखोटहरू पनि पाइन्छन् । योग दर्शनका संस्थापक पतञ्जली र वेदान्त दर्शनका व्याख्याता महर्षि व्यास अन्य भूगोलका थिए । शुक्ल यजुर्वेद, शतपथ ब्राह्मण, बृहदारण्यकोपनिषद् र याज्ञवल्क्य स्मृतिजस्ता विश्वलाई निर्देशित गर्ने ग्रन्थका व्याख्याता याज्ञवल्क्यको साधना स्थल, योग, भोग र अध्यात्मका त्रिवेणी जनक, मैत्रेय, गार्गी, सतानन्दजस्ता विद्वान र विदुषीहरूको यो पावन भूमिको दुई दर्जन नाम मिथिला महात्म्यमा उल्लेख छ-

‘मिथिला तैरभुक्तिश्च वैदेही नैमि काननम् ।
ज्ञानक्षेत्रं कृपापीठं स्वर्ण लाङ्गल पद्यति ॥
जानकी जन्म भूमिश्च निरपेक्षा विकल्मषा ।
रामानन्दकरी विश्व भावनी नित्य मंङ्गला ॥’

अर्थात् मिथिला, तिरहुति, वैदेही, नैमिकानन, ज्ञानक्षेत्र, कृपापीठ, स्वर्ण लाङ्गल, श्रीजानकी जन्मभूमि, निरपेक्षा, विकल्मषा, श्रीरामा नन्दकरी, विश्वभाविनी तथा नित्यमंगला । यसका अतिरिक्त मिथिलालाई बृहदारण्य, शाम्भवी, क्रियापीठ, तपोवन आदि नामले समेत संबोधन गरिएको पाइन्छ ।

सभ्यता, संस्कृति र भाषालाई मानिसको प्रिय पहिचान मानिन्छ । तर यी विषयहरूलाई पाखा लगाउँदै दुई तिहाई बहुमतबाट प्रदेश सभाले प्रदेश २ को नाम मधेस तोकेको छ । राजधानी जनकपुरधाम त रामायणकालीन मिथिलाको निरन्तरता नै हो । प्रदेश नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा ८० प्रदेश सांसदले मतदान गरेका थिए भन्ने स्थायी राजधानीसम्बन्धी प्रस्तावमा ७८ जनाले । यसमा दुईमत हुन सक्दैन- चुरे पर्वत श्रृंखलाभन्दा दक्षिण भारतको सीमासम्म पूर्व-पश्चिम फैलिएको भूगोल मधेस हो । यसमा २२ जिल्ला पर्दछ । २२ जिल्लाको मधेसलाई कोहि कसैले नकार्न सक्दैन । मधेस वर्तमान हो । मधेस राजनीति हो । सहिदहरूको आलो रगतसँग साटिएको सत्ता पनि हो मधेस । फेरि लोकतन्त्रमा बहुमतद्वारा गरिने निर्णयलाई नकार्न सक्ने आधार पनि हुँदैन । बहुमतको निर्णयलाई बहुमतबाटै विस्थापित गर्न सकिन्छ । तर ८ जिल्ला समाहित प्रदेश २ मात्र मधेस हुन सक्दैन । यो विशुद्ध मिथिला हो । पछिल्लो पहिचानलाई समाहित गरौं भने मिथिला-भोजपूरा हो । मधेस आन्दोलनमा नेपालगञ्ज, विराटनगर, भैरहवा, कञ्चनपुरका मधेसीहरू पनि सहिद भएका थिए । उनिहरूले पनि ज्यानको बाजी लगाएर ‘समग्र मधेस‚ एक स्वायत्त प्रदेश’ को नारा घन्काएका थिए ।

आठ जिल्लाको मधेस हुँदैमा बाँकीका १४ जिल्लाका युवा-युवतीले मधेसी कोटामा आरक्षण पाउने कि नपाउने ? १४ जिल्लाका मधेसीमूलका नेताहरू आरक्षण कोटामा सांसद हुन पाउने कि नपाउने ? अचेल चर्चाको विषय बनेको छ ।

राजनीति अंकगणितको खेल पनि हो । राजनीति षडयन्त्र तथा लोभानीपापानी पनि हो । प्रदेशसभामा यी सम्पूर्ण षडयन्त्र र तिकडमहरू देखिए । प्रदेशको स्थायी राजधानीको विषयमा प्रदेशसभामा रहेका प्रायः सबै दलबीच सहमति देखिए पनि नामाकरणको विषयमा भने चरम मतभिन्नता थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको प्रस्ताव थियो- मधेस प्रदेश । सदनमा तीनै दलका सांसदहरूको संख्या ६३ हो ।

दुईतिहाईभन्दा ७ मत कम । यता नेपाली कांग्रेसको प्रस्ताव थियो- मिथिला भोजपुरा, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त प्रस्ताव थियो- जानकी प्रदेश । पश्चिमका केही सांसदहरूले मध्यमधेस नाम पनि प्रस्ताव गरेका थिए । तर‚ रातारात समीकरण फेरियो । प्रदेश नामाकरणको पक्षमा ८० मत खस्यो । राजधानीको प्रस्तावमा यसभन्दा दुईमत कम अर्थात् ७८ मत ।

अचेल केही उन्मादीहरू भन्न थालेका छन्- मिथिला सकियो । खोई मिथिला संस्कृति ? मधेस सरकारले बुधबार सप्तरीमा आयोजना गरेको बलिदानी दिवसको अवसरमा एउटा गीत सुनियो- ‘अपना किशोरीजी के चरण दबेबै है । हम मधेसेमे रहबै ।’ यो मैथिलीको लोकप्रिय लोकगीत हो । यसको वास्तविक पद हो- ‘अपना किशोरीजीके चरण दबेकै हे हम मिथिलेमे रहबै... ।’ उन्मादीहरुले किशोरी अर्थात् जानकीको जन्म मधेसमा भएको भन्न थालिसकेका छन् ।

लोकगीतहरुको बोल बिगार्न थालेका छन् । मुलुकमा बौद्धिक वा लोक सम्पदाहरूका लागि केही गर्ने कानुन छ कि छैन ? छ भने अब मैथिली लोकगीत, लोक साहित्य, लोककथा, लोकगाथा, मिथिला चित्रकलालगायत मौलिक सम्पदाहरूको संरक्षणमा सहयोग गर्नु आवश्यक छ । अन्यथा ‘मिथिलेमे रहबै’को सट्टा ‘मधेसेमे रहबै’ भन्न सक्ने उन्मादीहरूले मिथिला चित्रकलालाई मधेस चित्रकला भन्न बेर छैन ।

यद्यपि मिथिला सभ्यता र संस्कृतिमाथि भएको यो पहिलो आक्रमण भने होइन । यसअघि मिथिला भाषा र संस्कृतिलाई दक्षिणका मुगलहरूले खान खोजेकै थिए । अंग्रेजहरूले मैथिली सभ्यतालाई विस्थापित गर्न खोजेकै थिए । ‘एउटै राजा‚ एउटै देश । एउटै भाषा, एउटै भेष’ भन्दै शाही सरकारले तथा स्थानीय स्वायत्त शासनअन्तर्गत राजविराज नगरपालिका र जिल्ला विकास समिति धनुषाले मैथिली भाषालाई कामकाजको भाषा घोषणा गर्दा सर्वोच्च अदालतले रोकेकै थियो । तर मिथिला भोजन, मैथिली लोकगीत, मैथिली गाथा, मैथिली पहिरन, मिथिला चित्रकला, भारोपेली भाषा समूहकै पहिलो गद्यग्रन्थ वर्णरत्नाकर रचना भएको मैथिली भाषालाई चाहेर पनि कसैले समाप्त गर्न सकेनन् ।

मैथिली सोहर, समदाओन, बटगबनीको रुपमा यहाँका महिलाहरूको मुखमा टाँसिइरह्यो । मिथिला चित्रकलाको रुपमा यहाँका दिदी बहिनीहरुको औंलामा बसिरह्यो अनि लोकगाथाको रुपमा रामरतन दास र कमल मण्डलहरूको जिब्रोमा खेली रह्यो । राजनीति क्षणिक हो । सभ्यता अजम्बरी हुन्छ‚ बाँचिरहन्छ । प्रदेशको नाम परिवर्तन हुनै हुँदैन भन्ने पनि होइन । भारत उत्तर प्रदेशको फैजावाद जिल्ला अचेल अयोध्या बनेको छ । बम्बै आज मुम्बई भएको छ ।

प्रकाशित : माघ ७, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?