कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा सिसा खानी कति सम्भव ?

नेपालमा पाइने कच्चा पदार्थ बालुवालाई पूर्वाधार निर्माण सामग्रीका रूपमा मात्र प्रयोग नगरी वैकल्पिक उच्च मूल्यका वस्तु उत्पादन गर्नतर्फ पनि लाग्नु राम्रो हुन्छ ।

हामीले विभिन्न प्रयोजनका लागि प्रयोग गरिने सिसा देखेका छौं, तर यसबारे धेरै जानकारी भने सबैलाई नहुन सक्छ । सामान्यतः आकारविहीन वस्तुलाई अंग्रेजीमा ‘एमरफोस’ भनिन्छ, सिसा पनि विज्ञानको भाषामा निश्चित आकार नभएको वस्तुको परिभाषाभित्र पर्छ । यो संवेदनशीलदेखि कडा किसिमसम्मको हुन्छ । सिसामा न विद्युतीय प्रवाह हुन्छ न त रासायनिक प्रतिक्रिया नै । त्यसैले यसलाई अनौठो चरित्रको वस्तु पनि भनिन्छ ।

नेपालमा सिसा खानी कति सम्भव ?

मानिसले सिसा सामान्यदेखि बृहत् क्षेत्रसम्ममा प्रयोग गरेको छ । उदाहरणका लागि, बिहान उठ्नेबित्तिकै हेर्ने ऐना, चिया खाने कपदेखि कार्यालयको टेबुल, दराजलगायतका सामग्रीहरू कि सिसाका हुन्छन्, कि तिनमा सिसा प्रयोग गरिएको हुन्छ । आजकाल त विशाल आधुनिक भवनमा पनि सिसाको प्रयोग अत्यधिक हुने गरेको छ ।

आकर्षक र बढी उज्यालो हुने भएकाले अधिक मानिसको रोजाइमा सिसा पर्ने गरेको छ । काठमाडौं मात्र नभई प्रादेशिक राजधानीलगायतका अन्य प्रमुख व्यापारिक सहरहरू, जिल्ला तथा पालिका केन्द्रहरूमा निर्माण भएका आधुनिक भवनमा सिसाको प्रयोग बढ्दो छ । यसलाई नेपाल व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र तथा भन्सार विभागको तथ्यांकले पनि पुष्टि गरेको छ । केन्द्रका अनुसार लगभग एक दशकभन्दा कम अवधिभित्र नेपालमा सिसाको आयात तीन गुणाभन्दा बढीले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१–७२ मा ३ अर्ब ७५ करोड ६२ लाख ३७ हजारको हाराहारीमा सिसा आयात भएकोमा २०७७–७८ मा लगभग तीन गुणाले बढेर यो रकम ८ अर्ब २९ करोड ३७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

नेपालमा सिसा उत्पादन नहुने भएकाले यति धेरै रकम वार्षिक रूपमा बिदेसिने गरेको हो, र यो क्रम बढ्दो छ । देशमा आवश्यक सिसा विदेशबाट खासगरी भारत र चीनबाट आयात हुँदै आएको छ । यी दुई मुलुकबाहेक पछिल्ला दिनहरूमा खासगरी सन् २०२१ को नेपाल निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार लगभग ३५ भन्दा बढी देशहरूका सिसा नेपाल भित्रिएको पाइन्छ । दक्षिण अमेरिकी मुलुक भेनेजुएलादेखि संयुक्तराज्य अमेरिका, अफ्रिकाको नामिबिया, प्रमुख युरोपेली, अस्ट्रेलियादेखि बंगलादेश, पाकिस्तान, संयुक्त अरब इमिरेट्सजस्ता देशहरूको सिसासमेत नेपाल भित्रिन्छ ।

यति धेरै रकम दैनिक रूपमा बिदेसिँदै गर्दा सिसा के वा कुन वस्तुबाट बन्छ, कसरी बन्छ, के नेपालमा यसको कारखाना स्थापना गरी आयात विस्थापित गर्न सकिँदैन भन्नेजस्ता विषयमा खुलदुली हुनु स्वाभाविकै हो । आजसम्म नेपालमा कुनै सिसा कारखाना स्थापना भई सञ्चालनमा आएको आधिकारिक अभिलेख पाइएको छैन । धेरैलाई त सिसा खानीबाट उत्खनन गरिन्छ भन्ने लाग्छ, जुन होइन । यस्तो सिसा खानीमा नभई कारखानामा तयार हुन्छ । खोलामा पाइने बालुवालाई कारखानामा पेलेर तयार हुन्छ । नेपालमा लगभग ६ हजारभन्दा बढी साना तथा ठूला खोलाहरूको कुल लम्बाई ४५ हजार किलोमिटर जति छ, तिनका बगरमा प्रशस्तै बालुवा पाइन्छ । नेपालको कुल क्षेत्रफलको लगभग ५.६७ प्रतिशत भूभाग सीमसार क्षेत्रले ओगटेको छ । यस्तै मुलुकको ८३ प्रतिशत भूगोल पहाडले ढाकेको छ, जुन ढुंगा र माटोले बनेको छ । यसमध्ये क्वार्जाइट ढुंगा सबभन्दा बढी भएको अनुमान गरिएको छ । त्यसैले नेपालमा सिसा कारखाना स्थापना गर्न कच्चा पदार्थको कमी छैन । तर यससम्बन्धी विस्तृत अध्ययन–अनुसान्धन भएको पाइँदैन ।

पृथ्वीको सतह विभिन्न पदार्थहरू मिलेर बनेको छ । हालसम्मका अध्ययनले यो सतह अक्सिजन (४६.६), सिलिकन (२७.७), फलाम (५), आल्मुनियम (८.१), क्याल्सियम (३.६), सोडियम (२.८), पोटासियम (२.८), माग्नेसियम (१), लगायत अन्य (२) प्रतिशत धेरै किसिमका पदार्थर्हरू मिलेर बनेको छ । यही सिलिकन र अक्सिजन मिली क्वार्जाइट चट्टान बन्छ जुन बालुवा बन्ने प्रमुख स्रोत हो । यी पदार्थहरू पृथ्वीको स्थलमण्डलमा चट्टान, माटोलगायत अन्य निर्जीवका रूपमा रहेका छन् । हामीले देखेका चट्टान आग्नेय, पत्रे र परिवर्तित गरी प्रमुख तीन किसिमको भए पनि नाम, रूप र आकारमा भिन्नता छ ।

उदाहरणका लागि निस, सिस्ट, ग्रेनाइट, क्वार्जाइट, मेटासेन्डस्टोन, चुनढुंगा आदि चट्टानका विभिन्न प्रकार हुन् । क्वार्जाइट, बलौटे ढुंगा, ग्रेनाइट, निसलगायतबाट सिसा बनाउन आवश्यक कच्चा पदार्थ बालुवा बन्दछ । क्वार्जाइट नेपालका लेसर हिमालयलगायत चुरे क्षेत्रमा बढी परिमाणमा पाइन्छ । चुरे क्षेत्रको नदीनालाबाट बगेको बालुवामा ९२ प्रतिशतभन्दा बढी सिलिकन भएकाले यस क्षेत्रको बालुवालाई सिसा बनाउन गुणस्तरीय कच्चा पदार्थ मानिन्छ ।

नेपालको मकवानपुर जिल्ला हेटौंडानजिकको काराखोलामा लगभग ११.९ मिलियन टन सिसा बनाउन मिल्ने उच्चस्तरीय बालुवा भएको प्रमाणित भएको छ । यिनै बालुवामा मिसिएको सिलिकनबाट सिसा बन्छ । सामान्यतः सिसाका लागि बालुवा ७० प्रतिशत, सोडाको खरानी १५ प्रतिशत र चुनढुंगा १० प्रतिशतको अनुपातमा कच्चा पदार्थ मिसाएर विद्युतीय भट्टीमा न्यूनतम १७०० डिग्री सेल्सियस तापक्रममा तताएपछि उक्त सम्मिश्रण तरल अवस्थामा बदलिन्छ । यसलाई आवश्यकताअनुसार आकार, बाक्लोपन र नापमा बनाउन सोहीअनुसारको संरचनामा राखी सेलाइन्छ र सिसा बनाइन्छ । कम ताप खर्च हुने वैकल्पिक विधि अपनाएर पनि १४०० डिग्री सेल्सियससम्मको कम तापक्रममा पगालेर सिसा तयार गरिन्छ ।

आर्थिक वर्ष २०७७–७८ सम्म नेपालमा क्वार्जाइटसम्बन्धी ११ वटा खानी उद्योग खानी तथा भूगर्भ विभागमा दर्ता भएका छन्, तिनले लगभग १४.९ वर्ग किमि क्षेत्रफल ओगटेको तथ्यांक छ । गण्डकी प्रदेशका ताराखोला गाउँपालिका बागलुङ र जलजला गाउँपालिका पर्वतमा लगभग १.९७ वर्ग किमि र बाँकी लगभग १२ वर्ग किमि क्षेत्रफलमा ९ वटा उद्योग वाग्मती प्रदेशका सिन्धुपाल्चोक जिल्लामा बढी केन्द्रित छन् । तर यीमध्ये कुनै पनि सिसा उद्योगका नाममा दर्ता भएको देखिँदैन । त्यसैले नेपालमा पाइने कच्चापदार्थ बालुवालाई पूर्वाधार निर्माण सामग्रीका रूपमा मात्र प्रयोग नगरी वैकल्पिक उच्च मूल्यका वस्तु उत्पादन गर्नतर्फ लाग्नु राम्रो हुन्छ ।

नेपालका यतिका धेरै नदीनालाका किनारमा बर्सेनि बाढीले बगाएर खेर फाल्ने बालुवालाई अधिकतम रूपमा प्रयोग गर्ने उपयुक्त विकल्प सिसा बनाउने उद्योग स्थापना गर्नु हो, यसतर्फ अग्रसर बनौं । यसबाट सिसा आयातमा कमी आई नेपाली धन बिदेसिनबाट पनि जोगिनेछ ।

प्रकाशित : पुस १४, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?