ओमिक्रोन : उग्र की नरम भेरिएन्ट? - विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमिक्रोन : उग्र की नरम भेरिएन्ट? 

शेरबहादुर पुन

काठमाडौँ — कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फेला परे पनि आतंकित भाइहाल्नुपर्ने अवस्था छैन भन्ने मेरो मान्यता थियो । शिर्षकमा "उग्र की नरम" भन्नाले अघिल्लो भेरिएन्टभन्दा तुलनात्मक रुपमा कडा की कमजोर भन्न खोजिएको हो । अझ किटेरै भन्नु पर्दा ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा "उग्र की नरम" भन्न खोजिएको हो ।

डेल्टा भेरिएन्टसँग तुलना गर्नुको कारण हालसम्म देखिएका "भेरिएन्ट अफ कन्सर्न" अन्तर्गतका कोरोना भाइरसहरुमध्ये कडा मानिनु हो । डेल्टा भेरिएन्ट नेपालमा दोस्रो लहरको कारक पनि मानिन्छ । नेपालमा डेल्टाको लहरले दैनिक २४६ संक्रमितसम्मको मृत्यु भएको थियो ।

दक्षिण अफ्रिकाले ओमिक्रोन भेरिएन्ट पत्ता लगाएसँगै यो तीव्रताका साथ फैलिने पुष्टि भएको थियो । विश्व स्वास्थ संगठनले आफ्नो जानकारी आएको दुई दिनमा नै यसलाई "भेरिएन्ट अफ कन्सर्न" अन्तर्गत राखेको थियो । यो निर्णयसँगै विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकी राष्ट्रहरूसँगको हवाइ सम्बन्ध विच्छेद गरेका थिए । नेपालले पनि यस्तै कदम चलेको थियो । तर यी कदमहरुका बाबजुत ओमिक्रोन भेरिएन्ट भने विस्तारै विश्वभर देखिन थाल्यो । नेपालमा पनि आजको मितिसम्म तीनजनामा ओमिक्रोन भेरिएन्टको संक्रमण पुष्टि भइसकेको छ ।

केही समय अगाडिसम्म ओमिक्रोन भेरिएन्टको बारेमा जानकारी लगभग शून्य नै थियो । विश्व स्वास्थ संगठनले यस भेरिएन्टले अन्य "भेरिएन्ट अफ कन्सर्न" पुनः संक्रमण गर्नसक्ने सम्भावना बढी रहेको जानकारी दिएको थियो । यो भेरिएन्टमा अत्यधिक म्युटेसन हुँदा प्रश्न, जिज्ञासा तथा केही मिथ्याहरु फैलन सुरु भइसकेको थियो । विगतमा चीनमा देखिएको कोरोनाभाइरसले युरोपमा (विशेषत: इटाली), बेलायतमा अल्फा भेरिएन्ट, बेटा भेरिएन्टले दक्षिण अफ्रिकामा र नेपाल-भारतमा डेल्टाले उथल-पुथल नै ल्याएकोले गर्दा पनि नयाँ भेरिएन्ट प्रति सबैको चासो हुनु स्वाभाविक नै हो ।

तर, अहिलेको अवस्था त्यो बेलाकोभन्दा फरक छ । कोरोना प्रभावित देशहरुले कम्तिमा दुई वा सोभन्दा बढी लहरहरुको अनुभव लिइसकेका छन् भने महत्त्वपूर्ण भनेको खोपले तीव्रता पाउँदै गर्दा पुरानै अवस्थाको स्थिति आउने वा हुबहु हुने सम्भावना धेरै कम देखिन्छ । ठूलो संख्यामा मानिसहरु प्राकृतिक रुपमामा (प्रयोगशालामा पुष्टि भएर वा नभएर) संक्रमित समेत भैसकेका पनि छन् ।

ओमिक्रोन भेरिएन्टको पत्ता लागेको दक्षिण अफ्रिकामा कार्यरत चिकित्सकहरुको भनाइमा ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएकाहरुमा देखिएका लक्षणहरु अति सामान्य थियो । अर्थात् टाउको दुख्ने, थकित हुने, जिउ दुख्ने र डेल्टा भेरिएन्टमा जस्तो अक्सिजनको स्तर/मात्रा अचानक खस्किने समस्या थिएन । दक्षिण अफ्रिकाको गौटेंग प्रान्तको एक अस्पतालको तथ्यांक अनुसार त्यहाँ अरु मेडिकल वा शल्यक्रिया गर्ने उद्देश्यले भर्ना भएकामा नियमित कोरोना परिक्षण गर्दा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको थियो ।

कोभिड भएकामध्येमा १५ प्रतिशतले मात्र खोप लगाएका थिए । कोभिड निमोनिया देखिएकामध्ये अधिकांशले (९० प्रतिशत) खोप नलगाएका थिए भने बाँकी १० प्रतिशतमा पनि फोक्सोको दीर्घ रोगीको संख्या उल्लेख्य थियो । त्यस्तै, हाल बेलायत तथा अमेरिकामा पनि ओमिक्रोन भेरिएन्टका कारण मृत्यु हुने अधिकांश व्यक्तिले खोप नलगाएको देखिएको छ । यी जानकारीले खोप नलगाएकामा ओमिक्रोन भेरिएन्टको जोखिम उच्च हुने संकेत दिएको छ । यससँगै आफ्नो उपस्थिति अझै देखाइरहेको डेल्टा भेरिएन्टको जोखिम पनि खोप नलगाएकाहरुमा उत्तिकै हुन्छ ।

हालै इम्पेरियल कलेज लन्डनले गरेको बृहत अनुसन्धानमा ओमिक्रोन भेरिएन्टको संक्रमणका कारण डेल्टाको तुलनामा कम अस्पताल जानुपर्ने अवस्था आउने देखिएको थियो । ओमिक्रोन भेरिएन्टका बारेमा प्रकाशित यो नतिजालाई पक्कै पनि सकारात्मक संकेतको रुपमा लिनु पर्दछ । यस्तै, खाले अनुसन्धानका नतिजाहरु दक्षिण अफ्रीकाबाट पनि आइरहेका छन् । केही हप्ता अगाडि नर्वेमा भएको एक कार्यक्रममा त्यहाँ सहभागीहरुबीच ओमिक्रोन भेरिएन्टको कोरोना भाइरस फैलिएको थियो । ती सहभागीहरु लगभग सबैले (९६ प्रतिशत)ले पूर्ण मात्रा खोप लगाएका थिए, भने कसैलाई पनि अस्पताल भर्ना हुनु परेन । उनीहरुमा लक्षणहरु सामान्य मात्र देखिएको थियो ।

अन्तमा, ओमिक्रोन भेरिएन्ट सम्बन्धी प्रारम्भिक अनुसन्धानहरुलाई सरसर्ती विश्लेषण गर्दा डेल्टा भेरिएन्टभन्दा उग्र वा कडा भएको देखिँदैन । ओमिक्रोन भेरिएन्ट नरम देखिनुको मुख्य कारणहरुमा खोप लिनु/खोपले निरन्तरता पाउनु तथा विगतमा संक्रमण भैसकेकोले नै देखिन्छ। इम्पेरियल कलेज लन्डनको अनुसन्धानले पहिलोपटक भन्दा पुनः संक्रमितमा अस्पताल भर्ना हुने सम्भावनामा ६० प्रतिशतले कमी हुने देखाएको थियो ।

खोपले पूर्ण रुपमा कामै नगर्ने होकी की भन्ने जिज्ञासालाई पनि सम्बोधन गरेको देखिन्छ यद्यपि प्रभावकारिता भने केही खस्किन सक्ने अनुसन्धानहरुले देखाएका छन् । अझैपनि ओमिक्रोन भेरिएन्ट बारेमा थप अनुसन्धानका नतिजाहरु आउने क्रम जारी नै छ । आजको मितिसम्म लक्षित जनसंख्याको (१८ वर्ष वा सोभन्दा माथिका) ५०% ले मात्र खोप लगाएको/लगाउन पाएकाले जनस्वास्थका मापदण्डहरुलाई भने निरन्तरता दिनुपर्दछ।

प्रकाशित : पुस ११, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना गाउँघरमा

दोस्रो लहरले भौगोलिक रुपमा विकट गाउँ पुगेर प्रभावित पारेको देखिन्छ । कोरोनाले स्वास्थ्यमा जटिल अवस्था सिर्जना हुँदा उपचारको लागि सहर ल्याउनु परेको र कतिपयको ल्याउने क्रममा ढिलो हुँदा मृत्यु समेत भइरहेको खबरहरु पनि आइरहेका छन् । अर्थात् कोरोना गाउँबस्तीहरुमा प्रवेश गरी आफ्नो क्षमता प्रदर्शन गर्न सुरु गरिसकेको प्रस्टै देखिन्छ ।
शेरबहादुर पुन

केही दिन अगाडि नेपालको अति दुर्गम गाउँबाट एक कोरोना संक्रमितले आफू आइसोलेसनमा बसिरहेको र के कुरामा ध्यान दिनुपर्ला भनेर जिज्ञासा राखेका थिए । उनले सो गाउँमा मिल्दोजुल्दो लक्षणहरु भएका धेरै भएका जानकारी दिएका थिए ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकालाई घरमा पुगेर परामर्श दिँदै बागलुङका स्वास्थ्यकर्मी । आवश्यक परेमा घरघरमा पीसीआर गर्ने योजना बनाएको उनीहरूले बताए । तस्बिर : प्रकाश/कान्तिपुर

धादिङको दुर्गम ठाउँबाट एक अर्को कोरोना संक्रमित खोकी, ज्वरोको अलावा श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं आइपुगेका थिए । सो बिरामीका आफन्तले कोरोना भाइरस गाउँमा देखेर आफूहरु चकित भएको बताएका थिए । कोरोना गाउँसम्म आउँदैन भन्ने उनीहरुलाई लागेको थियो । त्यो सुनेर म आश्चर्यमा परेको थिएँ । एक अर्को दुर्गम गाउँको कोरोना संक्रमितले आफू र अरु थप केही साथीहरुमा पनि कोरोनाको संक्रमण देखा परेको र आफूलाई स्वास्थ्य समस्या देखिएकोले परामर्शको लागि सम्पर्क गरेको बताएका थिए ।

हाल हाम्रो ध्यान र लडाइँ भाइरसले सहर केन्द्रित बनाइदिँदा आगामी दिनहरुमा गाउँघरलाई अर्को तारो बनाउन लागेको प्रस्टै देखिन्छ । यो लेख तयार पार्दै गर्दा नेपालका विभिन्न गाउँघरहरुमा कोरोनाले प्रभावित पार्दै गएको तथ्यांक आउनेक्रम सुरु भइसकेको छ ।

केही दिन अगाडि मैले जुममार्फत एक दुर्गम गाउँमा सर्वसाधारण तथा होम आइसोलेसनमा रहेका संक्रमितसँग छलफल गर्ने अवसर पाएको थिएँ । कोरोनाको अवस्था (नयाँ कोरोना भेरियन्टको बारेमा), जिज्ञासाहरुको समाधान र आगामी दिनमा गर्नुपर्ने सतर्कता बारेमा अन्तरक्रिया भएको थियो । पहिलो लहरमा जुममार्फत सहरको बस्तीहरुलाई मात्र समेट्न सकेको थिएँ । यो पटक भने गाउँमा पनि सम्पर्क गर्न सकिरहेको छु । दोस्रो लहरले भौगोलिक रुपमा विकट गाउँ पुगेर प्रभावित पारेको देखिन्छ । कोरोनाले स्वास्थ्यमा जटिल अवस्था सिर्जना हुँदा उपचारको लागि सहर ल्याउनु परेको र कतिपयको ल्याउने क्रममा ढिलो हुँदा मृत्युसमेत भइरहेको खबरहरु पनि आइरहेका छन् । अर्थात् कोरोना गाउँबस्तीहरुमा प्रवेश गरी आफ्नो क्षमता प्रदर्शन गर्न सुरु गरिसकेको प्रस्टै देखिन्छ ।

पहिलो लहरमा स्थानीय सरकारहरु सक्रिय देखिन्थे। समाचारहरुमा भनिएअनुसार त्यहाँ अस्थायी क्वारेन्टिन/आइसोलेसन बनाउने तथा शंकास्पद/निदान भएका संक्रमितलाई राख्न गाउँहरुबीच होडबाजी नै चलेको थियो। तर अहिले अन्तरक्रियामा त्यहाँ शंकास्पद वा गाउँ बाहिरबाट आहेकालाई मात्र होइन संक्रमण प्रमाणित भइसकेकाहरु पनि होम आइसोलेसन नबसी गाउँ घुम्ने, साथीभाइहरु रमाइलो गर्दै हिँड्ने गरेको बताइएको थियो । यसले पहिलो लहरमा त्यहाँ अस्थायी क्वारेन्टिन/ आइसोलेसनहरु स्थापना गर्नमा चासो/सक्रियता लिएको भनिए पनि यसको महत्व बुझाउनबाट भने चुकेको रहेछ भन्ने बुझिन्छ ।

कोरोना भाइरस आफैंमा अघिल्लो भेरियन्टभन्दा तीव्र गतिमा फैलने (भेरियन्ट अफ कन्सर्न) भनेर वैज्ञानिकहरुले प्रमाणित गरिसकेको अवस्थामा आइसोलेसन नबस्ने र जनस्वास्थको मापदण्ड पनि पालना नगर्दा गाउँहरु नै प्रभावित भइरहेका छन् । दोश्रो लहरमा परिवार नै संक्रमित हुने ट्रेन्ड देखिरहँदा गाउँहरुमा पनि परिवार नै संक्रमित हुनसक्ने / भएका पनि देखिन्छन जसमा स्थानीय सरकारले सहयोग तथा मनोबल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने हुन्छ ।

कोरोनाका लक्षणहरु मिल्दोजुल्दो देखिए कोरोना पुष्टि गर्न प्रयोगशाला परीक्षण गर्नुपर्ने आवश्यक हुन्छ । लेखकसँग सम्पर्कमा आएका कतिपय कोरोना संक्रमितले गाउँघरतिर कोरानाको टेस्ट सहज नभएको भनेका थिए । यस्तो अवस्थामा यदि ती शंकास्पद कोरोनाका बिरामी जटिल अवस्थामा पुगेर अस्पताल पुगे तत्काल भर्ना हुनबाट बन्चित हुनसक्नेछ । किनभने कोभिड अस्पतालले भर्ना गर्नु अगाडि कोरोना प्रमाणित भएको प्रयोगशाला परीक्षणको रिपोर्ट माग्नेछ । यस्तो समस्या काठमाडौँमा प्रशस्त देखिने गरेको थियो । बिरामीमा श्वासप्रश्वास समस्या देखिनुमा कोरोना नभएर अरु नै कारण रहेछ र कोभिड अस्पतालमा भएका बिरामीसँग राखेर उपचार गर्दा अस्पतालमा नै कोरोना सर्न गए झन् अर्को समस्या थपिने भएकोले यस्तो गर्नु परेको हो ।

पीसीआर परीक्षण गर्न विभिन्न कारणहरुले सहज नहुन सक्दछ । त्यस्तो अवस्थामा एन्टिजेन परीक्षणको सहायता लिन सकिन्छ । एन्टिजेनको किट कुनै पनि ठाउँमा पुर्‍याउन सहज हुने र तुरुन्तै नतिजा पाउन सकिने छ । र महत्वपूर्ण कुरा भनेको यसको लागि विशेष तालिम प्राप्त जनशक्तिको आवश्यकता पनि पर्दैन। स्वयंसेवक/सेविकाहरुलाई सामान्य तालिम दिए तत्काल कोरोना संक्रमण भएको/नभएको थाहा पाउन सकिने छ।

नेपालले पहिलो लहरमा गाउँघरमा सहरको तुलनामा त्यति जटिल रुपमा कोरोनाको संक्रमण सामना गर्नु परेको थिएन । तसर्थ यो पटक गाउँमा कोरोना फैलँदा देखिने समस्याहरुको अनुभव पहिलो हुनेछ । यो पक्कै सहज हुने छैन ।

हालसम्म सहरमा रहेका सक्रिय संक्रमितहरुलाई परामर्श दिँदै गर्दा विशेषत: शरीरमा अक्सिजनको स्तर हेर्न र थप शंका लागे छातिको एक्सरे वा आवश्यकता हेरी सिटी स्क्यान गर्न सुझाव दिदै आइरहेको छु । बिरामीको अवस्था हेरेर औषधिको समेत सुझाव दिँदै आइरहेको छु । यो प्राय चिकित्सकहरुले गरिरहेका पनि छन् । तर गाउँघरहरुमा यी सबै कुराको सहज पहुँच नहुँदा स्वास्थकर्मीहरुलाई संक्रमितको अवस्थाको बारेमा परामर्श दिन सहज भने हुने छैन ।

दुर्गममा रहेको एक संक्रमितलाई परामर्श दिने क्रममा शरीरमा अक्सिजनको स्तर सोध्दा उनले पल्स अक्सिमीटर नभएको, र एक्सरे गर्न सदरमुकाम नै जानुपर्ने बताएका थिए । त्यस्तै, नजिकै औषधि पसलहरु नहुने वा भए पनि स्वास्थकर्मीहरुले भनेका औषधिहरु नपाउने भनेका थिए । यी समस्याहरु सहरमा देखिने समस्याहरुभन्दा भिन्न थिए । यसले टेलिमेडिसिनको प्रभावकारितामा पनि केहि हदसम्म चुनौती दिनसक्छ ।

अन्तमा, हाल कोरोना भाइरस गाउँघरतिर अर्थात् सहर बाहिर फैलिएर तथ्यांक उकालो लाग्दै गर्दा हालसम्म देखिएको/देखिँदै आइरहेको भन्दा फरक चुनौतीहरुको सामना गर्नुपर्ने अवस्था आउनसक्ने देखिन्छ । प्रगोशाला परीक्षण, शरीरमा अक्सिजनको अवस्था बिना लक्षणहरुको आधारमा मात्र रोगको तीब्रताको अनुमान गर्न सहज हुने छैन र फलस्वरूप संक्रमितको स्वास्थमा अचानक जटिलता अवस्थामा जान सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

अहिले गाउँघरमा कोरोना भाइरसको बारेमा बुझ्ने र बुझाउने अभियानको पनि ठूलो अभाव/खाँचो देखिन्छ । यो अभियानलाई महाअभियानको रुपमा लैजानु पर्दछ किनभने कोरोनाको यो दोस्रो लहर अन्तिम लहर हुनेछ भनेर ढुक्क हुने अवस्था छैन ।

संयोजक, क्लिनिकल रिसर्च युनिट
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

प्रकाशित : जेष्ठ १४, २०७८ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×