कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जब चुत्रोले वनस्पति–अध्येताहरूलाई झुक्यायो

लन्डनको किउस्थित रोयल बोटानिक गार्डेन्सबाट प्रकाशित ‘प्लान्ट्स अफ द वर्ल्ड’ अनलाइन पोर्टलमा पनि चुत्रोको उक्त प्रजाति बरबेरिज कर्णालिएन्सिस नेपालमा मात्र पाइने उल्लेख छ ।
कमल मादेन

मंसिर तेस्रो साता मैले प्राध्यापक सुरेशकुमार घिमिरेबाट ‘फ्लोरा अफ कैलाश सेक्रेड ल्यान्डस्केप नेपाल : एन एन्नोटेटेड चेकलिस्ट, भोल्युम वान’ शीर्षक पुस्तक पाएँ । घिमिरेसहित चन्द्रकान्त सुवेदी, शान्त बुढामगर, मीनु अधिकारी र तीर्थराज पाण्डेयले लेखेको उक्त पुस्तक त्रिभुवन विश्वविद्यालय अन्तर्गत रिकास्टबाट अप्रिल २०२१ मा प्रकाशन भएको हो ।

जब चुत्रोले वनस्पति–अध्येताहरूलाई झुक्यायो

पुस्तकमा पश्चिम नेपाल (हुम्ला, दार्चुला, बैतडी, बझाङसहित डोटी र डडेलधुरा) का वनस्पतिबारे लेखिएको रहेछ । त्यस क्षेत्रका वनस्पतिबारे यसअघि यस्तो पुस्तक निस्केको थिएन । ती जिल्लाबाट कुनकुन प्रजाति कहाँकहाँबाट कसले कहिले संकलन गरे र तिनका नमुना नेपालसहित विश्वका कुनकुन संग्रहालयमा छन् भन्ने जानकारीका अतिरिक्त पुस्तकमा ती वनस्पतिको उपयोगिताबारे समेत उल्लेख छ । उक्त पुस्तक यति महत्त्वपूर्ण हुँदाहुँदै पनि चुत्रो अन्तर्गत नेपालको रैथाने भनी लेखिएको एउटा जानकारी पंक्तिकारलाई गलत लाग्यो, जसले नमीठो अनुभूति गरायो ।

मैले बुझेसम्म, सन् २०१३ सम्म नेपालमा चुत्रोका तीन प्रजाति रैथाने थिए । तर, २०१४ मै तीमध्ये एक प्रजाति बरबेरिज कर्णालिएन्सिस नेपालको रैथाने सूचीबाट हट्यो । उक्त वनस्पति नेपालबाहिर पनि फेला परेकाले हटाइएको जानकारी प्रकाशित भयो । त्यही चुत्रो प्राध्यापक घिमिरे लगायतको पुस्तकमा नेपालको रैथाने भनेर पाएपछि मैले त्यसका सम्पादक रामप्रसाद चौधरीसँग इमेलमा यसबारे चर्चा गरें । लगत्तै, चौधरी र घिमिरेबीच वार्तालाप भएछ । त्यसपछि तुरुन्तै घिमिरेसँग मेरो फोनवार्ता भयो । चुत्रोको त्यो प्रजातिलाई आफ्नो पुस्तकमा रैथाने भन्नुको कारणबारे उहाँको विश्लेषण मलाई चित्त बुझ्यो । मै गलत रहेछु । साँच्चै, त्यो त नेपालीको सार्वभौमसत्तासँग जोडिएको वनस्पति पो रहेछ ।

चुत्रोका विविधता

पाल्पाका मेरा मित्र भास्कर अधिकारीले युनिभर्सिटी अफ एडिनबरा/रोयल बोटानिक गार्डेन एडिनबराबाट सन् २०१० मा पीएचडी गरे, जसको अनुसन्धानको शीर्षक थियो— ‘सिस्टम्याटिक्स एन्ड फाइलोजिओग्राफिक स्टडिज अफ बरबेरिज इन द नेपाल हिमालय’ थियो । अर्थात्, नेपालमा चुत्रो भनिने वनस्पति जाति अन्तर्गतका प्रजातिको भौगोलिक वितरण । तर, ‘फाइलोजिओग्राफी’ को अर्थलाई यतिमै सीमित गर्दा अधुरो हुन्छ । कुनै पनि समूहबीच विगत र वर्तमान भौगोलिक वितरणसहित आनुवंशिक सम्बन्ध बताउन अचेल अनुसन्धानात्मक अभिलेखमा ‘फाइलोजिओग्राफिक’ शब्द प्रयोग गर्ने गरिन्छ । त्यसैले अधिकारीको अध्ययनलाई नेपालमा पाइने चुत्रोका विभिन्न प्रजाति पहिले कहाँकहाँ थिए, अहिले कहाँकहाँ छन् र तिनीहरूबीच केकति सम्बन्ध छ भन्नेबारे अनुसन्धानका रूपमा बुझ्नुपर्छ ।

अधिकारीले चुत्रोबारे अनुसन्धान गर्नुअघि नेपालमा चुत्रो प्रजातिको संख्या भद्रगोल थियो । सन् १९६१ मा प्रकाशित एक जानकारीमा नेपालमा चुत्रोका २७ प्रजाति १६ भेराइटी छन् भनी लेखिएको थियो भने सन् १९७९ मा प्रकाशित अर्को जानकारीमा ३० प्रजाति र १२ भेराइटी रहेको दाबी गरिएको थियो । यस्तै, सन् २००० र २००१ मा प्रकाशित पुस्तकहरूमा क्रमशः ३० प्रजाति र १३ भेराइटी तथा ३६ प्रजाति र २० भेराइटी पाइने लेखिएको थियो । यसरी नेपालका वनस्पतिहरूको अभिलेख तयार गर्नेहरूका निम्ति बडो गन्जागोलको अवस्था थियो । प्रजाति संख्यामा निकै भिन्नता पाएपछि अधिकारीले त्यसलाई निकास दिन फाइलोजिओग्राफिक अध्ययन गरेको हुनुपर्छ ।

अधिकारीले नेपालमा संकलित चुत्रोका करिब ७ सय हर्बेरियम नमुना अध्ययन गरे । उनले यस क्रममा नेपालका दुईसहित विश्वका जम्मा एघार वटा संग्रहालयमा रहेका चुत्रोका नमुनाहरूको अध्ययन गरे । नेपालका विभिन्न भागमा स्थलगत अध्ययन–अनुसन्धान गरी नमुना संकलन पनि गरे । अनुसन्धानको शीर्षकमा ‘फाइलोजिओग्राफिक’ भए पनि उनले चुत्रोको मूलतः फूलका विभिन्न भाग, तिनका आन्तरिक संरचना, जैविक भूगोल अध्ययन गरे । फूलका ससाना भागको तुलनात्मक अध्ययन गरे । तिनीहरूबीचको भिन्नता पत्ता लगाए । पातको अध्ययन पनि निकै राम्ररी गरे । उनको खास विशेषता भनेको, उनी चित्र बनाएर अध्ययन गर्ने गर्छन् । उनका चित्रहरू लगभग व्यावसायिक चित्रकारकै जस्ता हुने गर्छन् । यसरी अध्ययन गर्दा उनले एकै प्रजातिलाई निकैवटा नाम दिइएको पाए । अन्ततः उनले नेपालमा चुत्रोका जम्मा २१ प्रजाति मात्र छन् भनी पुष्टि गरिदिए ।

बरबेरिज कर्णालिएन्सिस

भास्कर अधिकारीले नेपालबाट सूचीकृत गरेका चुत्रोका २१ मध्ये २ प्रजाति विश्वकै निम्ति नयाँ हुन् । तीमध्ये एउटा प्रजाति हो— बरबेरिज कर्णालिएन्सिस । उनले उक्त प्रजाति विभिन्न अध्येताद्वारा हुम्ला, जुम्ला, मुगु, डोल्पा, रुकुममा संकलन भएको जनाएका छन् । यसका नमुना डोल्पाको कोलागाउँ र रुकुमबाट क्रमशः सन् १९५२ र १९६९ मा संकलन भएका थिए । ती नमुना अचेल लन्डनको नेचुरल हिस्ट्री म्युजियममा संगृहीत छन् ।

तर, अधिकारीको अनुसन्धान अभिलेखमा माथि उल्लिखित संग्रहालयमा केके नाममा पहिचान गरिएका थिए वा पहिचान नै नगरिएको हो कि भन्ने खुल्दैन । त्यही जानकारी भास्कर अधिकारी, सीए पेन्ड्री, आरटी पेनिङ्टन र आरआई मिल्नेको सन् २०१२ मा प्रकाशित ‘अ रिभिजन अफ बरबेरिज इन नेपाल’ शीर्षक लेखमा पनि उल्लेख छ । ‘फ्लोरा अफ कैलाश सेक्रेड ल्यान्डस्केप नेपाल ः एन एन्नोटेटेड चेकलिस्ट, भोल्युम वान’ पुस्तकमा यो प्रजाति प्राध्यापक सुरेशकुमार घिमिरे र रामप्रसाद चौधरीको समूहले हुम्लाको सिमकोटनजिक सन् २०१० मा संकलन गरेको थियो, जसको नमुना त्रिवि केन्द्रीय वनस्पति विभाग, कीर्तिपुरमा संग्रह गरिएको छ ।

दुई मिटरसम्म अग्लो हुने बरबेरिज कर्णालेएन्सिस अप्रिलदेखि जुन महिनासम्म फुल्छ, फलचाहिँ अक्टोबरभरि रहन्छ । यो प्रजाति पश्चिम नेपालमा समुद्री सतहबाट १८००–३६०० मिटर उचाइका ठाउँमा बाटाछेउछाउ र जंगलको किनारातिर उल्लेख्य मात्रामा पाइने जनाइएको छ । ‘फ्लोरा अफ कैलाश सेक्रेड ल्यान्डस्केप नेपाल : एन एन्नोटेटेड चेकलिस्ट, भोल्युम वान’ पुस्तकमा यो चुत्रोको पनि अरू चुत्रोको जस्तै फल काँचै खाने गरिएको लेखिएको छ । यस्तै, यसको बोक्रा डाइरिया र आँखाको समस्या हटाउन प्रयोग हुने जनाइएको छ । तर, कसरी भन्ने छैन । यो वनस्पति भारतमा पाइन्छ भन्ने जानकारी सन् २०१४ मा ‘बायोडाइभर्सिटी : रिसर्च एन्ड कन्जरभेसन’ जर्नलमा प्रकाशित भयो, उमेशकुमार एल. तिवारी, गोपाल सिंह रावत र भूपेन्द्रसिंह अधिकारीको ‘बरबेरिज कर्णालिएन्सिस : अ न्यु एडिसन टु द फ्लोरा अफ इन्डिया’ शीर्षक लेखमा । त्यसउप्रान्त यो प्रजाति नेपालमा मात्र होइन, भारतमा पनि पाइन्छ भन्ने खुलासा भयो ।

रैथाने किन ?

बरबेरिज कर्णालिएन्सिस भारतमा पनि भेटियो भनिएपछि नेपालको रैथाने मानिरहने कुरै भएन । र, त्यही लेखका आधारमा नेपाल सरकारको वनस्पति विभागले सन् २०१६–२०१९ अवधिमा प्रकाशन गरेको एउटा जर्नल र तीन पुस्तकमा बरबेरिज कर्णालिएन्सिसलाई नेपालको रैथाने सूचीबाट हटायो ।

यसै गरी, केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, मोहनदेव जोशी, सुवास खत्री, गंगादत्त भट्ट र रीता क्षेत्रीको ‘इन्डेमिक फ्लावरिङ प्लान्ट्स अफ नेपाल : स्टेटस एन्ड डिस्ट्रिब्युसन’ शीर्षक लेखमा पनि उक्त प्रजाति समावेश छैन । उक्त लेख ‘इन्टेग्रेटिङ बाइलोजिकल रिसोर्सेस फर प्रोस्पेरिटी ः अ प्रोसिडिङ अफ द नेसनल कन्फरेन्स, विराटनर, फेब्रुअरी ६–७, २०२०’ (अप्रिल २०२१) शीर्षक पुस्तकमा प्रकाशित छ । यो पुस्तक बोटानिकल सोसाइटी अफ नेपाल (काठमाडौं), नेपाल बाइलोजिक सोसाइटी (विराटनगर) र डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्सेस (काठमाडौं) ले संयुक्त रूपमा प्रकाशन गरेका हुन् । नेपालका सबैजसो वनस्पति अध्येताहरू माथि उल्लिखित ती संस्थामा आबद्ध छन् । यिनै कारण, नेपालका रैथाने वनस्पतिका जानकारहरू बरबेरिज कर्णालिएन्सिस नेपालको रैथाने होइन भन्ने बुझाइमा थिए/थियौं ।

तर, ‘फ्लोरा अफ कैलाश सेक्रेड ल्यान्डस्केप नेपाल : एन एन्नोटेटेड चेकलिस्ट, भोल्युम वान’ पुस्तकमा बरबेरिज कर्णालिएन्सिस बकाइदा नेपालको रैथाने भएको लेखिएको छ । प्राध्यापक घिमिरेका अनुसार, यसरी किन लेखियो भने उक्त चुत्रो भारतको जुन ठाउँबाट संकलन गरियो भनिएको छ, त्यो ठाउँ नेपालमै पर्छ ।

त्यो कुरा लेखमा प्रस्तुत नक्साबाट पुष्टि हुँदो रहेछ । हामीलाई थाहा छ, नेपाल सरकारले २०७७ जेठ ७ मा नेपालको नयाँ चुच्चे नक्सा जारी गर्‍यो । त्यसबाट स्पष्ट हुन्छ, भारतमा पनि बरबेरिज कर्णालिएन्सिस भेटियो भनेर प्रकाशित लेखका निम्ति नमुना संकलन गरिएको ठाउँ नेपालको सिमानाभित्रै पर्छ । यसकारण उक्त वनस्पति नेपालको रैथाने हो । अर्को कुरा, लन्डनको किउस्थित रोयल बोटानिक गार्डेन्सबाट प्रकाशित ‘प्लान्ट्स अफ द वर्ल्ड’ अनलाइन पोर्टलमा पनि चुत्रोको उक्त प्रजाति नेपालमा मात्र पाइने उल्लेख छ ।

प्रकाशित : पुस ९, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?