कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाडोमा संक्रमण

अहिले ठूला दल महाधिवेशनमा व्यस्त छन् । कोभिड महामारी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन, त्यसमाथि ओमिक्रोन भेरिएन्ट पनि फैलँदै छ, यस्तोमा हजारौं मानिस जम्मा भएर गरिने कार्यक्रमले संक्रमणको जोखिम बढाएको छ । संक्रमणबाट जोगिँदै यस्तो चिसोमा स्वास्थ्यको उत्तिकै ख्याल गर्नुपर्छ ।

जाडोमा संक्रमण

स्वास्थ्यको हेरचाह गर्ने स्वाभाविक क्रिया हो— हिँडाइ । चाहे बालबालिका होऊन् वा किशोर वा वृद्ध पुस्ता, सबैलाई हिँडाइले फाइदा पुर्‍याउँछ । यसका लागि कुनै खर्च, तालिम तथा दक्षता आवश्यक पर्दैन । हिँड्नु हृदय तथा श्वास–प्रश्वासका बिरामीका लागि पनि उत्तिकै राम्रो हुन्छ । हिँड्नका लागि जाँगर, चेतना, मौसमअनुसारको पोसाक, आरामदायी जुत्ता तथा स्वच्छ वातावरण चाहिन्छ ।

हिँडाइले शारीरिक र मानसिक तनाव घटाउँछ । पिठ्यूँ र घाँटीका मांसपेशीलाई चाहिने अभ्यास पुर्‍याइदिन्छ । रक्तसञ्चारमा वृद्धि गरी पाचन प्रणाली र मुटु तथा मृगौलाको शक्ति पनि बढाउँछ । हिँडाइले मांसपेशीलाई क्रियाशील बनाई मानसिक तनाव घटाउँछ, जसले गर्दा निद्रा राम्ररी लाग्छ । दैनिक हिँडाइले कोषिकाहरूको रोगसँग लड्ने शक्ति बढाउँछ । स्मरणशक्ति पनि बढ्छ । विभिन्न अध्ययनले दैनिक ७ देखि ८ हजार पाइला हिँडे आयु लम्बिने सम्भावना पनि प्रबल हुने देखाएका छन् । यस्तो फाइदाजनक बानी सबैले आत्मसात् गर्नुपर्छ ।

चिसो बढिरहेको छ, गर्मीमा औषधिले नियन्त्रणमा ल्याउने उच्च रक्तचाप र मुटुरोग जाडोमा नियन्त्रण हुँदैन । चिसोले मधुमेह, मोटोपना, श्वास–प्रश्वास समस्या भएकाहरूलाई झनै असर गर्छ । चिसोले रगत बाक्लो बनाउँछ, पातला रक्तनली साँघुरिन्छन्, यसले रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । त्यसैले पनि हिँडाइ आवश्यक हुन्छ ।

चिसो छालाका लागि पनि अनुकूल हुँदैन । जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धवृद्धासम्ममा छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, सुक्खा तथा फुस्रो हुने, चाउरी पर्नेजस्ता समस्या देखिन थाल्छन् । थोरै मात्र चनाखो भए यस्ता समस्याबाट सहजै छुटकारा पाइन्छ । जानकारीको अभाव तथा लापरबाहीले गर्दा छालाका समस्या बढिरहेका छन् । शरीरको तापक्रम ३२ डिग्री सेल्सियसभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बन डाइअक्साइडको मात्रामा वृद्धि हुन्छ, जसका कारण शरीर काम्नुका साटो मांसपेशी कडा हुन्छ, निदाउँछ र श्वास–प्रश्वास घट्दै जान्छ । शरीरको तापक्रम २६ डिग्री सेल्सियसभन्दा कम हुँदा, बिरामी बेहोस हुन्छ, शरीर सुन्निन्छ, आँखाका नानी चल्दैनन् । त्यसैले चिसोबाट बच्नका लागि हामी सतर्क हुनैपर्छ । चिसो मौसममा नाक खिरखिराउने, आँसु बगिरहने, सुक्खा खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने हुन्छ । त्यस्तै थुक निल्न वा पानी पिउन पनि गाह्रो हुन सक्छ, थकानको अनुभव हुन्छ, टाउको भारी हुन्छ । ज्वरो आउन सक्छ, जीउ दुख्छ, कान बन्द हुन्छ ।

ओमिक्रोनको त्रास बढिरहेको बेला, यस्तो लक्षण देख्दा डर पनि लाग्न सक्छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको पहिचान हुनुभन्दा अघि नै यो फैलिसकेको अनुमान गरेको थियो । विभिन्न अध्ययनले डेल्टा भेरिएन्ट फैलन लगभग सय दिन लागेको थियो भन्ने देखाउँछ, तर ओमिक्रोन दुई सातामै फैलियो । यसको त्रासका कारण थुप्रै देशले अन्तर्राष्ट्रिय सीमा बन्द गरिसके, यदि यसको जोखिमको पहिचान गरी पूर्वतयारीमा नलाग्ने हो भने फेरि लकडाउनको सम्भावना बढ्दै छ ।

सरकारले मात्र होइन नागरिकस्तरबाट पनि यसको तयारी आवश्यक छ, त्यसका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु नै एक मात्र विकल्प हो । मास्क नियमित लगाउनुपर्‍यो, भीडभाड गर्नु भएन, साबुन–पानीले पटकपटक धुने गर्नुपर्छ । त्यस्तै पोषणयुक्त र सन्तुलित खाना तथा तातो र झोलयुक्त खाद्य पदार्थ खानुपर्छ । मौसमी फलफूल र सागसब्जी प्रशस्त खानुपर्छ । बाहिर वातावरण प्रदूषित छ भने घरभित्रै व्यायाम गर्नुपर्छ । बिहानको हिँडाइ पनि वातावरण तातेपछि ९–१० बजेतिर गर्नुपर्छ । त्यस्तै जाडोबाट बच्ने निहुँमा मट्टीतेल तथा ग्यासयुक्त हिटर–कोइला बाल्ने गर्दा एकातिर कोठाको अक्सिजन आगोले लिन्छ, अर्कातिर कार्बन मोनोअक्साइडजस्ता विषालु ग्यास उत्पादन हुन्छ, जसले अचेत बनाई थाहै नपाई मृत्यु पनि हुन सक्छ ।

दलहरूले महाधिवेशनका कार्यक्रमहरू गर्दा, कोभिड महामारीप्रति सचेत भएको देखिएन, अबका दिनमा बाँकी भएका कार्यक्रमहरूमा पहिलेकै कमजोरी देखिनुहुन्न । अझै खोप अभियान पूरा नभइसकेकाले भौतिक दूरी कायम गरिरहनुपर्छ । कोभिड महामारी नियन्त्रणका लागि सबै नागरिक, दल तथा सरोकारवालाहरू हरसमय सजग र सचेत हुनैपर्छ ।

बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

प्रकाशित : पुस ६, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?