२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संसारको साझा शत्रु के हो ? 

हामीले जनताको सुरक्षा भन्दै सैन्यकरणमा जुन लगानी गरिरहेका छौं, यसलाई पुर्नपरिभाषित गर्न जरुरी छ । हामीसँग जुन सैनिक छ, त्यसले हामी सबैको साझा खतरासँग कसरी लडन सक्छ ?
सोनाम वाङचुक

काठमाडौँ — पछिल्लो समय मैले इन्टरनेटमा संसारमा मानिसको मृत्युको मुख्य कारण के रहेछ भनेर खोजी गरेँ । भौतिक हिंसा २६ औं नम्बरमा थियो । जबकी मानिसको मृत्युको पहिलो, दोस्रो र तेस्रो कारण त वातावरण र हाम्रो जीवनशैलीसँग सम्बन्धित विषयहरु पो रहेछन् । कार्बन उत्सर्जन र प्रदूषण मृत्युसँग जोडिएका बिषय रहेछन् । 

संसारको साझा शत्रु के हो ? 

किन हामीले हाम्रो समस्याको समाधान गर्ने विषयमा स्तरोन्नति गरिरहेका छैनौं ? हामी अझै पनि भौतिक हिंसाकै कुरा मात्रै गरिरहेछौं । बम, बन्दुक र बारुदको मात्रै कुरा गरिरहेछौं । जबकी हाम्रो अहिलेको चुनौती भनेको त हाम्रै जीवनशैली हो । आजको चुनौती भनेको हातहतियार होइन । बरु हामीले प्रयोग गर्ने मोटरकार, हवाइजहाज, कारखानामा बन्ने कपडा र जुत्ताहरु आम विनाशको कारणहरु हुन् । किलाको किलो बम भन्दा यो खतरनाक देखिदैछ । हामीले तत्कालको मृत्यु मात्रै देखिरहेका छौं । त्यसैले मानवलाई जोगाउने उपायहरुबारे हामी अपग्रेड हुनैपर्छ ।

वर्तमानको चुनौती भनेको उत्सर्जन, जीवनशैली र प्रदूषण हो । लद्याखको हिमाल हेर्नुस, त्यहाँ हिउँ छैन । त्यहाँका हिमतालहरु हेर्नुस, सबै पग्लिरहेछन् । जसले तल्लो भेगमा पानीको अभाव हुन थालेको छ । लद्याखका जनताहरु संघर्षपूर्ण जीवन बाँचिरहेका छन् ।

हाम्रा विद्यालयहरुले कसरी जलवायु अनुकुलनसँग जुध्ने भनेर प्राथमिक तहबाटै पढाउनुपर्छ । हाम्रो संस्कृति र वातावरणलाई पुर्नपरिभाषित गर्न जरुरी छ । ठूला सहरमा बस्ने, आधुनिक जीवन बाँच्नेहरुले न्युनिकरणको सिद्धान्त पालना गर्नुपर्छ । संसारभर बस्ने मानिहसहरुले आफ्नो निजी आनीबानीमा परिवर्तन ल्याउनुपर्छ । किनकी त्यसको असर संसारभरी छ ।

हामी समस्याको पाटो हैन कि समाधानको अंग बन्नुपर्छ । हामीले म साधारण शैलीको जीवन बाँच्छु भन्ने अभियान नै सुरु गरेका छौं । त्यसमा संसारभरका मानिसहरुले योगदान गर्न सक्छन् । यो अभियानमा पैसा दिएर योगदान होइन कि, जीवनशैलीमा परिवर्तन गरेर योगदान गर्न सकिन्छ । तपाईंले दिने आर्थिक सहयोग भन्दा व्यवहारमा गर्नुभएको परिवर्तन ठूलो हुनसक्छ ।

जस्तो कि तपाईं साईकल चढन सक्नुहुन्छ । साइकलको सट्टा कतिपय ठाउँमा हिँडेरै काम चलाउन सक्नुहुन्छ । विमानको सट्टा रेल, कार्बन उत्सर्जन गर्ने मांसहारी भोजनभन्दा शाकाहारी बन्न सक्नुहुन्छ । अथवा पवित्र कामको रुपमा रुख रोप्न सक्नुहुन्छ । यी सबै वातावरणीय परिवर्तन रोक्ने असल कर्महरु हुन् ।

हामी आशा गरिरहेका छौं, संसारभरका मानिस यसमा सहभागी हुनसक्छन् । राजनीतिज्ञहरुलाई नीति निर्माण गर्न सजिलो हुन्छ । तर त्यसको कार्यन्वयन गर्न जटिल । प्रजातन्त्रमा जनता भन्दा सरकार अगाडी हिँड्न सक्दैन । जनताको सहयोग बिना नीतिहरु कार्यन्वयन हुँदैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जलवायु परिवर्तनको मुद्दामा प्रगतिशिल देखिन्छन् । कहिलेकाहीँ जनताको व्यवहार भन्दा पनि अगाडी बढेर सरकारहरु प्रगतिशिल भइदिन्छन् । जस्तो कि हालैमात्र भारतमा सरकारले एकपटक मात्र प्रयोगमा आउने प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गऱ्यो । तर सरकारले त्यसलाई कार्यन्वयनमा ल्याउन सकेन । किनकी सरकारले जनताको व्यवहारगत बाध्यताहरुलाई बुझेको थिएन । यस्ता निर्णयहरु ल्याउनुपूर्व सरकारले वस्तुगत स्थितिहरुको मूल्याकंन गर्न जरुरी थियो । तबमात्रै सरकारी निर्णयहरुलाई जनताले स्वागत गर्द व्यवहारमा लागू गर्छन् ।

लद्याखका जनताले जलवायु परिवर्तनमा कुनै ठूलो योगदान गरेका छैनन् । तर लद्याखको पुरै क्षेत्रमा सैन्य उपस्थिती छ । भारतीय सेना लद्याखदेखि अरुणाञ्चलसम्मै फैलिएको छ । चिनियाँ क्षेत्रमा पनि उस्तै सैन्य उपस्थिती छ । चिसो हिमाली क्षेत्रमा अनुमानित ५ लाख सैनिकहरुको उपस्थिती छ । सैनिकहरुले तातोमा बस्नका लागि कार्बन उत्सर्जन गरिरहेका छन् । हामीले त्यसलाई रोक्न भारतीय सैनिकहरुको सेल्टरमा सोलार हिटरको प्रयोगमा जोड दिएका थियौं । अन्यथा प्रत्येक सैनिकले २.२ लिटर फोसिल इन्धन प्रयोग गनुपर्थ्यो । यस्तै, अवस्था चिनियाँ क्षेत्रमा पनि छ । यदि हामीले प्रविधिको प्रयोग गर्न सक्यौं भने कार्वन उत्सर्जनमा कमी ल्याउन सक्छौं । यस्तो अभ्यास अन्य त्यस्तै क्षेत्रमा रहेका सैनिकहरुले पनि गर्न सक्छन् ।

जलवायु परिवर्तनका निम्ति सधैं बजेटको अभाव छ भन्ने बताइन्छ । जबकी यो हास्यास्पद तर्क हो । किनकी हामीसँग ठूलो बजेट छ । हामीले जनताको सुरक्षा भन्दै सैन्यकरणमा जुन लगानी गरिरहेका छौं, यसलाई पुर्नपरिभाषित गर्न जरुरी छ । प्रतिरक्षा र सैन्यकरण जस्ता अभ्यासलाई पुर्नपरिभाषाको खाँचो छ ।

संसारको प्रतिरक्षा बजेट कति छ ? अनुमानति २० खर्ब डलर भन्दा धेरै छ । प्रतिरक्षा तर कसको ? जनताको सुरक्षा । तर के बाट जनताको सुरक्षा ? अहिले संसारको निम्ति सबैभन्दा ठूलो खतरा के हो ? चीनका लागि भारत अथवा अमेरिकाका लागि चीन खतरा हैन । एउटा देशका निम्ति अर्को देश खतरा होइन । हामी संसारका सबैका निम्ति साझा खतरा भनेको एउटै छ, त्यो हो जलवायु परिवर्तन । त्यसैले प्रतिरक्षा भन्ने कुराको पुर्नपरिभाषाको जरुरी छ ।

प्रतिरक्षा बजेटको आधा रकम मात्रै छुट्याउने हो भने पर्याप्त हुन्छ । हामीसँग जुन सैनिक छ, त्यसले हामी सबैको साझा खतरासँग कसरी लड्न सक्छ ? के सेनाले जलवायु परिवर्तनका खतरासँग लड्न सक्छ ?

देशहरु सीमा क्षेत्रमा केही इन्च मिचियो भनेर लडिरहेछन् । जबकी एउटा सुनामी आयो भने त्यसले दुवै देशलाई हानी गर्छ । यदि हामीले जलवायु परिवर्तनका खतरासँग लडन साझेदारी गर्‍यौं भने र प्रतिरक्षा बजेटलाई त्यसमा उपयोग गर्‍यौं भने हामी सबैले फाइदा लिन सक्छौं । हामीले धर्म, परम्परा, प्रतिरक्षा, शिक्षा र फिल्म बनाउने काम सबैको पुर्नपरिभाषित गर्न जरुरी छ ।

भारतीय इन्जिनियर एवं शिक्षा सुधारक वाङचुक रोमन म्यागसेसे र रोलेक्स अर्वाड विजेता हुन । वाङचुकले १९ औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा दिएको बिशेष मन्तव्यको सम्पादित अंश ।

प्रकाशित : मंसिर २३, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?