पढाइ र गृहकार्यले थिचिँदै बालबालिका- विविधा - कान्तिपुर समाचार

पढाइ र गृहकार्यले थिचिँदै बालबालिका

पाँचै बजे उठेर विद्यालय जाने अनि बेलुकी पाँच–छ बजे घर आइपुग्ने विद्यार्थीले बिहानका तीन अतिरिक्त र दिउँसोका नियमित आठ गरी एघारवटा कक्षाका छुट्टाछुट्टै गृहकार्य गरिसक्दा नै रातको दस–एघार बज्छ ।
साधना प्रतीक्षा

एक्काइसौं शताब्दीमा पनि व्यावहारिक बन्न नसकेको हाम्रो शिक्षा पद्धतिका कारण बालबालिका एकातिर किताब–कापीको गह्रौं भारीले थिचिएका छन् भने, अर्कातिर गृहकार्यको बोझले किचिएका छन् । विशेष गरी निजी विद्यालयमा पढ्ने बालबालिका पढाइको अत्यधिक चापमा छन् ।

आफ्ना नानीहरूले विद्यालयबाट जति धेरै गृहकार्य पाउँछन्, त्यति नै उनीहरूको पढाइ राम्रो भएको ठान्ने अभिभावकका कारण पनि आजका बालबालिका पढाइको आवश्यकताभन्दा बढी बोझ थेग्न बाध्य भएका छन् । यसबाट उनीहरूको मानसिकतामा नकारात्मक असर परिरहेको छ ।पठनपाठन भनेको बालबालिकाको रुचिअनुसार स्वतःस्फूर्त रूपमा हुनुपर्छ तर हामीकहाँ यसका विपरीत विद्यालय, शिक्षक तथा अभिभावकको चाहनाअनुसार हुने गर्छ । यसबाट बालबालिकामा अन्तर्निहित प्रतिभा त कुण्ठित हुन्छ नै, उनीहरू पढाइलाई बोझ पनि ठान्न थाल्छन् ।

निजी विद्यालयहरूले पठनपाठनलाई स्वैच्छिक नभई बाध्यकारी बनाउनाले बालबालिका मात्र होइन, तिनका अभिभावक पनि पीडित छन् । यसै सन्दर्भमा एक परिचितले यसरी दुखेसो पोखेका थिए, ‘मेरी छोरीलाई बिहान अँध्यारैमा उठेर अतिरिक्त कक्षा लिन स्कुल जानुपर्छ । त्यति सबेरै उठ्न उसलाई गाह्रो हुन्छ । समयमा कक्षा पुग्न नसके सजाय पाइने डरले ऊ एक रात स्कुल पोसाक लगाएरै सुतेकी रहिछ । कसो टाई भने लगाएकी रहिनछ ! उसकी साथीकी बहिनीले टाईसमेत लगाएर सुत्दा घाँटीमा कसिएर झन्डै ज्यानै गएको रे !’ उनको भनाइ पूर्णतः यथार्थ हो वा अतिरञ्जनात्मक थियो, थाहा छैन तर पनि आफ्नो उत्कृष्टता र अनुशासनका नाममा निजी विद्यालयहरूले बनाएका नियम बालबालिकाका लागि अनावश्यक बोझ भइरहेकै छन् ।

दस कक्षा पढ्ने एक विद्यार्थीको दैनिकी नजिकैबाट नियालिरहँदा मेरो मनमा प्रश्न उब्जन्छ— ऊ मान्छे हो या कुनै स्वचालित यन्त्र ? बिहान पाँचै बजे उठेर विद्यालय जानु अनि बेलुकी पाँच–छ बजे घर आइपुग्नु ! बिहानका तीनवटा अतिरिक्त कक्षाका साथै दिउँसोका नियमित आठवटा कक्षा गरी एघारवटा कक्षाका छुट्टाछुट्टै गृहकार्य गरिसक्दा नै रातको दस–एघार बज्छ । त्यसबाहेक उसले आफूलाई कठिन लाग्ने विषयको अभ्यास कति बेला गर्ने ? आफ्नो रुचिको विषय कहिले पढ्ने ? खाना खाने समयसम्म मुस्किलले निकाल्ने उसले आराम र मनोरञ्जन कति बेला गर्ने ? आठ कक्षादेखि नै निजी विद्यालयहरूले उत्कृष्ट नतिजा प्रदर्शनका लागि अनिवार्य रूपमा बिहान अतिरिक्त कक्षा सञ्चालन गर्छन् । महिनादिन शिक्षण संस्थामा जाडो बिदा गरिने काठमाडौंमा बिदा कटौती गरी यसरी बिहान कक्षा सञ्चालन गरिनुले बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परेको देखिन्छ । सैद्धान्तिक पढाइमा मात्र आफ्नो सारा समय खर्चिनुपर्ने हुनाले अहिलेका बालबालिका जीवनका लागि आवश्यक व्यवहार र आत्मनिर्भरताबाट समेत वञ्चित हुँदै गएका छन् ।

विकसित मुलुकका विद्यालयहरूमा बालबालिकालाई सर्वप्रथम आत्मनिर्भर हुन सिकाइन्छ । उमेरसुहाउँदा ससाना काम उनीहरूलाई नै गर्न लगाइन्छ । त्यहाँ किताबलाई भन्दा व्यवहार र प्रयोगलाई महत्त्व दिइन्छ । हामीकहाँ जस्तो बालबालिकालाई गृहकार्यको भारी बोकाउँदै र किताबी ज्ञानमा व्यस्त बनाउँदै पढाइलाई बोझ ठान्ने अवस्था सृजना गरिँदैन । त्यसैले त्यहाँका बालबालिकाहरू व्यावहारिक तथा आत्मनिर्भर देखिन्छन् । निश्चित उमेरपछि उनीहरू अभिभावकको जिम्मेवारीबाट मुक्त भएर आफैं स्वतन्त्रतापूर्वक जीवनयापन गर्न थाल्छन् । हामीकहाँ भने स्नातक तहसम्मको विद्यार्थीलाई लुगाफाटादेखि खानपिनसम्म अभिभावकले तयार पारिदिनुपर्ने हुन्छ । घरेलु काममा उनीहरू शून्य अवस्थामा देखिन्छन् । घरव्यवहार, दुःखसुख अनि कर्तव्य र दायित्वका पक्षहरू उनीहरूका लागि नौला लाग्छन् किनकि उनीहरू त केवल किताबी संसारमा व्यस्त रहन्छन् ।

जीवनमा सफल बन्नका लागि कुनै पनि व्यक्तिले जीवन–जगत्लाई बुझ्नुपर्ने हुन्छ । आफ्नो कर्तव्य र अधिकारका पाटाहरू पहिल्याउन सक्नुपर्ने हुन्छ । यसका लागि ऊ जीवनको प्रारम्भिक अवस्थादेखि नै परिवार तथा समाजमा भिज्नुपर्छ । आजका हाम्रा बालबालिकाले यस्तो अवसर पाएका छैनन् । पढाइका कारण उनीहरू अत्यन्त बेफुर्सदिला भएका छन् । उनीहरूसँग अभिभावकछेउ बसेर घरव्यवहारका कुरा गर्ने न समय छ न त त्यसबारे चासो नै छ । कतिपयलाई त आफ्ना अभिभावकले के गर्छन्, परिवारको आयस्रोत के हो अनि उनीहरूको भविष्यका लागि अभिभावकले कति दुःख गरिरहेका छन् भन्नेसम्म थाहा हुँदैन । त्यसैले उनीहरू केवल सुखापेक्षी देखिन्छन् । सुखभन्दा दुःखलाई नजिकबाट चिन्न सकेमा मात्र जीवन सफल हुन्छ भन्ने तथ्यबाट हाम्रा बालबालिका अनभिज्ञ छन् ।

एकातिर बढ्दो प्रविधि प्रयोगका कारण बालबालिकामा विदेशी प्रभाव परिरहेको छ भने, अर्कातिर उनीहरू आफ्नो संस्कार–संस्कृति बुझ्ने र त्यसलाई अनुसरण गर्ने अवसरबाट वञ्चित भएका देखिन्छन् । पहिलापहिला दसैं आदि चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुन्थ्यो । बालबालिका आफ्नापुर्ख्यौली घरमा गएर समय बिताउँथे । यसबाट पारिवारिक सद्भाव र सहकार्यको भावना विकसित हुन्थ्यो । आजभोलि विद्यालयहरूले यस्तो बिदा छोट्याएकाछन् । त्यही छोटो बिदामा पनि गृहकार्यको गह्रौं भारी बोकाइदिनाले उनीहरू चाडपर्वमा पनि रमाउन सक्दैनन् । चाडपर्वको महत्त्व बुझ्नु, परिवार तथा साथीभाइसँग हाँसखेल गर्नु अनि निस्फिक्री मनोरञ्जन गर्न पाउनुपर्ने त्यो समयमा पनि उनीहरू किताब, कापी अनि मोबाइल र ल्यापटपमै घोत्लिइरहेका हुन्छन् । चाडपर्वमा पनि रमाइलो गर्न नपाउँदा उनीहरूमा पढाइप्रति वितृष्णासमेत जाग्ने गर्छ ।

पढाइ स्वैच्छिक र स्वतःस्फूर्त नभई बाध्यकारी एवम् निर्देशित बन्नुमा विद्यालय र शिक्षकहरू मात्र नभई अभिभावक पनि दोषी देखिन्छन् । विद्यालयले धेरै गृहकार्य दिँदा र विद्यार्थी पढाइमा मात्र घोटिँदा उसको पढाइ अब्बल भएको ठान्नु अभिभावकको कमजोरी हो । यद्यपि कतिपय विद्यार्थी गृहकार्यलाई मात्र पढाइ ठानेर त्यसबाहेक आफूखुसी पढ्ने गर्दैनन् । उनीहरूको यस्तो प्रवृत्तिका आधारमा सबैलाई गृहकार्यको अत्यधिक बोझ बोकाउनु उपयुक्त हुँदैन । बालबालिकामा पढाइ आफ्नै लागि हो, त्यसैले आफ्नो रुचि र इच्छाले पढ्नुपर्छ भन्ने भावनाको विकास गराइनुपर्छ । शिक्षक तथा अभिभावकका लागि पढिदिनुपर्छ भन्ने मानसिकता बोकेका विद्यार्थी भविष्यमा सफल बन्न सक्दैनन् ।

पाठ सार्ने र घोक्ने गृहकार्यले बालबालिकाको सृजनात्मक क्षमताको विकास गर्न सक्दैन । यस सम्बन्धमा शिक्षकहरू सचेत हुनैपर्छ । त्यसैले गृहकार्य दिँदा जीवनोपयोगी विषयलाई प्राथमिकतामा राख्नुपर्छ । सकेसम्म उनीहरू आफैंले अनुभव गर्ने, प्रयोग गर्ने र बुझ्ने खालका समस्याहरू दिइनुपर्छ । गृहकार्य गर्दागर्दै आधा रात बित्ने अवस्था नहुने हो भने उनीहरू खेल्न, मनोरञ्जन गर्न तथा परिवारमा घुलमिल भएर व्यावहारिक ज्ञान–सीप हासिल गर्न सक्छन् । यसबाट उनीहरू मानसिक रूपमा चुस्त पनि हुन्छन् । माध्यमिक तहमा पुगेका विद्यार्थीहरूलाई त परिवार एवम् समग्र समाजबारे बुझ्ने र त्यसप्रतिको आफ्नो दायित्व पहिचान गर्ने वातावरण सृजना गरिनुपर्छ । यसका लागि उसलाई पठनपाठनका साथै समाचार सुन्ने, पत्रपत्रिका पढ्ने, परिवार तथा समुदायका गतिविधिमा सहभागी हुने समय हुनुपर्छ ।

शिक्षा भनेको बालबालिकामा अन्तर्निहित प्रतिभा र क्षमतालाई बाहिर निकाल्ने माध्यम हो, उनीहरूलाई सैद्धान्तिक ज्ञानको भारी बोकाउनु होइन । विडम्बना, हामीकहाँ यस्तो सोच न पाठ्यक्रम र शैक्षिक पद्धति निर्माण गर्नेहरूमा पाइन्छ न त विद्यालय प्रशासन र शिक्षकहरूमै । हाम्रो शैक्षिक गतिविधि केवल परीक्षामुखी छ । परीक्षामा राम्रो अंक ल्याउन सक्ने विद्यार्थी मात्र सर्वोत्कृष्ट ठानिने परिपाटीका कारण बालबालिकाका भिन्न रुचि, क्षमता र सृजनशीलता ओझेलमा परिरहेको छ । यसका साथै उनीहरू पढाइको अत्यधिक बोझका कारण मानसिक रूपमा रुग्णसमेत बन्दै गएका छन् । यसतर्फ विद्यालय प्रशासन, शिक्षक, अभिभावक सबै संवेदनशील हुनुपर्छ ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

नीति छैन, नेतृत्वमा होडबाजी

'खोलो तर्‍यो लौरो बिर्स्यो’ भनेजस्तै दलहरूले हरेक परिवर्तनपछि जनचाहनाको सम्मान गर्न सकेको देखिएन । जबसम्म राजनीति नीतिबाट निर्देशित हुँदैन र यो केवल नेतृत्वमुखी भइरहन्छ तबसम्म जनचाहना पूरा हुन सक्दैन ।
साधना प्रतीक्षा

काठमाडौँ — देश र जनताको उन्नति, प्रगति एवम् सुनिश्चित भविष्यका लागि आवश्यक नीति अवलम्बन गरी तदनुरूप कार्य गर्ने पद्धति राजनीति हो । तर हामीकहाँ राजनीतिले यसो गर्न सकेको देखिँदैन । यहाँको राजनीति नीतिमुखी नभएर नेतृत्वमुखी बन्दै गइरहेको देखिन्छ । हरेक राजनीतिक दलको अभीष्ट जसरी हुन्छ सत्तामा जानु तथा तिनका नेता–कार्यकर्ताको अभीष्ट नेतृत्व प्राप्त गर्नु नै रहेको देखिएको छ । विगतमा भएको नेकपा एमालेभित्रको विवाद तथा त्यसबाट सृजित दल विभाजन र अहिलेको नेपाली कांग्रेसको महाधिवेशनका परिदृश्यले यही तथ्यलाई उजागर गरिरहेका छन् ।

कांग्रेसको आसन्न महाधिवेशनलाई हेर्ने हो भने त्यहाँभित्रको आन्तरिक द्वन्द्व तथा घम्साघम्सी दलले अवलम्बन गर्ने नीति अनि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा तय गरिने निश्चित दृष्टिकोणका लागि नभएर केवल नेतृत्व प्राप्तिका लागि भएको देखिन्छ । त्यसैले दलभित्र भएको विवाद पनि समाप्त हुनु सट्टा झन् बढ्दै गएको छ । हालको नेतृत्वले सो विवाद समाधान गर्नेतिरभन्दा कसरी पुनः नेतृत्व प्राप्त गर्ने भन्ने सोच राख्नाले नै नेता तथा आम कार्यकर्ताहरू सोही नेतामुखी प्रवृत्तिलाई आत्मसात् गर्दै मैदानमा उत्रेका देखिन्छन् । महाधिवेशनको परिदृश्यमा कहीँकतै दलको नीतिका बारेमा छलफल भएको पाइँदैन । मुलुकको विद्यमान असहज परिस्थिति, आम जनताले भोगिरहेका कठिनाइसाथै अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू छन् तर पनि त्यसबारेमा कतै प्रसंग उठाइएको देखिँदैन । जसरी हुन्छ पदीय जिम्मेवारी प्राप्तिकै लागि नेता–कार्यकर्ता आपसमा लडिरहेका छन् । नीतिले निर्दिष्ट नगरेको राजनीतिक आचरणका कारण दलभित्र चरम गुटबन्दी सृजना भएको छ । त्यागी, इमानदार तथा संगठनका लागि नै जीवन दाउमा लगाएका नेता–कार्यकर्ता पाखा लाग्नुपर्ने बाध्यता पनि बढ्दो छ भने नेतृत्व तहका नेताहरूको निहित स्वार्थको वरिपरि परिक्रमा गर्नेहरू हरेक जिम्मेवारीका लागि योग्य ठानिने प्रवृत्ति पनि दलभित्र हावी भइरहेको छ । महामारीको यस्तो असहज परिस्थितिमा हुन लागेको महाधिवेशन पनि नीतिभन्दा नेतृत्वमा केन्द्रित हुनु मुलुकको समग्र राजनीतिका लागि समेत शुभसंकेत होइन ।

कांग्रेस त एउटा उदाहरण हो । हामीकहाँ हरेक राजनीतिक दलभित्र राजनीतिको नीति हराउँदै गएको छ र नेतृत्वमुखी प्रवृत्ति बढिरहेको छ । त्यसैले दल फुट्ने र जुट्ने प्रक्रिया पनि सामान्यजस्तै बनेको देखिन्छ । सत्ताको दम्भ र नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिले हरेक दलभित्र विवाद चुलिएको देखिन्छ । नेपालका वामपन्थी दल तथा तिनका नेता–कार्यकर्ताले अहिले यसैको दुष्परिणाम झेलिरहेका छन् । उनीहरू आफ्नो नीति सिद्धान्त सबैबाट विमुख भएर नाम मात्रका वामपन्थी बन्नुको कारण पनि यही हो । यी दलहरू जुन सिद्धान्तबाट प्रेरित भएर नेपाली राजनीतिमा उदाएका थिए अनि पटकपटकका ऐतिहासिक परिवर्तनमा सहभागी भएका थिए त्यही सिद्धान्तलाई उनीहरूले आफ्नो दलीय नीति बनाउन सकेनन् । दलभित्र नीतिका लागिभन्दा पनि नेतृत्वकै लागि हानथाप देखियो । सत्तामा पुग्ने होडबाजीका कारण यी दलहरूले आफ्नो पहिचान नै गुमाउदै गएका छन् ।

अहिले आम जनतामा राजनीतिप्रति वितृष्णा देखिनुको कारण दलहरूले नीतिलाई भन्दा नेतृत्वलाई बढी महत्त्व दिनु नै हो । निर्दलीय निरंकुशताबाट देश र जनताको उन्नति हुन नसकेको ठहर गरी पटकपटक त्यसविरुद्ध आन्दोलन गरेर, हजारौं जनताको बलिदानबाट स्थापित बहुदलीय प्रजातन्त्रप्रति आज जुन प्रकारको वितृष्णा देखिएको छ त्यसका पछाडि राजनीतिक दलहरूको अदूरदर्शिता नै कारण बनेको छ । ‘खोलो तर्‍यो लौरो बिर्स्यो’ भनेजस्तै दलहरूले हरेक परिवर्तनपछि जनआस्था र जनचाहनाको सम्मान गर्न सकेको देखिएन । दलहरू केवल दलीय स्वार्थमा लाग्नु अनि तिनका नेता कार्यकर्ता केवल नेतृत्वको होडबाजीमा लाग्नुले आम जनताले परिवर्तित राजनीतिक अवस्थामा पनि सुखानुभूति गर्न सकेका छैनन् । यति मात्र होइन, कुनै पनि दलले देश र जनताको हितका लागि निश्चित नीति तय गर्न सकेको पनि देखिएन । यसका साथै नेता तथा कार्यकर्तामा पनि नैतिकता र इमानदारी स्खलित हुँदै गएको छ । फलस्वरूप राजनीतिक वृत्तमा भ्रष्टाचार तथा विकृतिहरू बढ्दै गएका छन् । राजनीति कमाइ गर्ने खेलो तथा नाफामुखी व्यवसाय नै बन्दै गएको देखिन्छ ।

यसै सन्दर्भमा सम्झना भइरहेछ, उच्चशिक्षा पूरा गरेका एक छात्रलाई भविष्यको योजना के छ भनेर सोध्दा उनको जवाफ यस्तो थियो, ‘अब चलेको व्यापार नै गर्ने विचारमा छु । जागिर खोजूँ धेरै मिहिनेत गर्नुपर्छ । फेरि त्यसको पनि इमानदारीको कमाइले साँझबिहानको छाक टार्ने मात्र त हो नि’ अन्य व्यापार व्यवसायमा घाटाको जोखिम पनि हुन्छ तर यो व्यापारमा लगानी गर्न सक्यो भने नाफैनाफा... ।’ उनको आशय राजनीतिमा लाग्ने थियो । त्यसैले हौसिँदै भनेका थिए, ‘सुरुमा स्थानीय तहमै लगानी गरेर टिकट लिन्छु, चुनाव जित्छु अनि कमाउन सुरु गर्छु र त्यही लगानी माथिल्लो तहमा पनि लगाउँदै जान्छु ।’ लगानी गर्न सके राजनीतिमा अवसरै अवसर छ भन्ने ती युवाको मुस्कानमा मैले वर्तमानको विसंगत राजनीतिक परिवेशको स्पष्ट छवि देखेकी थिएँ ।

अहिले हाम्रो राजनीति दुई प्रकारले विसंगत बनिरहेको छ । पहिलो, यो व्यापार बन्दै छ । दलहरूभित्र इमानदारी र त्यागको होइन आर्थिक प्रभाव हावी भएको देखिन्छ । दलभित्रकै नेतृत्व चयन होस् चाहे आम निर्वाचन प्रक्रिया होस्, त्यो अत्यन्त खर्चिलो र भड्किलो बन्दै गएको छ । सामान्य आर्थिक अवस्था भएको व्यक्ति योग्य भए पनि ऊ कुनै पदको उमेदवार हुन सक्ने अवस्था न्यून बन्दै गइरहेको देखिन्छ । चुनाव जित्नका लागि करोडौं खर्च गर्नुपर्ने अवस्थामा प्रश्न उठाउन सकिन्छ, त्यसको क्षतिपूर्ति कसरी गरिन्छ ? जवाफ प्रस्ट छ राजनीतिक भ्रष्टाचार । त्यसैसँग जोडिएर आउने कमिसनतन्त्र र कालोबजारी । हरेक नेताले जतिसक्दो कार्यकर्ता पालेर आफूलाई लोकप्रिय देखाउने वर्तमान राजनैतिक परिवेशमा भ्रष्टाचार र कमिसन नै उसको आम्दानीको स्रोत बन्ने गरेको सर्वविदितै छ । यदि दलहरूले यस्तो भड्किलो नेतृत्व चयनलाई निरुत्साही गर्ने हो र राजनीतिलाई व्यापार नभई जनसेवा बनाउने हो भने दलभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने थिएन ।

राजनीतिक विसंगतिको दोस्रो कारण दलहरूभित्र नेतृत्वको निश्चित अवधि नतोकिनु पनि हो । एउटै व्यक्ति अनवरत रूपमा नेतृत्वमा रहनुले आम कार्यकर्तामा नैराश्य उत्पन्न हुनाका साथै नेताहरूबीच नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । विकसित मुलुकहरूमा जस्तै हामीकहाँ पनि नेतृत्वका लागि निश्चित समयावधि तोकिने हो भने क्रमशः नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण स्वतः हुन जान्थ्यो । हामीकहाँ त हरेक दलभित्र उही अनुहार सदावहार नेतृत्वमा रहेको देखिन्छ । यसप्रकारको नेतृत्वका लागि उसले दलभित्र साम, दाम, दण्ड, भेदको नीतिसमेत लिएको पाइन्छ । एउटै व्यक्ति जति पटक पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि पदमा आसीन हुन पाउने भएकाले पनि हाम्रो राजनीतिमा नयाँ सोचको विकास हुन सकेको छैन, बरु यसले त भ्रष्टाचार र अन्य विसंगतिहरूलाई प्रोत्साहित गरिरहेको छ । सत्तासीन हुँदा मात्र होइन, भूतपूर्व भएपछि पनि अनेक सेवासुविधा पाउने नियमका कारण पनि देश निरन्तर खोक्रिँदै गइरहेको देखिन्छ ।

दलीय राजनीतिमा देखिएको यसप्रकारको नीतिविहीनता तथा विकृति विसंगतिका कारण अहिले आम जनमानसमा यसप्रति घोर नैराश्य बढेको देखिन्छ । जनतामा छाएको दलीय राजनीतिप्रतिको वितृष्णाले नयाँ विकल्पको खोजी गरिरहेको छ । यस्तो खोजी पुनः राजनीतिक परिवर्तनको संकेत पनि हुन सक्छ तर जतिसुकै परिवर्तन भए पनि, जनताले जति नै बलिदान दिए पनि जबसम्म राजनीति नीतिबाट निर्देर्शित हुँदैन र यो केवल नेतृत्वमुखी भइरहन्छ तबसम्म जनचाहना पूरा हुन सक्दैन । यसबाट न राजनीतिक स्थिरता हुन सक्छ न त राष्ट्रको दिगो विकास नै हुन सक्छ । त्यसैले अब राजनीतिक दलहरूमा नीतिचेतनाको विकास आवश्यक भएको छ ।

प्रकाशित : आश्विन २७, २०७८ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×