१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
कांग्रेस महाधिवेशन

कांग्रेस आमूल रूपान्तरणको प्रस्ताव

भूपेन्द्रजंग शाही

कांग्रेस अहिले १४ औं महाधिवेशनकाे संघारमा छ ।पार्टीको महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता हाम्रासामू छ । तर, पटक-पटक महाधिवेशन घाेषणा भए पनि महाधिवेशन हुन सकेन ।

कांग्रेस आमूल रूपान्तरणको प्रस्ताव

महाधिवेशन निर्धारित मितिमै हुनेमा कतिपयले अझै आशंका व्यक्त गरिरहेका छन् । यद्यपि महाधिवेशन अब निर्धारित मितिमै गर्नुकाे विकल्प छैन ।

महाधिवशेनकाे संघारमा कांग्रेसका संस्थापकहरू बीपी काेइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शम्शेरसहित कांग्रेस भएबापत तत्कालीन सत्ताबाट प्रताडना झेल्नुभएका र विभिन्न कालखण्डमा कांग्रेसमा आस्था राखे बापत जीवन बलिदान गर्नुभएका, विस्थापित हुनुभएका सबैप्रति हृदयदेखि नै स्मरण गर्न चाहन्छु । देशका कुनाकन्दरामा बसेर कांग्रेसकाे संगठन विस्तारमा अहाेरात्र खटिरहनुभएका ती तमाम कांग्रेस नेता कार्यकर्ताप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

बीपी काेइरालाकाे विचार, गणेशमान सिंहकाे दृढता, किसुनजीकाे त्याग, सुवर्ण शम्शेरकाे उदारता,गिरिजाप्रसाद काेइरालाकाे साहस र सुशील काेइरालाकाे सरलताकाे बलियाे जग हामी नयाँ पुस्ताका लागि प्रेरणाकाे विश्वविद्यालय हाे । हामीले गर्व गर्ने हाम्राे आफ्नै विचार छ, नेताहरू हुनुहुन्छ । कम्युनिस्ट पार्टी जस्ताे आयातित तस्बिर अघिल्तिर उभिएर मुठी उचालेर कसम खानुपर्ने र संसारभरबाट विस्थापित भइसकेकाे थाेत्राे विचारधाराकाे सहारा लिनुपर्ने बाध्यताबाट कांग्रेस मुक्त छ ।

बीपी काेइरालाले दिएर गएकाे प्रजातान्त्रिक समाजवादकाे माटाे सुहाउँदाे व्याख्यासहितकाे विचार हामीसँग छ। यद्यपि, त्यसलाई अझ समुन्नत बनाउन भने हामीले अनवरत प्रयास जारी राख्नुपर्नेछ । कुनै पनि विचारकाे समयानुकुल परिमार्जन र व्याख्या गरिएन भने बिस्तारै त्यसकाे सान्दर्भिकतामा प्रश्न उठ्छ । हामीले पछिल्लाे सन्दर्भमा हाम्राे विचारलाई अझ परिष्कृत गर्दै लैजानुपर्नेछ ।

त्यसका लागि महाधिवेशन व‌ैचारिक `डिस्काेर्स´का लागि सबैभन्दा उत्तम मञ्च हाे । कांग्रेसलाई व‌ैचारिक रूपमा तिखार्दै जाने, सांगठनिक रूपमा रहेका समस्या हल गर्दै चुस्तदुरूस्त संगठन निर्माण गर्ने र भावी पुस्ताले गर्व गर्न लायक कांग्रेस र देश बनाउने गरि हामीले काम गर्नुपर्नेछ । नेपालमा देश र जनताका लागि कसैले केही गरेकाे छ भने त्याे नेपाली कांग्रेस नै हाे । तर, आफूले गरेकाे कामकाे जस लिन हामी चुकिरहेका छाैं । आर्थिक रूपान्तरण हाेस् वा सामाजिक, सांस्कृतिक परिवर्तन कांग्रेसकै कारण सम्भव भएकाे इतिहास साक्षी छ । राणा, पञ्चायत र राजा फ्याँकेकाे , पटक-पटक क्रान्तिकाे नेतृत्व गरेकाे सुनाैलो विरासत छ । तर, सुनाैलाे भविष्यका लागि हामी आफैले मार्गचित्र काेर्न जरूरी छ । त्यसका लागि या प्रस्ताव छलफलका लागि यहाँहरूसमक्ष ल्याएकाे छु । यहाँहरूकाे सल्लाह सुझाव समेटेर यसलाई अझ परिस्कृत गर्ने पनि जानकारी गराउँदछु ।

१. नेपाली कांग्रेसभित्र आपसी भातृत्व र आत्मीयताको विकास गरी गुटबन्दीको समुल अन्त्य गर्दैै पार्टीलाई एकढिक्का बनाउन अति आवश्यक भएको छ । यसको लागि पार्टीमा गुटको आधारमा, नातावाद, चाकरिवाद र आर्थिक सम्पन्नताको आधारमा होइन उसको पार्टीमा योगदान, समर्पण, सक्रियता, निरन्तरता, प्रतिबद्धता र क्षमताको आधारमा जिम्मेवारी र अवसर प्रदान गर्ने परिपाटीको विकास गर्नुपर्छ ।

२. पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्न केन्द्र, जिल्ला, र गाउँतहसम्म विचार सिद्धान्त र एजेण्डामा आधारित वैचारिक जागरण अभियान शुरु गर्न जरुरी छ । कांग्रेसका नेता कार्यकर्ता शहर केन्द्रित होइन गाउँ केन्द्रित हुनपर्छ ।

३.गएको निर्वाचनको समीक्षा गरेर मात्रै आगामी निवार्चनमा विजय हासिल गर्न सकिन्छ । त्यसैले निवार्चन समिक्षाको लागि टालटुले पारामा होइन, गहिराईमा गएर छलफल गर्न विशेष छानबिन समिति गठन गरेर सबै निर्वाचन क्षेत्रमा पुगेर, सबै पक्षसँग छलफल गरेर के कति कमजोरीका कारणले यस्तो परिणाम आयो त्यसको बारेमा सत्यतथ्य पत्ता लगाउनुपर्छ र आगामी निर्वाचनको रणनीति तयार पार्नुपर्छ ।

४.नेपाली कांग्रेसमा महासमिति बैठक बस्नु कुनै नौलो विषय होइन, यो विधान मै उल्लेख भएकोले हरेक वर्ष नियमित महासमिति बैठक हुने सुनिश्चित गरिनुपर्छ ।

५. सहिद परिवार तथा द्वन्द्वपीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको ग्यारेन्टी गरिनुपर्छ ।

६.समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनैपनि हालतमा दोहोर्याउनु हुँदैन । दोहोर्याउनु समानुपातिक समावेशी सिद्धान्तको विपरीत कार्य हुने भएकाले पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढि अवसर नपाउने व्यवस्था कडाइका रुपमा लागू गर्नुपर्छ । यसका साथै एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिने तेहरिने अवस्थाको अन्त्य गर्नुपर्छ । एउटै व्यक्तिलाई भयभरको जिम्मेवारी दिएर हुँदैन, कामको बाँडफाँड हुन पर्दछ । अब पार्टीमा ‘एक व्यक्ति एक जिम्मावारी’ हुन पर्दछ ।

७.पार्टीलाई व्यवस्थित, प्रशिक्षित र संगठित गरेर हरेक गाउँ तहसम्म हरेक महिनाको पहिलो दिन समसामयिक विषयमा प्रशिक्षण अभियानमार्फत् नेपाली कांग्रेसलाई सबल, सक्षम र शसक्त पार्टी बनाउन आवश्यक छ ।

८.पार्टीलाई आजका दिनसम्म ल्याइपुर्‍याउने अग्रज नेताहरुको योगदानको मूल्याङ्कन गर्दै उच्च सम्मान गरी पार्टीलाई थप अगाडि बढाउन युवाहरुको उर्जा, चेतना र क्षमतालाई सदुपयोग गर्न पार्टीका हरेक तहमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्छ । नेपाली कांग्रेसलाई युवामैत्री पार्टी बनाउनुपर्छ ।

९.पार्टीका संस्थापक नेता बीपी कोइरालाले देखाउनु भएको बाटो र विचार प्रजातान्त्रिक समाजवादबाट पन्छिएर कांग्रेस राष्ट्रिय मुद्दामा अलमल र अनिर्णयको बन्दी हुन मिल्दैन । हरेक राष्ट्रिय मुद्दामा कांग्रेस प्रस्ट अडानका साथ अगाडि आउनुपर्छ ।

१०.नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दूरी घटाएर पार्टीभित्र कोही सानो र ठुलो भन्ने मान्यता हटाएर हामी एउटै परिवार हौ भन्ने आपसी भातृत्वको भावनाको विकास गरी तल जनतासम्म सुमधुर सम्बन्ध कायम गर्न सबै नेता कार्यकतामा नैतिकता, समानता र सरलतापूर्ण बोली व्यवहार हुन जरुरी छ । व्यक्तिवादी चरित्र र अनुशासनहीनताको अन्त्य हुन जरुरी छ ।

११.देश विकासको बाधकको रुपमा रहेको भष्ट्रचारलाई निर्मूल पार्न ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान देशभर सञ्चालन गर्नुपर्छ ।

१२.महाधिवेशन सकिएको दुई महिनाभित्र तत्काल पार्टी पदाधिकारी, विभाग, प्रदेश समिति र भातृसंस्थाहरुलाई पूर्णता दिएर पार्टीलाई चुस्तदुरुस्त बनाउन संगठन निर्माणमा सबैलाई परिचालन गर्नुपर्छ । भातृसंस्थाको महाधिवेशन तोकियकै मितिमा गर्न नसके सो तह विघटन गर्ने व्यवस्था गर्नुपर्छ । नेविसंघमा ३० वर्ष र तरुण दलमा ४० वर्षको उमेर हद तोकिनुपर्छ ।

१३.महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशील सदस्यता वितरण गर्ने परम्परालाई अन्त्य गरेर हरेक वर्ष पारदर्शी रुपमा क्रियाशील सदस्यता वितरण गर्नुपर्छ ।

१४.नेपाली कांग्रेसको केन्द्रीय समितिमा केही सीमित व्यक्तिहरुको पहुँच र प्रभाव मात्र रहनु लोकतान्तित्रक मान्यता अनुरूप हुन सक्दैन । कांग्रेसको केन्द्रीय समितिमा सबै क्षेत्र वर्ग समुदायको अनिवार्य प्रतिनिधित्वको व्यवस्था हुन जरुरी छ । बढ्दो जनसंख्या र वृद्धि भएको पार्टीको सदस्य संख्याको आधारमा पार्टीको जिल्ला कार्यसमिति र केन्द्रीय कार्य समितिको आकार बढाउन जरुरी छ ।

जिल्लामा २० देखि ३० जना सदस्य थप गर्ने र पार्टीमा सामुहिक नेतृत्व प्रणाली स्थापित गर्न केही खुल्ला सहमहामन्त्रीको संख्या थप गर्नुका साथै केन्द्रीय समितिमा खुल्ला तर्फको केन्द्रिय सदस्य ३५ बाट बढाएर ४५ र समावेशी तथा प्रदेशमा अहिलेको भन्दा दोब्बर केन्द्रीय सदस्यहरु निर्वाचित हुने व्यवस्था गर्नुपर्छ । पार्टीमा लामो योगदान गरेका व्यक्तिहरु र जिल्लाको पार्टी सभापति भइसकेका नेताहरुलाई केन्द्रीय समितिमा प्रतिनिधित्वको आवश्यक व्यवस्था मिलाउनु पर्छ ।

१५. पार्टी संगठनभित्र दिनरात नभनेर लागिपर्ने र सधैं संगठनमा खटिने नेता कार्यकर्ताहरुका लागि अशक्त बिरामी हुँदा र आपतविपद् पर्दा सहयोग गर्न पार्टीले एउटा राहतकोष खडा गर्नुपर्छ ।

१६. हजारौं युवाहरु देशमा रोजगारी नभएर विदेश पलाएन हुन बाध्य भएका छन् । युवहरुको लागि पार्टीले ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान चलाउन जरुरी छ । नेपालमै रोजगारी श्रृजनाको लागि कृषि, पर्यटन, उधोग व्यवसायको स्थापनामा विशेष जोड दिनुपर्छ ।

१७. नेपाली कांग्रेस र जनताबिचको सम्बन्ध समुधुर र प्रगाढ बनाउनका लागि सम्पूर्ण पार्टीका नेता कार्यकर्ताहरु शहरमा केन्द्रीत होइन गाउँ केन्द्रित भएर गाउँ–गाउँ टोल–टोल पुगेर ‘जनजनमा कांग्रेस मनमनमा कांग्रेस’ अभियान चलाउनुपर्छ ।

१८. जातीय, वर्गीय, लिंगिय र क्षेत्रिय विभेद अन्त्यका लागि नेपाली कांग्रेसले विशेष अभियान सुरु गर्नुपर्छ । दलित समुदायबाट केन्द्रीय महामन्त्री निर्वाचित हुने बिशेष व्यवस्था हुनपर्दछ । दया र हेयको भावले हरियको, सधै उपेक्षामा परेको कर्णाली क्षेत्रको अब केन्द्रमा प्रभावकारी र हस्तक्षेपकारी प्रतिनिधित्व हुन अनिवार्य छ ।

१९. प्रजातान्त्रिक समाजवादको व्यख्या गरी सामाजिक न्याय र समानताका लागि सुलभ सुस्वास्थ्य र जीवन उपयोगी शिक्षाको राज्यले सम्पुर्ण जिम्मेवारी लिनुपर्छ र देशको आर्थिक बिकास र उत्पादन बृद्धिको लागि उद्यमी र व्यवसायीहरुलाई उत्साहित र प्रोत्साहित बनाउनुपर्छ ।

२०. देशमा आपतविपत्त, संकट र महामारी परेको बेला जनताको दुख र पीडामा साथ दिन ‘बिपद्‌मा राहत कोष’ खडा गरेर सामाजिक सेवाको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।

२१. विश्वको जुनसुकै कुनामा भएका नेपाली नागरिकहरुको सुरक्षा संरक्षण र उनीहरुको सफल भविष्यका लागि विशेष संयन्त्र खडा गरेर राज्यको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । विदेशमा गएर नेपालीले आर्जन गरेको पूँजी, ज्ञान, सीप नेपालमै भित्रयाएर समृद्ध राष्ट्र र सफल राष्ट्र बनाउन बिशेष पहल गर्नुपर्छ ।

२२. कोरोना महामारी नियन्त्रणको लागि नेपाली कांग्रेसले विशेष भूमिका खेल्नुपर्छ र साथै हरेक नेपालीलाई खोप लगाउनको लागि विशेष पहल गर्नु जरुरी छ । कोरोना संक्रमितहरुका लागि निशुल्क उपचार र कोरोनाबाट मृत्यु हुनेहरुका लागि तत्काल राहतको व्यवस्था गर्न सरकार सामु दबाब गर्नुपर्छ ।

२३. कोरोना महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरु, मजदुरहरु र अफ्ठयारोमा परेका नागरिकहरु तथा कोरोनाले प्रभाव परेका साना ब्यापारी, बिभिन्न उद्योगी र व्यवसायीहरुको लागि तत्काल राहत प्याकेज घोषणाको लागि सरकारलाई दवाब सिर्जना गर्नुपर्छ ।

२४. व्यक्ति होइन बिचार, पद होइन पद्दती, सत्ता होइन समाज,नेता होइन नितीको मूल मर्म र आदर्शमा आधारित नैतिक मुल्य मान्यता सहितको राजनीतिको सुरुवात नेपाली कांग्रेसले गर्नुपर्छ ।

२५. विभिन्न निर्वाचनहरुमा टिकट वितरण गर्दा केन्द्रको हस्तक्षेप पूर्णतः बन्द गर्नुपर्छ । अब स्थानीय निकायको टिकट जिल्ला समितिले, प्रदेश सांसदको प्रदेश समितीले र संघीय सांसदको टिकट केन्द्रले दिने व्यवस्था गर्नपर्छ ।

२६. पार्टीका अग्रज नेताहरुका नाममा खोलिएका विभिन्‍न संस्थाहरुलाई एकीकृत गरी पार्टीले नै बीपी प्रतिष्ठान गठन गरेर पार्टीभित्र वैचारिक बहस र अध्ययन गर्ने बानीको विकास गर्नपर्छ । पार्टीले देशैभरी अध्ययन संस्कृतिको विकास गर्न बीपी पुस्तकालय खोल्नपर्छ ।

२७. राष्ट्रिय राजनीति र हरेक राष्ट्रिय मुद्दाहरुमा कांग्रेस प्रष्ट हुन जरुरी छ । फरक पार्टीहरुसंगको सम्बन्ध, संघीयता, धार्मिक स्वतन्त्रता, कम्युनिष्ट पार्टी संघको सहकार्य, जातीय तथा सामाजिक विभेदका सवालहरु लगायतका बिषयहरुमा नेपाली कांग्रेसको प्रस्ट विचार आउन जरुरी छ ।

२८. नेपालको राजनीतिमा देखिएको सधैंको अस्थिरताको अन्त्य गर्न जरुरी छ । स्थिर सरकार र विकासको लागि संसदीय व्यवस्था अन्तर्गत नै कार्याकारी प्रधानमन्त्रीको निर्वाचन चारवर्षको लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुने, सांसदले सेरोमोनियल राष्ट्रपतिको निर्वाचन गर्ने, राष्ट्रियसभालाई समावेशी र समानुपातिक बनाउने र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्दछ ।

२९. यो महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा जारी भएको संविधान, लोकतन्त्र र समावेशीताको रक्षा गर्दै तीनको पूर्ण कार्यान्वयनको सुनिश्चितताका लागि–पार्टीले संशोधन गरेको नयाँ विधानको प्रभावकारी कार्यान्वयन गर्नसक्ने सक्षम, सबल र युवामैत्री नेतृत्व चयन गर्नुपर्छ ।

३०. नेपाली कांग्रेसले हरेक राजनीतिक परिर्वतनको नेतृत्व गर्दै आएको छ । अब कांग्रेसको अग्रसरतामा मुलुकको समुन्नति र समृद्धिको लागि आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ । यसको लागि आर्थिक विकासको सम्भाव्यता भएको क्षेत्र, पर्यटन, कृषि जडिबुटी र जलस्रोतमा व्यापक लगानीको वातावरण सिर्जना गरी गाउँगाउँमा विकास र युवाहरुलाई स्वदेशमै रोजगारी अवसर प्रदान गर्न कांग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल–समृद्ध नेपाल’ अभियान सुरु गर्नुपर्छ ।

प्रकाशित : मंसिर ६, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?