ऋतु संस्कृति : नेवार संस्कृतिमा अभिरूचि लिनेहरू वेद पढ्दैनन्- विविधा - कान्तिपुर समाचार
विद्वत् प्रवचन

ऋतु संस्कृति : नेवार संस्कृतिमा अभिरूचि लिनेहरू वेद पढ्दैनन्

गौतमवज्र वज्राचार्य

ऋतु शब्दको साधारण माने मौसम हो तापनि वर्षा ऋतु सबभन्दा महत्त्वपूर्ण ऋतु भएको हुनाले वैदिक साहित्यमा झरी वर्षात सुरू भयो र हरियो घाँसपात उम्रन थाल्यो भनेर वर्णन गर्दा खेरि ऋतावागते “ऋतु आएपछि” भनेर लेखिएको पाइन्छ ।

त्यसैले वर्षा ऋतुसँग सम्बन्ध राख्ने संस्कृतिलाई मैले ऋतु संस्कृति (मनसुन कल्चर) भन्ने गरेको हुँ । ईस्वी पूर्व पन्ध्रौँ शताब्दीतिर संस्कृत बोल्ने वैदिक आर्यहरूको भारतमा आगमन हुनुभन्दा पनि पहिले हिमालयको दक्षिण भागमा यस संस्कृतिको जग बसिसकेको थियो । यो पुरानो संस्कृति अहिले पनि जीवित छ ।

भौगोलिक वातावरणको आधारमा बनेको हुनाले धर्म अथवा राजनीतिक सीमासँग यसको सम्बन्ध थिएन र छैन। ग्रीष्म ऋतुको अन्त्यमा पानी पर्न थालेपछि उम्रेका घाँसपात र अनाजको आधारमा गाईवस्तु पाली जीविका गर्ने दक्षिण एसियाको प्राचीन मानव जातिको संस्कृति हो यो । यहाँ जन्मेका र हुर्केका विभिन्न धार्मिक परम्परा र विचारधारा यही संस्कृतिका उपज हुन् । भारत र नेपालको संस्कृतिमा देखिने समानता पनि यतैबाट सुरू भएको हो ।

वैदिक साहित्य दक्षिण एसियाको सबभन्दा पुरानो साहित्य भएको हुनाले यस साहित्यमा पाइने ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने विषयहरू अन्वेषणको लागि सबभन्दा बढी उपयोगी भएका छन् । तर विचारणीय कुरो के छ भने आफूलाई आर्य भन्ने वैदिक मान्छेहरूको मूलघर हिन्दुकुश पर्वतशृङ्खलाको पश्चिमतिर थियो । तीन चार महिनासम्म राम्रोसँग घाम नलाग्ने, दिनका दिन भने जस्तै हिमपात हुने, हिउँ पग्लेपछि मात्रै खेती सुरू हुने चिसो देशबाट उनीहरू आएका हुन् । यस्तो चिसो ठाउँमा लामो समयसम्म जीवजन्तुहरू पनि हिउँबाट ज्यान जोगाउनको लागि झारपातभित्र, ढुंगाको खोंचमा अथवा भुँइभित्र लुकेर बस्छन् । वसन्त ऋतुको घामले हिउँ पग्लँदै गएपछि घाँस पलाउन थाल्छ । अनि गाईवस्तुहरू गोठबाट बाहिर आउँछन् र खुशी भएर उफ्री-उफ्री नाच्छन् । यस्तो जाडो देशमा अग्नि र सूर्यको ठूलो महत्त्व हुनु स्वाभाविकै भयो। यी देवताहरूको वर्णन वैदिक साहित्यमा जताततै पाइन्छन्। यो त हिमसंस्कृति (हाइबरनेशन कल्चर) को कुरो भयो ।

यस्तो संस्कृतिमा हुर्केका आर्यहरू उत्तर भारतमा बस्ती बसाएपछि मात्रै ऋतु संस्कृतिसँग परिचित हुन थाले । हिउँ पर्दाखेरि आगो बालेर घरभित्र बस्नुपर्ने समस्या यहाँ भएन, तर यहाँको समस्या अर्कै रहेछ भन्ने कुरा बुझ्न उनीहरूलाई धेरै समय लागेन । हिउँदमा होइन कि ग्रीष्म ऋतुमा गाईगोरूलाई हरियो घाँस दुर्लभ हुने तथा वर्षाद सुरूभएपछि जताततै हरियो हुने देखेपछि उनीहरूले वर्षा ऋतुको महत्त्व थाहा पाए । वर्षा अरू ऋतु जस्तो होइन, यो अनियमित छ, कहिले ढिलो आउँछ, कहिले आउँदै आउँदैन र गाईगोरूहरू मात्र होइन अरू जीवजन्तुहरूलाई पनि मुश्किल पर्छ भन्ने कुरा ऋग्वेद र अथर्ववेदको रचना हुँदाखेरि नै उनीहरूले अनुभवद्वारा सिकिसकेका थिए । त्यसैले वैदिक साहित्यमा हिमसंस्कृति र ऋतुसंस्कृतिसँग सम्बन्ध राख्ने दुवै कुरा पाइन्छन् । ऋग्वेद सबैभन्दा पुरानो वैदिक ग्रन्थ भएको हुनाले यसमा ऋतु संस्कृतिका कुरा कम छन् किनकि नयाँ बसोबासको हावापानी बुझ्‍न वैदिक आर्यहरूलाई केही समय लागेको थियो ।

हिमपात हुने देशमा अरू जीवजन्तु जस्तै भ्यागुता पनि हिउँदभरि भुइँभित्र लुकेर बस्छन् । वसन्त ऋतुको घामले हिउँ पगालेपछि मात्र भुइँबाट बाहिर आउँछन् र ट्वार्ट ट्वार्र कराउन थाल्छन्, तर दक्षिण एसियामा चर्को घामबाट बँच्न भ्यागुता ग्रीष्म ऋतुभरि भुइँभित्र लुकेर बस्छ वर्षाद सुरू हुनासाथ बाहिर आउँछन् र कराउन थाल्छन् । दक्षिण एसियाका प्राचीन मान्छेहरूको विचारमा पानी परेपछि भ्यागुतो कराउने होइन, भ्यागुतो कराएपछि पानी पर्छ भन्ने थियो । यसरी भ्यागुतो पानी पार्न सक्ने देवताको रूपमा परिवर्तन भयो । वर्षादमा पानी परेपछि हरियो घाँसपात प्रसस्त पाइने र गाईवस्तु सजिलैसँग हुर्कने हुनाले भ्यागुतोको प्रार्थना गर्‍यो भने गोधनको समृद्धि हुन्छ भन्ने विचार ऋग्‌वेदको मण्डूकसूत्रमा स्पष्टसँग उल्लेख भएको छ । दक्षिण एसियाको ऋतुसँग सम्बन्ध राख्ने यो पुरानो विचार हिम संस्कृतिमा हुर्केका वैदिक आर्यहरूको मौलिक विचार हुनु सम्भव छैन । वास्तवमा ऋग्वेदको रचना भएको समयदेखि नै वैदिक आर्यहरूले ऋतु संस्कृतिका केही महत्त्वपूर्ण रीतिरिवाज पूर्णतया अपनाइ सकेका थिए भन्ने कुराको उदाहरण हो यो ।

भ्यागुतो कराउने समयमा वैदिक आर्यहरूको वार्षिक पठनपाठन सुरू हुन्थ्यो । पछि गएर यो परम्परा उपाकर्म (वेद पढ्ने दिनको प्रारम्भ) को नामले प्रसिद्ध भयो । अहिले पनि श्रावण शुक्ल पूर्णिमाको दिन ब्राह्मणहरूको उपाकर्म गर्ने चलन कतै गएको छैन तर आश्चर्यको कुरा के छ भने यही पूर्णिमाको दिन नेवारहरू भ्यागुताको पूजा गर्छन् र भ्यागुतोलाई गेडागुडी चढाउँछन् ।

नेवारीमा यो दिनको नाम व्याँचा नकेगु “भ्यागुतालाई खुवाउने” दिन भन्ने चलन छ। मैले 'फ्रग हाइम्स एन्ड रेन बेबिज' भन्ने ग्रन्थ लेख्दा नेवारहरूको यो चलन र उपाकर्म एकैदिन पर्नु काकताली हुन सक्दैन भन्ने लागेको थियो । बलियो प्रमाणको अभावमा विशेष जोड दिएर लेख्न सकेको थिइँन । तर हालैको मेरो अनुसन्धान अनुसार दुईवटा महत्त्वपूर्ण कुरा पहिलेभन्दा निकै बढी स्पष्ट भएका छन् । पहिलो कुरा, ऋग्वेद आदि प्राचीन ग्रन्थको निर्माण भएको बेलामा श्रावणशुक्ल पूर्णिमा अथवा जनैपूर्णिमा आजभोलि जस्तो वर्षादको अन्त्यमा होइन कि उठानमा पर्दथ्यो । त्यसैले हरियो घाँस उम्रन थालेपछि उपाकर्म गरिनु पर्छ भनेर कुनै कुनै वैदिक ग्रन्थमा स्पष्टतया लेखिएको पाइन्छ । श्रावण शुक्ल पूर्णिमा पछि लगत्तै आउने भाद्र महिना वर्षा ऋतुको पहिलो महिना थियो भन्ने कुरा रामायण जस्तो पुरानो संस्कृत ग्रन्थबाट पनि बुझ्न सकिन्छ ।

दोस्रो कुरो गाई पाल्ने प्राचीन गोठालाहरूको जीवनचर्या र विचारसँग सम्बद्ध छ । शरद् ऋतु आउनुभन्दा केही दिन अघि गाईले पेट बोक्यो भने वर्षा ऋतुको प्रारम्भमा हरियो घाँस प्रसस्त पाइने बेलामा ब्याउँछ र गाई र बाच्छोको स्वास्थ्य राम्रो हुन्छ भन्ने उनीहरूको विचार थियो । त्यसैले उनीहरू गाई गोरूलाई एकै ठाउँमा राख्दैन थिए । शरद् ऋतु आउनुभन्दा केही दिन अघि मात्रै वृषोत्सर्ग भन्ने विधिविधान गरेर गोरूलाई छाडिदिन्थे । वृषोत्सर्गको दिन आजभोलि तिहारमा पर्छ । नेवारहरू यही दिन नेपाल संवत्‌को उठान मानी डिम्ब अर्थात् आमाको पेटमा भर्खरै जन्म लिएको बच्चाको प्रतिनिधित्व गर्ने देवता जम्भललाई त्यही नामको ठूलो फलको रूपमा पूजा गरेर म्हःपूजा मनाउँछन् ।

नेपालीमा यो दिनलाई गोरूतिहार भन्ने चलन छ । तिहारमा पेट बोकेको गाई २८३ दिनपछि जनैपूर्णिमा अथवा गाईजात्रातिर ब्याउँछ । वास्तवमा गाईजात्रा गाईले बाछो पाउने दिनको उत्सव हो । त्यसैले गाईजात्राको दिन केटाहरू गाईको मुकुन्डो लगाएर बाछोको रूपमा सहर परिक्रमा गर्छन् । तिहारदेखि गाईजात्रासम्मको समयावधिलाई प्राचीन वैदिक ग्रन्थहरूमा संवत्सर भन्ने चलन थियो । संवत्सरको शाब्दिक अर्थ सं+वत्स+र “राम्रो बच्चा (पेटमा) भएको बेला” भन्ने हुन्छ । संवत्सरको अन्त्यमा भ्यागुता कराउन थालेपछि वेदको अध्ययन सुरू हुन्छ भनेर ऋग्‍वेदमा लेखिएकै छ। यस कारण उपाकर्मको दिनमा भ्यागुतोलाई गेडागुडी चढाउने नेवारहरूको चलन काकताली हुनुको सट्टा वेद भन्दा पुरानो ऋतुसंस्कृतिको परम्परा नेवार संस्कृतिमा अझै पनि बाँचिरहेको छ भन्ने कुराको ज्वलन्त उदाहरण हो।

अन्वेषणको सिलसिलामा सबभन्दा पछि पत्ता लागेको ऋतु संस्कृति सम्बन्धी एक नयाँ कुरो गाईजात्राको सात दिनपछि हुने एकाष्टका भन्ने वैदिक विधिविधान र कृष्णाष्टमीको बारेमा छ। माथि बताए जस्तै गाईजात्राको दिन बाच्छोको रूपमा मुकुन्डो लगाएर आउने आठ-नौ वर्षका केटाहरूसँगै एक वर्ष पनि नपुगेको सानो बालकलाई पनि कृष्ण जस्तै सिँगारेर बाबुआमाहरूले बोकेर गाईको बाच्छोसँगै सहर घुमाउने चलन छ । गाईजात्रा भाद्र महिनाको पहिलो दिन मनाइन्छ। त्यसैले भाद्र महिना प्राचीन कालगणना अनुसार वर्षादको उठानमा पर्थ्यो भन्ने कुरा मनमा राखेर विचार गरी हेर्दा गाईजात्राको दिनसँग कृष्णको सम्बन्ध धेरै पुरानो हुनुपर्छ भन्ने देखिन आउँछ ।

झण्डै बिर्सिसकेको कृष्ण र वसुदेवको पुरानो कथा अनुसार कृष्णको पिताजीको नाम आनकदुन्दुभि हो। आनकदुन्दुभि भनेकै वसुदेव हुन भनी अमरकोशमा लेखिएको छ तर पाली साहित्यअनुसार आकाशमा आफैं बज्ने नगरा जस्तो वर्षा ऋतुमा गर्जने बादलको नाम आनकदुन्दुभि हो । यसको शाब्दिक अर्थ हावामा बज्ने नगरा हो । त्यसैले यस्तो नगरा बजेपछि बादल गर्जन्छ र पानी पर्छ भन्ने भावको कुरो पाली साहित्यमा मात्र होइन कि वैदिक ग्रन्थहरूमा पनि लेखिएको छ ।

बच्चा जन्मनासाथ अनेक कारणले गर्दा उनीहरूको मृत्यु हुने सम्भावना धेरै भएको हुनाले बच्चा जन्मेको केही दिनपछि मात्रै उनीहरूको जन्मजयन्ती मनाउने पुरानो चलनअनुसार वैदिक कालमा वर्षादको उठानमा जन्मेका बाच्छाहरूको स्वास्थ्यको लागि उनीहरू जन्मने दिन भनेर मानिएको गाईजात्राको दिनभन्दा सातदिनपछि एकाष्टका भन्ने रिच्युल (विधिविधान) गर्थे । यो दिन कृष्णाष्टमीमा पर्छ । यसैले बच्चा देवता हुन् देवता बच्चा हुन् भन्ने विचार अनुसार कृष्ण गाईको बाच्छो जस्तै वर्षादको उठानमा जन्मेका देवता हुन् । झरीवर्षासँगै सृष्टि सुरू हुन्छ र त्यसैबेला विश्वरूपी महापुरुष बच्चाको रूपमा जन्मन्छ भन्ने कुरा अथर्ववेद (१९.६.११) मा लेखिएकै छ। पछि गएर यिनै महापुरुष कृष्णको रूप परिवर्तन भयो । भगवद्‌गीतामा वर्णन गरिएको कृष्णको विश्वरूप ऋग्वेद र अथर्ववेदहरूमा उल्लिखित पुरुषसूक्तको विकसित रूप हो ।

प्रवचन सिध्याउनुभन्दा अघि भनिहाल्नुपर्ने कुरो के छ भने धेरै जसो पाश्चात्य विद्वान्‌हरूको विचारमा एकाष्टका मार्ग महिनामा पर्छ भन्ने छ । यो कुरा साँचो हो तापनि एकाष्टका मार्ग महिनामा मात्रै होइन कि वर्षादको सुरूमा पनि मनाइन्थ्यो । त्यसैले यसको नाम अपरा (अर्को) एकाष्टका भन्ने थियो । यो कुरो हालैको मेरो अन्वेषणबाट पत्ता लागेको हो । प्रकाशित हुन लागेको अंग्रेजीमा लेखेको लामो लेखमा मैले यस विषयमा विस्तारपूर्वक लेखेको छु ।

देवता वच्चाको रूपमा जन्मन्छ भन्ने वैदिक अथवा प्राग्वैदिक विचार भारतमा धेरै शताब्दी अघि नै हराइसकेको छ तर काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा, विशेष गरी वार्षिक महास्नानको विधिविधानमा, यो विचार अझै जीवित छ । भ्यागुतोलाई पूजा गर्ने दिनको भोलिपल्ट गाईले बाछो पाउने दिनमा सानो बच्चालाई कृष्ण जस्तै सिँगारेर शहर घुमाउने चलन त्यही पुरानो विचारको अभिव्यक्ति हो ।

नेवार संस्कृति र वैदिक साहित्य सम्बन्धी यो मेरो प्रवचन कतिलाई अनौठो लाग्न सक्छ किनभने यस विषयमा कसैले केही लेखेको पाइँदैन । वैदिक साहित्यको अध्ययन गर्ने पाश्चात्य विद्वान्‌हरू अक्सर गरेर नेवार संस्कृतिसँग अपरिचित छन् । त्यसै गरी नेवार संस्कृतिमा अभिरूचि लिने व्यक्तिहरू वेद पढ्दैनन्, तर वैदिक साहित्यमा पाइने ऋतुसंस्कृतिसँग नेवार परम्पराको तुलनात्मक अध्ययन गरी हेर्दा धेरै महत्त्वपूर्ण कुराहरू प्रकाशमा आएका छन्। यस विषयमा मैले केही लेखिसकेको छु, केही लेख्न बाँकी नै छन् ।

(हाल अमेरिकामा रहेका इतिहासविद् वज्राचार्यलेबुधबार ललितपुरमा आयोजित मदन तथा जगदम्बा पुरस्कार वितरण समारोहमा दिएको विद्वत् प्रवचनको सम्पादित अंश )

प्रकाशित : कार्तिक २४, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप दिइँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर खोप आइतबारबाट दिने भएको छ ।

खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पुर्जा लिएर तोकिएको अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको १ लाख डोज खोप दिने भएको हो । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

क–कसले यो खोप पाउनेछन्?

-मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका

-मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका

-जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका

-फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका

-अंग प्रत्यारोपण गरेका

-उच्च रक्तचाप वा मधुमेह भइ उपचार गराइरहेका

-रोग प्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका

-मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका

प्रकाशित : कार्तिक २४, २०७८ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×