कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सबैको साझा पर्व बन्दै छठ

हिन्दू बाहेकका सम्प्रदायले पनि कुनै न कुनै रूपमा सूर्यलाई पूज्छन् वा मान्छन् । सबैका लागि उत्तिकै महत्वपूर्ण शक्तिको सर्वोच्च स्रोत सूर्यको उपासना छठमा गरिन्छ ।
जितेन्द्र साह

केही वर्षअघिसम्म मधेसी समुदायमा सीमित प्राचीन पर्व छठ कसरी सबैको साझा बन्यो ? विविध जाति, समुदाय, रङ, वर्ण, धर्म, रहनसहन, खानपान, पहिरन र भाषा भएकाहरूको मुलुकमा यो सवाल जतिकै जवाफ पनि सुन्दर छ ।

सबैको साझा पर्व बन्दै छठ

हिन्दू बाहेकका सम्प्रदायले पनि कुनै न कुनै रूपमा सूर्यलाई पूज्छन् वा मान्छन् । सबैका लागि उत्तिकै महत्वपूर्ण शक्तिको सर्वोच्च स्रोत सूर्यको उपासना छठमा गरिन्छ ।

आधुनिक विज्ञानले पनि सर्वाधिक ऊर्जामय ताराको रूपमा सूर्यलाई स्वीकारेकै छ । प्राणीजगतलाई नभई नहुने महत्वपूर्ण स्रोत पानी भएको स्थलमा छठको धार्मिक अनुष्ठान सम्पन्न हुन्छ । यस कोणबाट यो पर्वले सूर्य, जल र जीवन बीचको गाढा सम्बन्ध प्रष्टयाउँछ ।

कोभिड–१९ ले गर्दा जलाशय किनारमा सामूहिक रूपले आराधना गर्ने अवस्था नभएपछि धेरै व्रतालु परिवारले घरमै कृत्रिम पोखरी बनाएर वा सांकेतिक रूपमा आरीमा पानी राखेर पनि सूर्यदेवलाई अर्घ्य दिनुले यस पर्वप्रतिको अगाध आस्थालाई झल्काउँछ । लोकपरम्पराको निर्वाहसँगै परिवार एवम् समाजको स्वास्थ्यको सुरक्षा पनि जरूरी भएकोले यो सर्वोत्तम उपाय हो । यो पर्वमा उल्लेख्य संख्यामा युवायुवती एवं बालबालिकाको सहभागिता हुन्छ । उनीहरू कोभिड–१९ विरूद्धको खोप लगाउन नपाएका समूह भएकोले छठ उत्सवमा संक्रमणबाट जोगिन सावधान रहन पनि आवश्यक छ ।

सम्पूर्ण शुद्धता, पवित्रता र समर्पणसाथ उल्लासमय माहोलमा सम्पन्न गरिने संगीतमय पूजाविधि एवं मनोकामना पूर्तिले छठका अनुयायीहरू बढेका हुन सक्छन् । पूजास्थललाई दिपावलीझैँ सिँगारी गुञ्जिरहेको लोकगीतबीच साँझ–बिहान अर्घ्य दिँदाको दृश्य अद्भूत हुन्छ । कोरोनाले गर्दा घरआँगन वा छतमा परिवार भेला भएरमात्र मनाए पनि यसको महत्व कम भएको छैन ।

विकृति र विसंगति विरूद्धको लोकसांगितिक पक्षले यो पर्वको लोकप्रियतालाई बढाएको हो । यसले सामाजिक परिवर्तनको हकमा साँस्कृतिक आन्दोलनलाई जीवन्त राखेको छ । मधेसी समुदायमा बिहे, ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा लोकगीत गाउने चलन छ । लोकगायन भनेको छठको झनै सशक्त पक्ष हो ।

छठको मूलमन्त्र मानिने यी गीतबाट पूजाविधि एवं प्रक्रियाबाहेक महिलाको सामाजिक अवस्था, उनीहरूले भोग्नु परेको विभेद, दार्शनिक चिन्तन र अर्थतन्त्रबारे वर्णन हुन्छ । ती गीतबाट छठमा शुद्धताको महत्व, लक्ष्य प्राप्तिका लागि गरिने श्रम, मनोकांक्षा पूर्ति, जटिल रोगबाट मुक्ति, समावेशीकरण, नारी स्वतन्त्रता र समृद्धिको भाव झल्किन्छ । पर्व मनाउँदै यिनै गीतको माध्यमबाट मधेसी महिलाले आफ्ना उकुसमुकुस एवं छटपटाहटलाई व्यक्त गर्छन् ।

पुजारी नचाहिने यो पर्व घरका अगुवा महिलाको नेतृत्वमा गरिन्छ । यस पर्वमा विना विभेद सबैले मनाउन एवं सहभागी हुन पाउँछन् । यसले परिवारमा महिलाको उच्च स्थान र महत्वलाई मात्र स्वीकार्दैन, सबै मानव बराबर हुन् भन्ने बलियो सन्देश दिन्छ ।

सबै जातिकाले यस पर्वमा सूर्यलाई अर्घ्य दिन वा इच्छा भएमा पूजा गरेरै पनि मनाउन सक्छन् । पूजन सामग्रीसहित दुवै हात उठाएर एकसाथ सूर्यलाई अर्घ्य दिने पूजन प्रक्रिया र भव्यताले पर्वप्रति सबै आकर्षित हुन्छन् । सबैलाई बरोबरी प्रकाश दिने सूर्यदेवका अगाडि सबै बराबर हुन् भन्ने पाठ यस पर्वको हो ।

नेपालीहरूको विविधतामा एकतालाई यस पर्वले स्वीकारेको छ । पछिल्लो समय अध्ययन, जागिर एवम् व्यापारका कारणले हिमाल, पहाड र तराईमा मिश्रित समाजको विकास तथा अन्तर्जातिय विवाहले गर्दा छठको विस्तार हुन पुगेको छ । अचेल पहाडी र मधेसी समुदायले एकअर्काको पर्वबीच भेद गर्न छाडेका छन् । सबै चाडबाड सबैको भन्ने धारणाको विकाससँगै छठ मनाउने पनि बढिरहेका छन् ।

यस पर्वले सामाजिक सद्भाव र समानतामा पनि वृद्धि गरेको छ । दलित समुदायले बनाएको बाँसको सामग्रीमा पूजा गरिन्छ । सम्पन्न र विपन्नले एकसाथ यो पूजा गर्न पाउँछन् । छठ पर्व नगर्ने वा नहुनेलाई व्रतालु परिवारजनले घरमा प्रसाद खान बोलाउँछन् वा घरमै प्रसाद पुर्‍याइदिन्छन् । पूजा नगर्ने छरछिमेक पनि ब्रतालुलाई सघाउन आइपुग्छन् । यो परम्पराले आत्मीयताभाव बढाइ सम्बन्धलाई प्रगाढ बनाउँछ ।

यी सबै महिमा विश्लेषण गर्दै जाँदा भाइटीकाकै बिहान मधेसी महिलाले सन्तान कल्याणको कामना एवं विभिन्न खाले संकल्प (भाकल) लिँदै गीत गाएर छठको सुरूवात गर्छन् । सूर्य षष्ठीको नामले समेत जानिने यस महान शाकाहारी पर्वका बेला व्रतालुले माछामासु खान छाड्छन् । भाइटीकाको भोलिपल्टदेखि व्रतालुले छठ नसकुन्जेल माछामासु बार्छन् जसलाई ‘चोखाया’ वा ‘तृतीया’ भनिन्छ । तेस्रो दिन चतुर्थीमा नुहाएर खान्छन् । सूर्यको अखण्ड उपासनाको चौथो दिन पञ्चमीको खरना वा खडना विधिमा ब्रतालुले दिनभर पूर्ण उपवास बसेर रातिपख घरको शान्त कोठामा धूपदीप बालेर ईश्वरको प्रार्थना गर्छन् । खिर, पुरी चढाएर प्रसादको रूपमा खान्छन् । घरमा उपस्थित सबैलाई बाँड्छन् । यस पछि पुनस् ब्रतालुको अखण्ड उपवास सुरू हुन्छ ।

पाचौँ एवम् महत्वपूर्ण दिन षष्ठीमा भोकै बसेका व्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगमा श्रद्धा एवम् निष्ठासाथ ठकुवा, भुसुवा, पुरी र खाजा तयार पार्छन् । षष्ठीबाटै छठ वा छइठ नामाकरण भएको हो । यी सबै परिकारलाई बाँसको नाङ्लोमा ऊखु, केरा, मूला, गेडागुडी र विभिन्न मौसमी फलफूलसहित सजाउँछन् । यी सामग्री भएका नाङ्लोलाई आँगनमा फिँजाएर ईश्वरलाई सम्झिन्छन् । त्यसपछि यी सामग्रीहरूलाई बाँसको ढकीमा राखेर सफा कपडालाई बाँध्छन् र ढकीमाथि दियो बाल्छन् ।

नयाँ लुगा लगाएका परिवार एवं छरछिमेकले ती सामग्री बोकेर लोकगीत गाउँदै अघिल्लो दिनदेखि नै सिँगारिएको नदी, पोखरी वा खोला किनार पुग्छन् । पानी छेउमा सम्पूर्ण सामग्री फैलाएर सूर्यास्त पर्खंदै लोकगीत गाउँदै बस्छन् । अस्ताइरहेको सूर्यलाई अघ्र्य दिएपछि कोही रातभरि जलाशय किनारमा जाग्राम बस्छन् भने कोही घर फर्कन्छन् ।

सप्तमीमा उदाइरहेको सूर्यलाई समान विधिले अर्घ्य दिएर पूजा बिसर्जन गर्छन् । सूर्य तथा छठ परमेश्वरी वा छठीमाताको रूपमा चिनिने सूर्यको आमा उषाको लोककथा वाचनपछि ब्रतालु प्रसाद बितरण गर्दै घर फर्कन्छन् । सामान्य खाना खाएर उही दैनिकीमा लाग्छन् ।

तुलनात्मक रूपमा यस पर्वमा पुरुषभन्दा बढी महिलाले व्रत लिने गरेको देखिन्छ । कतिपय महिला–पुरुष भाकलअनुरूप घरबाटै दण्ड प्रणाम ९शरीरको लम्बाइले ढाक्ने भू–भागलाई हातमा भएको छडीले नाप्दै गर्दै जलाशय किनारसम्म पुगेर अघ्र्य दिन्छन् ।

यस पर्वमा प्रकृतिको उपासना हुन्छ । मानवजीवनको आधारशीला जलाशय सफा, सुग्घर राख्नु पर्छ भन्ने सन्देश यस पर्वले दिन्छ । मुख्यतः सूर्यपूजामा केन्द्रित भएकोले मानवजातिकै उत्पति र सभ्यताको विकाससँगै धार्मिक एवं साँस्कृतिक अनुष्ठानको रूपमा यो पर्व सुरू भएको विश्वास गरिन्छ । यस पर्वमा सूर्यको अस्ताउँदो र उदाउँदो रूपलाई समान आदरका साथ पूजा गरिन्छ ।

प्रकाशित : कार्तिक २३, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?