३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अनेरास्ववियू क्रान्तिकारी : सशक्त संगठनको खाँचो 

माओवादी नेतृत्व र आन्दोलन अर्कालाई प्रधानमन्त्री बनाउनुपर्ने र काँध थापिदिनुपर्ने अवस्थामा पुगेको छ । यसलाई बदल्न सकेनौँ र यसैमा रमाइरह्यौँ भने हामी डुब्नेछौँ ।
रञ्जित तामाङ

प्रतिगमनविरोधी आन्दोलनको सफलतापछि अनेरास्ववियू (क्रान्तिकारी) को असोज १४–१६ सम्म २२ औँ राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा देशैभरिका अखिल क्रान्तिकारीका साथीहरू कलम र तारा अंकित झन्डा बोकेर गोलबद्ध भएका छन् ।

अनेरास्ववियू क्रान्तिकारी : सशक्त संगठनको खाँचो 

कुनै बेला हामीले अनेरास्ववियू (क्रान्तिकारी) लाई विघटन/स्थगित गरेर अनेरास्ववियू बनायौं । त्यतिबेला क्रान्तिकारी विद्यार्थी बनाउने एउटा लामबद्ध अभियानमा लाग्दै गर्दा एउटा पट्यारलाग्दो समयको ‘ब्ल्याकहोल’ भित्र छिर्न पुगियो । अहिले एमालेनिकट अनेरास्ववियुलाई छाडेर फेरि हामी अनेरास्ववियू (क्रान्तिकारी) को झन्डा र नाम बोकेर त्यो कालो छिद्रबाट उम्किएका छौँ । आफ्नै खुट्टा, आफ्नै विरासतमा उभिएर जनतामाझ पुग्ने स्वर्णिम अभियानमा छौँ ।

आज अनेरास्ववियू क्रान्तिकारी बेनोज अधिकारी, पूर्ण पौडेललगायतका सहिदको सपना पूरा गर्न मैदानमा उत्रिएको छ । माओवादी आन्दोलन कमजोर हुँदा देश र जनतालाई हानी हुने निश्चित छ । त्यसैले हामीले माओवादी आन्दोलनलाई सुरक्षित गर्नु परेको छ । यतिबेला अनेरास्ववियू क्रान्तिकारी विकास र समृद्धिमा जुट्न तयार छ । यसका लागि माऊ पार्टीसँगै अघि बढ्ने संकल्प गर्दछ । कोरोना महामारीका बेला पनि क्रान्तिकारी विचार र अभियानलाई गाउँगाउँसम्म पुर्‍याउन अगाडि बढिरहेको छ ।

देशभर हुने स्ववियु चुनावमा क्रान्तिकारीले वर्चश्व कायम गर्न अघि बढ्नेछ । निकट भविष्यमा हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा हामी केन्द्रित हुनु परेको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले साढे तीन वर्षमा जनतालाई झुक्याएर समृद्धिको गुलियो ललिपपमात्र देखाएका विषयहरूलाई जनतामाझ पुर्‍याउन सके मात्र माओवादीले सुविधाजनक बहुमत ल्याउन सक्छ । त्यसका निम्ति रातदिन नभनी जनजनका घरआँगनसम्म पुग्न हामी कटिबद्ध छौँ ।

क्रान्तिकारी खराब तथा जनविरोधी शासकलाई परास्त गर्न सम्झौताहीन आन्दोलनको मैदानमा हुनेछ । क्रान्तिकारीको सम्मेलन पदपूर्ति गर्नका लागि मात्र हुने छैन । यो सम्मेलनले ‘जनताका छोराछोरी, सबै अखिल क्रान्तिकारी’ भन्ने मूल अभियानलाई सिद्ध गर्नेछ । विगतमा जनमुक्ति सेनाले जसरी जनतासँग जोडिएर काम गरेको थियो त्यसैगरी क्रान्तिकारीले जनतासितै जोडिएर काम गर्नेछ ।

जनमतबाट पनि प्रतिगमन आउनसक्ने उदाहरण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देखाए । त्यसैले जुनसुकै बेला आउनसक्ने प्रतिगमन र प्रतिगामी कदमलाई परास्त गर्न हामी एउटा हातमा कलम र तारा अंकित झन्डा र अर्को हातमा मसाल बोकेर मैदानमा गणतन्त्रको रक्षार्थ उभिने छौँ ।

अनेरास्ववियू (क्रान्तिकारी) लाई विद्यार्थी आन्दोलनको आशा र भरोसाको केन्द्रबिन्दु बनाउने छौँ । लामो समयदेखि हामीले जनवादी शिक्षा, वैज्ञानिक शिक्षाको कुरा उठायौँ । साथै, ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अप्राविधिक शिक्षाका लागि २० प्रतिशतभन्दा बढी बजेट विनियोजन गर्ने भन्यौँ । यसअनुसार काम भएन । शिक्षाक्षेत्र व्यवस्थित हुन सकेन । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई ओलीले थन्क्याएर राखे । त्यो आजसम्म पनि कानुनको रूपमा आउन सकेको छैन । यसलेगर्दा लामो समयदेखि शिक्षाका व्यापारी दलालहरूलाई निस्तेज गर्न र शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेर शिक्षाको पुनर्संरचना र पुनर्निर्माण गर्न निकै कठीन भएको छ । अब हामी यसमा ध्यान दिने छौँ ।

भारतको नयाँदिल्लीमा अरविन्द केजरीवालको पार्टीले जस्तै शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, सुरक्षालगायत विषयमा जनताको मन जित्नेगरी काम गर्नेछौँ । यसअघि पनि हामीले केजरीवालको जस्तै योजना बनायौँ तर काम केपी ओली जस्ताको उखानटुक्कामा पुगेर अलपत्र पर्‍यो । अब अखिल क्रान्तिकारी शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका मौलिक हक कार्यान्वयन गर्न संघर्षरत छ । आवश्यक पर्दा आफ्नै पार्टी नेतृत्वलाई सडकबाट औँला ठड्याएर खबरदारी गर्न समेत पछि पर्ने छैन । यसमा पनि हामी सचेत छौँ ।

विदेशमा गएर दुःखजिलो गरेर हाम्रा दाजुभाइ तथा दिदीबहिनीले कमाएको पैसा सन्तानको शिक्षा, स्वास्थ्य र विलाशितामा खर्चिएको पाइन्छ । शिक्षालाई सम्पूर्ण रूपले राज्यले दायित्व लिने हो भने खुनपसिना बगाएर विदेशमा कमाएर पठाएको पैसा स्वदेशमै उत्पादन गरी थप रोजगारी सिर्जना गर्न सकिन्छ । स्वास्थ्यक्षेत्र व्यवस्थित गर्ने र आयमूलक रोजगारीका अवसरहरू सिर्जना गर्न राज्यले ध्यान दिने हो भने विदेशमा भएका एक तिहाइभन्दा बढी नेपाली तुरून्तै स्वदेश फर्किन्छन् । त्यसबाट बचेको पैसाले स्वरोजगारीमा लाग्नेछन् । यसमा अनेरास्ववियू क्रान्तिकारीसँगै हुनेछ ।

‘नो एमसीसी’ अभियान चलेको छ । देशका सीमाहरू मिचिएका छन् । विदेशी हस्तक्षेपहरू बढेका छन् । क्रान्तिकारीहरू सङ्कल्प गर्छन्– एमसीसी रोक्नु पर्छ । विदेशी हस्तक्षेप बन्द गरिनु पर्छ ।

अनेरास्ववियू क्रान्तिकारीमा काम गर्ने जोसुकै क्रियाशील सदस्यलाई उचित मूल्याङ्कन गरी जिम्मेवारी दिइनेछ । नेताको परिक्रमा गरेर नेतृत्व दाबी गर्नेलाई परास्त गरी अहोरात्र खट्नेलाई जिम्मेवारी दिइनेछ । २१ औँ सम्मेलनमा निर्वाचन गर्‍यौँ । निर्वाचन गर्नुपर्ने केही वाध्यताहरू थिए । किनभने त्यसबेला एकता, ध्रुवीकरणलगायतका कारण संगठन भुत्ते भएको थियो ।

केन्द्रीय कमिटी ९९९ सदस्यीय थियो । विद्यार्थी संगठनमा यति ठूलो केन्द्रीय कमिटी संसारमा कहीँ पनि थिएन । यस ‘जम्बो टिम’लाई सानो बनाएर चुस्तदुरूस्त बनाउनु फलामको चिउरा चपाउनुजस्तै थियो । त्यसबेला क्रियाशील सदस्यको योग्यता र क्षमता नाप्ने कुनै यन्त्र थिएन । त्यसैले निर्वाचनमा जानु अपरिहार्य बनेको थियो । चुनावले रहरलाग्दो, भरलाग्दो र लोभलाग्दो कमिटी चयन गर्‍यो । हारेका साथीलाई पनि सम्मान गर्‍यौँ र जितेका साथीहरू पनि निरङ्कुश बनेनौँ । मिलेर संगठनलाई अब्बल सावित गर्‍यौँ । निर्वाचनका कारण गुटबन्दीहरू भए ।

आज माओवादी आन्दोलन खुम्चिएर मरिचजस्तो भएको छ । माओवादी नेतृत्व र आन्दोलन अर्कालाई प्रधानमन्त्री बनाउनुपर्ने र काँध थापिदिनुपर्ने अवस्थामा पुगेको छ । यसलाई बदल्न नसक्ने र यसैमा रमाउने हो भने हाम्रो अवस्था फेरिने छैन र हामी डुब्नेछौँ ।

अब हामी क्रान्तिकारी विद्यार्थीहरूको नेतृत्व नयाँपुस्ताका साथीहरूलाई सुम्पिन तयार छौँ । यसै भावनाअनुसार हामीले देशभर सम्मेलन गरेर सर्वसम्मत कमिटीहरू निर्माण गरेका छौँ । राष्ट्रिय सम्मेलनले पनि एकताबद्ध भएर सर्वसम्मत गर्ने अभियानमा जुटिरहेका छौँ ।

लेखक अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हुन् ।

प्रकाशित : आश्विन १३, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?